~फणीन्द्रराज खेताला~
म सधैंजसो, बिहान चार(साढे चारको बीच उठेर आफ्नो नित्य क्रिया स्नानबाहेक सबै सकेर केवल दश मिनेट धूप बालेर गुरुले दिएको मन्त्र जप्छु र आफ्नो कोठामा राखेको तस्विरमा घुमाउँछु, नमस्कार गर्छु अनि लुगा लगाई पशुपति दर्शनको लागि घरबाट निस्कन्छु । आज पनि त्यही सिलसिलामा घरबाट निस्कने बेलामा, जुत्ता लगाउँदै गर्दा ‘आज केही लेख्नुपर्छ’ भन्ने र ‘के लेख्ने ?’ भन्ने कुरा मनमा खेल्न लाग्यो । म निस्केँ । आज हिजोअस्तिभन्दा अलि जाडो अनुभव हुँदै थियो । समय पनि अलि चाँडो, सायद पन्ध्र मिनेट जति चाँडो थियो, त्यसैले अँध्यारो पनि थियो ।
बाटोमा म सम्झँदै जाँदै थिएँ । मनमा विभिन्न कुराले घर जमाए पनि, उद्देश्य पशुपति दर्शन र केही मात्र भए पनि स्वास्थ्यलाभको कामना लिएर हिँड्दै जाँदा झट्ट मनमा ‘आज घर फर्केपछि केही लेख्नुपर्छ, तर के लेख्ने’ भन्ने तर्कना उठ्दै थियो, किनभने केही दिन यता अर्थात् तीनचार दिनदेखि कलम समातेको थिइनँ । लेख्ने विषय नपएर होइन, अल्छी गरेर । विषय त के र आजको हाम्रो नेपालमा, दुनियाँका अरू ठाउँको होइन, आफ्नै मुलुकमा जन्मिएका विभिन्न प्रकारका प्रदूषणको नाम जप्दै जाँदा मात्र पनि ‘विष्णु सहस्र नाम’ भनेजस्तै ‘प्रदूषण सहस्र नाम’, नामको पुस्तिका तयार गर्न सकिन्छ । अझ ती सबैको नामअनुसारको बयान गर्ने हो भने त महाभारतजस्तै र जत्रै ठेली तयार हुनसक्छ । अझै भन्ने हो भने सायद विश्वकोश नै तयार गर्न सकिन्छ । त्यसैले म यहाँ हाम्रो या आजका हामी नेपालीहरूमा पैदा भएको मानसिक प्रदूषणका बारेमा मात्रै केही लेख्ने आँट गर्दैछु ।
कुरा के भने धर्मका नाममा आडम्बर गर्छौं, देखाउँछौं र आफ्नो स्वार्थसिद्ध गर्न अगाडि सर्छौं । समाजसेवाका नाममा डलर बटुल्न अघि सर्छौं । राजनीतिका नाममा केवल, हामी त्यस्ता काम गर्छौं जसबाट आफू आफ्नो परिवार र पिछलग्गु आसेपासेको कल्याण हुन्छ । भनाइको तात्पर्य हरेक हाम्रो काम गराइमा प्रदूषण थपिँदो छ । तर पनि हामी प्रदूषणको कुरा गर्दा सडकमा थुपारिएका फोहोरका डुङ्गुर धूलो(धूवाँका र वागमती, विष्णुमती आदिका कुरा मात्र गर्छौं । आँखा अगाडिका कुरा, अरूको मात्र दोष देख्ने हामी आफूचाहिँ ‘पानी माथिको ओभानो’ बन्न खोज्छौं, यो पनि एक प्रकारको प्रदूषण हो । त्यसैले मलाई लाग्छ, प्रदूषणरहित स्वच्छ (शारीरिक, मानसिकसहित) मुक्त वातावरण भएमा हामी नेपाली सायद बाँच्नै सक्दैनौं होला ।
