~भीम विराग~
अस्थिर, आक्रान्त मस्तिष्कको
संस्कार, आचार र सिद्धान्त
बलात्कृत भइरहेछन् अहोरात्र
बाँच्ने बाध्यताको उपक्रमले लखेटिरहेछ मान्छेलाई ।
आडम्बरको खोक्रो खोलभित्र
जत्तिकै अट्टाहास गरे पनि
त्रासको अव्यक्त आहालमा डुबेका छन् मान्छेहरू ।
अरूलाई छेकबार लाएर
दुनो सोझ्याउने खेलाडी भइरहेछ मान्छे
स्वाभिमान ताछिए पनि
विवेकजत्तिकै रगतपिच्छे भए पनि
चूपचाप सहनुबाहेक
अन्य विकल्प छैन निरीह मान्छेसँग ।
आँखाले कातरतापूर्वक हेरिरहनु परेको छ
आफ्नै हातले सिलबन्दी गरेका ओंठहरू
“हो मा हो” लाई उनेर
जिन्दगीबिनाको जिन्दगी खेपिरहेछ मान्छे ।
बर्बरताका व्यवसायीहरूसँग
सम्झौता नगर्नेहरू लखेटिन्छन् खरायोजस्तै
भत्केको आकाशबाट बाह्रैमास
दुर्भाग्यको झरी बर्सिरहन्छ
बाटाहरूलाई भँगालाहरूले छुट्याइरहन्छन्
बेसहाराहरू विवशताको सङ्गालोले बाँधिएर
अनैतिकतासँग हातेमालो गरिरहेका छन् ।
प्रपञ्चपूर्ण प्रतीक्षाको डाँडापारि पुगेर
थकाइ मार्नेछ जिन्दगीले एकदिन
स्वदृष्टि सामु बितेका आपराधिक घडीहरू
ऐना भैदिनेछन् साक्षीस्वरूप ।
मृत्यु सत्ताको अगाडि
सम्पूर्ण नाफा–नोक्सानको हिसाब बुझाउनुपर्ने क्षण
कति कष्टकर हुन्छ भन्नेबाट निःशङ्क
आफ्नै जोड घटाउमा
व्यस्त छन् मान्छेहरू ।
– हेटौंडा
(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)