संस्मरण : दाइवोत्सुको आँगनमा नाराका मृगहरू

~विन्दु सुवेदी~Bindu Subedi

नाराका मृगहरू साँच्चै नै भाग्यमानी छन् अति पुल्पुलिएका पनि । नाराको प्रसिद्ध तोदाइजी मन्दिरमा रहेको दाइवोत्सु बुद्धको दर्शन गर्न जाने सबैले यो कुरा थाहा पाउन सक्छन् । निकै तल बजारदेखि नै सडक, हरिया चउर, घाँस भरिएका डाँडा, तोदाइजी मन्दिरको वरिपरि, मन्दिरको सेरोफेरोमा रहेको जङ्गल, ऐतिहासिक मन्दिर सबैतिर ती पुल्पुलिएका मृगहरू निस्फिक्री मस्त घुमक्कड भएर रुमल्लिरहेका हुन्छन् । त्यहाँका प्रायः सबै पसलहरूमा मृगलाई खान दिने विशेष प्रकारको बिस्कुट बिक्री गरिन्छ । सबैले त्यही बिस्कुट किनेर मृगहरूलाई दिनुपर्छ । अन्य खानेकुरा दिन निषेध छ । दिनु पनि पर्दैन बिस्कुट हातमा देखेपछि यो मेरै आहारा हो, यसमा मेरो अधिकार छ भन्ने ठानेर मृगहरू सरासर हातको बिस्कुटतिर आउँछन् । छुट्टीको बेला क्योटो नजिक रहेको नारा पार्कको ठूल्ठूला फैलिएका हरिया चउरमा थुप्रै केटाकेटीहरू हातभरि बिस्कुट लिएर मृग पर्खिन्छन् । मृग बिस्कुट लिन आइपुग्दा उनीहरू दौडिन्छन् । मृग बिस्कुटलाई खेद्दै जान्छ र झ्वाम्म केटाकेटीका हातबाट बिस्कुट खोस्छ । केटाकेटीहरूको केही डर, केही रोमाञ्च र केही खुशीका स्वरहरू वातावरणभरि छरिन्छन् । मृग र केटाकेटी सरोवरी भएर चउरभरि छरिएका हुन्छन् । त्यस्तो रमाइलो दृश्य देख्दा मन कति रमाइलो हुनेरहेछ कहिल्यै कल्पना पनि गरेकी थिइन ।

मलाई नारा पार्कमा बिताएको एकदिन एउटा युग जस्तै लाग्यो । कति रमाइलो ! अभि र म हाम्रा जापानी साथीहरू सँगै त्यहाँ छुट्टी मनाउन गएका थियौं । हामीले पनि बिस्कुटहरू किनेर मृगहरूलाई रमाउँदै खुवायौं । बाटोमा मृगहरू हामी सँगै हिँड्दै थिए । अब हामी संसारकै ठूलो काठको बुद्ध मूर्तिको दर्शन गर्न प्रवेश शुल्क तिरेर तोदाइजीको परिसरभित्र पस्यौं । सम्राट सोमुले नारा कालमा तोदाइजी मन्दिरलाई बुद्ध धर्मको कोकुबुञ्जी संस्थाको रूप दिएका थिए । यसरी यो मन्दिरलाई राज्यले संरक्षण गरेको थियो । तोजाइजीका दाइवोत्सु बुद्ध वैरोचन बुद्ध अवतार हुन् । बुद्धको वैरोचन अवतारलाई दया र विद्वताको प्रतीक मानिन्छ । दाइवोत्सु बुद्ध स्थापना गरिएको काठको प्रकोष्ठ अर्थात् दाइवोत्सु डेन संसारकै सबैभन्दा ठूलो काठको प्रकोष्ठ मानिन्छ । जापानमा भएका सन् ११८० र १५६७ को दुई युद्धले यस मन्दिरलाई क्षति पु¥याएको थियो । त्यसैगरी नारामा ठूलो भूकम्प आउँदा मूर्तिको टाउको भाँच्चिएको कुरा इतिहास बताउँछ । तर त्यो भाँच्चिएको बुद्धको टाउको तुरुन्तै बनाइएको थियो । कालक्रमकै चक्रमा एकपटक आगोको लपेटमा परेर दाइवोत्सु प्रकोष्ठ क्षतिग्रस्त भएछ । पुनः निर्माण गर्दा यो प्रकोष्ठ अहिले जुन स्वरूपमा छ त्यो स्वरूप पहिलेको भन्दा दुई तिहाई मात्र आकारको रहेछ । तर पनि यो संसारको सबैभन्दा ठूलो काठको मन्दिर मानिएको छ ।

तोदाइजी मन्दिरको संघारमा टेकिनसक्दा नै आश्चर्यका आँखाहरू खुलै हुन्छन् । काठको विशाल बुद्ध मूर्ति कमलको फूलमा पलेटी मारेर विराजमान छ । यो मूर्तिको पूरा उचाइ ४८,९ फिट छ । मुहारको उचाइ १७.४९ फिट छ । आँखाको उचाइ ३.३४ फिट छ । नाकको उचाइ १.६४ फिट छ । कानको उचाइ ८.३३ फिट छ र कमल पत्रको उचाइ १० फिट छ ।

वैरोचन बुद्धको त्यो भव्य मूर्ति अगाडि उभिँदा म सानी भएँ । टाउको पूरा माथितिर फर्काएर मैले विस्फारित आँखाले त्यो अपूर्व मूर्तिलाई हेरिरहें । वरिपरि घुमिरहें । मन्दिरभित्र दायाँतिर बुद्ध भगवान्को ठूलो पदचिन्ह कुँदिएको थियो । बायाँतिर केही पछाडि मोटो काठको खम्बा थियो र त्यो खम्बाको फेदमा एउटा प्वाल थियो । त्यहाँ आउने सबैजसो जापानी महिला पुरुष र केटाकेटीहरू त्यो प्वालको एकातिरबाट छिर्दै अर्कोतिर निस्कँदै थिए । यसरी त्यो प्वालबाट लम्पसार परेर वारपार गर्दा सबै खुशी भएर हाँस्दै थिए । वारपार गर्न नसक्नेहरूलाई जिस्काउँदै थिए । म छक्क परेर हेरिरहें । त्यो प्वालको रहस्य थाहा पाएर झन् दङ्ग परें । त्यो प्वाल त दाइवोत्सु बुद्धको नाकको प्वालको साइजको रहेछ र त्यहाँबाट छिरेपछि बुद्धको आशीर्वाद प्राप्त हुन्छ भन्ने धारण रहेछ ।

दाइवोत्सु मन्दिरभित्रै एकछेउमा पसल थियो । त्यहाँ थुप्रै पोस्टकार्डहरू, जन्तरहरू, धूपहरू र थुप्रै उपहारका सामानहरू बिक्रीका लागि राखिएका थिए । जन्तरकै कुरा गर्दा मलाई जापानमा सबै जापानीहरूमा हुने एउटा विश्वासको सम्झना हुन्छ । जापानमा मानिसहरू दुई थरिका मन्दिरहरूमा जान्छन् । एकथरी मन्दिरहरू जहाँ बुद्ध भगवान् हुन्छन् बुद्धकै प्रतीक । त्यहाँ बत्ती बाल्ने चलन छ । यतातिर जस्तो घ्यूको बत्ती पाइँदैन । भक्तजनहरूले मैनबत्ती किनेर बाल्छन् । धूपको मगमग बास्ना फैलिएको हुन्छ चारैतिर त्यहाँ भेटी चढाएर मैनबत्ती र धूप बालेर दुई हात जोडेर नमस्कार गरिन्छ । अर्को हुन्छ स्राइन । स्राइन र मन्दिर के हो भनेर छुट्याउन त्यसको मूलद्वारको स्वरूप हेरेर थाहा हुन्छ । मन्दिरका ढोका कलात्मक र द्वारको दुवैतिर कुनै देवराजहरूका मूर्ति हुने गर्छन् तर स्राइनको मूलद्वारमा अग्लाअग्ला दुई वटा खम्बामाथि तेर्सो पारेर अर्को खम्बा राखिएको हुन्छ र अक्सर रङ्गीन हुन्छन् । स्राइनमा देवताको रूपमा प्रकृतिलाई मानिन्छ । जस्तै वायु, समुन्द्र, आकाश आदि । स्राइनमा जाँदा मन्दिर अगाडि उभिएर दुई पटक दुई हातले ताली बजाउनुपर्छ । त्यो कामी अर्थात् प्रकृति देवतालाई आह्वान गरेर बोलाइएको सङ्केत हो । मन्दिरमा कुनै मूर्ति देख्न सकिन्न प्रतीकको रूपमा कपडाहरू टाँगिएका हुन्छन् । त्यसपछि झुकेर कामी देवताको स्वागत गरिन्छ र फेरि दुई पटक हातले ताली लगाउनुपर्छ । यो ताली प्रकृति देवतालाई बिदाइको हो । स्राइनहरूमा काठका स(साना पाटीहरू किन्न पाइन्छ । जाँचमा पास हुन आफूले चाहेको जागिर पाउन, प्रमोसन हुन, विवाह गर्न इत्यादि कामना लिएर मानिसहरू स्राइनमा जान्छन् र काठका सानो सानो पाटीमा आफ्ना इच्छाहरू लेखेर कामी देवतालाई अर्पण गर्छन् । काठभन्दा कागत सस्तो हुने भएकोले कतिले कागतमा आफ्ना अभिलाषा व्यक्त गरेर त्यो पूरा भए फेरि आउने भाकल गर्दै ती कागजहरू पट्याएर त्यही वरिपरि रूख, बुट्यान झाडी जताततै अड्काइदिएका हुन्छन् । स्राइनका कागजहरूले सेतै फूल फुलेजस्तो देखिन्छन् । काठका पाटीहरू झुण्ड्याउन बोर्डहरू बनाएर काँटीहरू ठोकिएका ठाउँहरू हुन्छन् । तर ती काठका पाटीहरू हजारौं हजार भइरहन्छन् र धेरै भएपछि झिकेर अन्त राखिने गरिंदो रहेछ । आफूले देवतालाई वाचा गरेको कुरा पूरा भएपछि फेरि एक पटक कृतज्ञता प्रकट गर्न आउने र फेरि एक पटक काठ वा कागतमा मेरो फलानो कार्य सिद्ध भयो धन्यवाद भनेर कृतज्ञताका शब्द लेखेर जाने गर्दा रहेछन् । यसरी आधुनिकताको चरम बिन्दुमा पुगेका युवा पुस्ताका जापानीहरूले पनि जन्तरमन्तर र भाकलमा विश्वास गरेको देख्दा अचम्मै लाग्यो ।

दाइवोत्सु मन्दिरभित्र भएको त्यो सानो पसलमा पनि साना साना बाकसहरूमा एक बित्ता जत्रो लामालामा लट्ठीहरू थिए । सय यान तिरेर आफैंले एउटा लट्ठी छानेर लिन पाइन्थ्यो । त्यो लट्ठी खोलेर हेर्दा त्यहाँ सेतो कागज भेटिन्छ । त्यस कागजमा यो वर्ष कस्तो छ लेखिएको हुँदो रहेछ । यो भाग्य परीक्षा अर्थात् काठमाडौंको रत्नपार्कमा सुगाले जस्तै आफैंले छानेको वार्षिक राशिफलमा जापानीहरू पूर्ण विश्वास गर्दा रहेछन् । मेरो साथी केइकोलाई यो वर्ष केही नराम्रो हुने लेखिएको पूर्जा हातमा प¥यो । त्यो पढेपछि उनको अनुहारको रङ्ग अचम्मसँग बदलियो । उनी उदास भइन् । तर त्यसको लागि मन्दिरमा गएर प्रार्थना गर्ने र मन शान्त पार्ने चलन रहेछ । मेरो पातोमा जे लेखिएको भए पनि अझै पनि त्यो मसँग सुरक्षित छ ।

दाइवोत्सु मन्दिरबाहिर ठूलो फराकिलो चोक छ । प्रत्येक नयाँ वर्षको दिन मन्दिरको अग्रभागमा मूलढोकामाथि रहेको दाइवोत्सु प्रकोष्ठको झ्याल खोलिने रहेछ । मन्दिरभित्र रहेको बुद्ध मूर्तिको मुहार ठीक त्यो झ्याल सामुन्ने पर्दोरहेछ । त्यसले गर्दा विशाल चोकमा जम्मा भएका हजारौं भक्तजनहरूलाई भगवान् बुद्धको दर्शन गर्न सजिलो पर्ने रहेछ । जति हेरे पनि त्यो करुणा भावमा सिञ्चित बुद्ध मूर्तिको ओजले मन छपक्क ढाकिरहन्छ । आँखाहरू मनहरूमा टाँसिएको बुद्धलाई सँगै लिएर म मन्दिरबाहिर निस्किएँ ।

हरियो चउरमा निस्किएर हामी केही बेर गफ गर्दै बस्यौं । त्यति नै बेला हामीले नाराको बजारमा किनेको चामलको केक खायौं । बजारमा सडक किनारमा एउटा ठूलो काठको ओखली थियो । त्यसमा पाकेको चामल अर्थात भात, तीतेपातीको धूलो र शख्खर राखिएको थियो । दुईजना बलिया बलिया युवकहरू दुईतिर बसेर घन आकारको काठको मुस्लीले हाइ… हाइ… गरेर लययुक्त स्वर निकाल्दै पालैपालो मस्तसँग त्यो मिश्रणलाई चुट्न थाले । केही बेरमा त्यो मिश्रण लिसाइलो हलुवाजस्तै भयो । त्यसलाई भित्रपट्टि सिमीको गुलियो लेदो हालेर सानोसानो गोलो पार्दै भट्मासको पिठोमा लट्पटएर बिक्री गरिने रहेछ । यस्तो चामलको केक मलाई मन पर्ने भएकोले टोकियोमा खुबै किनेर खान्थें तर नारामा बनाउने तरिका र मिश्रण गर्ने तरिका देखेर म चकित परें । हामी गफ गर्दै साइस केक खाँदै गरिरहेकै बेला एउटा मृग आएर अभिको हातबाट भर्खरै यसो कोरेको कविताको पाना थुतेर मचमच चपाएर खाइदियो । हामीले ए… कविता खायो भन्यौं र खोस्न पनि खोज्यौं तर अभिलाई के धुन चल्यो त्यो नखोसेर झन् आनन्दसँग त्यो मृगले आफ्नो कविता चपाएको हेरेर उनी उभिएको देख्दा एक किसिम रमाइलो लाग्यो । अभिले पछि त्यही खाएको विषयमा कविता लेखे । उनलाई अपूर्व मौका मिलेजस्तो भयो ।

एउटा कथा म सुनाउँछु तब तपाईंहरू थाहा पाउनु हुनेछ । यी मृगहरू हाम्रा आराध्यदेव पशुपतिनाथलाई डामेर छोडेका साँढेहरूभन्दा पनि बढी संरक्षित र छाडा छन् । धेरै अगाडि मिसाकु नाम गरेको एउटा १३ वर्षे केटा नारा पार्कमा बसेर चित्रकला बनाउँदै थियो रे । त्यस्तैमा एउटा मृग आएर उसले बनाएको त्यो चित्रकला खाइदिएछ । त्यो बालक साह्रै रिसाएछ र पेपरवेट उठाएर मृगलाई हानेछ । दुर्भाग्य त्यो मृग मरेछ । आक्रोशित नाराका मानिसहरूले त्यो बालकलाई मृग मारेको अपराधमा मृगको मृत शरीरसँगै बाँधेर गाडिदिएछन् । कस्तो मनै झसङ्ग पार्ने कथा । यो सुुन्दा मेरो मन अति दुःखित भयो । नाराको मृगहरूको बढी महत्व दर्शाउन हो वा प्रकृति र वन्यजन्तुप्रेमी जापानीहरूको मनोभाव दर्शाउन हो उनीहरू आज एक्काईसौं शताब्दीमा पनि यो कथालाई दोहो¥याइरहेका छन् । तर म त्यो घटनालाई एकादेशको दन्त्यकथा भनेर चित्त बुझाउँछु । वास्तवमा नै त्यो एउटा दन्त्यकथा नै होस् भन्ने चाहन्छु ।

त्यो दुःख लाग्दो दन्त्यकथालाई त्यहीं छोडेर हामी घना रूखहरूबीच हुँदै ढुङ्गाका सिंढीहरू उक्लँदै गयौं । त्यहाँ केइसान दो, निगात्सु(दोको बडेबडे काठका बरन्डाहरू निकै आकर्षक थिए । दिन ढल्किसकेको हुँदा हामी त्यहाँबाट फर्कियौं । केही ओरालो, केही उकालो हुँदै मुख्य बजारतिर लाग्यौं बाटोको दायाँतिर लहरै आकर्षक पसलहरू थिए । त्यहाँ झिलिमिली थुप्रै थुप्रै उपहारका सामानहरू थिए । मृगका छालाहरू पनि बिक्रीका लागि राखिएका थिए । बायाँतिर एउटा निकै फैलिएको पाखो भएको थुम्को थियो । हरियो घाँसले लहलह भएको त्यो थुम्कीको नाम वाकाकुसा पहाड हो । तर यसको पाटा पाटाभरि सयौं सयौं मृगहरू चरिरहेका थिए । त्यो पहाडको पनि आफ्नै महत्व छ । मेरी साथी केहइको भन्छिन्, “हरेक वर्ष जनवरी १५ तारिखको दिन थुप्रै बलियाबलिया केटाकेटीहरू स्वयम् सेवकको रूपमा खटिएर त्यो वाकाकुसा पहाडभरि मट्टितेल छर्छन् । त्यसपछि साँझमा तोदाइजी मन्दिरबाट ल्याएको दीपको ज्वाला त्यो सुकेको घाँसले भरिएको डाँडामा लगाइन्छ । त्यो पूरा पहाड नै आगोको ज्वालामा धपधपाउँछ । ठूलो संख्यामा मानिसहरू जम्मा भएर त्यो धार्मिक पर्व मनाउँछन्” सुन्दा मलाई शिवरात्रिको धुनी लगाएको सम्झना भयो । त्यसपछि त्यो आगो निभेपछि सम्पूर्ण पहाड कालो डढेको देखिने नै भयो । विस्तारै मौसम परिवर्तनसँगै पानी पर्न थाल्छ र घाँसहरू पलाउँछन् । हेर्दाहेर्दै पूरा पहाड हरियो हुन्छ । एउटा कुरा मलाई आनन्द लाग्यो मेरो पहिलो भेट त्यो पहाडसँग हरियालीमा भयो ।

त्यताबाट फर्कंदा हामीले पनि नारा घरेलु बिक्री भण्डारबाट हातले बनाएका केही उपहारहरू किन्यौं । नाराका पुराना शहर बजारको सेरोफेरो मार्दै हामी एउटा रेस्टुराँमा पस्यौं । जापानी शैलीको रेस्टुराँको कोठामा जापानी समुद्री खानाहरू हामीले हाम्रा मित्र ताकेशी वाकाइका परिवारसँग रमाइलो गफ गर्दै खायौं । राति एघार बजे थकाइले चुर भएर होटल केहानको छैंटौं तल्लाको कोठामा पुगिसक्दा पनि म अझै नारा पार्कको सेरोफेरोमा नै अल्झिरहेकी थिएँ ।

(स्रोत : मधुपर्क पौष २०५९ अङ्क 35 :: No. 08 December 2002 – January 2003. )

This entry was posted in संस्मरण. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.