~भक्त खपाङ्गी~
केही खस्¥याकखुसुक आवाज आएजस्तो लागेकाले जन्तरीको निद्रा भङ्ग भयो । झिमझिम पानी परिरहेको रहेछ । छानाबाट तपतप चुहेको पानीले खुट्टापट्टि एक छेउमा ओछ्यान भिजाइसकेको रहेछ । बत्ती बाल्न छामछामछुमछुम गरी, सलाई फेला पारी तर सलाई नमज्जाले ओस्सिएछ । दुईचार काँटी कोरिहेरी । पटक्कै बलेन । उठेर अँध्यारैमा ओछ्यानको भिजेको भाग लुँडो पानृ थाली । लोग्ने जन्तरेको खुट्टाले अप्ठ्यारो पा¥यो । खुट्टा ठेल्दै भनी (“अलि पर सार हे तिम्रा खुट्टा । खुट्टा भिजिरा’का छन् तै पनि था’पा’का छैनन् । कस्तो निन्रा लागिदे’को हो त !”
छेउमा सुताइराखेको नानी गुज्गुजाउन थाल्यो । एकछिन थप्थपाई । पर्तिर सुताइएकी छोरीलाई छामी । पैताला मात्र भेटी ।
“हेर, यो केटी त चिसो भइँमा पो लडिरा’की रछे । बाउचैंलाई था’सुद्धी केई हुने होइन सुतेपछि । हाउ डल्लीका बाउ, उठ । कस्तो सारो निदा’को ?” लोग्नेलाई घच्घच्याई । अर्धनिद्रित अवस्थामा जन्तरे भुत्भुतायो(“के गर्छे यो आइमे अँध्यारामा ?” पानी चुहेर ओछ्यान भिजाएको, छोरी तेर्सिएर भुइँमा सुतिराखेकी, सलाई नपरेको, पर सुतेका ठूली र माइली छोरीहरूको अवस्था थाहा नभएको आदि व्यहोरा गन्गनाउँदै सुनाए । साथै छानो नछाएको गुनासो पनि गरी ।
“रातिहुँदि नकरा हे कल्चुँडी ! कति कचकच गरिरन्छेस् । बूढी भइसकेर पनि ब्याउन छाड्दिनस् । तेरा चिची(भुँडी पाल्दै ठीक्क छ । छानो कसरी छाउनु ? भाडामा ले’को जाबो यौडा मिसिनका भरमा यत्रा जाहान पालिरा’को छु । कहिल्यै धर दिन्न ।” हकार्न खोज्यो ।
“जाबो यौडा मिसिन अरे ! यौडा मिसिनले कत्रो कमाइ गर्छन् मान्छेले ! अलि बजारमा निस्किऊँ न भन्दा टेर्दैनन् । भुँडे कैयाँले बरन्डामा बस भन्दैछ, कानमा तेल हालेर बस्छौ ।”
“दिन्छ त्यसै बस्न । कल्ले भन्दा भुँडे कैयाँले । कालिगडी जेला भन्दा पनि थोर पैसा दिएर दुन्याँभरि सिरकका खोल, सिरानीका खोल सिउन लाउँछ । फाल्टु गाहाकको काम गर्न दिने हो र ? तेल्लाई रामरी चिनेको छु मैले । भो अब चुपो लागेर सुत् ।” “के सुत्नु यो चिसो ओछ्यानमा ?” एकछिन अडिएर भनी (“ए ! साँची, अघि के खास्राकखुस्रुक गर्दैथ्यो । कोई मान्छे पो आ’कोथ्यो कि !” “के खान को आउँछ याँ’? तेरो थुतुनु बन् गर् अब । म सुत्छु । अइले निदाइएन भने ब्यान उज्यालो हुनजेल सुतिन्छ । अँध्यारैमा उठिएन भने यो ठाउँमा हग्नघरि पाइँदैन । मान्छे गतिला भएर बारीमा धरि हगन दिन छाडे । हामी गरिपले चैं हग्नमुत्न धरी नपाउनु ? अब त धनामानीहरूले हगल गौडोधरि घरभित्रै बनाइसके । बाइर जानुपरो भने घरभित्र पस्चन् । सुत्ने कोठासङै टँसाएर पैखाना बनाउँछन् । कस्तो घिन पनि नलागेको ! हामीले चैं पाखाहुँदि बस्नधरि नपाउने । कस्तो अन्या, अतिचार ! तर हाम्ले पनि जान्या छ ती ठूलाबडा भनाउँदाहरूलाई ठीक पार्न ! अध्यारैमा गो, बाटैमा थुपा¥यो, हिंड्यो । अनि खान्चन् मडिङ वाक गर्नेहरूले ताजा हावा ! अचेल कुकुर पनि मात्तिएर गुखान छाडिहाले ।”
“हिजोआज ठूलाबडाहरू हाम्रो सुकुम्बासी टोलको बाटो हिन्न छाडे । कोईकोई झुक्किएर हिंडिहाले भने रुमालले मुख छोपेर हिंड्छन् । हुन पनि यत्रो गाउँमा कसैको पैखाना छैन । सबै बाटैमा हग्छन् ।” “के गर्नु त ? झुपडी हाल्ने ठाउँ त बल्लतल्ल ओगटिएको छ । त्यै पनि कुन दिन उठाएर खेद्ने हो । दयामया हुँदैन सर्खारसङ । ओइलानी जग्गा न ठहरियो ! कुन दिन पुलिस लाउने हो ? भग्वान्ले नै केई गरे भने मत्तै !” थकित स्वरमा बोल्यो जन्तरे । व्यङ्ग्यात्मक स्वरमा बोली जन्तरी (“पिल्स्याए तिम्रा भगवान्ले ! भग्वान् पनि धनीकै पक्छेमा हुन्छन्, बुझ्यौ ? जइले पनि उँदेरकै हुँदो गराउँछन् । हामी गरिपलाई कहिले हेरेका छन् ?”
“भग्वान्(देउता धनीसङै त खुसी हुन्छन् नि ! तीर्थवर्त गर्न धनीले सक्छन् । दिल खोलेर दानदच्छिना उनेरले गर्छन् । पूजापाठ उनेरले गर्छन् । देशविदेशबड ठूल्ठूला महात्माज्ञानीपण्डित ल्याएर पुरान लाउन सनेरले सक्छन् । सैंयादान, तुलादान उनेरले गर्न सक्छन् । मन्दिर बनाउन, देउताको मूर्ति थापना गर्न उनेरले सक्छन् । ब्यान घण्टौं पूजा गर्न उनेरले भ्याउँछन् । हामी नाथे फूल चढाउनधरि सधैं भ्याउँदौनँ; न त भग्वान् खुसी पार्ने मन्तर नै हामी जान्दछौं । शुद्ध संस्कृतबड भन्दामत्तै बुझ्छन् उनी । अरू त के भोकै बसेर शुद्ध पेटले वर्तपूजा गर्नधरि धनीले नै सक्छन् । हामी त भोकै बसौं भने काम गर्न सक्तौनँ । काम नगरे खान जुर्दैन नखाए काम गर्न सकिंदैन । निराहार बसेर नाम जप्तामात्रै देउता खुसी हुन्छन् ।” जन्तरेले दर्शन छाँट्यो ।
कुरो काट्तै जन्तरी बोली (“भोकै बस्ता खुसी हुने भए हामीसङ पनि खुसी हुनुपर्ने होइन भग्वान् ? भस्मेमा बस्ता कति बसियो बसियो भोकै ! यिंही आइकन त हो नि दुवै छाक खान थालेको । नभा’कति भोकभोकै बसिऊँ; हैन भन त ? साँच्चै भनुँ भने यै केटो जन्मिकन यो दुईछाक खान थालेको । लच्छिनको छ मेरो छोरो ।” अँध्यारामा निदाएको छोरालाई ऊ मुसार्न थाली ।
???
बिहान नित्यक्रिया सकेर जन्तरे घर आइपुग्दा उज्यालो हुन आँटेको थियो । पानी अडिएको थियो । कतैबाट टिपेर ल्याएको दुईचार थुँगा फूल चढाउन आफ्नो पूजा गर्ने ठाउँमा पुग्यो । एउटा फल्याक भित्तामा डोरीले अड्याएर एउटा देउताको सानो फोटो राखिएको थियो । त्यही फोटामा फूल चढाउन हात लम्काएको मात्र थियो उसका आँखा एउटा अनोठो वस्तुमा परिहाल्यो । आश्चर्यचकित हुँदै एकछिन उभिइरह्यो । त्यहाँ एउटा सेतो बिंड भएको चाँदीको दापसहितको कलात्मक खुकुरी थियो । फूल कतिखेर चढाइसकेछ उसले भेवै पाएन । दुवै हातले आँखा माड्यो । आँखा खोलेर फेरि हे¥यो । जगजग परेको खुकुरीअगाडि छँदै थियो । च्याप्प समात्यो । हस्तीहाडको सेतो कलात्मक बिँड दाहिने हातले मुठ्यायो । थुत्त तान्यो । टलक्क टल्केको खुकुरी निस्क्यो । गदगद भयो । अनायासै उसको मुखबाट निस्क्यो (“हे पर्भु ! हे भगुवान् ! हे पर्मेस्सोरी । तिमीले मलाई यो के दियौ ?”
अलि पर्तिर दुइटा छोराछोरी लिएर भुइँमा लडिरहेकी स्वास्नीलाई उठाउँदे भन्यो (“ए जन्तरी ! उठ् अब ! हेर् मेरो हातमा के छ ? चाँडो उठ् न । हेर् याँ हेर् ।” जन्तरी उठी । आँखा उघार्दा चाँदीको खुकुरी देखेर ऊ पनि स्तब्ध भई । सोधी (“काँ’भेट्टायौ ? चाँदीको जस्तो छ !”
“हो, यो, यो चाँदीकै हो । पिउर चाँदी हो । यो बिंड अस्सली हात्तीको दाँतको हो । यो मैले भेट्टा’को होइन । देउताले दिनु भा’को ।” हर्षविभोर हुँदै बोल्यो जन्तरे ।
पल्लो कुनामा सुतेका ठूली र माइली छोरीहरू पनि उठेर त्यहाँ आइसकेका थिए । जन्तरे बेलीबिस्तार लाउन थाल्यो (“बाइर गएर आउनेबित्तिकै फूल चढाउनधरि नपाउँदे यो देखिँहालें । भग्वान्ले आफ्नैअगाडि राखेका र’चन् । तँ भन्थिस् नि भग्वान्ले हामी गरिपलाई हेर्दैनन् भनेर । अब त पत्याउँछेस् भग्वान्लाई ? भग्वान् धनीकै मात्तै पेवा हो र ? देखिस् मेरो भक्ति देखेर मेरा देउता(भग्वान् खुसी भए । यसले मलाई काँ’ बड काँ’पु¥याइदिन्छ !”
“के यो बेच्नु” अलमल्ल परेकी जन्तरी सरलतापूर्वक सोध्छे ।
“े ग्वाँजी र’चे यो ! लाटी !घरमा सह आ‘को हो यो । अब सहकाल सुरु भो । लच्छिन जागेको । यो देउताको बर्दान हो । अब फलिफाप हुँदै जान्छ ।”
“मेरो यो छोरो लच्छिनको छ भनेर तेसै भनेकी हो मैले ! मेरो बाबा !” छोराको कलिलो टाउको सुम्सुम्याउन थाली जन्तरी । उसले एउटा चिन्ता व्यक्त गरी (“तर यो राख्नु पो कसरी ? काहाँ ?”