कुरा गर्न खोजेथेँ आग्राको तर बोक्न पुगेछु गाग्रा । केही छैन, फेरि म पुरानै सिलसिला कायम गर्न अगाडि सर्छु । कुरा थियो पशुपति जाँदाको । पुस महिनाको बिहानको जाडो, काठमाडौंवासीले बेहोर्दै भोग्दै आएको कुरा हो । आश्चर्य मान्नु पर्ने कुरा क्यै होइन र लेखेर भट्याउनै मन लागेर कलम कोर्न थालेको । अर्को कुरा यसो विचार गर्दा मलाई त एक प्रकारको बाध्यता नै आइलाग्यो । मैले माथि नै भनेको छु पशुपति दर्शनको मेरो उद्देश्य दोहोरो छ । केही आस्था विश्वास धर्मप्रतिको, केही बिहान सबेरैको स्वच्छ हावामा भ्रमण गर्दा हुने किञ्चित स्वास्थ्यलाभ र मानसिक सन्तुलन कायम । फेरि कहिलेकाहीं पुराना साथी भेट हुने । त्यो पनि एउटा ठूलो उपलब्धि आफ्ना लागि । जस्तो पुराना कुरा सम्झँदा आनन्द आउँछ, त्यस्तै पुराना आत्मीय भेट हुँदा पाइने आनन्द । यसरी विचार गर्दा, हानिभन्दा लाभ नै धेरै भनेजस्तो लाग्छ । त्यसैले पनि कहिलेकाहीं बाहेक सधैंजसो म पशुपति पुग्ने गर्छु । अरू बेला कहाँ र कसकाँ जानु । साथी भाइ सबै आफूजस्तै बूढ्यौलीको खुड्किला चढेका । आफूजस्तै कुनै न कुनै बूढ्यौलि रोगले ग्रस्त, त्यसैले त्यस्तै नपरी म बाहिर निस्कन्नँ । बिहान भने एक पटक, त्यो पनि पशुपतिसम्म पुगेर फर्कने नियमलाई भने सकेसम्म पालन गर्छु । कुरा लामो भो, मूल विषय छोडी अर्कैैतिर लम्कनु उपयुक्त हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि के हुन्छ के हुन्छ, कुरा रबड्जस्तै तन्किहाल्छ ।
आज घरबाट निस्केदेखि अनेक तर्कना खेल्दै आएको थिएँ । हिजो र अस्तिकै घटना ( अस्ति शनिवार, अघिपछिभन्दा किन हो शनिवार र सोमवार अलि भीड नै हुने गर्छ । त्यसैले शनिवार दर्शनार्थीको लाइन थियो । दर्शन गरेर मन्दिर घुमी दक्षिण ढोकातिर आइपुग्दा तल देख्छु प्रौढतातिर लम्किएकी एक भद्र महिला उभिइरहेकी छन् । उनको लवाइ आदि पनि भद्र छ, गोडामा निकै दामी, ऊनी मोजा लगाएकी छन्, तर जुत्ता छैन । म सिंढी ओर्लिएर जुत्ता लगाउन लागेँ । त्यसै बेला उनले मतिर हेरिन् । उनी अर्ध परिचित थिइन् । बडो अप्ठ्यारोसँग मतिर हेर्दै भनिन्(हेर्नु होस्न बाबु (धेरै दिनदेखि पशुपति जाँदा आउँदा भेट हुने हुनाले जय शम्भोको नारासहित हाम्रो अभिवादन चल्थ्यो, (नयाँमा जोड दिइएको थियो) … । मैले भनें(ए चोरी भो कि क्या हो ? त्यसै त भन्नु प¥यो नि … चोर्नेलाई धर्म होस् ।’ ‘धर्म भएन त ? जाडोमा जुत्ता लाउन पायो ।’ मैले भनें । त्यस्तै हिजो पनि एक जना महिलाके जुत्ता त्यहीँ ठाउँबाट चोरी भएको सुनेको थिएँ । घटना उही, उस्तै । तर फरकचाहिँ केवल यत्ति कि आजको जुत्ता नयाँ थियो । मालिकनीचाहिँ पच्चीस वर्ष जति कि । ‘देवस्थलमा जुत्ताचोरी’ वरिपरिकाले केवल सदाशयता दर्शाए भने( जाडोको बिहानी जुत्ता हरायो कसरी घर पुग्नुहुन्छ ? आदि ।
