~उपेन्द्र श्रेष्ठ~
यो देशमा
यो वर्ष पनि
सडक कति भैरहने म ?
मेरोलागि
छैन यहाँ च्यातेको एक टुक्रा सुख
मेरोलागि
छैन यहाँ फाटेको एक टुक्रा शान्ति,
यो वर्ष पनि
यो देशमा
मर्नेहरू मरेकै छन्
मार्नेहरूले मारेकै छन्,
यो वर्ष पनि
यो देशमा
केही भोका छौं
केही नाङ छौं
छैन यहाँ शान्ति
छैन यहाँ सुरक्षा
यो वर्ष पनि
यो देशमा
मर्नेहरूले, कहाँ पायो जीवन ?
मार्नेहरूले, कहाँ पायो दण्ड र सजाय ?
फेरि
यो हिंसा र नरहत्याले
यो देशमा
अब रहेन
जीवनको अर्थ र मूल्य
अब रहेन
यो देशमा
बुद्धको महान्वाणी
र अद्वैतको आदर्श र मूल्य
मर्नेहरूले
यो देशमा
कहाँ पायो न्याय ?
कहाँ पायो जीवन ?
मार्नेहरूले
लुट्नेहरूले
यो देशमा
कहाँ पायो दण्ड ?
कहाँ पायो सजाय ?
यो देशमा
यो वर्षपनि
खाँचो छ मलाई सुरक्षाको
खाँचो छ मलाई न्यायको
यो वर्ष पनि
केही नाङ्गा छौं
केही भोका छौं
यो वर्ष पनि
दुःखको कुनै सीमा छैन
दमनको कुनै हिसाब छैन.
यो वर्ष पनि
यो देशमा
भोको र नाङ्गो छु म
असुरक्षित
र आतड्ढित छु म
यो हिंसा र हत्याले
अब रहेन यो देशमा
प्रजातन्त्रको अर्थ
र जीवनको मूल्य
अब रहेन यो देशमा
जीवनको अर्थ परिभाषा.
यो देशमा
सडक कति भैरहने म ?
कति आतड्ढित
र कति असुरक्षित भैरहने म ?
नयाँ जीवन
र नयाँ मौसमको लागि
कति हुने म विस्थापित ?
यो वर्ष पनि
यथावत् छ मसँग मेरो सङ्घर्षको लावा
यथावत् छ मसँग मेरो आगोको आत्मदाह.
यो वर्ष पनि
मर्नेहरू मरेकै छन्
मार्नेहरूले मारेकै छन्
यो देशमा
मर्नेले कहाँ पायो न्याय ?
मार्नेले कहाँ पायो सजाय ?
यो वर्ष पनि÷ यो देशमा÷
न्याय र जीवनको लागि
यथावत् छ मेरो संघर्ष
यथावत् छ मेरो आन्दोलन
मेरोलागि
छैन यहाँ च्यातेको एक टुक्रा सुख,
मेरोलागि
छैन यहाँ फाटेको एक टुक्रा शान्ति,
पोष्ट बक्स १३८३८, काठमाडौं
(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)