~वासु शशी~
झुसिल्किरे ताराहरू चबाइरहेछन
रातका तिमिरे पातहरू !
म अनुभव गरिरहेछु
मलाई भोली बिहानको कुनै जरूरत छैन !
यो धमिलो चन्द्रमा
केही बेर मेरो जुत्ता लगाएर जानेछ !
वर्तमान सिध्दिँदै जानेछ मेरो मुटुबाट
ढुकढुकीहरूमा !
उमेर जतिको धमिरालू अरू क्यै रहेनछ
जेहोस, ज्यादाभन्दा ज्यादा
अरू दश पन्ध्र बर्ष बाँच्नु छ !
किन्तु अहो, यस कुराको पनि दुःख लाग्दैन
शायद रहस्य यो हो
कि अब जिन्दगीको माया लाग्न छोडेक
शायद सत्य यो हो
कि जीवनमा भविष्य भनेको रहेनछ
(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )