कथा : अन्तिम पत्र

~टङ्क भट्टराई~

प्रिय,
प्रेम भन्ने वस्तु, कति अनौठो र अनन्त रहेछ । नचाहँदा(नचाहँदै पनि प्रेम अचानक भइदिन्छ । चाहँदा(चाहँदै पनि प्रेम अचानक टुटिदिन्छ । यो कस्तो संयोग हो म ठम्याउँदिन । दुई हृदयबीचको यो कस्तो मिलन बिन्दु हो म चाल पाउँदिन । शायद, मनको अनन्त गहिराइसँगै प्रेमको अथाह गहिराइ गाँसिएर होला । प्रेम चाहेर पनि नहुने, नचाहेर पनि हुने यो कस्तो खेल हो ? प्रेम हुने र नहुने यी दुईबीचको सीमारेखा कहाँसम्म छ ? शायद प्रेमको विशिष्ट र विशाल दर्शन लेखिन बाँकी नै भएर होला कि ?

हामी यात्री हौं । प्रत्येक मान्छेको जीवन एक शृङ्खलाबद्ध यात्रा हो जन्म र मृत्युबीचको । यात्रामा अनेक घटनाहरू घट्छन् । जीवनका अनेक उहापोहबीच यात्रा विशृङ्खल पनि हुनसक्छ । कति सम्झनायोग्य घटनाहरू घट्छन् त कति पानीका फोकाझैं चाँडै बिलाउने खालका । क्षणहरू कति सुखद र मनोहारी हुन्छन् र कति अत्यन्तै पीडादायी र दुःखदायी पनि । बाटामा अनेक बटुवाहरू हिँड्छन्, के ती सबैलाई सम्झन सकिन्छ ? अवश्य सकिन्न; यो तिमी पनि स्वीकाछ्र्यौ होली । सम्झिनकै लागि त बिर्सनै नसकिने घटना हुनुपर्छ जीवनयात्रामा ।

तिमी एकातिरबाट यात्रा गरिरहेकी थियौ; म अर्कोतिरबाट यात्रा गरिरहेको थिएँ । हाम्रो उद्देश्य बिलकुल फरक थियो; गन्तव्य फरक थियो । तथापि हिंड्दै जाँदा एउटा चौतारीमा भेट भयो । हिंड्दा(हिंड्दै तिमी पनि थाकेकी थियौ, म पनि थाकेको । चौतारीमा हामी सुस्तायौं । त्यहाँको हरियाली, हावाको त्यो मनोहारी उच्छवास हाम्रो मुटुको भित्री तहमा पुगेर लहराउन थाल्यो । कति सुखद र आल्हादकारी थियो त्यो क्षण हाम्रो लागि । त्यहींबाट हाम्रो प्रेमको अगाध र स्निग्ध यात्रा सुरु भयो ।

प्रेम हुनु के अपराध हो र ? संसारमा प्रेम नै यस्तो पवित्र वस्तु हो जसले राम्रो(नराम्रो, वृद्ध(युवा, धन र निर्धनबीचको भयङ्कर पर्खाललाई भत्काउन सफल हुन्छ र मान्छेलाई दिगन्तसम्म बाँच्न प्रेरित गर्छ । प्रेमले मर्न सिकाउँदैन बाँच्न सिकाउँछ । तैपनि म जान्दिन प्रेमलाई किन मान्छेहरू सङ्कीर्णताको अर्थमा बुझ्छन् ? किन प्रेमका निष्कलङ्क हरियाली फाँटमा कलङ्कको पर्खाल उभ्याउँछन् । तिमीसँग छुट्टिएका दिनहरू धेरै बितेका त छैनन् । तैपनि यो हृदयभित्र नजानिंदो औडाहा र आँधिबेहरी मच्चिन छाडेको छैन । सबैलाई वसन्त मीठो लाग्छ भन्छन् । मलाई त वसन्त थोरै मीठो र धेरै नमीठो लाग्छ । तर नमीठो भन्नु पनि कसरी ? त्यही नमीठोबीच एउटा कसैले नपाएको अलौकिक मीठो आनन्द पाइरहेको हुन्छु । शायद प्रेमानन्द भनेको त्यही होला ।

प्रेम बस्न कुनै योजना र तयारी चाहिँदो रहेनछ । त्यो न अचानक र आफसे आफ हुँदोरहेछ । हामीबीच त्यही भयो । म विवाहित थिएँ, तिमी अविवाहित मैले तिमीसामु ढाँटिन । तिमी पुष्ट भयौ तर पनि तिमी मबाट पन्छिन सकिनौ । प्रेमको स्निग्ध डोरीले हामीलाई कस्तै लग्यो । प्रेम अन्धो हुन्छ शायद यसै अर्थमा होला । तिमी ममा समर्पित भयौ म तिमीमा लीन भएँ । हामी प्रेमको तेजोमय आभामा प्रदीप्त हुँदै गयौं । घरपरिवार र संसारलाई बिर्सदै गयौं । मलाई लाग्थ्यो हामी दुईजस्तो सुखी को रहन सकेको होला र ! दुनियाँमा ।

अँ वसन्तको चर्चा निकालेको थिएँ । वसन्त मलाई मीठो र नमीठो लाग्नुको अर्थ यो हो कि वसन्तमै हाम्रो सुखद मिलन भएको थियो र त्यही वसन्तमै हामी एकापसमा छुट्टिएर तड्पिन पुगेका थियौं । तिम्रो र मेरो मिलन त्यति लामो अवधिसम्म रहेन । अत्यन्त छोटो रह्यो । तर त्यो छोटो अवधि नै हाम्रो लागि जीवनको सिङ्गै एक पाटो बनेर रहने भयो । जसलाई चाहेर पनि भुल्न सकिन्न । तिमी सम्झन्छ्यौ हगि ! बिर्सन त कहिले पो सकौली र ! हामीले प्रेम क्रीडा गरेको हाम्रै भूगोलको एक ठाउँ तिमीले पनि छोड्यौ, मैले पनि छोडें तर त्यो भूगोल हामी दुइकै हृदयमा मीठो बिम्ब बनेर बाँचिरहनेछ । हामीलाई सँधैं मिलन गराइरहनेछ र त्यही नै हाम्रो प्रेमको साक्षी हो । हाम्रो प्रेमको गहिरो निशाना हो ।

त्यो हाम्रो प्रेमभूमि कति रमणीय थियो हगि ! ती सल्लाका रूखहरू कस्तरी सुसाउँथे । जसका फेदमा बसेर हामी घण्टौंसम्म प्रेमालाप गरिरहथ्यौं । अहिले ती रूख कत्रा भए होलान् ? अहिले पनि सुसाउँदै होलन् । हाम्रो विछोडको विरहीगीत गाउँदै होलान् । ती हरिया चउरहरू, लेकाली नागीहरू जहाँ हामी आधारातसम्म बसेर आकाशको चन्द्रमा नियाल्थ्यौं र चन्द्रमाको त्यो प्रदीप्त आभामा लोभिएर मुस्कुराउँदै एक अर्कामा दीर्घ चुम्बन गथ्र्यौँ । त्यसबेला तिमी कस्तरी लजाउँथ्यौ हगि ! अहिले लाग्छ त्यो देखेर जून पनि हामीसित ईष्र्या गथ्र्यो कि कतै !
आहा ! कति रमाइला ती लेकाली डाँडाहरू जहाँ राता गुराँसहरू फुले रातै(रातै अबिर सरी भएर मुस्कुराउँथे । सिमलहरू सेतै फुल्थे हिमालजस्तै लहरै दाँत देखाएर । कति सुन्दर थियो त्यो ठाउँ, कति सुन्दर ती गुराँसहरू । त्यही प्राकृतिक मनोहारी दृश्यसँगै हाम्रो आत्मीयता पनि पल्लवित र पुष्पित हुँदै थियो । त्यो बेला हामी स्वर्गीय आनन्दले विह्वल थियौं । त्यही गुराँसका फेदमा बसेर पारिपट्टि लहरै अविचल उभिएका सुन्दर हिमालहरूलाई साक्षी राखेर हामीले जीवनमा सँगै बाँच्न र सँगै मर्ने कसम खाएका थियौं । अनि मैले राता गुराँसका सुन्दर थुँगाहरू टिपेर तिम्रो केशमा सजाइदिएको थिएँ । थाहा छ ? त्यसबेला तिमी कति सुन्दरी देखिएकी थियौ र आनन्दविभोर भएर मेरा काखमा लुटपुटिएकी थियौ । अनि म पनि कति रोमाञ्चित भएको थिएँ त्यसबेला । त्यो ठाउँ शायद कुनै पनि बाँकी रहेन होला हामी नपुगेको न नडुलेको । जेहोस् पुग्न नसकेका ठाउँमा आँखाले चाहारियो । त्यो हिमालको फेदीबाट अविरल बगिरहेको निर्मल खोला जहाँ सहस्रौं पूर्णचन्द्र त्यसको गहिराइमा बिम्बित भएर लुकामारी खेल्थे । ती भीर, पहरा, हरिया डाँडा(पाखाहरू ती मोहिनी हिमालहरू, ती निमग्न चरिरहेका चौँरी र जोक्पेहरू, ती भेडी गोठहरू, जङ्गलमा सुसाइरहेका ती सल्लाका रूखहरू, त्यो कोइलीको सुरिलो मोहिनी बोली, लुकामारी खेलेका ती होचा पोथ्रा र बुटाहरू आदि सबैका मनोरम दृश्यहरू हृदयका यी भित्री तहमा सङ्कलित भएका छन् र याद आउनासाथ एक पछाडि अर्को दृश्य गर्दै आँखा अगाडि नाच्न थाल्छन् र हाम्रा विगतका पानाहरू पल्टाइदिन्छन् ।

यसरी त्यो समय हामीलाई आनन्दको अन्त्यहीन युगजस्तो लागिरहेथ्यो हैन त ?

तर त्यो समय पनि आयो, जुन दिन तिमी र म छुट्टिनुपर्ने भयो । हाम्रो हृदयमा ठूलो बज्र परेजस्तो भयो । उदास र उद्विग्न हृदय लिएर हामी छुट्यौं फेरि भेट्ने वाचा गरेर ।

हामी छुट्टिएपछि तिमीले कति चिठी पठायौ, मैले कति पठाएँ गनेर साध्य छैन । फोन तिमीले कति ग¥यौ मैले कति गरें बोलेर साध्य छैन । मन सा¥है अशान्ति भयो बेचैन भयो । मेरो वरिपरिको संसारमा तिमी सिवाय केही देखिन मैले । रातभर(रातभर आँसुले सिरानी निथ्रुक्क भिज्यो । तिमीलाई पनि त्यस्तै भएको चिट्ठीबाट म थाहा पाउँथे ।

प्रिय, समय गतिवान् छ, निरन्तर बगिरहन्छ । समय सँगसँगै मान्छेका धारणा र सोचाइहरूमा पनि परिवर्तन आउँछ । समयले नै मान्छेलाई परिपक्व र प्रगाढ बनाउँदै लान्छ । दिनपछि रात आउँछ । फूल फुलेपछि ओइलिन्छ । यात्रामा हिँड्दा उकालीपछि ओ¥हाली झर्नै पर्छ । बिहानै उदाएको सूर्यको अरुणिमा साँझ परेपछि निस्तेज भएर क्षितिजबाट ओह्रालो लाग्नै पर्छ ।

तिमीसँग प्रेम गर्न थालेपछि म अझै घर गएकै छैन । तिम्रै प्रेममा भौंतारिरहेछु । मेरी घरकीले पठाएका थुप्रै(थुप्रै पत्रहरूको जवाफ अहिलेसम्म एउटा पनि दिएको छैन । छोराछोरी के गर्दैछन् ? बुबा(आमा के गर्दै हुनुहुन्छ ? म दायित्वविहीन र कर्तव्यच्युत भएको छु । समय आफ्नै गतिमा बग्दैछ, म आफ्नै सुरमा दौड्दैछु ।

तिम्रो साँझमा आइदिन्छ मुुटु नै छिया(छिया हुने गरी । वसन्त आउँदा स्मृतिका पानाहरू फरफराउन थाल्दछन् । सदाझैं घुम्दै फिर्दै यसपालि पनि वसन्त आइपुगेछ । यो वसन्त किन हो चौपट्टै राम्रो देखिन्छ, प्रकृतिको अनुपम गहना । वसन्त जति राम्रो देखिन्छ यसले पीडा पनि उत्तिकै थपिदिन्छ । कसले देख्ने मनभित्रको जहर !

प्रिय, मलाई समयसँग आजकल अत्यन्त डर लागिरहेछ । समय ठूला दा¥हा नङ्ग्रा फिँजाएर मेरो अगाडि बीभत्सरूपले उभिएजस्तो लाग्न थालेको छ । एकरात सपनामा मेरी घरकी हातमा खड्ग र त्रिशूल बोकेर मेरो अगाडि उभिई । रातो लपलपाउँदो जिब्रो निकालेर मलाई डरलाग्दो गरेर हेरी । उसले साक्षात् रणचण्डीको उग्ररूप धारण गरेकी थिई । अनि मेरा छोराछोरी हातमा तरबार बोकेर मलाई हान्न तयारी अवस्थामा उभिएका थिए । तिनीहरू उसका अङ्गरक्षक जस्ता देखिन्थे । पर कता हो कता, वृद्ध बुबाआमाको नजानिंदो आकृति देखिन्थ्यो । त्यो डरलाग्दो सपनापछि म ब्युँझें । ब्युँझदा म पसिनाले लतपत थिएँ ।

तत्पश्चात् म आजकल भिन्नै भएको छु । मलाई किन(किन नारी रणचण्डी नै हो कि जस्तो लाग्न थालेको छ । उसका खुसीका सुनौला महलहरू भत्काउन डर लाग्न थालेको छ ।

आजकल म जिन्दगीको नयाँ मोडमा उभिएकी छु र जीवनलाई विविध अर्थमा बुझ्न खोज्दैछु । मनको लहड र एकोहोरोपन मात्र जीवन होइन । आफ्नो कर्तव्यपथबाट विचलित नहुनु पनि जीवन हो भन्ने कुरा बुझ्न थालेको छु र तिमीले पनि त्यो बुझ्न जरुरी भएको छ ।
तिमी नरिसाऊ प्रिय ! कहिलेकाहीं आफैंले गरेको प्रतिज्ञा पनि तोड्नु पर्दोरहेछ । आफैंले उठाएका वाचा र बन्धनका पर्खालहरू पनि भत्काउनु पर्दो रहेछ ।

त्यसैले यो पत्र नै तिम्रो लागि अन्तिम पत्र हो र तिमीले पनि मेरो निम्ति अब पत्र पठाउने चेष्टा नगर ।

धैर्य नटुटाऊ प्रिय ! मलाई समयले देखाएको बाटोमा दौड्न देऊ र तिमी पनि आत्मालाई दरिलो बनाएर समयसँग सङ्घर्ष गर्न सिक । कहिलेकाहीं बिपरीत बाटो पनि हिँड्नु पर्दोरहेछ; बाटो बिराउनु पनि पर्दोरहेछ । तिमी चित्त नदुखाऊ किनकि एउटी नारीले जीवनभरि साँचेको खुसी लुट्नु तिम्रो लागि पनि अधर्म हो । उसले एकलौटी उभ्याएको सुनौलो सपनाको धरोहर एकाएक भत्काइदिनु तिम्रो लागि पनि पाप हो । तिमीले बुझ्नुपर्छ कि नारी धर्ती हो । उसको छातीमा निर्मम बज्र प्रहार गर्नु हुन्न । उसको संवेदना टुट्यो भने सिर्जना नष्ट हुन्छ । नारी विशाल आकाश हो, उसलाई खुम्चन दिनु हुन्न । उसको छातीलाई आकाशको विशालतासँगै फैलन दिनुपर्छ ।

तथापि हाम्रो प्रेम जीवन्त र अटल रहेनछ । सशरीर जीवनमा सँगै यात्रा गर्नु मात्र प्रेम होइन । तिमी र म यो पृथ्वीको दुई ध्रुवमा उभिएर पनि प्रेम बाँच्न सक्छ । प्रेमलाई पवित्र अर्थमा ग्रहण गर्न सक्नुपर्छ । हेर त ! ऊ पर सुदूर क्षितिजबाट पृथ्वीले आकाशलाई चुम्बन गरेको कति मीठो र स्निग्ध छ तर के पृथ्वी र आकाशको मिलन सम्भव छ ? तर पनि ती दुईबीचको स्नेह कति प्रगाढ र सुमधुर छ !!

त्यसैले प्रिय, तिमीले सबल हृदय लिएर यो स्वीकार्न सक्नुपर्छ कि यो नै तिमीलाई मेरो अन्तिम पत्र हो । हृदयलाई विदीर्ण नपार । एकपटक द्रवित नहोऊ । कहिलेकाहीं विपरीत परिस्थितिलाई सहज स्वीकार्न सक्नुपर्छ । आनन्द मात्र प्रेम होइन, आँसु पनि प्रेम हो । ल त प्रिय ! यो अन्तिम पत्र तिमीलाई पठाएर म धेरै समयपछि आफ्नै घरतर्फ प्रस्थान गर्दैछु । सँदाझैं वसन्त अहिले पनि घुम्दै फिर्दै आइसकेको छ । यो वासन्ती मधुमासको मधुर स्पर्शले मेरो गाउँ पनि रमाइरहेको होला । वनपाखामा रातै(रातै गुराँस फुलेर मलाई स्वागत गर्न तम्सिरहेका होलान् । ती गुराँसका सुन्दर थुँगा टिपेर यसपाला म उसैका चुल्ठामा सिउरिदिन्छु, जसलाई मैले मेरो जीवनको प्रथम यौवनकालमा उसका बाबुआमाबाट पाणिग्रहण गरें । आकाशमा चम्किएका ध्रुवतारालाई साक्षी राखेर त्यो प्रथम रात ऊसँगै बाँच्ने कसम खाएँ । ती गुराँसका थुँगा तिमीलाई जस्तै उसलाई पनि कति सुहाउँदो हो । अनि ऊ त्यही गुराँसजस्तै लालिमा छर्दै तिमीजस्तै मतिर फर्केर मुस्कुराउँछे होली र मेरा काखमा आनन्दले लुटपुटिन्छे होली । त्यहाँ पनि कोइली कोहो ? कोहो ? गर्दै मीठो गीत गाइरहेको होला । पारि वनमा न्याहुली न्याहु(न्याहु गरेर विरही गीत गाइरहेको होला । ऊ पनि त्यही कोकिलकण्ठ मीठो गीत र न्याहुलीको विरही गीतसँगै मलाई सम्झेर शून्यमा हराइरहेकी होली र काखमा त्यो सानोलाई च्यापेर दूध चुसाउँदै रोइरहेकी होली यो बेला । सल्लेरी पाखामा स्वाँऽऽ गर्दै निमग्न सुसाइरहेका सल्लाका फेदमा बसेर ऊ पनि मैलाई संझदै अथाह पीडाको सुसेली हालिरहेकी होली । घरमुनि आलुबखडाका बोटहरू सेतै(सेतै भएर फुलेका होलान्; ऊ तिनैलाई हेर्दै टोल्हाइरहेकी होली । हावाको मीठो वासन्ती उच्छवास्सँगै सुन्तलामा माहुरी झुमिरहेका होलान् । ऊ पनि तिनै माहुरीलाई हेर्दै कताकता उडिरहेकी होली । घर छेउका बाँसघारी र ठूलो वरको रूखमा बसेर साँझमा चिरबिर चिरबिर चराहरू कराउँदा होलान् । ऊ तिनै धून सुनेर मीठो अतीततिर फर्किरहेकी होली । त्यो दिखुवा खोलामा सुशीतल निर्मल जल बहिरहेको होला सँदाझैं । ऊ त्यही जल अञ्जुलिमा पिउँदै जलेको मन शान्त गरिरहेकी होली ।

त्यसैले प्रिय ! म चाँडै आफ्नै घर फर्कदैछु ।

मेरा साना लालाबाला ‘बुबा कहिले आउँछन् ?’ भनेर उसलाई सोधिरहेका होलान् । ऊ घामको गोधूली किरणसँगै घरमुनि बारीका छेउमा बसेर पारि म आउने बाटो हेरिरहेकी होली । आँखाभरि पानी छचल्काएर ऊ टोल्हाइरहेकी होली, मलाई नै पर्खिरहेकी होली ।

(स्रोत : मधुपर्क पौष २०५९ अङ्क 35 :: No. 08 December 2002 – January 2003. )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.