~गोपाल पराजुली~
– यो ऐँठेको कति ?
– एक सुका ।
– यो तितौराको नि?
– पाँच पैसा ।
– यसको नि?
– त्यसको पनि पाँच पैसा ।
– अनि त्यसको नि?
– कसको ?
– त्यसैको त हो नि। (खिसिक्क हाँस्छ)
साहिँली त्यो हाँसोमा बिग्रन्छे जुन हाँसोमा एउटी १२/१४ की केटी आमाबाबुले ‘पखन तेरो यो साल बिहे नगर्दी नछोड्ने’ भन्दा बिग्रन्छे।
अँ होला ! छि: तपाईं त कस्तो !
साहिँलीको पसल जाने बाटोमा एउटा अफिस छ । बेलुका पाँच बजे त्यो दाम्लो छिनालेर निस्केको बस्तुझैँ हानिएर साहिँलीको पसलमा आउँछ । साहिँलीको पसलमा आएपछि बैदार पनि ‘याक’ सल्काउँछ । खर्दार पनि ‘लालीगुराँस’ तान्छ । साहिँलीको पसलमा आइपुगेपछि पिउनलाई पनि भोक लाग्छ । साहिँलीले पसलमा केके थापेकी छ कुन्नि, त्यहाँ आएपछि सेक्सन अफिसर पनि आँखा तान्छ ।
होला अब ! नाइँ क्या !
साहिँलीसित चार-पाँचवटा जवाफहरू छन् । चार-पाँचवटा जवाफहरूसित खेलेर साहिँली यो सडकको फुटपाथमा बसेकी छ।
– फेरि पनि आउँला है बैनी !साहिँलीको पसल नजिक बस अड्छ । प्रत्येक ड्राइभर यो ठाउँमा आइपुगेपछि इमर्जेन्सी झ्याल खोल्छ । प्रत्येक मान्छे यो ठाउँमा आइपुगेपछि तेस्रो आँखा खोल्छ ।
साहिँलीको पसल एउटा पिकनिक जाने ठाउँजस्तो छ । प्रत्येक आउने, जानेले साहिँलीलाई आफ्नो आँखाको फोकसमा पारेर जान्छ ।
– खूब राम्री छ हगि ?
– छे !
– हिँड्न जाऊँ यार ।
– जाने त ?
साहिँलीले यो सडकमा आएर पसल थापेपछि यो सडक एउटा व्यस्त ठाउँ भएको छ। साहिँलीको पसल एउटा ‘पर्स’ जस्तो छ। हरेकले आएर यहाँ अलिकति पैसा हाल्छ ।
– ओहो, बैनीको पसल त कति राम्रो रे छ, किनौं-किनौँ लाग्ने ! कैलेदेखि थाप्या नि बैनी यो पसल ?
साहिँली खिसिक्क हाँस्छे । साहिँलीको एउटा ग्राहक बढेको छ । साहिँलीलाई नहाँसी सुखै छैन।
साहिँलीले यस सडकमा आएर पसल थापेको बेलामा बन्दै गरेको तीनतारे होटेल अहिले पनि बन्दै गरेको छ । अहिले पनि यहाँ बन्दै गरेको कारखानामा मान्छेहरू काम गर्छन् । अहिले पनि साहिँलीको रिकापीमा चिउरा थाप्नेहरू छन् । अहिले पनि शिवनाइके साहिँलीको पसलमा पस्दै गरेको छ।
– साहिँली, हिँड घर जाऊँ, यो दुःख गरेर सित्तै किन बस्छ्यौ ? – अहिले पनि ज्याननाइकेको मनमा एउटा कुरो खेल्दै गरेको छ।
– ओ ओस्ताद, कता ?
