~खडकराज गिरी~
बूढो रूख गजक्क–गमक्क परेको छ । अग्लो, मोटो, हाँगा–बिंगा विकासिएकाले डम्म परेको गतिशील छ बूढो रूख । उसका हाँगा–बिंगा त झन् आफूलाई सक्षम अभिव्यक्ति दिन तत्पर भइरहेजस्ता देखिन्छन् । ‘मै हूँ’ को अभिव्यक्ति छ डालाहरूमा र छ अहम्को साम्राज्य विस्तारित । बूढो रूख गन्दैन कसैलाई कारण ऊ जत्रो÷ऊजस्तो छेउछाउमा कोही छैन ।
एक दिन जराले डराउँदो लाचारस्वरमा जदौ गर्दै भने ः ‘ईश्वर, महिनौं भयो न जल पाइएको छ न मल, तपाईंलाई ख्वाउने खुराकसमेत सिद्धियो हामीलाई आफ्नो सुर्ता छैन, तपाईंकै चिन्ता छ‘ तपाईं हुनुहुन्छ र त हामी छौं । मल–जलको व्यवस्था छिट्टै होस् हजुर ‘!’
बूढो रूख गर्जियो– ‘तेरो यत्रो ह्याउ‘ बोल्छस्‘ डर देखाउँछस्, हाम्रा लागि बाँचिदिएको’रे‘ हामी नभए तँ बाँच्ने थिइनस् ‘’
– माटो बोलेन, जरा बोलेनन्, पानी बोलेन, घाम बोलेन,
जरै नभइदिएका भए यो अग्लो रूख कहाँ गजक्क–गमक्क परेर उभिन सक्थ्यो र ! जरै नभइदिएका भए यो रूख कहाँ पुजिन्थ्यो र !
जरा थिचिएका छन् युगौंबाट, जरा मिचिएका छन् ः कोही पुज्दैन ।
जराहरू वातावरण हेर्दै सोचिरहेछन् ः कहिले बुद्धि पस्ला मेरो काँधमा उभिने यी विवेकशील, चेतनशील भनाउँदा जीवमा ।
निरुपाय भई जसै उसले प्रश्वास फाल्यो, एउटा चर्को आर्तनाद सुनियो । बूढो रूख लड्यो– असहाय बजारियो भुईंमा । माटो लाचार थियो थाम्न सकेन उसले पनि । सबै आ–आफनो लाचारीमा हेराहेर गरिरहे । अन्तिम प्रश्वासमा भने बूढो रूखले स्वीकार गर्छ ः “म गलत रहेछु‘ तेरो संरक्षण मेरो पहिलो कर्तव्य हुनुपथ्र्यो ‘’ अनि भीष्म पितामहले झैं पृथ्वीसित कामना गर्छ ः ‘हे धरणी ! मेरा आउने पुस्तालाई अन्याय, अत्याचार, भेदभावबाट टाढा रहने ज्ञान देऊ‘ शक्ति देऊ ‘।’
यथार्थलाई स्वीकार्न बाध्य यही अन्तिम अवस्थामा त होइन्छ । पहिल्यै स्वीकार्न सकेका भए के विद्रुपित हुने थियो र परिवेश !
भीष्मपितामहजस्तो बूढो रूखका उद्गार सुन्न जराहरू भने जिउँदा थिएनन् !
– डिगबोई (असम)
(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)