कथा : विवशता

~लक्ष्मी पौडेल~

बगैंचा विछट्टको राम्रो छ । हरेक जातका फूलहरू छन् । फूलै फूलले बगैंचा ढकमक्क ढाकेको छ । म फूलबारीमा हराइरहेकी छु । चराहरू कराइरहेका छन् । भर्खर घामका रापिला किरणहरू बगैंचामा पर्दैछन् । म प्रफुल्लित छु । मलाई प्रकृतिमा हराइरहन मन पर्छ । नजिकै बगलामुखीको मन्दिरमा हरेरामका आवाजसँगै शङ्ख घण्टाहरू बजिरहेका छन् । यो ठाउँ नजिकैको मन्दिरले गर्दा पनि मलाई मन परेको छ ।

छोरो दौडेर आयो, आमा बाबाले बोलाउनु भो । बाबासँग भ्वाइस मेलमा कुरा भइरहेको छ । ए हो भन्दै म माथितिर हुत्तिन्छु । ‘अत्यास लागेको छैन’ ? भन्छु छैन यहाँ धेरै रमाइलो छ । दिनहु पारिवारिक अड्डा बस्छ, रमाइलो छ । ‘हामीलाई त अत्यास लाग्यो त, तिमीलाई माया नै छैन कि हो ?’ माया त छ तर आत्तिएका छैनौं । हामीलाई त हजूर गएजस्तै लागेको छैन । यही घुम्दै हुनुहुन्छ जस्तो लागेको छ । सबैले कुरा गर्छन् । नानीबाबुहरू गीत गाउँछन् । उताबाट कविता पाठ गर्छन् । मेरा लागि लेखेको कविता पनि रहेछ । कविता सुनेर सबैजना हाँस्छन् । तालिका पर्रा छुट्छन् । नानीले साह्रै मीठो गीत गाई । गीतको साह्रै प्रशंसा भयो । सबैजनाका गीत, कविता, चुड्किला, मनमा लागेका कुरा सबै सिद्धिए । सबैजना अहिलेलाई बिदा भयौं । विज्ञानले पनि गर्नु गरेको छ ।

कोठाको टेबुलमा ठूलो फ्रेममा राखेको फोटो छ । म त्यही फोटो हेरेर भित्रबाहिर गर्छु । फोटोले मलाई त्राण दिइराखेको जस्तो लाग्छ । फोटो साह्रै राम्रो छ । चार पाँच वर्ष अगाडि खिचेको फोटो हो । कुनै कुुनै फोटाहरू राम्रा आउँछन् । फोटो खिच्ने पनि त बेला हुन्छ । उमेरमै खिचेको फोटो हो यो । अहिले त मोटाएर गाला फुलेको जस्तो फोटो आएको छ । कसले लगेर फोटो लिभिङ रुमको भित्तामा टाँसेछ । कोठामा मैले फोटो देखिन, त्यहाँ त सँगै राखिएको बूढी आमाको फोटो मात्र रहेछ । कोठामा पस्ता मलाई टाउको दुख्न थाल्यो । फेरि लिभिङ रुमबाट फोटो झिकेर आफ्नो कोठामा राखें । भित्रबाहिर गर्दा फोटोमा आँखा पर्न थाले । टाउको दुख्न पनि अलि कम भएजस्तो लाग्यो ।

सानी छोरी मसँगै सुत्छे । बाबा छँदा त मलाई अलिकति पनि गल्दिनथी । अहिले खुब मिलेकी छ । छोरो मामासित सुत्छ, अलि पाको छ । पढाइमा पनि मेहनत गर्छ । स्कुल जाँदा र होमवर्क गर्दा उसलाई फुर्सदै छैन । स्कुल पनि टाढा छ, पौने आठमै बस आइसक्छ । बाबा जाने कुरा मात्र गर्दा पनि यिनीहरू धुरु धुरु रुन्थे । नजाने भनेर कराउँथे । आजभोलि ढुक्क छन् । जाने बेलामा छोरी रोई, मैले त आफूलाई सम्हाल्नै प¥यो । वातावरण कस्तो(कस्तो धमिलो भएको थियो । यहाँ हामीलाई रमाइलो थियो । २४÷२५ हजार तलब थियो । सबैजना खुसी थियौं । लाउन खान पुगेकै थियो । मैले पनि पठाउने कुरामा कर गरें क्यारे । हाम्रो व्यथा अर्कै थियो । हाम्रो घर टाढा पाहाडमा छ । म त्यहाँ गएर काम गर्न सक्दिन । यहाँ डेरामा बस्दा अनेक कठिनाइ भोग्नुपर्ने । सधैँ खानेबस्ने मात्र गरेर पनि भएन । सानु घर सहरमा चाहियो भन्ने व्यथाले हामीलाई पोल्न थाल्यो ।

आर्थिक कारणले हामीले आफ्नो काखमा रहेका श्रीमान् बाबालाई पठायौं टाढा देशमा । विदेशमा क्या हो कसो हो केही कुराको ग्यारेन्टी छैन । यहाँको जागिर परिवार सबै छोडेर विदेशिन बाध्य बनायौं । हामी मध्यमवर्गीको त हालत यस्तो छ भने निम्नवर्गको हालत के होला । कति नेपाली दाजुभाइ, दिदी बहिनीहरू विदेशमा मजदूरी गर्दैछन् । आफ्नो प्यारो देश, प्यारा बाबुआमा, भरखर बिहे गरेकी श्रीमती छोडेर विदेशमा आफ्ना हाडहरू घोट्दै छन् ।

जुगौंदेखि अहिलेसम्म आएर पनि हामी नेपालीको हालतमा यही छ । यही देखेर त देवकोटाले मुनामदन लेखे होलान् । नेपालीहरूको जनजीवनसँग कति मिल्दो छ । होला र खाउला भन्ने आशमा नेपालीहरू विदेशिन्छन् । विदेशमा कति हण्डर खप्नु पर्ने हो । घरमा परिवारको कुन दशा हुने हो । सबै भगवान्का कृपाामा बाँचेका छन् । भगवान् सबैको कल्याण गर्नुहुन्छ । हामी त माइतीको ठूलो घरमा बसेका छौं । बच्चाहरूलाई जता चले पनि हुन्छ । कसैले केही भन्ला भन्ने छैन । हरेक किसिमको सुविधा छ । काम गर्ने मान्छे छ । बच्चाहरूको रेखदेख पनि सबैले गर्छन् । चामल, घिउ, तेल मधेसबाट बाआमाले पठाउनु हुन्छ । व्यवहार गर्ने भाइहरू छन् ।

डेरामा बस्दा कम दुःख झेल्नु परेको होइन केटाकेटी र सामान मुसाले झैं सार्दै हिँड्दा । पानी नभएर बाथरुममा, भान्सामा कति समस्या पथ्र्यो । ढुङ्गे धारो पनि सुकेर सानो भएर लाइन बसेर एक गाग्री पानी बल्लबल्ल ल्याउनु पथ्र्यो । नुहाउने, लुगा धुनेको उस्तै समस्या । केटाकेटीलाई एकछिन छोड्न नहुने । तर पनि एक किसिमको आनन्द । सबै परिवारसँगै बस्नुको आनन्द । सुख, दुःख, हाँसो, रमाइलो । माइतीमा दुई दिन बसे पनि आफ्नै कोठामा फर्कनुको आनन्द । दुई दिन सजिलोसँग बसेर के गर्नु भन्ने भावना । आफ्नै घरको माया मोह । एकदिन घरमा केटाकेटीलाई मात्रै छोड्नु हुँदैन । चक्रपथको आडैमा कोठा छ । घरभरि विभिन्न थरि मान्छेहरू बस्छन् । जहाँ गए पनि फर्केर घरै जानुपर्ने, कि त गतिलो कुरुवा खोजेर राख्नुपर्ने ।

नजिकै भाञ्जाहरूको कोठा भएदेखि अलिक सजिलो भएको थियो । खुब रमाइलो हुन्थ्यो । भाञ्जाहरूसँग राति अबेलासम्म कुरा गरेर बसिन्थ्यो । भाञ्जाहरू असल रमाइला हुनुहुन्छ । मामाघरमा नभए पनि ढुक्क हुन्थ्यो । केटाकेटीहरू पनि साह्रै रमाउँथे । तीन महिना त विदेश जाने कि नजाने भन्ने कुराको छलफल भयो । कति रात त निदाइएन । आखिर जाने निर्णय भयो । बिष्णुबाबुले सबै जिम्मेवारी आफूले लिने र भिनाजुलाई पढ्न पठाउने भनेर भने । उनी फिलिपिन्सबाट आएपछि जाने कुरा निधो भयो । बल्ल त तीन महिना भयो गएको, अझ तीन वर्ष पर्खनु छ । सावित्री शाहको गीत जस्तो ‘माया गयो तीन महिना तीन दिन । देखे पनि अब त चिन्दिन’ भनेजस्तो तीन वर्ष आउने त कैले हो कैले ।

आफ्नो घर होस्, काम गर्ने मान्छे होस, ३०÷३५ हजारको मासिक जागिर होस् । घरका सबैजना सँगै बस्न पाइयोस् भन्ने कल्पना हुन्छ । सबैथोक भनेजस्तो हुँदैन । जिन्दगी अभावैअभाव छ । परिस्थितिसँग जुध्नुपर्छ, संघर्ष गर्नुपर्छ । हो, अहिले म यसै गरिरहेछु ।

(स्रोत : मधुपर्क पौष २०५९ अङ्क 35 :: No. 08 December 2002 – January 2003. )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.