मलाई के थाहा कि, भोलिपल्टै आफू पनि त्यही चपेटामा पर्छु भन्ने । मैले माथि नै भनिसकेको छु । शनिवार र सोमवार विशेष भीड हुन्छ । २६ गते सोमवार, साविकभन्दा अलि चाँडो घरबाट निस्केँ, जाडो पञ्जा लगाएको भए पनि हात कठाङ्ग्रिएको थियो । निकै चिसोको अनुभव हुँदै थियो । बाटामा पशुपति दर्शन गरेर फर्किएका परिचित भेट भए, नमस्कारको आदानप्रदान भयो । मनमा सम्झँदै जान्छु, मानिस किन आस्था र विश्वास बोकी देवस्थलमा जान्छन् ? आस्थाको केन्द्र बनेको देवस्थलमा अनीतिका काम हुन्छन् । के त केवल आस्थावानको प्रवेश मात्रै त्यो ठाउँमा हुन्छ ? के त मै आफू पनि सत्य छु त ? आदि इत्यादि प्रश्न आफूसँग गर्दै मन्दिर परिसरमा प्रवेश गर्छु । वातावरण शान्त, उज्यालो छ । कतैतिरबाट भजनको आवाज सुनिन्छ भने दर्शनार्थीहरू दर्शनातुर पश्चिमद्वारतिर बढ्दैछन् । कतै पाश्र्वध्वनि सुनिन्छ । यस्तै माहौलमा म पनि आफ्नो जुत्ता खोलेर दक्षिणद्वारतिरबाट मन्दिरमा उक्लन्छु । दर्शनको निम्ति लाइनमा उभिन्छु । करिब पन्ध्र मिनेट जति पछि पालो आउँछ । दर्शन गर्छु, भण्डारीले कुनै काठको (श्रीखण्ड वा धुपीको होइन) खस्रो चन्दन हातमा लेसारिदिन्छन् । शिवप्रसाद सम्झी निधारमा लगाउँछु । परिक्रमाको क्रममा उत्तर पूर्व ढोका हुँदै दक्षिण ढोकाबाट तल ओर्ली जुत्तातिर आँखा पु¥याउँछु ( जुत्ता नदारत; जुत्ता छैन । उक्लिएर फेरि एक फन्को लगाउँछु । छैन, छैन !! हिजो अस्ति अरूलाई आश्वासन दिने म, आज अरूबाट आश्वासन पाउने मुडमा एकछिन उभिएर यताउति हेर्छु । एकजना परिचित भेटिन्छन् । ‘के भो ? दर्शन भा’को छैन ? उनी भन्छन् । ‘हेर्नु होस्न, कसैले मेरो जुत्ता …’ बीचैमा फेरि प्रश्न आउँछ ‘जुत्ता हरायो ?’ हो, हरायो मात्र होइन, चोरियो । त्यो पनि देवस्थलमा ।’ अर्का अलि ठट्यौला भेटिए नमस्कारपछि उनले पनि शब्द(प्रहार गरिहाले जुत्ता हरायां कि क्या हो ? मैले हो ‘मा’ मुण्टो हल्लाएँ । ‘जान दिनुहोस्, विचराले जाडो मनाएछ । पुण्यै भो ।’ अरूलाई पर्दा वेदान्त, आफूलाई पर्दा मरणान्त ।’ निकै अप्ठ्यारो पर्दा अरूले आश्वासन दिँदा बराबर पिताजीले भन्ने गर्नु भएको यो उखान सम्झेँ । भन्न त केही भनिनँ । चोर्नु धार्मिक दृष्टिले पाप हो । नैतिक दृष्टिले अनैतिक काम हो । कानुनको दृष्टिले अपराध हो भने आर्थिक दृष्टिले भ्रष्टाचार हो । ‘मूला चोरलाई मुड्कीको सास्ती ।’ यो घरेलु कानुनले दिने सजाय । चोरी कुराको सिलसिलामा एक पटकको घटना याद आउँछ मलाई । भर्खरै मेरो ब्रतबन्ध गरेको बेलातिरको कुरा हो । हामी पकनाजोलको पुख्र्यौली घरमा थियौं । त्यो नोटको चलन थिएन । तामाका एक दुई र पाँच पैसे र चाँदीका डबल (एक रुपियाँ सय पैसा) मोहर (आधा रुपियाँ पचास पैसे) सुकी(पच्चीस पैसे) र थोरै मात्रामा बाह्र पैसे तीनन्नी यस्ता सिक्काहरू चलनमा थिए । एक दिनको कुरा, म मिठाई खानको लोभी थिएँ, यद्यपि मेरो पाचनशक्ति कमजोर थियो र आज पनि छ (त्यो दिन किन हो किन मलाई पेडा खान मन लाग्यो । बिहान असनतिर पुगेर फर्कंदा क्षेत्रपाटीको हलुवाई पसलमा औंठाको सहीछाप गरेको खुवा बास्ना आउने पाँच पैसे पेडाको तंगी देख्दा जिब्रो रसाएको थियो । दिउँसो, मध्यान्हतिर, सायद जेठ महिना थियो, किनभने गर्मी थियो आफूलाई निद्रा नलाग्ने । ठूला जति काममा बाहिर निस्केका, स्वास्नीमानिस सुतेका । यसो कान्छाबाको कोठातिर हेरेँ उहाँ पनि सुत्नुभएको । ढोका खोलै, भित्र पसेँ किलामा लुगा कोट र इष्टकोट (अंग्रेजीमा वेस्ट कोट) झुन्डिएका थिए । अनायासै उहाँको कोटको भित्री खल्तीमा मेरो हात पस्यो, जिन्दगीमा, थाहा भएसम्म पराई खल्तीमा मेरो हात पसेको यो पैलो र अन्तिम हो र चोरी पनि त्यस्तै पैलो र अन्तिम एक रुपियाँको चाँदीको डबल । त्यस पछिको घटना केही सामान्य र केही परिणाम मुखी, आफ्नो लागि असह्य । क्षेत्रपाटी पुगेर एक सुकाको पेडा किनी, दिउँसो मण्डलमा, खाँदै फर्किएँ । घरको तल छिडीमा पुग्दा सकियो, तर जब माथि उक्लिएँ महाभारत सुरु भयो । कान्छा बाको दुई चड्कनले एकछिनअघिको पेडाको गुलियो सबै तीतोमा परिणत भयो, मैले सजाय पाएँ, किनकि मैले आफ्नो अपराध स्वीकार गरिसकेको थिएँ । त्यतिबेलादेखि अर्थात् नौ वर्षको उमेरमा चोरी(ठूलो सानो जेजस्तो र आफ्नो वा पराई जोसुकैको होस् अनैतिक काम हो भन्ने थाहा पाएँ ।
आज, आफू अठहत्तर वर्षको हुँदा अर्थात उनान्सत्तरी वर्षपछि आफ्नै माल त्यो पनि देव मन्दिरमा चोरी हुँदा मलाई आश्चर्य लाग्यो र चोरी गर्ने माथि दया पनि । एकछिन त्यसै रनभुल्लमा परेँ । पुस महिनाको जाडो, ठिहि¥याउने, खाली खुट्टा घर पुग्ने कसरी ? फेरि बाटोमा परिचित भेटिँदा कतिलाई कैफियत दिने, साथै अपरिचितले आफूतिर अनौठो पाराले हेर्दा, कतै पागल त ठानेनन् ! भन्ने लाग्नु स्वाभाविक कुरा थियो । सबभन्दा कष्ट त बाटो( राणा तन्त्र, प्रजातन्त्र, पञ्चायततन्त्र फेरि प्रजातन्त्र तर नेपालीको धूलो र बगरजस्तो बाटोमा हिँड्नु पर्ने बाध्यता केवल विडम्बना मात्र भएन, कि भावीले निधारमा यस्तै भाग्य लेखिदियो । महल बने, होटल, रेस्टुराँ, अनेक कलकारखाना बने, मोटा झन् मोटाउँदै गए भने दुब्ला झन् दुब्लाउँदै गएर बक्धुवा, सुकुमबासी र आफ्नै मुलुकमा शरणार्थी, खाते र माग्ने जीवन बिताइरहेका छन् । आफ्नो थाप्लोमा विकासे नामको विदेशी ऋण बोकेर । म पनि त्यस्तै विदेशीले भाग्य किनेको नेपालीमध्येकै हुँ । त्यसैले पुस महिनाको ठिहिरो जाडोमा नाङ्गो खुट्टाले हिँड्नुपर्ने बाध्यताले बोकाएको आँट लिएर हिँडें । अघिपछि पन्ध्र मिनेट लाग्ने बाटो, त्यो दिन, आधा घण्टा लाग्यो, अचम्म मानी हेर्नेको अगाडि मुख लुकाउँदै र परिचित प्रश्नकर्तालाई व्यङ्ग्यमिश्रित जवाफ दिँदै हिँड्दा । बाटोको त कुरै नगर्नुहोस् । ठाउँठाउँमा रछान थुप्रिएको, सानो तिनो खहरे बगेजस्तै, घर पसलबाट निकासको रूपमा बगेको फोहोर पानी, ठाउँ ठाउँमा नानीले गरेको फोहोर, निर्माण सामग्री( रोडा, बालुवा र ईँटाका टुक्रा बाटोमा छरिएको, धूँवा ओकल्ने सवारी साधन, बडो मुश्किलसँग यी सबैसँग सकेसम्म बच्ने कोशिस गर्दै ठिहि¥याएको पैंताला छियाछिया पारेर घर पुग्दा मेरो अवस्था सायद दया लाग्दो भैसकेको थियो क्यार ।
घटना सामान्य ‘पशुपति दर्शनमा जाँदा जुत्ता चोरियो’ आश्चर्यको कुरा होइन । यहाँ दिउँसै शहरको मुटुमा लाखौं करोडौंको डकैती हुन्छ, बैंक मारिन्छ भने आश्चर्य किन ? तर आश्चर्य मान्नुपर्ने कुरा यस कारणले छ कि म जस्तो एक व्यक्तिको जुत्ता त्यो पनि पुरानो चोरिँदा त त्यति कष्ट भोग्नुप¥यो भने दिनहुँ यस्ता कति घटना घट्दा होलान् । मैले जस्तै कतिले सामान्यदेखि लिएर धेरै ठूला कष्ट पनि भोगेका होलान् । त्यो भन्दा पनि, चोरिनेको भन्दा चोर्नेको भविष्य ? अर्को कुरा, सामान्य अवस्थामा त यस्तो हुन्छ भने चाड पर्व मेला आदिमा के होला ? मूला चोर डाँका बन्न सक्छ, समाजलाई पिरोल्छ । त्यसैले ( ‘बुढी मरी (मर्ने बेला भैसकेकी जीर्ण) भनेर नरुनु, काल पल्कियो भनेर डराउनु’ भन्ने हाम्रो घरेलु व्यवहारमा बराबर प्रयोग भैरहने यो भनाइ सम्झिएर यस्तो विकृति नआउन दिन सतर्क हुनु पर्ने आवश्यकता छ ।
कुमारीगाल, चाबेल, काठमाडौं
(स्रोत : मधुपर्क पौष २०५९ अङ्क 35 :: No. 08 December 2002 – January 2003. )