~बद्रीनाथ भट्ट~
नेपाल अधिराज्यभित्र केवल लमजुङ्ग जिल्लामा परम्परागतरूपमा रहँदै आएका दुरा जनजातिको बारेमा थोरै मात्र अध्ययन अनुसन्धान भएको छ । जसले गर्दा दुरा संस्कृतिभित्र लुकेका महत्वपूर्ण प्रतिभाहरू ओझलमा परेका छन् । हुन त नेपालको शाहवंशीय राजाहरूको पुर्खाहरूमध्ये यसोव्रह्मा शाहलाई कास्कीबाट ल्याएर राजा बनाई दुरा डाँडाको सिन्दुरे ढुंगामा अविरजात्रा गराउनमा खजे दुरा (दुरा डाँडा को च्यान्पाटामा सालिक निर्माण भएको) को साहसी र बहादुरीपूर्ण योगदानको उल्लेख इतिहासमा पाइन्छ ।
आधुनिक नेपाली साहित्यमा नाचगान विधामा ‘ठाडो भाखा’ एक महत्वपूर्ण पक्ष हो । जसको थालनी लमजुङ्ग, तनहूँ, कास्की वरपर व्यापक गर्ने महत्वपूर्ण प्रतिभाहरू मध्ये कुनै समय द्यौबहादुर दुरा, मणिराम दुरा, पुडकी दुरा र डडुवाका पंचसुब्बा गुरूङ्ग, हर्क सुब्बा गुरूङ्गको नाम उल्लेखनीय भएपनि यसबारे पर्याप्त जानकारी हुन सकेको छैन । यी प्रतिभा यस संसारबाट बिदा भए पनि यिनीहरू मध्ये सबभन्दा प्रखर प्रतिभाका धनी द्यौबहादुर दुरा बारे स्थानीय जानिफकार, वृद्धजनहरूबाट प्राप्त जानकारीको आधारमा दुरा संस्कृतिभित्रको एक सुसेलीकोरूपमा यहाँ स्पष्ट गर्न प्रयास गरिएको छ ।
लमजुङ्गका विभिन्न ६१ गा.वि.स. मध्ये नेटा गा.वि.स.को वर्दन हाडिखोलामा आजभन्दा एक शताब्दी अघि पूर्ण सिंह दुरा (जसलाई पूर्णबहादुर पनि भनिन्थ्यो) को जेठो छोराकोरूपमा उनको जन्म भएको कुरा वर्दनकै ८६ वर्षीय आसबहादुर दुरा बताउँछन ।
द्यौबहादुरको जन्म तिथि मिति एकिन गर्न स्पष्ट प्रमाण जुटाउन खोज्दा मकै स्वाँराका ८६ वर्षीय दलबहादुर दुरा (माझा घरे) उनका जेठावडासँग तुलना गर्दै द्यौबहादुर वाँदरको वर्गको हो ।
पूर्ण सिंह एक सामान्य किसान भएकाले द्यौबहादुरले तत्कालीन समयमा पढलेखबाट वञ्चित हुनप¥यो । त्यसैले यिनी खेतिपाति, घाँस दाउरामा नै सीमित देखिन्छन् । १४, १५ वर्षको उमेर भएपछि उनमा जवानीको चिन्हहरू थपिन थाले अनि स्वतस्फूर्तरूपमा ठाडो भाखाका पालुवा फक्रन थाले । शरीरको वनौट र पहिरन– द्यौबहादुरको जन्ममिति समेत स्पष्ट नभएकोले त्यसबेला फोटो खिच्नेको कमीले गर्दा शरीरको बनौट सम्बन्धमा नास्केकी वृद्ध वुदिनी दुरा (ववि) हाँस्दै बताउँछिन उ गोरो अनुहारमा गाजले आँखा चुच्चेनाक र करीब ६ फिट जति अग्लो, छरितो ज्यान भएको साह्रै राम्रो थियो भन्दै जवानको उकालीमा ढल्की ढल्की हिंडदा साँच्चैका बाबुसाहेव जस्ता देखिन्थे अझ सेतो नैनसुतको भोटो र गोलीगाठासम्म किराने वाला सेतो काँसको कछाड अनि बाहिर पट्टि कालो इष्टकोट, भादगाउँले कालो टोपी लगाएर चाँदीको झम्का, टाउकोमा कैंची पारेर सफा (गलबन्दी) बाधेर निधारमा सीतारा टीका लगाई, तरुनीले दिएको वास्सा जन्तर र ताओ (जन्तरमा नक्कल पार्न राखिएको बस्तु) लगाई अझ सुहाँउदो बनाउन लगाएको गादोले द्यौबहादुरको शारीरिक व्यक्तित्व साँच्चै आकर्षक र मनै लोभ्याउने थिए भन्ने कुरा थप्छिन । गीतको तालमा नाच्दा गादोभित्र खाकर र कम्बलमा मादल अनि पिडौलामा धमौरा कहिल्यै टुटाएनन द्यौबहादुरले ।
