~वासु शशी~
मेरो भागको मेरो बिहान
मैले सित्तै फालिदिएँ ।
दुइजना तरुणीहरू दुइ-दुइ पल्ट मकहाँ आए
मैले उनीहरूको वास्तै गरिनँ ।
यो मेरो मन
मैले यसमा मनपरी कुरा खेलाएँ !
रूखबाट झरिरहेका थिए फतफती पातहरू
मलाई त्यही हेरिरहन मनलाग्यो, हेरिरहे !
मलाई मन परेन-
मैले कुनै पनि बालकलाई कोठाभित्र आउन दिइनँ !
कुनै अखबार पढिनँ, कुनै गीत सुनिनँ
क्यै’ काम गरिनँ !
हिजो अस्ति कमाइरराखेको केही पैसा छ
त्यसैबाट क्यै’ खान्छु !
अथवा यो मेरो पेट
मै यसलाई भोको राख्छु !
मेरो कुनै आग्रह छैन,
मृत्युको कामना पनि गर्दिनँ !
मेरो शरीर यो
यसलाई म जे इच्छा भयो त्यही गर्छु !
मानिसहरू मेरा विषयमा कुरा काट्छन, काटुन
फुर्सतको समय बिताउँछन्, बिताउन !
वास्तवमा आजको बिहान
मेरो निमित्त भएको पनि होइन !
मैले पनि यसलाई सित्तै फालिदिएँ
सो त्यो पनि कसैको विरुध्दैपनि होइन, कसैको निमित्त पनि होइन!
(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )