~पोषण पाण्डे~
राधेश्यामको मन यसै यसै हडबडाउँछ – आज उसलाई ट्युसनमा जान अबेर भैरहेछ । छिन–छिनमा हातको नाडीघडी हेर्छ र त्यसपछि ऊ पाउदानलाई जोर–जोरसँग चाल्छ । साइकल छिटो छिटो गतिले दगुर्न थाल्छ आवाज बगाउँदै – चुई, चुई, चुई, चुई… ।
बाटोमा राधेश्याम अचानक मनमनै झस्किन्छ – उसले घरबाट आउँदा केही कुरा बिर्सेको छ । उसको विश्वास प्रतिपल बढ्दै जान्छ । तर के बिर्सेँ भन्ने कुरो ऊ सम्झिन सक्दैन । राधेश्याम जेबको कलम छुन्छ, हातको घडी हेर्छ र खल्तीको कापी छाम्छ । सब ठिक छ । तर उसको मन मान्दैन । फलतः निधारमा चिटचिट पसिना उम्रिन्छ । राधेश्याम साइकलबाट ओर्लिन्छ । सडकको किनार लागेर राधेश्याम केहीछिन उभिएको–उभियै गहिरिएर सोच्छ – आखिर उसले बिर्सेको कुरा के हो ! तर औँसीको रातमा चन्द्रमा लुप्त भएझैँ उसको सोचाइमा बिर्सेको कुराको एक सानो झल्को समेत आउँदैन । नजिकको घण्टाघरबाट आएको पाँच बजेको आवाजले राधेश्याम कराहीको ज्यूँदो माछोझैँ छट्पटाउँछ । काठीमा बुदु्रक्क चढ्छ र मनमनै ऊ आफ्नो मनको केवल मुर्ख्याइँ साबित गरेर साइकल कुदाउँछ ।
वर्षातको मौसम भएकोले माथिबाट बराबर बादलको गड्याङ्गुडुङ् आवाज आउँछ । जुन आवाजले गर्दा राधेश्यामको साइकलको चाल छाडा भएर दगुर्छ । तर बादलको गड्गडाहटले उसलाई झन् झन् लखेट्न थाल्छ । राधेश्यामको साइकलको पाङ्ग्रा अब अनियन्त्रित रूपले चल्न सुरु गर्छ । साइकलको चुई, चुई आवाज बेहिसाबले निस्किन थाल्छ । फास्टमा लगेर बुजाएको कुनै पुरानो ग्रामोफोनको रेकर्ड जस्तो ।
बतास चल्छ । आँधी–बेहरी आउँछ । सडकको धुलो घुमाउरिँदै उड्छ । रुख पनि लडखडाउँछ, त्यसै गरी जसरी राधेश्यामको साइकलको पाङ्ग्रा लड्खडाइरहेछ । तर राधेश्यामले साइकलको ह्यान्डिल छोडेको छैन । खास गरी उसको साइकलको अघिल्लो पाङ्ग्राको स्थिति बहुत खराब हुँदै गइरहेछ । कता–कता उसको मनभित्र यस्तो विचार आउँछ – कदाचित् अघिल्लो पाङ्ग्रा साइकलबाट उछिट्टिएर अगाडि पुग्यो भने उसको के हबिगत होला !
अब आँधी–बेहरी र बतास मात्र हैन, साथै ठूलो पानीको धार चल्न थाल्छ । एकैछिनमा सडक जनशून्य नै हुन्छ । राधेश्याम दायाँबायाँ कतै केही कुराको परवाह नगरी बीच सडकबाट साइकलको रफ्तार तेज गर्दै जान्छ । आँखा–साँखा चिम्लेर उ हावा पानीमा बग्दै गइरहेछ । उसको शरीर धुलो र पानीले मुछिइसकेको छ । र यस्तैमा ऊ पुनः मनमनै छ्याङ्ङ खस्छ । तत्काल साइकलको पछाडि फर्केर राधेश्याम क्यारिअरमा हेर्छ जहाँ उसको रेन–कोट भिजेर चिप्किरहेको हुन्छ । राधेश्याम यति खुशी हुन्छ कि तुरुन्त साइकलबाट ओर्लिन्छ । सडकको किनार लाग्छ । उसको खुशीको कारण खास रेन–कोट हैन । शुरुदेखि उसको भित्री मनमा गुप्त रूपले पिरिरहेको विस्मृतिको पीडा अब शान्त हुन्छ । घरबाट आउँदा उसलाई जुन कुरा बिर्सेँ भन्ने लागेको थियो त्यो यही रेन–कोट त हो, जुन अहिले उसको साथैमा छ । बेकारमा ऊ यतिबेर मनभित्र पिरोलिइरहेथ्यो । अघि नै एकबाजी साइकलको क्यारिअरमा हेरिदिएको भए…. । होइन त्यसो त उसलाई बिर्सेको कुरा रेन–कोट नै हो भन्ने कहाँ थाहा थियो र ! जे होस अब उसको मनको खलबली शान्त हुन्छ ।
यतिबेरमै पानीको साथ असिनाका ठूलाठूला गेडा हान्निएर झर्छन् र चारैतिरको सडक असिनै–असिनाले पोतिन्छ । असिनाको प्रहारले गर्दा राधेश्याम सडकको किनारमा पनि उत्रिन सक्तैन । उसको शिर र आङमा असिनाका दुई–चार प्रहार पर्छन् । फलतः आफ्नो लाउन लागेको रेन–कोट हातमा लिएर ऊ उभिएकै ठाउँनिरको चिया पसलभित्र पस्न खोज्छ । पसलभित्र छिर्दा एक निमेष राधेश्यामलाई तुरुन्त बाहिर निस्कूँजस्तो लाग्छ किनभने त्यो पसल एक प्रकारले भट्टी सरह देखिन्छ । तर असिनाको वर्षाले गर्दा राधेश्याम बाहिर निस्कन पनि सक्तैन न त भित्र पसेर सरासर बेन्चमा बस्न सक्छ । ऊ पसलको संघारमा उभिन्छ र पुनः उसको मनभित्र विस्मृतिको पीडा पेटको आउँझैँ चल्न सुरु गर्छ । अब उसले बिर्सेको कुरा रेन–कोट हो भन्ने विश्वास पनि ठिक एउटा मायावी चरातुल्य प्रतीत हुन्छ जुन उसको हातमा एकछिन रहेर फुर्र उड्छ ।
भित्र पाल्नूस बाबु…… किन त्यहाँ रुझेर….
राधेश्याम आफ्नो विचारको तन्द्राबाट झस्किन्छ । भित्र पसल्नी उसलाई चियापानी गर्ने आह्वान गरिरहेकी छ । तर ऊ , अँ…. ठीक छ’ भनेर जहाँको त्यहीँ उभिरहन्छ । असिनाको वर्षा उत्तिकै छ, साथै पानी पनि । यौटा ठूलो असिनाको गेडा उसको घुँडामा लागेर ठक्कर खान्छ । तर राधेश्याम पसलभित्र पस्तैन । रुझेको रेन–कोट हातमा लिएर सडकमा ठक्कर खाँदै उफ्रेका असिनाहरूलाई हेरिरहन्छ । छिन–छिनमा अड्याइएको साइकललाई हेर्ने गर्छ । साइकल यथावत् ठाउँमा देखेर उसको मन ढुक्क हुन्छ । तर उसको मनमा बिर्सेको कुराको सूत तुनिदै जान्छ र अन्त्यमा चुँडिन्छ । फेरि चुँडिन्छ ।
‘होइन बाबु, भित्र पाल्नूस्न….. ह्याँ उज्यालो पनि छेकियो…’ भित्रबाट पसल्नीले आग्रहको स्वरमा भन्छे ।
राधेश्याम अब पसलभित्र छिर्छ । एउटा लामो बेन्च जुन ज्यादै मैलो र फोहोर देखिन्छ, तयसमा रुमाल झिकेर झार्छ र बस्छ ।
बाबुलाई के टर्क्याऊँ… चिया ?
अँ….
आलु पनि…..?
पर्दैन….
निम्की टर्क्याऊँ कि…? ताजा छ ….
हुन्छ त यौटा मात्रै….
चप….?
भो….. भो
ताजा छ बाबु…. भर्खरै बनाएको…
त्यसो भए यौटा मात्रै….
त्यो अधेड आइमाईले सबै चिज रिकापीमा राखेर टेबुल पुछी राधेश्यामको अगाडि राखिदिनछे । राधेश्याम त्यो अधेड आइमाईलाई हेर्छ जो कुनै बखत यौटा ठूलो घरानियाँ मानिस कहाँ अथवा कुनै घर–साहेब करसाहेबका दरबारमा बसेकी झैँ प्रतीत हुन्छ । उसको बोलाइको मधुरोपन र शब्दहरू, उसको लवाइको काँट–छाँट आदि सब कुराबाट उसको स्वभावमा एक प्रकारको कुलीन शिष्टता झल्केको देखिनछ । उसको हातभरिको चुरा, पुरानो खालको चोलो, भरिलो ज्यू सब कुलीनताका लक्षण हुन् । उसको सिउँदो चिरेको केश र त्यसमा सिन्दुरको रेखा यस कुराका ज्वलन्त सबुत हुन् । तर त्यो आइमाईको चेहराबाट यौवनको राँको मन्द भइसकेको छ । केवल उसको आँखामा त्यो राँकोको शेष झिल्का अझै पनि विद्यमान रहेको पाइन्छ ।
आइमाई छिनछिनमा अरू केही टर्क्याऊँ कि भनेर सोध्छे । उसको सोधाइमा नरम र कोमल आवाज ध्वनित हुन्छ । यस्तो लाग्छ मानौँ ऊ कुनै गैर ग्राहकलाई हैन, धेरै दिनपछि भेट भएको आफ्नै भाइलाई प्रेमपूर्वक ख्वाइरहेकी छ । राधेश्याम पनि साँच्चै नै आनन्द मानेर खानेकुरा चपाइरहन्छ । उसको आँखा त्यस पसलको सबै चिजमा क्रमशः सर्दै जान्छ – भित्ता, टेबुल, मेच, क्यालेन्डर, खाने कुरा राख्ने सानो दराज, दमचुली जसमा हरेक बखत चियादानी ताततिरहेको हुन्छ….। राधेश्यामलाई खानेकुराहरू झन्–झन् स्वादिष्ट लाग्दै जान्छ ।
कता–कताबाट फेरि राधेश्यामलाई आफ्नो ट्युसनमा जान हतारो भएको बोध हुन्छ । पार्वती मैयाँ किताब कापी लिएर प्रतीक्षारत भएकी कल्पना उसको आँखा अगाडि झिलमिलाउँछ ।
पार्वती मैयाँ घडी हेर्दै छिनछिनमा भर्याङको आवाजतिर ध्यान लगाउँछिन् । भर्याङसम्मै गएर हेर्छिन् । फेरि फर्केर कोठामा आई किताब कापी कच्याक–कुचुक पार्छिन् । राधेश्याम मनमनै हडबडाउँछ । उसलाई ट्युसन जान हतार भइरहेछ । चपको आखिरी टुक्रालाई ऊ नचपाएरै निल्छ र घाँटी तानेर पसलको सानो छिर्ने ढोकाबाहिर हेर्छ ।
कस्तो पानी परिरहेको……
अहिले के थामिन्थ्यो यो…. पसल्नी पानीको कुरा बुझेझैँ गरी भन्छे ।
राधेश्याम पुलुक्क उतिर हेर्छ । झमझम पानी परेको आवाज उत्तिकै आइरहन्छ ।
बाबुलाई काँ–सम्म जानुपर्ने कुन्नि… चियामा चिनी घोल्दै पसल्नी सोध्छे ।
यहीँ….. महाराजगञ्जसम्म…….
बाबुको घर यहीँ हो कि….
होइन….त्यहाँ पढाउन जान्छु……
ए…… बाबु त्यसो भए माष्टर……
पसल्नी पुलुक्क राधेश्यामको मुखमा हेर्छे र चियाको गिलास हातमा लिएर जुरुक्क उठ्छे । ऊ उठ्ता उसको शरीर कतै कुप्रिँदैन । सीधा, नबाङ्गिएको मसलाको रुख जस्तो…….। त्यो आइमाई यौटा भाइकी स्नेहालु दिदी जस्ती देखिन्छे । उसमा मातृवत् लावण्य झल्किन्छ । राधेश्याम चियाको एक सुर्को लगाउँछ र सोध्छः–
दिदीको ह्याँ को–को हुनुहुनछ…… एक्लै कि…….?
होइन…… छन्……उनी छन्…… यो छे…… – पसल्नीको आवाजमा यौटा गह्रुङ्गोपन आउँछ ।
नजिकै एउटी बालिका सानो सिलोटमा क,ख’ लेखिरहेकी हुन्छे । उसको अगाडि यौटा वर्णमालाको किताब छ । किताबमा ठूलाठूला बाह्रखरी अक्षरलाई हेर्दै उ सिलोटमा त्यस्तै लेख्ने चेष्टा गर्छे । औँलाले जिब्रोको थुक लिन्छे र सिलोटको नमिलेको बाङ्गोटिङ्गो नमिलेको अक्षर मेट्छे । फेरि लेख्छे । लडकीको बाटुलो अनुहार र गोल–गोल आँखा आमासँग दुरुस्त मिल्छ । नानी…. ए नानी…. यता आउ बा…… पसल्नी छोरीलाई नजिकै बोलाउँछे र भन्छे – लः नमस्ते गर त मास्टर साहेबलाई…….उ……ल त ल….
सानी बालिका आँखीभौँ फिरफिर हल्लाएर राधेश्यामलाई हेर्छे । अपरिचित अनुहार देखेर ऊ आमातिर टाँस्सिन्छे । आमाको अनुहारमा अनुहार जोरेर खिस्स हाँस्छे ।
ल न…… झन् कति जाती भन्या नानीलाई…… नमस्ते गर्द्यौ त उता फर्केर… छोरीको दुवै हात उठाएर पसल्नी मुख फर्काइदिन्छे ।
बालिका एकछिन फेरि आँखाको फिरफिर हल्लाउँछे र एकदम छिटो आवाजमा भन्छे – नमस्ते….।
हो…… स्याबास…….. छोरी कस्ती जाती छ…… छोरी चाहिँ लाजले आमाको झ्वाम्म आँगालो हाल्छे । राधेश्याम पनि नमस्ते फर्काउँछ ।
आमाको आग्रहले त्यसपछि बालिका सिलोटमा लेखेका कुरा माष्टर साहेबकहाँ देखाउन ल्याउँछे । सिलोट हातमा लिएर ऊ राधेश्यामको अघिल्तिर उभिनछे ।
मैले लेख्या भयो कि भएन हेर्दिनोस् भनन…. आइमाई छोरीलाई सिकाउँछे । बालिका हातले सिलोट समातेर टाउको निहुराइरहन्छे ऊ बोल्न सकिन ।
राधेश्याम बालिकाको हातबाट सिलोट लिएर भन्छ – आहा, कति राम्रो अक्षर नानीको….. । क, ख, ग,….ल हेर त घ अलिकता मिलेन…,
लडकी संकोचले डल्लो पर्छे र फेरि दगुर्दै गएर आमालाई आँगालो मार्छे ।
राधेश्याम गिलासको चिया सिध्याएर भन्छः यौटा चुरोट दिनोस्न दिदी….
पसल्नी छोरीको हातमा चुरोट दिँदै भन्छे, उः …. मास्टसाहेबलाई देऊ जाऊ….।
राधेश्याम चुरोट लिएर त्यस केटीलाई हेर्छ । हेर्दाहेर्दै त्यस केटीमाथि उसको यौटा सहज माया प्यार उर्लेर आउँछ । ऊ केटीलाई चपक्क समातेर म्वाई खान हात बढाउँछ । उसले समात्न नपाँउदै केटी फुर्र भङेरा उडेझैँ गएर आमाको चौडा छातीमा दुवै हातले आागालो मार्छे ।
के गर्या त्यो ल…. झन् मास्टरसाहेबले माया गर्न खोज्नुभा…… अनि तिमीलाई पढाइ दिनुहुन्छ नि धेरै….’
केटीको मुख रातो–रातो एकदम रगत चुहिएइला जस्तो हुन्छ । ऊ आमाको ठूलो फुलेको छातीमा मुख गाडेर बसिरहन्छे । छोरीको सास आमाको छातीभर भिज्छ र पसल्नीको अनुहार पनि रातो–रातो भएर आउँछ । पसल्नी राधेश्यामलाई हेर्छे । राधेश्याम चुरोट सल्काउँछ ।
छोरी त चलाख रहिछन् दिदीकी….
के गर्नु बाबु, मलाई असाध्यै रहर छ यसलाई पढाउन… आफू जान्दिनँ…….
पसल्नीको आँखामा अव्यक्त याचना भरिएर आउँछ र त्यो हद सेहद लावण्यमयी देखिन्छ । उसको आन्तरिक प्रार्थनाको पुकार अर्कै रूपले खुल्छ । आफ्नू आङको पछ्यौरा हावामा उडाएसरह ऊ प्रार्थना गर्छे । आफ्नी छोरीको लागि प्रार्थना गर्छे । राधेश्याम ठिक यौटा ईश्वरजस्तो प्रतीत हुन्छ । यौटा यस्तो ईश्वर जो मूढ छ र जो कसैको प्रार्थना सुन्दैन हत्तोपत्तो सुन्न सक्तैन । यौटा यस्तो ईश्वर जो बोल्न सक्तैन ।
तर पसल्नीको प्रार्थना झन्–झन् ठूलो स्वरले निस्किरहेछ । उसको प्रार्थनाको स्वर मुखबाट हैन, आँखाबाट निस्किरहेछ – बाँध चुडालेर जल–प्रवाह जस्तो छोरीको मुखबाट निस्केको गरम गरम सास उसको छातीमा भिज्छ । घाँटीको आवाज कस्छ र उसको माथ लाटो–लाटो अनुरागले लठ्ठिन्छ ।
राभेश्याम जुरुक्क उठ्छ । यौटा ढुगें ईश्वर ब्युँझेजस्तो । तर केही बोल्दैन । खल्तीमा हात घुसार्दै भन्छः–
पैसा कति भो क्यारे…दी…?’
भइहाल्यो नि…….’
होइन भन्नुस…..’
बाबुसित अहिले नै लिनुपर्ने के छ र… सधैँ यो बाटो आइहाल्नुहुनछ क्यारे… लिँदै गरूँला नि….’
होइन… दिदीले पनि के कुरा गर्नुभा….’… भोलि–पर्सि भएपछि बिर्सिन्छ वरिन्छ….’
म सम्झिराखुँला नि…’
हुँदैन दिदी… हुँदै हुँदैन ।
राधेश्याम पैसा बुझाएर बाहिर हेर्छ । पानीको गति बिल्कुलै मन्द भैसकेको हुन्छ । ऊ ढोकाबाहिर निस्किन नपाँउदै केटी दगुर्दै आउँछे र भन्छे – नमत्ते ।
राधेश्याम पनि नमस्ते फर्काउँछ । ऊ देख्छ – त्यस केटीको छातीमा दुवै हातले च्यापिएको सिलोट जसमा बाङ्गोटिङ्गो गरी लेखिएका बाह्रखरी अक्षरहरू अस्पस्ट छन् । शायद ऊ त्यसको राधेश्यामलाई करेक्शन गराउन चाहन्छे । तर राधेश्याम सक्त्तैन । उसलाई पनि थाहा छैन – ऊ त्यस पसल्नीकी छोरीको सिलोटमा लेखिएको अस्पस्ट अक्षरहरूको करेक्शन किन गर्न सक्त्तैन ?
राधेश्याम पार्वतीमैयाँको घरतिर दगुर्छ – साबिकबमोजिम ट्युसन पढाउन । तर अफसोस ! उनको घर पुग्दा नपुग्दै ऊ बाटैमा मनमनै छ्याङ्ङ खस्छ । उसको यत्तिका बेरसम्मको उल्झन त्यस एकक्षणमै सुल्झिन्छ । उसलाई छर्लङ्ग सम्झना हुन्छ – आज त शनिबार पो हो – छुट्टीको दिन ।
राधेश्याम साइकल फर्काएर चढ्छ । पाउदानलाई जोर–जोरसँग चाल्छ । साइकलबाट उही पूर्ववत आवाज आउन थाल्छ – चुई…चुई…चुई..चुई… एकै किसिमको ! राधेश्यामको जीवनी कराए जस्तो एकै किसिमको !