~रत्नबहादुर बस्नेत कुरूपी~
भनिएको छ, ‘जसरी अन्धाका लागि यो जगत् अन्धकारमय छ, स्वस्थ आँखा हुनेका लागि प्रकाशमय छ ।’ त्यसरी नै अज्ञानीका लागि यो जगत् दुःखको समूहमय छ र ज्ञानीका लागि सुखमय छ । यसबाट ज्ञान नै सुखको कारण हो र जीवनमा सुख प्राप्त गर्न सर्वप्रथम ज्ञानीबन्नु आवश्यक छ, अर्थात ज्ञानवान् व्यक्ति नै सुखी जीवनको निर्माण गर्न सक्षम हुन्छ भन्ने स्पष्ट हुन्छ । तर मानिस जति सुकै पठित, शिक्षित र विद्वान भए तापनि तबसम्म वास्तविक ज्ञानी कहलाउँदैन जबसम्म उच्च मानवीय गुणहरूलाई अपनाउँदैन । गुणशील स्वभावबाटै मानिस ज्ञानी बन्न सक्छ । अतः आउनुहोस् यहाँ ज्ञानका लागि कुन–कुन गुण आवश्यक छ वा के कस्ता गुण तथा स्वभावबाट मानिस ज्ञानी कहलाउँछ भन्ने सम्बन्धमा संक्षेपमा ज्ञानकारी गरौं ।
श्रीमद्भागवद् गीतामा उल्लेखित ज्ञानीका मुख्य लक्षणहरू निम्नानुसार छ ः–
अभिमानरहित हुनु
अहंकारसून्य वा निराभिमानी बन्नु ज्ञानीहरूको मुख्य लक्षण हो । अहंकारलाई पतनको कारण र आसुरी गुणको प्रमुख लक्षण मानिन्छ । अत्यन्तै बलवान् र पराक्रमी शुम्भ–निशुम्भादि दैत्यादिको विनाश अभिमानकै कारण भएको पौराणिक प्रसङ्गमा उल्लेख भएको पाइन्छ । यसबाट अज्ञानता र अविवेक उत्पन्न हुन्छ । त्यसर्थ धन, मान, पद, प्रतिष्ठा, पदार्थ आदिप्रति अहंकार गर्नु मूर्खता र अज्ञानता मात्र हो । रागद्वेषादि नै अहंकार उत्पन्न गर्ने दुर्विकार हुन् । भनिन्छ, रागद्वेषादि शान्त भएपछि अहंकार शान्त हुन्छ र अहंकार शान्त भएपछि परमशान्ति प्राप्त हुन्छ । ज्ञानीहरू आफूमा प्राप्त ज्ञान, विद्या बुद्धि र बलको अभिमान गर्दैनन् बरू परहितमा कसरी सदुपयोग गर्ने भन्ने विचार गर्दछन् ।
छलकपट नगर्नुः–
जो झूट, छलकपट, स्वार्थपरता आदिलाई सफलताको साधन ठान्छन् ती जीवनमा दुःख, क्लेश, शोक, चिन्ता मात्र उठाउँछन् । ती न ज्ञान, शक्ति, बल प्राप्त गर्दछन्, बढाउँछन् न सुख, शान्ति नै पाउँछन् । हृदयको सत्यता र सरलतामा देवत्व र ज्ञान हुन्छ भने छलकपटपूर्ण हृदयमा असुरत्व र अज्ञानता हुन्छ । असत्यवादी वा छलकपट गर्ने स्वभावका मानिस प्रवृति र निवृत्ति अर्थात के गर्नु उचित र के गर्नु अनुचित छ भन्ने जाँदैन. । यही नै ज्ञानीको महान् शत्रु हो । सत्य नै ज्ञान प्राप्तिको प्रमुख साधन हो । सत्य वा इमान्दारीतालाई सर्वाधिक राम्रो नीति पनि मानिन्छ । ज्ञानीहरू कहिल्यै झूटो बोल्दैन बरू मौन रहन्छन् । छलकपट नगर्नु र सदा सर्वदा सत्यको परिपालना गर्नु ज्ञानीको पहिलो र प्रमुख लक्षण हो ।
हिंसा नगर्नु ः–
हिंसा भनेको परपीडा गर्नु हो । प्राणीको काटमार गर्नु र अरूलाई मन वचन वा कर्मबाट कुनै प्रकारको दुःख दिनु हिंसा हो । प्राणी हिंसा गर्नु सबैभन्दा ठूलो पाप वा अपराध हो । यसबाट मानिसको मन अपवित्र र बुद्धि कलुषित बन्दछ । ‘अहिंसा परमोः धर्म’ भनेर अहिंसालाई नै सर्बश्रेष्ठ धर्म मानिएको छ । ज्ञानीहरू संभव भएसम्म अरूको उपकार गर्दछन् तर कहिल्यै अरूको अपकार वा हिंसा गर्दैनन् । सबैको हित र उन्नतिका लागि हिंसाको बाटो त्यागी अहिंसा र धर्मको मार्ग अपनाउनु पर्दछ । यही नै ज्ञानीको संकेत हो । अरूको भावनामा चोट पुथ्याएर कोही पनि अहिंसावादी बन्न सक्दैन ।