“के कुरा गर्छे यो लाटी ! हन तीं भग्वान्कै अगाडि राख्नुपर्छ नि !” सहजै भन्यो जन्तरेले ।
“त्याँ कसरी रहन्छ ? बाइरबाटै बड छर्लङ्ङ देखिन्छ । दुन्याँले सोध्लान् । के भन्नू ? फेरि भित्ता त्यस्तो कच्ची छ । पराल सरिसकेको छ । मान्छेको हात सजिलै छिर्छ ।, सजिलै तानेर लगिहाल्छ नि चोरले ।”
“त्यस चोरका काँड पार्दैनन् र देउताले ?” देउताप्रति अटल विश्वास प्रकट ग¥यो उसले । “भाग्गेमा छ भन्दैमा डोकामा दुद दुँदा अडिन्छ ? भाग्गेले दियो कर्मले ठेल्ला नि बाबै ! माल पाएर मत्तै हुँदैन चाल पाउनुपर्छ, होस् गर्नुपर्छ ।” जन्तरीले अनुभवी कुरा गरी ।
“हो हुन त । यो कलिजुगमा देउताको पनि केई लाग्दैन । तेरा कुरा पनि ठीक हो । अँ …. यसलाई मेरा सिरानमुनि राख्ने गर्नुपर्छ ।” ठूला छोरीहरूतिर हेर्दै आदेश दियो (“तिमेरले यो कैल्यै नछुनु है ! छोरीचेलीले छुनुहुँदैन । त्यसमा पनि अर्काको घर जाने बेला भइसकेका छौं । अब तिमेरका लागि पनि केटाको सुराक लाउन थाल्छु ।”
???
केही महिनापछि । जन्तरे बसेको टोल खाली गर्नुपर्ने सूचना आयो । अब प्रहरीले होइन शाही सेनाले नै उठाउने हल्ला फैलियो । देशमा सङ्कटकाल लागेकाले नेताहरूको केही जोर नचल्ने भएछ । केही उपाय नचल्ने देखेर जन्तरे पनि अर्कै ठाउँ सर्ने सुरसारमा लाग्यो । उसले अब ठूलो समस्याको सामना गर्नुपर्ने भयो । उसलाई रकमको अति नै आवश्यकता प¥यो । लोग्नेस्वास्नीको धेरै लामो छलफल, वादविवाद र मननपछि त्यो खुकुरी बेच्ने निर्णय भयो ।
एकदिन बिहानै खुकुरी झोलामा हालेर सहरको एक धनी व्यापारीकहाँ जन्तरे पुग्यो । केही छिनको कुराकानीपछि उसले व्यापारीलाई माल देखायो । व्यापारीले निकैबेर खुकुरी ओल्टाईपल्टाई हेरेर उसलाई फर्काइदियो । त्यो धेरै महङ्गो माल भएको, आफूसँग त्यत्रो रकम अहिले नभएको भन्दै उसलाई एउटा धनी व्यापारी चिनाउँदै त्यहीं जाने सल्लाह दियो ।
खुकुरी बोकेर ऊ त्यहाँबाट हिंड्यो अलिपर पुगेर फर्की हे¥यो । व्यापारी फोन गर्दै थियो । यस सहरमा ऊ पूर्ण परिचित नभएकाले त्यस व्यापारीले भनेको धनीमान्छेको घर सजिलै पत्ता लाग्यो । भव्य भवनको मूल गेटबाट ऊ भित्र छि¥यो । दुई मिनेटपछि एउटा वर्दीधारी प्रहरी पनि त्यहाँ पुग्यो । एकै छिनपछि ऊ इलाका प्रहरी कार्यालय पु¥याइयो ।
प्रहरीको आदेशबमोजिम उसले खुकुरी प्रस्तुत ग¥यो । प्रहरीको हाकिमले उसलाई हप्काउँदै सोध्यो (“यो कहाँ फेला पारिस् ?”
