~दीपक लोहनी~
“आज पनि तिमीले घरको खोजी गर्न सकेनौ ?” काकीले काकालाई भात थप्दै पुरानो प्रश्न राखिन् । बिचरा काका ! अवाक भई कुपुकुपु गिलो भात निलिरहे । उनीसँग जवाफ थिएन । आश्वासन र भरोसा दिंदादिंदा काकाको मुख नै गलिसकेको थियो । उही पुरानो वाक्य, उही पुरानो सुस्केरा र उही पुराना थकाइहरू पुनः बिसाउन उनलाई मन परेन । समस्याका अप्ठ्यारा उकाली ओरालीहरू मनभरि चढेर किचेन कोठाको एक कुनाबाट उठेर बैठक कोठाको एक कुनामा गएर थ्याच्च बसे ।
**
म काकालाई लामो समयदेखि नै चिन्छु । यहाँ काका र मबीच गोरु बेचेको साइनो जोडिएको भए पनि निरन्तर सम्पर्क र हामी दुवै चोटैचोटबाट हुर्केको कारणले एक आपसमा नजिकिएका छौं । अनुहार अलिकति मेरो आफ्नै काकासँग मिल्नाले सम्बोधनचाँहि काका भन्दै आइरहेछु । काका भनिए तापनि कतिपय व्यवहारमा हामी साथीजस्तै छौं । फेरि त्यसो त उमेरको खाडल पनि हामीबीच धेरै गहिरो छ । काकाले छोरी मार्फत् नातिनी खेलाइसके म भने भान्छाको कुनामा स्वास्नीको पहिलो सुत्केरीको लागि ज्वानोको झोल बनाउन सिक्दैछु ।
हामी दुःखहरू बाँड्नु पर्छ भन्ने कुरामा अडिग छौं । काका आफ्नो अधबैंसे उमेर बितिसक्दा पनि परिवारलाई डेराबाट मुक्त गर्न नसकेको गुनासो पोख्छन् । म स्वास्नीलाई एउटा सोचेजस्तो नयाँ पाकिस्तानी कुर्ता सुरुवाल हाल्दिन अझै नसकेको अभाव देखाउँछु । हाम्रो घनिष्ठताको पराकाष्ठा सायद यहींबाट आरम्भ हुन्छ । स–साना दुःखहरूका डोरीबाट कसिंदा कसिंदा हामी यति निचोरिएछौं कि हाम्रासामु दुःखका भेलहरू उर्लंदै बगिरहेछन् ।
अब म सरासर काकाको बारेमा मात्र लेख्छु । यस कथाको मुख्य पात्र काका नै हुन् । तसर्थ काकाकै बारेमा लेखिनु पर्छ ।
काकाको पूर्वघर नुवाकोट हो । उनी दश पन्ध्र वर्षको भएपछि काठमाडौं छिरेछन् । क्षेत्रपाटीको गुर्जुको घरमा भान्छे भएर बस्दाबस्दा त्यहींबाट नेपाली र अड्ढगणित सामान्य सिकेछन् । तोतामैना र लालहीराको कथा पढ्दापढ्दा उनलाई नेपाली पढ्न मजासँग आउन थालेछ । जब उनी लक्काजवान भए पछि गुर्जुले आफ्नो घरको भान्छेको अलावा सामान्य जागिर पनि मिलाइदिए । काकाले जागिर खाएको केही समयपछि सुखका दिनहरूको कल्पना गरे । बाटुली श्रीमती, भान्टाङ्गभुन्टुङ्ग छोराछोरी र सहरको कुनै एक ठाउँमा एउटा चिटिक्क परेको घरको सपना देख्न थाले । सपना देख्नु मान्छेको नियति हो । बिनासपना मान्छे कहाँ बाँच्न सक्छ र ? सपना आशाको एउटा त्यान्द्रो हो । मान्छे आशाको त्यही त्यान्द्रोमा झुण्डिएर जिन्दगीभर बाँचिरहन्छ ।