धैर्य लिनु
धैर्य वा सहनशील गुणबाट मानिस ज्ञानी विवेकी र विचारवान् कहलाउँछ । एकपटक भगवान् भृगु ऋषिले लातले हान्दा पनि भगवान् विष्णुले ‘ऋषिजी तपाईंको पाउ त दुखेन’ भन्नुभएको र शिवले कालकुट विष पान गरेर कैलाश शान्त पार्नु भएको शास्त्रादिमा उल्लेख छ । भगवान् बुद्धलाई जति गाली गरे पनि राम्रो वचनले उपदेश दिनुभयो । यसरी धैर्य एवं सहनशीलता नै ज्ञानी वा महापुरूषको परिचय हो सरल र सहनशील स्वभावबाटै सद्ज्ञानको उदय हुन्छ । जीवनमा आइपर्ने जतिसुकै ठूलो विपत्ति र दुःखको परिस्थितिमा धैर्य धारण गरी एकाग्र बन्न सके त्यसबाट सहजै मुक्त बन्न सकिन्छ । धैर्यवान र सहनशील व्यक्ति नै सदैब मनको चञ्चलता र अस्थिरताबाट मुक्त हुन्छ ।
सरलता
भनिनछ, सत्यलाई अंगालेर सादा जीवन बिताउनु महानता हो । जसको जीवन पद्धति र व्यवहार सरल हुन्छ, जो सद्गुण सम्पन्न छ त्यसलाई आन्तरिक शान्ति प्राप्त हुन्छ र त्यही नै ज्ञानीको दर्जामा पर्दछ । व्यक्ति शिक्षित र शहरीया भइकन पनि यदि उछृंखल र छलकप०टपूर्ण व्यवहार गर्दछ भने ऊ अज्ञानी नै ठहर्दछ । त्यस्तै असभ्य, अशिक्षित भइकन पनि जो सरल, निर्दोष र निश्चल छ त्यसको हृदयमा देवत्व र ज्ञान हुन्छ । ज्ञानी बन्न चाहनेले सधैं सत्य र सरलताको व्यवहार गर्नु अपरिहार्य छ ।
पवित्रता
जसरी सफा र शुद्ध दर्पण (ऐना) मा प्रतिविम्ब स्पष्ट देखिन्छ त्यसैगरी पवित्र र स्वस्थ चित्तमा ज्ञान हुन्छ । त्यसर्थ आफूलाई शुद्ध र पवित्र राख्नु ज्ञानीको प्रमुख लक्षण हो । पवित्रताका लागि वाह्य तथा आन्तरिक शुद्धि आवश्यक छ शुद्ध र जल (आदि) बाट स्नान गर्नाले बाह्य शरीर शुद्ध बन्दछ भने राम्रो विचार गरेर मानसिक वा आन्तरिक शुद्धि हुन्छ । समस्त कामनाहरूलाई नत्यागी पवित्रता प्राप्त हुँदैन । पवित्रतामा दुःख हुँदैन, धोविले मैला लुगाहरूलाई मात्र पिट्दछ ।
स्थिर रहनु
मनको स्थिरता वा निश्चलता नै ज्ञानीको लक्षण हो । जसरी बगिरहेको नदीको पानीमा कुनै पनि बस्तुको प्रतिविम्ब स्पष्ट देखिंदैन तर स्थिरतलाउमा प्रतिबिम्ब स्पष्ट देखिन्छ त्यसैगरी एकाग्र र शान्त चित्तमा आत्मस्वरूपको ज्ञान हुन्छ । हावाको झोकामा परेको डुंगा कहीं पनि अड्न नसके झैं चञ्चल बुद्धि भएको मानिस कुनै विषयमा स्थिर रहन सक्दैन । कुनै विषयमा बुद्धि र चित्त स्थिर नभई त्यसको ज्ञान प्राप्त हुन सक्दैन । चञ्चलतामा छुद्रभाव र दृष्टि हुन्छ । उच्च र स्वच्छ भाव संग्रहका स्वभावमा चञ्चलता र छुद्र प्रकृति हटाई स्थिरता कायम राख्नु आवश्यक छ । यसैबाट गम्भीर र शान्त स्वभावको निर्माण भई ज्ञानको ज्योति प्राप्त गर्न सकिन्छ ।
इन्द्रियका विषयमा विरक्त हुनु ः–
ज्ञानीहरू सधैं इन्द्रिय निग्रह गर्ने वा निर्विषयी हुन्छन् । हाम्रा आँखा, कान आदि ज्ञानेन्द्रिय र हात, पाउ आदि कर्मेन्द्रियहरू सम्पूर्ण वाह्य संसारप्रति उन्मुख हुन्छन् । यिनले स्वादन वाह्यरूपबाट गर्दछन् । तर ज्ञानीहरू आफ्ना इन्द्रियहरूलाई आन्तरिक वा ज्ञान चक्षु उघार्नमा उपयोग गर्दछन् । विषयीलाई ज्ञान, भक्ति, शान्ति प्राप्त हुँदैनन् । निर्विषयीलाई यी सबै प्राप्त हुन्छन् । इन्द्रियका रूप, रसादि विषय प्रति उन्मुख हुने, विषयप्रति लालसा राख्ने तथा आशक्त हुनेलाई विषयी वा संसारी भनिन्छ । ज्ञानीहरू वाह्य पदार्थको इन्द्रियसँग हुने संयोग अर्थात् विषयोभोगमा आशक्त नभई अक्षय वा आत्मिक सुखको अनुभव गर्दछन् ।
अनित्यताको बोध गर्नु ः–
भनिएको छ, जसरी केटाकेटीहरू पुतलीलाई सर्वस्व ठान्दछन्, सुखी हुन्छन् तर अरू त्यसलाई सुख ठान्दैनन् । त्यसैगरी ज्ञानीहरू संसारलाई झूटो र यसबाट प्राप्त आनन्दलाई मिथ्या ठान्दछन् । ज्ञानीहरू सदैव भगवानको दया आत्माको पवित्रता र नित्यतामाथि विश्वास गरेर सदा शान्त, निर्मय र प्रशन्न रहने उद्योग गर्दछन् । सांसारिक सुखलाई क्षणिक अनित्य र नाशवान् ठानी तिनमा रमाउँदैन र नित्य, अविनाशी र अखण्ड आध्यात्मिक सुख प्राप्त गर्दछन् । ईश्वर र आत्मालाई अपनाउँछन् ।
कर्मफलमा आशक्ति नराख्नु ः–
ज्ञानी र मूर्खको काममा समता देखिए तापनि काम गर्दा विचारमा (भावमा) भेद रहन्छ । अर्थात् ज्ञानीहरू निष्काम भावबाट कर्म गर्दछन् भने अज्ञानीहरू (मूर्ख) फलको विषयमा आशक्त भई कर्म र व्यवहार गर्दछन् । पवित्र ग्रन्थ गीतामा निष्काम कर्मयोगद्वारा कर्म शील बनेर ज्ञान वा मोक्ष प्राप्त गर्न निर्देशन गरिएको छ । निष्काम भावबाट गरिएको कर्म सुकर्म बन्दछ । कामना र आशक्तिबाट कर्म दुषित भई लक्ष्य (कर्मको सिद्धि र सफलता) प्राप्त गर्न बाधा उत्पन्न हुन्छ । ज्ञानीहरू कर्मफलमा आशा र आशक्ति राख्दैनन् । राम्रो विरूवा रोपेपछि राम्रो फल प्राप्त भइहाल्छ, बिचार गरिरहनु पर्दैन ।
भौतिक सुखमा लिप्त नहुनुः–
भौतिक सुखमा लिप्त व्यक्ति स्वार्थ, पाप र बन्धनमा बाँधिएको हुन्छ । हाम्रो जीवनमा आत्मा र शरीरको अन्योन्यास्रित सम्बन्ध भए झैं (एक विना अर्को नरहने) भौतिक विकास झैं आध्यात्मिक र आध्यात्मिक विकाससँगै भौतिक विकास हुनु अपरिहार्य छ । आत्यात्मिक उन्नति विनाको भौतिक उन्नति मात्र वास्तविक उन्नति होइन । त्यसर्थ धन, पद, प्रतिष्ठा, पदार्थ, सुरा, सुन्दरी आदि अतृप्त बस्तुबाट तृप्तता पाउने आशा राखी तिनमा लिप्त हुनु मूर्खताको संकेत मात्र हो । अध्यात्मको नियम पालन गरेर यसबाट बच्न सकिन्छ । माछा कुदेर समुद्रमा छाल आउँदैन, ज्ञानीलाई सांसारिक वा भौतिक सुखले लोभ्याउन सक्दैन ।
अप्रमादी बन्नु (दुःखमा नआत्तिनु र सुखमा नमात्तिनु) ः–
ज्ञानी वा सद्पुरूषको महत्वपूर्ण लक्षण हो– दुःखमा नआत्तिनु र सुखमा नमात्तिनु । दिन र रात, कृष्ण र शुक्ल पक्ष, जाडो र गर्मी (हिउँद र वर्षा) हुनु जस्तै दुःख र सुख प्राप्त हुनु पनि संसारको अकाट्य नियम हो । यी दुईपक्ष भएकै कारण एक–अर्काको महत्व रहन्छ । दुःखको अनुभूति नलिई सुखको महत्व थाहा पाउन सकिंदैन । तत्वज्ञानी तथा बुद्धिमानी पुरूष जीवनयापनका क्रममा संयोगले प्राप्त दुःख–सुखलाई समान र स्वभाविकरूपले ग्रहण गर्दछन् । वेहोशी भई कार्य गर्ने मनस्थिति प्रमाद हो । व्यवहारिक कार्य कुशलता लागि अप्रमाट आवश्यक छ । अप्रमादी बन्न होशियारी, सजग र जागरूक हुनुपर्दछ । अप्रमादीले अनेक बाधा, झन्झट बेहोरिरहनु पर्दैन ।
अध्यात्म ज्ञानलाई नित्य सम्झनु ः–
ज्ञानीको अर्थ हुन्छ– आत्मबोध गर्नु । आत्मबोधका लागि अध्यात्म ज्ञान आवश्यक पर्दछ । अध्यात्म भनेको परमात्मा नजिक हुनु (त्यसप्रकारको क्रियाकलापमा संलग्न हुनु) आफूभित्र रमाउनु, आफूलाई खोतल्नु र पढ्नु हो । आजको मानव जताततै दुःख र अशान्तिले छटपटिएको छ । यसको कारण अध्यात्म भावलाई बिर्सनु नै हो । जहाँ अध्यात्मभाव हुन्छ त्यहाँ मानवलाई आनन्द र शान्तिपूर्वक बाँच्ने आश्रय स्थल प्राप्त हुन्छ । महात्मा बुद्धले अध्यात्ममा जीवनको सौन्दर्य देख्नु भयो । राजर्षि जनकको सभामा यसैबारे छलफल हुने गर्दथ्यो । ज्ञानीहरू अध्यात्म (सबैको कल्याणको) नित्य चिन्तन गरेर परमात्मा भाव जागृत गराइरहन्छन् ।
अध्ययनशील र जिज्ञासुस्वभावः–
अध्ययन नै विद्या, बुद्धि र ज्ञान प्राप्तिको स्रोत हो । कुनै पनि विषय वस्तुको अध्ययनबाट हाम्रो मन एकाग्र भई त्यसको ज्ञान र सत्य बोध हुन्छ । यस्तै आध्यत्मिक विषयको अध्ययन – मननबाट ब्रह्म ज्ञान र शाश्वत शान्ति प्राप्त भई मोक्ष प्राप्त गर्न सकिन्छ । हाम्रो मानसिक अवस्था शान्त र सन्तुलित राख्न अध्ययन परमावश्यक छ । यसरी ज्ञान तथा अध्ययनको महत्व बुझेर नयाँ–नयाँ ज्ञान प्राप्तिको जिज्ञासा राखी सदैव अध्ययनशील बन्ने व्यक्ति ज्ञानी, विवेकी र विचारवान् कहलाउन समर्थ हुन्छ । औपचारिक र अनौपचारिक शिक्षा नै अध्ययनको माध्यम हो ।
मन वशमा राख्नु ः–
मन कल्पनाकोरूप हो । मानिसको मन नै बन्धन र मोक्षको कारण हो । स्वस्थ र नियमित मन उत्तम मानिसको लक्षण हो । विषय इन्द्रिय र आत्माबीच मनको मध्यस्थता भएन भने त्यसको ज्ञान हुँदैन । विषयलाई इन्द्रियले ग्रहण गर्दा मनको संलग्नता अनिवार्य छ । तर हाम्रो मन अत्यन्त चञ्चलित छ । यसलाई स्वतन्त्र छाडियो भने महमा झिंगा रंगभंगिए झैं अन्यत्र रंगमंगिन्छ । रचनात्मक र निर्माणात्मक कार्य गर्ने मनलाई अधिनमा राख्नु परमावश्यक छ । मन जलसमान मानिएको छ । जसरी जल तलतिर बग्दछ त्यस्तै मन विषयतिर जान्छ, जललाई तताउनाले उध्र्वगामी भए जस्तै मन साधनाले आत्मचिन्तन गर्दछ । ज्ञानीहरू सधैं मन वशमा राखेर आत्मविजयी गर्दछन् ।
अप्सरा मासिक पत्रीका (Vol. 3 :: No. 2, Jestha 2057, May 27- June 26, 2000)