नाच, गीतमा कहाँसम्म पुग्थे त ?– गण्डकी अञ्चलमा द्यौबहादुरको सुसेली त्यसभित्रका सबै जिल्लाहरू कास्की, तनहुँबाट गोर्खा मस्र्याङदी चेपे तदर्थ भने यी जिल्लाका मेला, जात्राको साथै लमजुङ्गको करापुबजार, तार्कुघाट बजार, खुदी, कुन्छा, इलमपोखरी जात्रादेखि उनकै जन्मथलोको वरपरका बजारहरूमा संगी सगिनीका साथ ४, ५ दिनसम्म एउटै थलोमा बस्नु, आवश्यकताअनुसार काठको सानो पिर्कामा नाच्न यिनी कहिल्यै थाकेनन् । ठाडो भाखामा दोहरी गीत गाएको सुन्न युवा युवतीदेखि वृद्धजनको घुइँचो लाग्दथ्यो । मेलापाता, घाँसदाउरा, वन जंगलका उकाली ओरालीमा सँधै रमाइलो नै गर्ने द्यौबहादुरको बानीले गर्दा दुरा समाजमा हरेक कृयाकलाप, बसीउठीमा आज पनि मादल र गीतले अपरिहार्य स्थान लिएको पाइन्छ । मान्छे एक विशेषता अनेक– कैयौं दिनसम्म नाच गान गरेर नथाक्ने द्यौबहादुर हेर्दा हेर्दै अनुहारको वर्ण फेर्न सक्दथे अनि उनीसँग लोभिंदैनथ्यो को र ? भन्ने प्रश्न गर्दछन वृद्धजनहरू । यसैकारणले हुन सक्दछ उनका च्यान्टी, सेती, पंच, तमाङ्गी लगायत धेरै श्रीमती थिए । यिनको मनोरम र सुरिलो भाखालाई जात्रा, मेला, बजारमा सुन्ने आकांक्षाका साथ जम्मा भएका मानिसहरू उनको अनुपस्थिति र सुन्यतामा भन्ने गरेको पाइन्छ कि –
कहाँ गयो द्यौबहादुर दुरा
सुन्य भयो करापु बजार
यिनी नाचगानमा पोख्त मात्र थिएनन् बहुमुखी प्रतिभाका खानी थिए । उनी गएको ठाउँका जात्रा, मेलामा छेलो हानेर पहिला भई पुरस्कार जिती ‘साँढे’ कहलिन्थे, बजारमा गीतमा होस् या छेलोमा पुरस्कृत भएर अविराम्मे हुने यिनको विशेषता नै पाइन्थ्यो । मिदिम र मादी नदीको छेउछाउमा हुर्केका द्यौबहादुर पौडी खेल्न कहलाएका थिए । एकपटक खुदी बजारको जात्रामा जाँदा झगडा भएपछि मस्र्याङ्दी नदीमा हाम्फालेर पौडी खेल्दै ज्यान बचाएको कुरा पनि वुदिनी दुरा बताउँछिन् । त्यतिमात्र नभएर त्यसबेलामा झगडा, जारी जस्ता विषयमा लेखापढी गर्न वरपरमा प्रसिद्धि कमाएका थिए यिनले ।
चाडपर्व, रोदीघर, मेला पाता, पखेराका उकाली ओराली देउरालीमा गाइने गीतमा मायालुपन मात्रै यिनले झल्काएनन् बरू आफैले रचेका, जन जीवनमा मिल्ने, घतलाग्दा गीतहरूले समाजलाई फुरूक्कै बनाउने धोको जागेर आएको उसलाई यादै भएन, तर आखिर उसलाई प्रसिद्ध गायक र नृत्यकार बनाएरै छाड्यो ।
चौतर्फी प्रतिभाका धनी द्यौबहादुर गाउँघरको हँसिया, कोदालो अनि मेलापाताबाट केही समयलाई विदा लिएर भारतीय सैन्यमा केही समय र केही समय नेपाली सैन्यमा विताए । तर नाच गान र मेलापाताको रंगरउसले उनले सैन्य जीवनमा पेन्सन पकाउन सकेनन तापनि पुरस्कारकोरूपमा काँसको थाल, कचौरा र करूवाको सम्मान भने यिनले पाएका थिए भन्ने कुरा यिनैले आफै बनाएको पुरानो घरको पिंडीमा अझै पनि देख्न पाइन्छ । देश, विदेशको यात्रा गर्दै ठाडो भाखा, मादल र घमौराको साथ जात्रा, मेला, पर्वमा वरपरका युवा युवतीलाई निम्तो दिएर सुसेली हाल्दै करापुटारको ताप्रेघारीमा वर्षेनी द्यौबहादुर, वर्दनकै गुञ्जसिंहदुराको छोरी पुड्की, ठूलो स्वारा चण्डी गाउँका मणिराम दुरा र डढुवाका पच्चे सुब्बा, हर्क सुब्बा गुरूङसँग दोहरी गीत गाएर नायकलाई आज यो संसारमा देख्न नपाए पनि ठाडो भाखा र मादलको रन्कोले भने अझै पनि वर्दनकै पखेरामा लुकेको भान हुन्छ ।
