~वासु शशी~
रूख उभिरहन्छ
निरूपाय
ऊ लाचारीग्रस्त छ !
संपूर्ण आकाश खुला छ
उसका अगाड़ि
किन्तु ऊ उड्न सक्तैन !
आफूजस्ताहरू धेरै भए पनि
आसपासमा
ऊ बहुत एक्लो छ !
कति छन् छोएर हेर्ने वस्तुहरू
उसका वरिपरि
किन्तु ऊ जान सक्तैन !
आफू व्यक्त भएको छायामा पनि
कालो धब्बाबाहेक
ऊ केही देख्दैन !
उसलाई अनुभूत हुन्छन्
धेरै कुराहरू
किन्तु ऊ भन्न सक्तैन !
उसका अङ्ग प्रत्यङ्गहरू मर्छन
बारम्बार
किन्तु ऊ सँगालेर राख्न सक्तैन !
कतै कहालिएर ढल्न परे पनि
ऊ निसहाय
उसलाई कोही सँभाल्न आउँदैन !
(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )