~आशासिंह शाह~
प्रत्येक कालिमाले आपतहरू अनि पछि प्रभातले शीतबिन्दुहरू क्रमशः पग्लँदै‘ पग्लँदै जान्छन् । यसरी दिवसहरूले ताराहरूको गर्भपात गरिदिने गर्छन् । यसरी जन्मनु र तुहाइनुमा नै विश्वक्रम चलिरहेछ ।
त्यसबेला झिसमिसेमा सधैंझैं कुखुराहरू बासिदिन्छन् । ऊ दैलोबाट फुत्त बाहिर निस्कन्छे । पङ्क्तिबद्ध रूपमा राखिएका घ्याम्पा र घल्चाहरू सफा गर्छे । पहिले सान–साना र त्यसपछि बडेमाका घ्याम्पाहरू ऊ क्रमशः माझ्दै जान्छे । माझिसकेपछि एक–एक गरी ऊ आँगनमा जम्मा गरिदिन्छे ।
त्यसपछि पसल उघार्छे । पसल स्यानो भए पनि चिटिक्क नै छ, त्यति फोहर लाग्दैन । त्यो कोठामा सुकुल छ, बेरिएर दुवै कुनातिर अलपत्र भएर मानौं कसैको सहाराको प्रतीक्षा गरिरहेझैं उभिइरहेछन् । त्यहाँ काठका मुढा र पिर्काहरू पनि यताउता देखिन्छन् । अनि अति मैलिएर कहीं–कहीं मक्किएको जस्तो लाग्ने बेञ्च र टेबुलहरू पनि भित्ताको आड लिएर स्तब्ध भई उभिएका पाइन्छन् ।
घरैमा बनाइएको उक्त जाँडको बास अनौठो प्रकारले आइरहन्छ । जाँडहरू भरिइसकेर फिँजहरू बाहिरै उम्लिएर पोखिंदै गरेको देखिन्छ । त्यसपछि ऊ ती घ्याम्पा र घल्चाहरूलाई ग्राहक पाहुनाहरू बस्नेभन्दा भित्र कोठातिर घिसार्दै गर्छे । त्यो कोठा अलि अँध्यारो भित्ताहरू कोतरिएका भए पनि त्यसलाई एक प्रकारको आकर्षणको केन्द्रबिन्दु नै मान्नुपर्छ ।
त्यस चोटाका माथि दलिनहरू निकै मक्किइसकेर पनि अजिङ्गरझैं भएर थामिइरहेका देखिन्छन् । उक्त अँगेना भएको कोठामा जवर्जस्ती कतै–कतै भित्तामा सेतो कमेरो पोतिएकोले त्यहाँको सत्यतालाई ढाकछोप गरेर इज्जत थामीदिएझैं महसुस भइदिन्छ ।
जे होस्, कान्छीको जीवन घडी एवं एनकेन प्रकारेण घस्किइरहेको छ । अब घाम ढल्कन पनि धेरै बेर छैन । सन्ध्या हुन्छ– ऊ अब चुलो मास्तिरबाट एउटा पिलपिले टुकी झिकेर सल्काउँछे । कोठा मुस्कुराउँछ । बत्ती राखेको डिलनेर अलि मौलिइसकेका गणेश र शिवजीको नृत्यमय मुद्राको तस्वीर देखिन्छ ।
उक्त मझौलाखालको मूर्ति कतै–कतै अविरले पोतिएको पाइन्छ । ऊ त्यसलाई नजिकै गएर ढोग्छे, ढोग्दा उसको सिँउदोतिर अविरले रातै भएको हुन्छ ।
क्रमशः बढ्दै गएको निशामय रात्रिमा उक्त टुकीको पिलपिले प्रकाशले वातावरण नै मुस्काइरहेको भान हुन्छ । ऊ कहीँ हतारिएझैं चुलोनिर पुग्छे, अगुल्टो अँगेनामा झोस्न पुग्छे, फुक्छे । खरानीहरू फुस्रो बनाउँदै उसका कपालमा उडिरहेका हुन्छन् ।
ऊ फतफताउँदै त्यहाँबाट उठ्छे, अनि घल्चाबाट पानी सारेर कपाल सम्याउँछे । ग्राहक पाहुनाहरू बस्ने कोठाबाहिर झुण्ड्याइएको सानो तर मैलो ऐनानिर गएर एक हातले नजिकै टुकी राख्दै एउटा रातो टिकी निधारमा लगाउँछे र मुस्कुराउँछे ।
अलिपर गएर आफ्नो पहिरनलाई ओल्टाई पल्टाई हेर्छे । जे होस्, गवनको रातो तर मटकिलो फरिया र रातै मखमली चौबन्दी चोलीमा ऊ आफ्नो यौवन मुस्कुराइरहेको पाउँछे । त्यसपछि ऊ जवाफहीन ओंठहरू लिएर मूक बन्दै त्यहाँबाट पाइला चाल्न पुग्छे ।