बुदिनी दुराको अनुसार गीतको खालमा नयाँ तरूनीहरू देखेपछि आफ्नो परिचय दिंदै युवतीहरूलाई चन्द्र र सूर्यकोरूपमा भट्याउथे द्यौबहादुर–
द्यौबहादुर तीसको गुने भाइ विसको पुतली पन्ध्रको
बल्लमा बल्ल दर्शन पाएँ चन्द्र र सूर्यको
त्यस्तै फागु पूर्णे पर्वमा वर्दनबाट झरेका द्यौबहादुर थप्दथे
द्यौबहादुर दुरा वर्धनबाट झ-यो फाल्गु पूर्णे झुराउन
दिन चारै मात्र वस वस नानी मै जाउँला पु¥याउन
गीतको खालमा जिस्कँदै भन्ने गर्दथे । उनले
सुपारी खाउला काटीमा काटी वेल खाउला फोरेर
हाँस र खेल गरौं न नानी के लानु मोरेर
गीतको रन्कोमा केटीलाई गुण लगाएको देखाउँदै फेरि भन्दथे
तिउन मलाई मिठोमा भयो नेपालको आलु प्याज
आफूमा भने खरीधसी लिने मेरो भने सउ न व्याज
यसरी आफ्नो ठाडो भाखामा नाचेका द्यौबहादुर कम्मरको मादल सिरानीमा राखेर जीवनका अन्तिम समयमा ओछ्यान परेपछि पनि गीत गाउन छाड्दैन्थे र ओछ्यानबाट भन्दथे–
आफ्नु पालामा वैस छदा रहदा डम्फू मादल दुई हातले खेलाइदेउ
यो शीरको फूल बेलैमा गयो मादीमा सेलाई देऊ
द्यौबहादुरका यी सुसेलीका सामान्य झलक मात्र हुन । एउटै जात्रामा मेलामा ४, ५ दिनसम्म गाएर गण्डकी अञ्चलै ढाकेका द्यौबहादुर आजसम्ममा भएको भए कयौं अलवम भरिने थियो होला । तर यस्ता प्रतिभा ९० सालको भुइँचालाको धक्का पछि गाउँ घरमा लेखा पढ गर्न जाँदा तत्काल कुनै कैफत पेटमा परेकोले पेट सुन्नीन थाल्यो, जसले गर्दा लामो समयसम्म ओछ्यानमा थलापरी करीब १९९१, ९२ सालतिर द्यौबहादुरले यो संसारलाई छोडे भन्दै बुदिनी दुरा धेरै बिरामी भएको द्यौबहादुरको पार्थिव शरीरलाई प्राचीन परम्पराअनुसार मादीको बीचमा त्यत्तिकै बगाई दिए, गाड्ने, पोल्ने कृया भएन भन्ने कुरा बताउँछिन् ।
द्यौबहादुरको गीतको कुसुमले आज पनि लमजुङ्गका विभिन्न जात्रा, मेलामा बास्ना छरेको छ । उनी यस संसारबाट बिदा भएर गएपनि उनको घर छोरा मोतिलाल (स्वर्गवास) बुहारी, नाति, नातिनालाई सुम्पे भने दोहरी गीतको प्रतिभा केही न केही रूपमा आज पनि वर्दनका यमबहादुर दुरा (द्यौबहादुरका भतिजा), भागुको ववी दुरा लगायत गैरी गाउँ, मकै स्वारामा कैयौं नविन प्रतिभामा यस्तो सुसेली सुन्न पाइन्छ । यसैले ठाडो भाखा, सोरठी गीत, कौरा गीत जस्ता वर्तमान गीतको खोजतलास गरी द्यौबहादुर दुरा जस्ता अन्य प्रतिभाको खोजी गरी देशको प्राचीन संस्कृतिमा अध्ययन अनुसन्धानको अत्यन्तै आवश्यकता देखिन्छ ।
– बद्रीनाथ भट्ट
पद्मकन्या क्याम्पस काठमाडौं
(स्रोत : अप्सरा मासिक पत्रीका – Vol. 3 :: No. 2, Jestha 2057, May 27- June 26, 2000)