~श्यामल~
त्यसै फेदीबाट लागेको थिएँ उकालो
त्यसै फेदीमा आइसकेंछु
पर्वत उक्लनु भनेको त झर्नु हो
शिखरमै, अल्झनु भनेको त मर्नु हो ।
मूसाहरूले खनेर सगरमाथा
ढलेको छैन अहिलेसम्म
फेदीमा नपुगी शिखर कसैले
चुमेको छैन अहिलेसम्म
तिम्रो उचाइ भनेको
महासागरको अतल गहिराइ हो
ओर्लनु भनेको माथिमाथि
उक्लनलाई हो
उक्लनु भनेको त फेरिफेरि
ओरालो झर्नलाई हो ।
फेदीमा नपुग्दै
केही मानिसहरू
तिम्रो उचाइसँग जुधेर मरे
आफ्नो उचाइको आभासमा
केही मानिसहरू
आफ्नै शरीरले थिचेर मरे
तर कुनै लाचेले ठुँगेर
रुखहरू ढालेको छैन अहिलेसम्म
कञ्चनजङ्घाको चाँदीलाई
कुनै आगोले गालेको छैन
तिम्रो फेदीबाट नै हो पर्वत
ओर्लन जानें मैले ।
पर्वत ! तिम्रो उचाइ नाप्न त फेदी चाहिन्छ
फेदीमा नपुगेर शिखर चुम्न कहाँ पाइन्छ ?
– नेपालगन्ज (२१ मे १९९९)
(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)