~प्रभादेवी पौडेल~
समिर पढ्न भनी गाउँ छाडेर सहर गएको थियो। उसले बाबा आमाको काख नछाडेकोले एक्लो अनुभूत गरेको थियो। उ हेर्दा सुन्दर देखिन्थ्यो र चलाख पनि थियो। तर केटीहरू गाउँबाट झरेको भनेपछि उसलाई त्यती वास्ता गर्दैनथे।
प्राय जसो साथीहरू जोडी मिलाएर हिड्थे समयको परिवर्तनसंगै उसमा पनि केटीहरू प्रति आकर्षण बढ्दै गयो। उसले पनि एकतर्फी पाराले कसैलाई मन पराउॅथ्यो। माघ महिना जाडोको समय सबै घाम तापेर बसिरहेको बेलामा उसले आफ्नो जन्म दिन भनेर कक्षाका साथीहरूलाई लड्डू र चकलेट बाँड्यो।सबैले शुभकामना दिए ।
उसको यो व्यवहार देखेर सबै खुसी भए र तारिफ गरे। ती मध्ये एउटी केटी साथीले उसलाई निक्कै मन पराउन थाली। तिनीहरूमा प्रेमको शुरुवात भयो। त्यसको केही महिनापछि उसले प्रेमीका र उसका अरु केटी साथीहरूलाई कोठामा बोलायो ।
त्यहाँ “हेप्पी बर्थडे समिर” भनेर लेखेको ठुलो केक थियो।
उनीहरू दंग परे र एउटीले भनि ,-“हैन एउटै मान्छेको नी बर्षमा दुईपटक जन्म दिन मनाइन्छ र भन्या?”
अर्कीले भनि ,- “तीन महिना अघि हामीलाई जन्मदिन भनेर चकलेट बाँडेको होइन समिर?”
-“त्यही त भन्या” अरुले थपे।
यो सुनेर उसले हाॅस्दै भन्यो, -“त्यो दिन त चकलेट डे थियो , सिधै चकलेट दिंदा चप्पल खाईने डर भएर रन्जुको नजिक पुग्ने जुक्ति थियो मेरो।” हैप्पी चकलेट डे ।