~पुरुषोत्तम सुवेदी~
टेलिफोनको तारमाथि
नाचे भँगेरा, काग र धोबिचरा
अनि बगे आवाजहरू भित्रभित्र
प्रेम, करुणा र कोमलताका
सहअस्तित्वको सद्भावसाथ
अर्कातिर बगे पूरै दम्भसाथ
दलाली, व्यभिचार र पतनका
विषालु झुसिला डकारहरू पनि ।
भोका मान्छेको पेटभित्र
भोजनको सट्टा भोक थप्दै
आस्थाको फसल काट्ने मङ्सिर
सत्ताले डाम्न चाहन्छ पूरै संवाद
तर हामी चाहन्छौं
कुन्यूहरू जिजीविषाका
जोगियून् शीतलहरबाट
अनि बसोस् अन्नको भकारी
भूमिको गर्भगृहमा
भावी समयको प्रयोगको लागि ।
भित्रभित्रै रित्तिंदै गएको भण्डारको हिसाब
म तिम्रो इजलासमा प्रतिवाद गर्छु
अनि रोपेर एउटा पात सृजनाको
रातो घाममा वंश वृक्ष फुलाउँछु
विद्रोहका धार पटकपटकका ठक्करले
छिन्नभिन्न भए पनि
एउटा अजश्र सृजनाको ऊर्जाले
जीवनलाई लपक्क ढाक्न चाहन्छु
सामान्य मान्छेको श्रमिक हातबाट ।
झन्झन् जोदाहा हुँदैछु म
तिम्रो अत्याचारको शृङ्खलाहरू सहँदै जित्दै,
कठोर मरुभूमिमा पानी सिँचेर बँचाएको
आस्थाको हरियो भविष्य–बिरुवा
उखेलिएको छ एउटा कालो बिहानीमा
त्यसलाई फेरि रोप्ने बारी मैले भेटिसकेको छु
दन्त्य कथाको तिलस्म बनेका
नैतिकता, विश्वास र हरियो पारिजात पनि
हुर्कने आँगनको खोजीमा छन्
बत्ती बलिरहेछ दियोमा कठोर आँधीमा पनि
संकटको महासमस्या युद्धविरामको कुनै अनिष्ट सपना
अहिलेसम्म देख्नु परेको छैन ।
मोवाइल–सत्ताको तिम्रो विषवृक्ष
सफल हुनेछ उखेल्न मक्किएका काठका खम्बाहरू
चिता जल्नेछन् काठका चाङ्हरूमा
तर दिन सक्नेछैन कुनै तार÷बेतारले
बालकको स्वाभाविक आवाजको विकल्प
बालकहरू हाम्रा न्याना घाम हुन्
जसको न्यानो रापले
हिउँदका कठोर दिनहरू
सुखसँग कट्नेछन्
र सनातनदेखि छरिएका सुस्केराहरू
आस्थाको युद्धनादमा मिसिनेछन्
म विजयको नजिकै छु ।
(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)