केही समयपछि काकाले बिहे पनि गरेछन् । समयको अन्तरालमा उनले खोजेझैं डेराभरि छोराछोरीहरू भएछन् । जागिर खान्थें, तलबले छोराछोरीहरूलाई खुवाउँथे, पढाउँथे र समस्याको फूलबारीमा उनी हाँसी हाँसी डुल्थे । लक्काजवान थिए । सहरमा चारकोठे घर बनाउँछु बनाउँछु भन्ने तन्नेरी सपना थियो । तसर्थ जस्तोसुकै समस्यामा पनि लड्न तत्पर हुन्थ्ये र समस्याहरूलाई छिमल्दै जान्थे । उनी सोच्थे, स–साना समस्याहरूबाट म हारें भने मैले कसरी ठूला समस्याहरूसँग विजय प्राप्त गर्ने ? काका सहरमा एउटा घर बनाउनैपर्छ भन्ने कुरामा दृढ थिए र त्यसैलाई उनी मुख्य समस्या सोच्थे ।
**
एकदिन पानी झम्झम परिरहेथ्यो । तल ढोका कसैले ढक्ढकाएको आवाज सुने । झ्यालबाट एक जोर आँखा खसाले । एउटा अधवैंसे दाह्री झुस्स पालेकाले ढोका ढक्ढकाइरहेथ्यो । मैले माथिबाटै सोधें –“दाइ, कसलाई खोज्नुभएको ?” “यहाँ कोठा पाइन्छ कि ?” उसले उल्टै ममाथि जवाफ खोज्यो आशाको । ‘ र, अन्त्यमा उसको र मेरोबीच सम्झौता भयो र उसले एउटा ठूलो कोठा पायो, मासिक सातसय रुपियाँमा ।
कुरा ०४७ सालको हो । जतिखेर उ सँगसँगै देशमा नयाँ संविधान आएको थियो र संविधानमा लेखिएको थियो– ‘सार्वभौम सत्ता जनतामा ।’
०४७ सालदेखि उनी मेरै घरको पुछारको कोठामा एउठा मीठो सपना बोकेर बाँचिरहेका छन् । उनी अर्थात् मेरो घनिष्ठ काका, उही दुःख सुखका साथी, उही मित्र ।
**
एकदिन काकाले मलाई उनको कोठामा बोलाए । यसरी उनी आफैंले मलाई डाकेको कहिल्यै थाहा थिएन । सायद म डाक्ने अवसर नै दिन्नथिएँ कि ? उनको कोठामा गएर काका कुराहरू नसुनी मलाई स्वास्नीसँग गएर सुत्नै मन लाग्दैन भने पनि हुन्छ । काकाको कोठामा गएँ । उनले आफू सुत्ने खाटको छेवैमा बसाले र भने –“दीपक बाबु ! अब मैले एउटा घर बनाउनुप¥यो । कहाँ, कसरी बनाउने होला ?” मैले सोधें– “काका साथमा कति पैसा छ ? र कति पैसा जुटाउन सक्नुहुन्छ ?” “बैंकको जागिरबाट पनि गत सातादेखि अवकास पाइहालियो । अब यो फुर्सदिलो जिन्दगीमा कोठामा घोत्लिनु सट्टा सहरमा घर बनाउने पुरानो सपना पूरा गर्नुप¥यो । कति डेराको डेरैमा बस्ने ? डेरामा बस्दा बस्दा मेरो मात्र होइन, छोराछोरीहरूको पनि मानसिकता नै बिग्रिसक्यो । अब त कुनै हालतमा एउटा घर बनाउनुपर्छ शहरमा । सानो फूलवारी, सानो करेसा र सानो चारकोठे घर । के मैले शहरमा एउटा घर बनाउन नसकुँला र ? यतिका वर्षपछि पनि ‘ । काका एकनासले मकै पड्केझैं बोलिरहे एकनासले ।
“जम्मा पैसा कति छ काका ?”
“जेठी छोरीको बिहे नगरेको भए त थुप्रै हुन्थ्यो नि । सोझी छोरी परी, लभ गर्नै डराउने । आफूले लभ गरेर जा भन्नु पनि भएन । उसले बाउको पीर मर्का बुझ्नै सकिन । फेरि छोरी बढाएर मात्र राख्नु पनि भएन, तसर्थ बिहे गर्दिनै प¥यो । पलङ्ग, सोफा र दराज दिनैप¥यो । बीस पचासजनालाई डाक्नै प¥यो– लोकगाल बचाउन पनि त्यसैले गर्दा पचासहजार जति सकियो । अहिले सञ्चयकोष हेर्दा एकलाख पचास हजार रुपियाँ बाँकी छ बाबु, जिन्दगीभरको कमाई । घर त आउँछ हैन र ?
काकाको कुरा सुन्दा मलाई काकाप्रति टीठ लाग्यो । काकाको मनको भित्री कुनामा सहरमा घर बनाउने सपना कति साह्रो जमेर बसेको रहेछ भन्ने कुरा मैले छर्लङ्ग देखेंं । सहरमा तीनआनाभन्दा कम जग्गा अब कित्ताकाट हुनै छोडिसक्यो र एक आनाको एकलाख गन्न थालिसके अब गोरेटो बाटोमा पनि । भनेपछि घडेरीको लागि तीन लाख ! घर त परै जावस् ‘‘ । म मनमनै हिसाब गर्छु र सोच्छु– “काकाले नबुझेका हुन् कि बुझेर पनि बुझ पचाएका हुन् ।”
“हैन, के भयो बाबु किन चूप ?” भान्छामा गुन्ष्ुक उमालिरहेकी काकी घर किन्ने कुरा गरेपछि एकनासले क्वारक्वार्ती हामीलाई हेरिरहेकी रहिछिन् । म चूप लागिरहेको देखेर उनले भनिन् – “पैसा अलि पुगेन भने गाउँमा अंशमा परेका केही जग्गाहरू छन्, भोटेले कमाइखाएको एउटा पक्की घर छ । शहरैमा बस्ने भएपछि नाथे गाउँको के माया ! दशपाथी धानको बीउ लाग्ने खेत, घरवारी र मसँग भएका यी ढुङ्ग्री तिलहरी बेचेर भएपनि त पैसा पुगिहाल्छ नि । शहरमा त एउटा घर बनाउनै प¥यो । कति एउटै कोठामा जीवन धान्ने । हामीलाई भन्दा पनि अब त छोराछोरीको चाहनाको लागि पनि त एउटा घर बनाउनैप¥यो शहरमा ।”
काकी पनि काकाकै शैलीमा भट्भटाउन थालिन् । म चूप थिएँ तर बोल्ने पालो मेरै थियो । म के बोल्ने कसरी बोल्ने भन्ने दोधारमा थिएँ । यो शहर हो । शहर भन्नु समस्याहरूको विशाल अजिङ्गर हो । म जानाजान कसरी काका र काकीको परिवारलाई त्रिशूलीको सङ्लो पानीबाट नाता छुटाएर अजिङ्गरको बस्तीभित्र धकेलुँ ? अहँ ककक म सक्दिनँ । एकफेरो लगाउन एकबिहान लाग्ने घरबारी गाउँमा बेचेर मान्छे किन शहरमा दशहात जग्गा किन्न लालायित हुन्छन् ? गाउँमा स्वच्छ हावा खाएर पनि दश दिन बढी बाँच्न सकिन्छ । म कसरी यी कुराहरू काका काकीलाई बताउँ । म सक्दिन ।
**
आफ्नो कान्छो छोराको सहाराले पुनः मलाई काकाले उनको कोठामा आमन्त्रण गरे । म बाध्य तुल्याइएँ, तसर्थ गएँ । मलाई अगाडि नै थाहा थियो– काका अब अघोषित पागल बनेका छन् र मलाई भेट्ने बित्तिकै भन्नेछन् –“बाबु मसँग डेढ लाख रुपियाँ छ । अब शहरको कुन ठाउँमा एउटा चारकोठे घर किनुँ ?” तर यसपटकको भेटमा उनी अलि फरक देखिए । उनको कोठाभित्र पस्नासाथ उनले मलाई बाकसबाट एकएक लाखको चार बिटो रुपियाँ हातमा राख्दै भने –“दीपक बाबु । मैले गाउँको घरखेत सबै बेचिदिएँ । शहरमा त एउटा घर बनाउनैप¥यो । अब मसँग चारलाख रुपियाँ छ । तिमी केही दिन फुर्सद निकाल । मेरो एउटा बूढो सपना साकार पारौं न ।
म छाँगाबाट खसें । जुन नहुनुपर्ने थियो, त्यो आँखाअगाडि भयो । अब त मैले काकाको गतिमा कदम चाल्नै पर्छ । “म अझै चूप लागेर बस्दा एउटा जाली दलालले काकाको पैसा खाइदियो भने ‘” मैले यसतर्फ यतिभन्दा बढी कल्पनै गर्न सकिनँ र भने “आजैदेखि हामी तपाईंको लागि घरको खोजीमा लाग्नेछौं ।”
भोलिपल्टैदेखि घर खोजीको लागि हामी युद्धस्तरमा लाग्यौं । शहरका प्रायः दलालहरूसँग हामीले सम्पर्क राख्यौं । ‘घरजग्गा बन्दोबस्त सेवा’ का अफिसहरूमा हामी धाउन थाल्यौं । अनगिन्ती घरका मालिकहरूसँग हाम्रो चिनाजानी बढ्यो । ट्याक्सी ड्राइभर पनि नपुगेका चोक, डबली, फाँट र बस्तीबस्तीमा हामी खुट्टा बजार्दै पुगिरहन्थ्यौं । शहरमा बिक्न तयार घरहरू हामीलाई पहिले नतमस्तक भएर स्वागत गर्थे–, कोठा चोटा सबै हेरिसकेपछि भाउ सोध्दा घरहरूले ङिच्च लाएर दाँत देखाउँथे । जतिसुकै छोटा र साँघुरा घरहरू खोज्दा पनि सात आठ लाखमुनिका घरहरू हामीले भेटेनौं ।
बिहान खाना खाएर घर खोजीमा हिंड्नु र बेलुका निन्याउरो अनुहार, थाकेको शरीर र धूलोले ढपक्कै ढाकेका कपाल र सर्टपेन्टमा गृह प्रवेश गर्नु हाम्रो नित्यकर्म नै हुन्थ्यो । काकी भने लोडसेडिङ्गभित्र पनि उज्यालिएर हामीलाई कुरिरहेकी हुन्थिन् र कोठाभित्र पस्नु पहिले नै सोध्दथिन् –“कस्तो घर भेटियो ? धारापानी चाहिँ राम्रो हुनुपर्छ है । आफ्नो घरमा पनि हैरान हुन नपरोस् ।”
काका सधैंं काकीलाई आश्वासन दिने गर्थे तर कहिल्यै पनि चार लाखले शरहमा अझै घर नभेटिएको तीतो सत्य खोल्दैनथे । कहिले दक्षिणमोहडे घर भेट्टिएको, कहिले फूलवारी नभएको त कहिले धारा र बाटो नपुगेको घर मात्र पाएकोले राम्रो घरको खोजीमा अझै लागिपरेको कुरा काकीलाई सुनाउँथे । काकी यिनै कुराहरूमा भुलेर राम्रो घरको कल्पनामा मनको लड्डु घ्यूसँग कुपुकुपु खान्थिन्, छिंडीको कोठामा कुञ्जिएर ।
हामीले घडेरी किनेर घर बनाउने विचार पनि नगरेको होइन, जतिसुकै सस्तो घडेरी किन्दा पनि शहरमा साँढेदुई लाख जति खर्च भइहाल्छ अनि बाँकी एक डेढलाखले कसरी घर बनाउनु ? समस्या झन्झन् टड्कारो रूपमा देखिन थाल्यो । घडेरी भएर चार लाख रुपियाँ जति हातमा भए सामान्य किसिमको भुइँतले घर बनाउन सकिन्थ्यो तर फेरि त्यत्रो पैसा कहाँबाट जुटाउनु । मुहान नखोजेको त कहाँ हो र तर गरिबको लागि कतैबाट पनि पैसाको मुहान भेटिंदैन रहेछ ।
“चार लाखमा पनि शहरमा घर पाइन्छ ?” दलालहरू एक आपसमा सोध्थे र हामीलाई खिसिटिउरी गरेर हाँस्थे । हामी चुपचाप हुन्थ्यौं । न रिसाउन सक्थ्यौं न हाँस्न मिल्थ्यो । खुकुरीको चोट अचनोलाई भनेझैं हामी चोट खेपीखेपी घर खोजीमा लागिरहन्थ्यौ, कतै न कतै त पाइहालिन्छ नि भन्ने झिनो आशामा ।
एकदिन बिहानै एउटा तिल चामले कपाल भएको ख्याउटे दलाल मेरो घर खोज्दैखोज्दै घरमै आइपुग्यो । उसले साढे तीन लाखमा एउटा चारकोठे घर पाइएको कुरा सुनायो । मैले काकालाई बोलाएँ । काका पनि दंग परे । अझ पचास हजार त काकाको छुट्टै बैंक ब्यालेन्स हुने भयो । कुरा राम्रो हो । काकाले किन्ने नै निधो गरे । “धारापानी, बाटो बिजुली आदि भए पनि नभए पनि हुन्छ है बूढा ।” भनेर काकीले हैरानीको श्वास फेरेपछि हामीले ग्रिन सिग्नल्ड पायौं । मलाई भने अब काका सुकुम्वासीबाट भूमिपति भए भन्ने कुरामा खुसी लाग्यो ।
हामी दलालको पछिपछि लाग्यौं । दलालले शहरको मुटुबाट हिंडाएर हामीलाई शहरको भित्तैमा पु¥यायो । सामुन्ने लमतन्न पहाड उभिएर हामीलाई अभिवादन गरेझैं ग¥यो । सिर्सिरे चिसो बतासले हामीलाई स्वागत गरे । छेवैमा कलकल गर्ने सफा स्वच्छ पानीको मुहान नागबेलीझैं फैलियो । पातला बस्ती आधी गाउँ आधी शहर भएर बाँचिरहे । आँखा चारैतिर घुमाउँदा सुन्दर चित्रझैं देखियो ।
काकाले परिवेश मन पराएर भने –“घर हेरुँ न ।”
घर पनि लायककै थियो । फराकिलो आँगन । आँगन वरिपरि जाइफूलको बोटहरूले बेरिएको चौंडिलाझैं कम्पाउण्ड । घरपछाडि तरकारी बारी, घरको दाहीनेतर्फ कपुर र आरुको एक एकवटा रुख । देब्रेतिर छुट्टै सानो चर्पी । जस्तापाताले छाएको छानामुनि एउटा गाउँले पाराको भान्छाकोठा र बाँकी तीनवटा कोठाहरू । सानो, सुन्दर, शान्त घर ।
घर पनि काकालाई मन प¥यो । चाउरीले कुच्चिएको मुखलाई घाममा सेकाउँदै काकाले पुनः बोले –“घरधनी भेटुँ न ।”
घरधनीलाई बोलाइयो । एउटा सुकेनाश अधवैंसे फाटेको टोपी टाउकोको मध्यभागमा सिउरिएर सामुन्ने आयो र ‘जदौ’ ग¥यो ।
काकाले सोध्यो –“घर कतिमा बेच्नुहुन्छ ?”
“तीन लाख भनेको हजुर ।”
दलालले आँखा तरेपछि फेरि अकमकाउँदै भन्यो–
“साँढे तीनलाख हजुर ।”
“किचलो केही छ कि ?”
“यो मेरो आफ्नै घर हजुर, केही किचलो छैन ।”
“किन बेच्न लागेको त ?”
“साहूको ऋण तिर्न ।”
“कति छ ?”
“साउँ ब्याज हिसाब गर्दा तीन लाख छ ।”
“बच्चा कति छन् नि ।”
“छ जना ।”
“घर बेचेपछि परिवारलाई कहाँ राख्छ्यौ ?”
“‘‘‘‘‘‘‘‘”
घरधनी चूप भयो । उसको अनुहारमा डेरा खोज्दाखोज्दै थाकेको सुकुम्वासीको समस्या लिपिन थाल्यो । काकाले घरधनीको अनुहारमा पोखिएको पीडाहरूको भाव एक एक गरेर पढे । अनि भर्खरसम्म खुसी भएका काका एक्कासि दुःखी भए । निधारबाट चिट्चिट पसिनाहरू काट्दै आफूले उमेरभरि भोगेको दुःख बिचरा यो दलितलाई नदिने विचार गरे । “यहाँबाट उछिट्टिएर यो विचरा जावस् कहाँ र कहाँ गएर जिन्दगीको भीख मागोस् ?” घरविहीनहरूलाई दैवले जहाँ गए पनि सताइरहन्छ ।” काकाको मुटुमा नमिठो सत्य चल्मलायो, र आफूले किन्न खोजेको घरको घर धनीलाई कुममा समाउँदै चिच्याउन थाले –“तिमीले घर बेचेपछि टाउको ओत लगाउन एउटा छुट्टै संसारको सृष्टि गर्नुपर्छ । यो दुःखी संसारमा केवल ओत पाउनको लागि छुट्टै संसारको सृष्टि गर्नु तिमी हामीजस्ताको लागि ज्यादै गाह्रो काम हो । बिन्ती घर बेच्ने कल्पना छोडिदेऊ । म शहरमा घर किन्ने सपना छोडिदिन्छु । कल्पना र सपनाको खाडलमा मानिसहरू भासिनाले दुःखबाट कहिल्यै मुक्ति नपाइँदो रहेछ । जे छ, त्यसैमा जिउन सिकौं । कल्पना र सपनाको फूलवारी मनभित्र मात्र सुन्दर हुँदोरहेछ । यथार्थमा त सबै कोरा मरुभूमि तसर्थ तिमीलाई मेरो सतहमा खसालेर म तिम्रो आँगनमा रमाउन सक्दिनँ । सक्दिन ककक सक्दिन ककक कसैलाई हरिकङ्गाल बनाएर म कसैको पनि घर किन्न सक्दिनँ ।
काका एकनासले चिच्याइरहे । साकार भैसकेको एउटा बूढो सपना मुठ्ठीभरिको आवेगले चकनाचुर पारेर उनी पश्चिमतर्फ हानिए जहाँ काकाझैं थाकेको बूढो सूर्य खोच परेको डाँडापछाडि डुब्दै थियो ।
(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)