~मनप्रसाद सुब्बा~
ऊ कवि हो । त्यसैले उसलाई
उसका कविताहरूमा कहिल्यै नखोज्नू ।
त्यहाँ हुँदैन ऊ । बरू तिमी हुन्छौ, म हुन्छु
र हामीजस्तै थुप्रै अरूहरू हुन्छन् ।
ऊ त आफूलाई आफ्नो कोठाभित्रै छोडिराखेर
निस्कन्छ कवितामा – तिमी-हरू अनि म-हरू भएर ।
ऊ आफ्ना घाऊहरुलाई शब्दहरूको बिस्कुन बनाएर
कविताको घाममा सुकाऊँदैन
अनि आफ्ना खुशी नै पनि दाँतमा चम्काएर
कुनै टूथपेष्टको विज्ञापनमा हाँस्दैन ऊ ।
बरू आफ्नो घाऊको एक छेऊबाट
यस्तो गाउँँको मानचित्र खिँच्छ कवितामा
जुन गाउँँ भर्खरै दङ्गामा परेर तहसनहस भएको छ ।
शब्दहरूमा अवतरित कवि
आफू हुनै पाउँँदैन कवितामा
त्यहाँ त हुन्छ उसले निर्माण गरेको यौटा हात्ती
जसलाई छामेर अन्धा हातहरूले
आ-आफ्नै विश्वास देख्ने गर्छन् ।
कविताको मूल सडकबाट सँधै किनारिएको हुन्छ कवि ।
कविको सास फेराइ
र कविताको लय
दुइटा अमिल्दा कुराहरू रहेछन् ।