~प्रबोध देवकोटा~
सानै छँदा मैले एकपल्ट ज्योतिषीलाई हात हेराएको थिएँ । ज्योतिषीले भनेका थिए– म एकदिन ठूलो मान्छे बन्ने छु रे । सबैले मान्ने ज्योतिषी भएकाले म पनि आफ्नो भविष्यप्रति साह्रै आशान्वित थिएँ । एवंरीतले म पढ्दै गएँ र बढ्दै गएँ ।
जब म २० वर्षको भएँ अचानक समयको भेल उर्लेर आयो । यही भेलसँग बग्दे–बग्दै म एउटा त्यस्तो ठाउँमा आउन विवश भएँ, जहाँ मान्छेको कमलो मुटु जवर्जस्ती हथौडाले ठोकेर पत्थरजस्तै साह्रो बन्दो रहेछ । साँच्चै त्यो ठाउँ एकदमै कहालीलाग्दो थियो । तर मेरो आर्थिक विपन्नताको कारण म बाध्य थिएँ ।
सबैको जस्तै मेरो मुटु पनि बदलिंदै गयो । कहिलेकाहीं त मन क्वाँक्वाँ रुन्थ्यो । तर के गर्नु अभागीको भाग्यै उल्टो । म घुल्दै गएँ, मिल्दै गएँ । आँखाबाट छचल्किनै आँटेका आँसुलाई जबर्जस्ती रोक्दै म आफूलाई सकेसम्म मिलाउँदै गएँ ।
म अन्तराष्ट्रिय सेनामा सम्मिलित थिएँ र आजको ठीक १० दिनपछि म लेबनानमा खटिएर जानु थियो । एउटा युद्ध लड्नु थियो मैले । युद्धयुद्धैसँग लडिन्छ भने पनि, म मजस्तै मान्छेहरूसँग लड्न खटिएको थिएँ । सम्भवतः यो मेरो पहिलो लडाइँ हुनेछ । मान्छेको विरुद्ध । छि ! कति घिनलाग्दो हुन्छ मान्छे !
अहिले हाम्रो २२५ जनाको टोली एउटा घना जङ्गलमा टेण्ट कसेर बसेका थियौं । म विरानो मुलुकमा एक्लिएको थिएँ । अभागी नै भए पनि मैले एकजना श्रीलड्ढाली साथी भेट्टाएको थिएँ । भाषा हामी त्यति बुझ्दैनथ्यौं, तैपनि ऊ मेरो आफन्ति जस्तै थियो । बीचका धेरै सेलेक्सनहरू पार गर्दै अहिले पनि ऊ र मसँगै थियौं । रणवीर मलाई साह्रै राम्रो मान्थ्यो र म पनि उसलाई । आफ्नै सम्झेर उसलाई म बीरु भन्थें ।
हाम्रो टोलीको एउटा कमाण्डर थियो । ‘ अग्लो, मोटो, भद्दा‘, भयड्ढर आँखा थिए उसका । ऊ साँच्चै डरलाग्दो थियो । ऊ हातमा प्रायः पिस्तोल लिइरहन्थ्यो । जोडदार आदेश दिंदा पिस्तोल ड्याम्म पाथ्र्यो । मेरी आमाले म सानो छँदा सुनाउने कथाको राक्षसभन्दा पनि डरलाग्दो थियो त्यो ।
हामी यहाँ बसेको लगभग एक महिना जति भयो । बिहानभरि वल्लो छेउबाट पल्लो छेउ कुद्यो । कहिले रुखबाट हाम फाल्यो, कहिले दलदले माटोभित्र घुसेर अन्धाधुन्द गोली चलायो । ठूलाचौरमा गुर्ता र मट्याङ्ग्रा लिएर घुमिहिड्ने पल्टने कान्छो म वारुद र गोलासँग मनसाट्न उछिट्टिएँ ।
सधैंजस्तो आज पनि हेलिकप्टर माथि उड्यो । कमाण्डर जोडसँग आदेश बजार्दै गयो । १,२,३,४ यस्तै गर्दै मेरो पालो पायो । म फुत्त बाहिर निस्कें र माथिबाट पाताहरूजस्तै लाग्ने ठाउँसम्म प्यारासुटबाट उत्रन सफल भएँ । फेरि माथिबाट एउटा डोरी खस्यो म छिटोछिटो एउटा हातमा राइफल बोकेर डोरीबाट माथि–माथि पुग्दै गरें । जब जब कमाण्डरले पिस्तोल पड्काउँथ्यो, म पनि हावामा गोली चलाउँदै गएँ । माथि पुगें । हेलिकप्टर भित्र पसें र फेरि प्यारासूटबाट तल झरें । अनि लाइनमा पङ्क्तिबद्ध भएँ ।
‘ पिस्तोल पड्क्यो । रणवीर प्यारासूटबाट फुत्त खस्यो । तर निशानाभन्दा केही पर, माथिबाटै उसको प्यारासूटले काम गरेनछ र ऊ रगताम्य भएर भुइँमा खस्यो । माथिबाट डोरी खस्यो । तर रणवीरले पाइला चाल्नै सकेन । उसको हातको राइफल भुइँमा खस्यो । ऊ भने लडिरह्यो । माथिबाट पिस्तोल पड्कदै ग¥यो । जवानहरूले आफ्नो कार्य पूरा गर्दै गरे । साँझ पर्नै आँटेको थियो, हेलिकप्टर भुइँमा ओर्लियो । कमाण्डरका आँखा रणवीर माथि प¥यो । रणवीरको अचेत शरीरमाथि अन्धाधुन्द बूट बजा¥यो । केही बेरपछि उसलाई क्याम्पमा लग्ने आदेश दियो । उसलाई साह्रै चोट लागेको रहेछ । एउटा खुट्टा नै भाँचिएछ । क्याम्पमा गरिएको साधारण उपचारपछि रणवीरले आँखा खोल्यो ।
अर्को दिनदेखि हामीले झन्झन् कडा काम गर्नु प¥यो । रणवीर भने उही कुनामा पसारिइरह्यो । एवं रीतले आज नवौं दिनको राति थियो । राति १ बजेको थियो । सबै मस्तसँग सुतेका थिए । मलाई भने पटक्कै निष लागेन । घर सम्झें, डाँडा पाखा सम्झें । एकपल्ट आफूलाई हेरें, आफ्नो बर्दीलाई हेरें । भित्रभित्र मन भक्कानिएको थियो । मेरा आँखा रसाएछन् । रणवीर र मसँगै थियौं । ऊ पनि सायद निदाएको रहेनछ । मेरो कपाल मुसा¥यो उसले, आफ्नै भाइजस्तो गरेर । उसका आँखाबाट पनि आँसुहरू छचल्किएका थिए । धित मरुञ्जेल दुवैले एकअर्कालाई हेरिरह्यौं । मैले बिस्तारै भन्दै गएँ । ए ! बीरु बाँचे भने तँलाई भेट्न आउँला है । मरें भने मेरो लाशलाई सम्झेर दुई थोपा आँसु झारिदिनु है । बीरु पनि केही भन्न खोज्दै थियो तर ग्वार्लाम्म भुईंमा ढल्यो । सायद उसलाई साह्रै दुखेछ । म रोइरहें रातभरि । भोलि बिहानै म कता हो कता जानेछु, बीरु भने यहीं रहनेछ । दुई दिनपछि यहाँ आउने टोलीले उसको रेखदेख गर्नेछ ।
बिहान पाँच बज्यो, पिस्तोल तीनपटकसम्म पड्कियो । सबैले फुर्तिसाथ बर्दी लगायौंं । मैले हतार–हतार परको खोलाबाट एकटुमलेट पानी ल्याएँ । सबै हेलिकप्टर भित्र बसिसकेछन् । म त्यो पानी बीरुलाई दिन जोडले दौड्दै थिएँ । पिस्तोल पड्कियो । बीरु धेरै पर थियो । टुमलेट त्यतैतिर हुत्याए । तर टुमलेट अर्कोतिर हुत्तियो । मेरा पाइला टक्क अडे बीरु बिदाइको हात हल्लाउँदै थियो । म विवश थिएँ । गह्रौं पाइला र बिरामी मानसिकता बोकेर म हेलिकप्टर भित्र पसें ।
यात्रा लामो थियो । म निदाएँछु । सपनामा, मेरो मुटुमा घाउ लागेछ, म मरेंछु । मेरो बीरु मेरो लाशमाथि दुईथोपा आँसु झार्दै थियो ‘ ।
– दाङ
(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)