आफ्ना गालाहरू सुम्सुमाउँदै मनमनै ऊ भन्छे– खै म त्यति राम्री त छैन, वर्ष पनि त हुन लागिसक्यो नि । अब साँच्चि के भन्ने मसँगैका दौंतरीहरूका बालबच्चा कत्राकत्रा भैसके, सुन्तलीको छोराको सानै भए पनि त ब्रतबन्ध छ रे पल्लो महिनामा भन्ने सुनथें । मेरो पनि त छोराछोरी भएका भए टुकुटुकु मात्र हैन, लाठे नै भइसक्थे होलान् । ऊ फत्फताउँदै जान्छे ।
ऊ केही अगाडि बढ्छे, उही ऐनासमीप पुग्छे, अनि आफ्ना दुवै गालाहरू सुम्सुमाउँदै भन्छे– के यी पुष्ट गालाहरू चाउरिन पनि कति बेर र ? अब त कतै गालाका पाटाहरू झोल्लिन पनि लागिसके । अलिअलि चाउरिन लागेको नै भन्नुपर्छ । अगाडि घैंटोमा राखेको घ्यू गालामा दल्दै केही हराएझैं, केही पाएझैं गरी ऊ ओहोर–दोहोर गरिरहन्छे ।
ऊ मनमनै गुनगुनाउँदै रहन्छे, म त्यति राम्री त छैन तर किन सबैले मलाई राम्री, हिस्सी लाग्दी नै भन्छन् ? कसैले त मलाई काली पनि भन्छन्, शायद काली भएर त मलाई काली भनेका होलान् । ठीकै छ, कालो रङ्ग पक्का रङ्ग मजस्ती राम्री को छ र ? जे होस्, कसैले भनुन् वा नभनुन् म आफूलाई राम्री नै भन्न बाध्य बन्छु ।
ऊ अगाडि फत्फताउँदै जान्छे । जस्तो भए पनि, जे भए पनि यो समाजले मलाई सुन्दरी नै मानेको कुरामा म पक्का छु । बाध्यताले गर्दा उदाङ्गिन विवश हुनु परेको छ । हैन भने मैले कसरी यो थैलो भर्ने ? हैन भने म कहाँ बाँचेकी हुन्थेँ र ? जे होस् ईश्वरले देखाएको बाटो हो, मेरा दिनले बनाएका बाटाहरू हुन् यी । हो, परिस्थितिको डोरीले मलाई बाँधिदिएको छ । ऊ भन्दै गई, यसैले मेरो मनस्थितिलाई यस्तो व्यवसाय अँगाल्न बाध्य तुल्याइदिएको छ ।
यसरी म बाँचिदिएकी छु, समाजले मलाई बाँच्ने साधन जुटाइदिएको छ । मलाई मात्र यो जीवन हैन, परजीवनको शुरूआत गरिदिएको छ । यत्तिकैमा कान्छीको परेली पग्लिदियो, के के सोचेर हो गालाको बाटो हुँदै पग्लेर बग्न लाग्यो । ऊ मात्र हैन, उनको समाजले डो¥याएको नैतिकता नै पग्लेर झर्न लाग्यो । दुई आँखाको रसाईलाई फरियाको सप्कोले पुछ्दै आँखा ओभाउन लागी ।
ऊ डराई, कतै उसले डाँको छोडेर रोई भने त के हुने होला । मलाई फुल्याउने र आँसु पुछ्ने त कोही हुने छैनन्, केवल अट्टहास गर्नेहरू मात्र । म किन हिल्लीको पात्र बन्ने ? यसरी आफैं सबै कुराहरू बिर्सेर जीवनदेखि तर्सने गर्थी ऊ ।
पहिले मान्छेको छायाँदेखि पनि तर्सिने कान्छी अब ऊ धेरै नजिक भएकोमा आनन्दित हुन थाली । सोझीमा सोझी कान्छी परिस्थितिको फेरामा फन्का मार्न बाध्य भई । उसलाई अब अम्मल भइसकेको छ । अनि तलतल लाग्न लाग्यो । उसका प्रत्येक यौवनभरि स्वप्नमा डढेलो लागे पनि ऊ शीतलताको अनुभव गर्न थाली ।
प्रत्येक दिन उसको पसल बाँझिन पाउँदैनथ्यो । ऊ एकसे एक ग्राहक भेट्टाउने गर्थी । यसप्रकारले कान्छी दिन व्यतीत गर्न थाली । यसरी उसका लुटिएका सपनीहरूसँगै कावा खाने गर्थी । जब–जब दिनहरू घस्कँदै जान्थे, तब–तब आफ्ना इच्छाहरू भताभुङ्ग भएझैं कान्छी अनुभव गर्थी । यति मात्र हैन, उसलाई आफू परजीवी भएको महसुस हुने गथ्र्यो ।
के गर्नु, ऊ विवश थिई । समाजले कतै व्यवसाय नदिएपछि कान्छीले आफ्नो पेटको समस्या समाधान गर्न यो व्यवसाय अपनाउन बाध्य भई । प्रत्येक दिन प्रभात हुन्थ्यो अनिपछि रात‘ । कहिले रात औंसीको बन्थ्यो त कहिले पूर्णिमाको, तर‘तर‘ कान्छीको जीवनमा सधैं एकरूपता थियो । उनले नवीनताको अनुभव कहिल्यै गर्न पाइन ।
सधैंको उही भट्टी पसल, सधैंको उही सितन बनाउनु, उही जाँड, सधैं हूल–हूल ग्राहकहरूसँगको सम्पर्क । ग्राहकहरू धेरैजसो उही– उही रहन्थे । परन्तु दलबहादुरको दिनहुँको उपस्थितिले त्यहाँ आफ्नोपनको अनुभव भनुँ वा अनुभूति हुने गथ्र्यो ।
माघ महिनाको दिन त्यहाँ नजिकैको मन्दिरमा भव्य मेला लाग्नेबेला थियो । परपरका मान्छेहरूको ओहोर–दोहोर हुनाको कारण उक्तदिन कान्छी पनि अझ सुकिली देखिन्थी । रातो बुट्टेदार गवनको फरिया, रातो मखमली चोलो, घाँटीमा मुठीभरिको मुगाको माला लट्काएकी थिई उसले । झन् टिमिक्क गरेर कम्मरमा सेतो पटुकी कस्दा त कान्छी झनै ठाँटिएकी देखिन्थी ।
बिहानदेखि कान्छीको पसलमा यति घुइँचो थियो कि सितन बेचेर भ्याइनसक्नु भएको थियो । कम्मरमा लट्केको थैली त पैसाले टम्म भरिएर बाहिर पनि निस्केको देखिन्थ्यो । दिन ढल्न–ढल्न लागेको थियो । सबै ग्राहकहरू एकएक गरी आ–आफ्ना घर फर्कन सुरसार कस्दै थिए ।
बाहिर माघे झरी परिरहेकोले ठि¥याउने जाडो थियो । कान्छी अँगेनाको छेउमा बसेर अगुल्टो झोस्दै पैसा गनिरहेकी थिई । त्यसैबेला कतैबाट स्याँठ आएर नजिकै बलिरहेको टुकी ध्याप्प निभ्न पुग्यो । अनायास कान्छी अत्ताल्लिई, कसैको हातको स्पर्शले कान्छी झन् आत्तिंदै चिच्याउन पुगी ।
त्यो स्पर्शले कान्छीप्रति झन् आक्रमण भइरहेको उसले अनुभव गरी । कान्छी विवश थिई, परिस्थितिको कमारो भई ऊ, कता–कता हराइदिई । बाध्यताको विकराल तूफानभित्र ऊ निस्सासिइरही । ऊ हराइरही, उतातर्फ पसलमा चहल–पहल बढ्दै जान्छ । ऊ रङ्गिइँदै जान्छे उसका रङ्गीन स्वप्नहरूमा ध्वाँसो लाग्छन्, कुहिरा र हुस्सुहरू लाग्छन् ।
एकदिन त्यो बेला आयो जुनबेला उसले आफूलाई नियन्त्रणभन्दा बाहिर पाई । प्रत्येक रित्तिंदै गएका घ्याम्पाका जाँडहरूजस्तै रित्तिंदै गएको उसले अनुभव गर्दै थिई । परिस्थितिले कान्छीलाई अर्कै बनाइदियो । ऊ पसलमा नयाँ–नयाँ ग्राहकहरू खोज्न थाली, जो सम्पन्न होस् र जसबाट ऐश्वर्यमय जीवन बन्न सकोस् ।
सधैं नै प्रभातको सूर्योदयसँगै यसैको आशापूर्ण कल्पनामा तल्लीन हुन्थी ऊ । उसले आफ्नो जीवन निर्वाह गर्न त्यो पेशा अपनाई । त्यसमा कति बाध्यता थियो त्यो ऊ नै जान्दथी । साँच्चि भनौं भने त्यो ठाउँतिरको मुख्य पेशा नै त्यही हो । धेरैजसो यस्तैखालका पसल खोल्ने गर्छन् । त्यसैले त कान्छी पनि विवश थिई, उसको त्योबाहेक अर्को साधन पनि त केही थिएन । कान्छीको अधर मुस्काए पनि हृदय रोदनले भरिएको अनुभव गर्थी ।
पलपलमा उसलाई आफ्नो मातृत्व निस्सासिएझैं लाग्थ्यो । प्रत्येकदिन दीप मुस्काउनेबित्तिकै ऊ देवताको मूर्तिमा ढोग्न अघि सर्थी । तर किनकिन उसका पाइलाहरू पिछडिंदै जाने गथ्र्यो । जति गरे पनि ऊ अघि बढ्न सक्दैनथी । ऊ हत्याराझैं भौंतारिन्थी । हात जोडेर रुँदै ईश्वरको मूर्तितर्फ फर्केर रुन थाल्थी । अनि कहालिंदै फत्फताउँथी– भगवान् ! यी बिटुला हातहरूले कसरी म हजुरको पूजा अर्चना गरुँ ! माफ गर ईश्वर, मलाई माफ गर ।
यसरी कान्छी आफूलाई त्यो हत्यारा सम्झन्थी जो प्रहरीद्वारा लखेटिँदा भाग्न खोज्छ, आफूलाई उसको ईशाराबाट बचाउन खोज्छ । कान्छी रुन्थी, कराउँथी तर जब बिहान हुन्थ्यो कान्छीको जाँड पसल खुल्थ्यो । खुल्न नपाउँदै पिउने ग्राहकहरू प्रतीक्षामा बसेका हुन्थे । मदिराको मात लागेपछि ऊ कसैको बाहुपासमा आफूलाई पाउँथी । ऊ आफैंभित्र निस्सासिइरहेकी हुन्थी ।
कान्छीका आमाबाबुले कान्छीलाई बाल्यावस्थामा नै छोडेर टुहुरो तुल्याइसकेका थिए । कान्छी यौवनको सिँढीमा उक्लँदैं गई, थोरै पनि लेखपढ गर्न जान्दैनथी । जति–जति हुर्कदै र बढ्दै गइरहेकी थिई, उति–उति नै पेटको समस्याले एकातिरबाट उसलाई जिन्दगीको दौरानमा पिरोल्न लाग्थ्यो भने अर्कोतर्फबाट अट्टहास र उपेक्षा गरिरहन्थ्यो ।
समाजले उसलाई सही बाटोतर्फ स्वीकार्न सकेन । फलस्वरूप ऊ भट्टीको व्यवसायमा लागी । माग अनुसार ग्राहकका गिलासमा ऊ जाँड थप्दै जान्छे, प्रत्येक घुट्कीपिच्छे जाँड रित्तिदैं गएझैं‘ जति जति ऊ पिउँदै जान्थी, उति–उति उसका प्यासहरू बढ्दै जान्थे ।
एकाएक कुखुरा बास्यो । कान्छी सपनाबाट ब्यूँझिन्छे । उसले देखेका सपना त केबल खोक्रो कल्पना पो रहेछ । ऊ आफ्नो छेउमा हेर्छे तर त्यहाँ कोही पनि पाउँदिन । टाढा‘ कतै सन्नाटामा नवजात शिशुको च्याहाँ–च्याहाँ आवाज सुन्छे । ऊ पग्लिरहेका परेलीहरूलाई फरियाको फेरले ओभाउने कोशिश गर्छे । ऊ त्यसबेला आफूलाई बाँझो धरतीसँग तुलना गर्छे । अनि सदाका लागि उसका सपनाहरू पनि गर्भझैं तुहिएर रोइरहेझैं ऊ पाउँछे, उसका जाँडका घ्याम्पा र घल्चाहरू प्रत्येकदिन तुहिएजस्तै ।
आफ्ना रित्तापोल्टाहरू देख्दा उसको मातृत्व शुष्क बन्दै रोइरहेका हुन्छन् । नजिकैबाट गुञ्जिइरहेको रुवाई अझ चर्को सुनिइरहेको हुन्छ । ऊ एकैपल्ट डाँको छोडेर रुन्छे । उसको मातृत्व पग्लन्छ । कान्छीको यौवन सलबलाउँछ । बाहिर सूर्योदय हुन्छ, त्यो आपतसँगै उसका सपनाहरू क्रमशः पग्लिरहेका अनि तुहिइरहेका हुन्छन् ।
(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)