कविता : बुधनीको पसल

~गण्डकीपुत्र~

जीबनजस्तै भारि छ
टाउकाको ढाकी
निधारमा उम्रिएको छ सीम
अनुहारमा देखिन्न पीडाका छायाँहरु
मानौ बुद्धत्व प्राप्त गरेकी छ उसले
ढाकी टाउकोमा लिए पछी |

यहि ढाकीमा अटाएको छ
चाडबाड आए जस्ता परिबारका खुशीहरु
छोराको स्कुल फीस
कुनै पार्टीको झण्डा हल्लिएझैं
यहीं हल्लदै छ छोरीको घाँघर
नदीले सन्नाटा भत्काए जस्तो
सुसाई रहने सासुको औषधि
र साझँमा बाल्ने टुकीको उज्यालो
यहि ढाकीमा सुरक्षित छ |

यो ढाकी कुशल पाइलटलेझैं
सकुसल अवतरण गर्नु छ बुधहाटमा
बिस्कुन फिंजाएझैं फिजाउनु छ सपना
एकछिन हराएर आफैंलाइ
बेच्नु छ आठ के.जी.भिंडी
कुनै विख्यात शाकाहारी डाक्टरलेझैं
लौकाको महत्ता दर्साउँदै
ग्राहकलाई जिम्मा लगाउनु छ
छ जोर लौका
सिङ्गो टिक्न र बिक्न नसक्ने
राजनीतिक दल जस्तो
टुक्रा टुक्रा पारेर बेच्नु छ चारवटा फर्सि |

त्यसो त फरासिली हुनु छ ग्राहकका सामु
बिर्सनु छ जीवनबाट भाग्न तम्तयार सासु
बिर्सनु छ ,नाङ्गो ढाक्न लुक्दै हिडी रहेकी छोरी
प्रतेक साझँ रुटिन जस्तो भएर आउने
मातिएको लोग्नेको गालि र पीटाई |

र मुस्कुराउनु छ बुधनगरकी बुधनीले
पसलमा सामान रहुन्जेल |

झोराहाट – २, मोरङ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.