ऊ अक्मकियो ।
“राम्ररी भन् । नभा’अइले … ।” हाकिम कड्क्यो ।
थुक निल्दै उसले भन्यो(“साहेप, यो मलाई देउताले दे’को हो ।”
“के भन्छ यो पागल !”
“सत्ते, धरोधर्म हजुर, मैले ढाँटेको होइन ।” जम्लाहात गर्दै भन्यो ।
कार्यालय हाताभित्र एउटा सरकारी गाडी प्रवेश गरेकाले हाकिम हतारिएर बाहिर निस्कँदै आदेश दियो (“यल्लाई लगेर हालिदे ।”
ऊ हिरासत कोठाभित्र पसाइयो ।
बेलुकी पख उसलाई पुनः हाकिमको कोठाभित्र पु¥याइयो । उसको अवस्थाबाट उसको ‘मर्मत’ भइसकेको प्रस्ट झल्किन्थ्यो । उसले आफ्नो टोलनजिकैको एक ठूलो महाजनलाई सोफामा बसिराखेको देख्यो । छेउमा पहिलोचोटि भेटेको व्यापारी पनि थियो । आफ्नै कुर्सीमा बसेको हाकिम त्यो व्यापारीलाई हातले देखाउँदै भन्दै थियो (“उहाँले टेलिफोनबाट इमिडियट्ली इन्फर्म गरिदिनुभएकाले यसलाई सप्रमाण फेला पारिएको हो ।”
जन्तरे सबैलाई ढोगेर जम्लाहात गरी उभिरह्यो । फेरि बयान सुरु भयो । उसले आफ्ना तिनै कुरा दोहो¥याइरह्यो । अन्त्यमा महाजनले भन्यो (“यसलाई मैले राम्ररी चिनेको छु । यसले राम्रो लुगा सिउँछ । यो त्यस्तो फटाहा मान्छे होइन । वास्तवमा चोर त्यही हो जुन अघि मैले सा’बलाई भनेको थिएँ । मेरो चौकिदारले त्यतिखेर त्यसलाई लखेटेको पनि हो । निस्पट्ट अँध्यारो, त्यसमाथि पानी परिरहेको, कहाँ हरायो हरायो ! चौकिदारले त्यसलाई राम्ररी चिन्न सकेछ । म पनि त्यसलाई चिन्छु । गाउँकै केटो हो, नामुद फटाहा । त्यस दिनदेखि गाउँबाट फरार छ । मलाई त विश्वास थिएन यो माल यसरी फेला पर्ला भनेर । यसको बयानबाट मैले के अन्दाज गरें भने इन्सपेक्टर सा’ब, चोर अँध्यारामा त्यो फोहोर गल्लितिर पसेछ । मेरो चौकिदारले उसलाई चिनिसकेको भेउ उसले पाएकै थियो र लखेट्दै आउँदै पनि छ भनेर त्यसले तुरुन्तै यसको घरको टाटीबाट हात छिराएर यसले पूजा गर्ने ठाउँमा राखिदियो । यसको घरसित पनि ऊ राम्ररी परिचित थियो । त्यसपछि उसले टाप ठोक्यो, अहिलेसम्म पत्तो छैन । यसले बेच्ने हुँदा म भाटौं आउनुपर्छ नि । बजारतिर हिंड्दो भएछ । तर केही छैन, यतिका महिनापछि मैले आफ्नो माल भेट्टाएँ । धन्य, मैले बेलैमा तपाईंहरूलाई इन्फर्म गरेंछु ।”
जन्तरे प्रहरी कार्यालयको गेटबाट बाहिर निस्किँदा साँझ पर्न लागेको थियो । आफ्ना चारवटा छोराछोरीसहित जन्तरी उसलाई त्यहाँ पर्खिराखेकी रहिछे ।
(स्रोत : मधुपर्क पौष २०५९ अङ्क 35 :: No. 08 December 2002 – January 2003. )