~वासु शशी~
सबभन्दा एक्लो जीव रूख हो
जो कसैसित भेटन जाँदैन !
के आफ्नो छायाको मान्द्रो विद्याउँछ
जो उसकै हावाले च्यातिदिन्छ !
अरूहरू उसका कोही छैनन्
ऊ आफूबाट उडेर जाने चरासित जतिकै निशंग छ !
ऊ मानो केबल एउटा ठाउँ हो
जहाँ वसन्त आफूलाई उपलब्ध गर्न आउँछ !
अथवा समयमात्रै हो
जो जहिले पनि केवल ‘बित्छ’ !
उसका बारेमा सबभन्दा व्यर्थ कुरो हो
साथमा अरू रूख पनि हुनु,
उसका हाँगाहरू भाँचिनु,
अथवा ऊ उम्रदै नउम्रेको हुनु !
क्यै’ नहुनु बरोबर क्वै’ नहुनु बरोबर
ऊ आफूमात्रै छ !
ऊ एकान्तमा छ होइन
ऊ स्वयं एक्लो छ !
(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )