~वासु शशी~
पछि जति निहुरन परे पनि रूख
धरतीलाई छुदैनन ! !
कुतूहलले उठेका थिए यिनी
प्रभात आउने बाटो हेर्न !
हाँगाहरू फैलिएका छन यिनका
किरणहरू संगाल्न !
पात पात छन् प्यासा हेर
आफूमा आकाशको रङ्ग उतार्न !
बतासैमात्रमा पनि उताउलो यिनी अब
आफूलाई मर्मराइदिन !
आफ्नो छायालाई पनि चलाइरहन्छन्
‘उठ्न’ भनी यिनी माथि लैजान !
अब जरासमेत शिर उठाउँछन मोटो देखि यिनका
उँभो उँभोको बादल पिउन !
कि ढाल्ने पर्छ यिनलाई
फेरि पृथ्वीमै पछार्न !
नत्र शिशिरै पनि खप्ने बानी भैसक्यो यिनको
आफूलाई उभ्याइराख्न !
(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )