~डा. महाश्वेता चतुर्वेदी~
म यहाँ बन्दी भए पनि
चैतन्य छु
यो बन्धनमा अल्झे पनि
मुक्त हुनाले धन्य छु ।
विषको बीउ छर्नेचाहिं
अज्ञानी भएर भौंतारिएका छन्
आफ्नै संहार गर्नेहरू
कसरी हुन सक्छन् धीमान ?
वरदानरुपी यो अन्तचक्षु
पाएँ मैले उपहारमा
यस आँखाले हेर्नेचाहिं
हुन्न पराजित विश्वमा ।
कुन शक्तिको उन्मादमा
अन्धोसरी ऊ डुल्दछ
आफू स्वयं छलिएकाहरूले
के सक्छन् ? छल्न अरूलाई ?
सत्यको सोपान थाहापाउन
यो कुरा बुझ्नुपर्छ
आनन्द सूत्र पाउनकालागि
यसलाई त फुकाउनुपर्छ ।
तिर्सना बोकेर साम्राज्यको
कति यो सृजना गर्ने होला
अमृत–स्रोत नभेटेको खण्डमा
गाग्री कसरी भर्ने यो होला ?
देवहरूको यस राज्यमा
आनन्दको सागर बग्दैछ
अङ्गार सरी बलेको विश्वमा
आफ्नै शक्तिले ऊ डढ्दैछ ।
रक्सीको घुड्को मात्रले
कस्तो चढ्यो यो उन्माद
वाण झैं भित्र पसेर
ब्याकुल ग¥यो संवादलाई
वयका अमूल्य मणिहरू
गाथदेखि लोप भए
विश्वासका ऊर्जा हराए
अवसानका विरुवा पलाए
आफ्नो सक्षम प्रेरणालाई
सोझासाझाले नै चिन्दछन्
हिलोसरी यस दागलाई
प्रतिक्षणले उनी हटाउँदछन् ।
कल्पनामा मस्त भई
मलाई विरोधी ठान्दछन्
साध्य सुख नभोगेकाहरू नै
अति व्यस्त यहाँ देखिन्छन् ।
कवयित्री परिचय
डा. महाश्वेता चतुर्वेदी समसामयिक हिन्दी कविता एवं साहित्य क्षेत्रमा स्थापित नाम हो । सुयोग्य पितामाताका सुयोग्य छोरीका रूपमा परिचित कवयित्री चतुर्वेदी साहित्यका अतिरिक्त योग्यताको दृष्टिकोणले एउटा श्रृङ्खला नै बनेकी छिन् । अंग्रेजी, हिन्दी तथा संस्कृतमा स्नातकोत्तर, पत्रकारितामा स्नातक, कानुनमा एल. एल. बी. तथा अङ्ग्रेजी साहित्यमा विधावारिधिको उपाधि हासिल गरेकी डा. महाश्वेता चतुर्वेदीका हिन्दी साहित्यमा चार खण्डकाव्य, दुई गजल सङ्ग्रह तथा समालोचनात्मक ग्रन्थहरू प्रकाशित छन् भने अंग्रेजी भाषामा सात काव्य–सङ्ग्रहका अतिरिक्त विभिन्न सन्दर्भ ग्रन्थहरू पढ्न पाइन्छ । अनेकन राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित डा. चतुर्वेदी विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय साहित्यिक संघ संस्थाहरूसँग पनि सम्बन्धित छिन् । प्रस्तुत ‘विवेक विजय’ शीर्षक कविता उनको ‘विवेक विजय’ महाकाव्यबाट उद्धृत गरिएको हो । यस महाकाव्यको अंशलाई डा. मृदुला शर्माले अनुवाद गर्नुभएको हो– सं.
(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)