– उतै त होनि ।
– ल ल मोज गर, साहिँलीले दोबाटोमा आएर पसल थापिदिहालेकी छे । साहिँली पाल टाँगेर बसेकी छ । साहिँली रूझी भने छाता ओढाउन आउनेहरू धेरै छन् ।
साहिँलीको सामने एउटा सिमेन्टेड घर छ । जसको रङ्गीन झ्यालले सधैँ एउटा युवक अनुहारलाई उघारिरहेको हुन्छ । कति-कति बेलासम्म पसलतिर हेरिरहने युवक आँखाले कति-कति दिनदेखि एउटा कुरा सोच्दै आएको छ । पसलको लागि अलिकति पैसा चाहियो भनेर माग्न आइदिए पनि हुन्थ्यो ! कति-कति बेला त उसलाई गएर भनौंझैँ लाग्छ – कति सानो पसल, अलि माल थपे पो साहिँली ।
साहिँली हाँसिसकेपछि मात्र जवाफ दिन्छे । कि त साहिँली जवाफ दिन्न, हाँसिमात्र दिन्छे । हाँसो नै साहिँलीको जवाफ बनिसकेको छ ।
– हाम्रो म्यानेजरसाहेबलाई चिया चाहियो रे। अब उहाँ पनि यहीँको चिया खाने रे !
प्रत्येक ९ बजे आउने एउटा अफिसरकट अनुहारलाई साहिँलीले एउटा चुरोट छुट्टाएर राखिदिनुपर्छ । साहिँलीले उसैको लागि भनेर ‘लालीगुराँस’ को एउटा बट्टा राख्ने गरेकी छे।
– तिमी सल्काएर दिए पनि हुन्छ साहिँली ।
एउटा विद्यार्थी अनुहार ‘हाइहीत’ मा खोच्याउँदै आएको साहिँलीलाई औधी रमाइलो लाग्छ ।
– भोलि दिउँला है साहिँली ।
एउटा कन्डक्टर पैसा साट्न आउँछ । र ‘लालीगुराँस’ टिपेर दौडन्छ ।
– बाँकी तिमीलाई नै भो है साहिँली ।
साहिँली छापिएकी छे, यो सडकभरि । साहिँली यो सडकले लगाउन सकने अन्दाज गरी उक्लेकी छे।
– जीउडाल पनि क्या मिलेको हगि?
साहिँलीको पसलमा चिउरा तरकारी खान नपाइने भएको भए भक्तबहादुरले उहिल्यै कारखानाको काम छोडिसक्थ्यो। बाबुकाजी एन.सी.सी.एन.को कुल्ली बनिरहने थिएन, साहिँली त्यहाँ नभइदिएकी भए । साहिँलीको अनुहारमा टेकेर सन्तमान होटेलको सातौँ तलामा गाह्रो लगाइरहेछ अहिले पनि ।
– मलाई त साहिँली किन-किन तिमीलाई कान्छी भन्न मन लाग्छ ।
साहिँली फुटपाथलाई दुई हात पर छोडेर बसेकी छे। तर साहिँलीलाई कति हातको टाँगाले छुन्छ कुन्नि, साहिँली रातिन्छे बेलामौकामा ।
– साहिँलीको पसलमा त जे पनि छ हगि ?
– चिया पनि राखिछौ ।
– मलाई पनि राख साहिँली अब ।
एउटा विद्यार्थी ग्रुप साँझपख हावा खान निस्कन्छ, साहिँलीको पसलतिर मानो साहिँली एउटा पार्क हो । एउटा युवक डफ्फा साँझपख साहिँलीको पसलनिर आएर गस्ती लगाउँछ मानो साहिँली एउटा एक्सिडेन्ट हो ।
– म पुर्याइदिऊँ कि साहिँतीलाई ?
एउटा केटो कपाल कोर्दैकोदै साहिँलीको पसलमा आएर टक्क अडिन्छु। र अदबसाथ साहिँलीको लाइटरबाट ‘कोसेली’ सल्काउँछ । मानो यो पसल साहिँलीको होइन, उसको हो। र एकचोटि साहिँलीतिर पिलिक्क हेर्छ र जान्छ।
– तुमने दिल दिया, मैने दिल लिया !
एउटा मोटरसाइकलको आवाज आउँछ ।
मानो यो मदनको हो ।
मानो यो हरेरामको हो ।
मानो यो भन्सारको सुब्बा, तेजविक्रम थापाको हो ।
– चोलो पनि कति सुहाएको नि । कहाँ सिएको साहिँली ?
साहिँलीको पसलमा उधारो खोटो सिक्कासमान छ । तर कसैले पैसा नतिरी गयो भने साहिँली समात्न जान्न । साहिँलीलाई बात लाग्ने डर छ।
– ओहो, बैनीको पसलको त चुरोट पनि कस्तो मीठो, मत अब यहीँ किन्छु !
प्रेम साहिँलीको अटुट ग्राहक हो । साहिँलीको पसलमा आएर केही नखाएको दिन प्रेमलाई केही खाएकैजस्तो लाग्दैन । प्रेम उसकी आमाले राखेको नाम होइन । प्रेम उसको जागीरले दिएको नाम हो। प्रेम जागीर खान्छ, सडक विभागमा । साहिँलीले उसैको विभागमा पसत थापेकी छे ।
– हामी छैनौँ र साहिँली ।
हरेक १० बजे बाजेको पसलमा पस्ने ठेक्दार हरेक १० बजे साहिँलीको पसलमा पस्ने गरेको छ । ठेक्दार सधैँ एक बट्टा चुरोट माग्छ । एक बट्टा सलाई माग्छ । एक टुक्रा सुपारी माग्छ । एक फूल ल्वाँग माग्छ । अनि केही माग्दैन, साहिँलीको अनुहारमा पुगेर अडिन्छ।
– तिमीलाई अब केके दिने मन छ साहिँली ?
साहिँलीको पसलपछाडि एउटा ओभरसियरले डेरा गरेर बसेको छ। ऊ साहिँलीकहाँ आउँदा सधैँ एउटा उत्तर लिएर आउँछ र जाँदा सधैँ एउटा प्रश्न छोडेर जान्छ ।
– त्यो कुरा के भयो त साहिँली ?
काजी भात खानेबित्तिकै साहिँतीको पसलतिर लाग्छ । साहिँलीको पसलमा गएर एकथोक मुखमा नहाली काजीको घाँटीको भात तल खस्दैन ।
_ अब त साहिँली पनि हेला गर्न थालिछनन्, सुकुमेल दिएको कस्तो नि !
साहिँलीको पसलनजिक एउटा पसल छ, बूढीको । बूढीको सधैँ रित्तो, एक्लो पसललाई हेरेर कहिलेकाहीँ त साहिँलीलाई लाग्छ, जाउँ बूढीको पसलमा एकछिन बसिदिऊँ र उसको व्यापार गरिदिऊँ ।
– फुट्ला फुटलाजस्ती हगि, आँखाभरि छचल्केर ।
साहिँलीको अनुहारमा डेरा गरेर बसेका दुईचार हजार अनुहारहरूको ‘रिलेरेस’ दुईचार हजार पाइलाहरूबाट भइरहेछ यो सडकमा । सडक नियास्रिएको छैन ।
– सुन्तला त निकै मीठा रे छन् नि साहिँली, आफ्नै बोटका हुन् कि ?
ऊ साहिँलीलाई त्यसरी हेर्छ मानो उनका दुईटा आँखा रक्सीका दुईटा बोटल हुन् कि ?
यस सडकको पाँचौं कर्नरबाट सधैँ एउटा अनुहार निस्कन्छ, हीराकाजीको नाम लिएर । साहिँलीको हर्लिक्को सिसीबाट एउटा सुपारी छानेर मुखमा हालेपछि हीराकाजीको
स्वर खुल्छ ।
– तिम्रो पसलको सुपारी नखाईकन साहिँली, खाएकै पच्दैन ।
मानो साहिँलीले हीराकाजीको भात पचाउने ठेक्का लिएकी छ।
श्यामबहादुर दुई माइलदेखि साइकलबाट उडिरहेछ । श्यामबहादुर एकचोटि साइकल खोलेपछि साहिँलीको पसलमा नपुगी अड्दैन । मानो: साहिँलीको पसल उसको साइकलको ‘स्ट्यान्ड’ हो । मानो साहिँलीको पसल नपुगी उसको जीवनको ‘स्ट्यान्ड’ छैन ।
साहिँलीको पसलमा पुगेपछि रामबहादुरको अफिसको पहिलो ढोका खुल्छ ।
छि: बूढा भएर नि ! पर्दैन क्या !
– अनि यसको कति ?
– पचास पैसा ।
– यसको नि ?
– कसको ? …।
(स्रोत : लक्ष्मणप्रसाद गौतमद्वारा सम्पादित “नेपाली यौन कथा भाग २” बाट सभार)