~पोषण पाण्डे~
निद्रा फाट्छ र कमला ब्युँझिन्छे । उसलाई लाग्छ, बिहान भइसकेको छ । तर रातको गाढा सूनसान् देखेर उसलाई थाहा हुन्छ – शायद दुई बजेको होला । बिनासित्ती ऊ ब्यूँझेकी- उसलाई एक किसिमको पश्चात्ताप हुन्छ र साथै कुनै स्थूल प्रकारको भयले उसलाई लपेट्छ । कमला सिरानबाट त्यो चिठी झिक्छे जुन उसले आजै दिउँसो मात्र पाएकी थिई र जसलाई कमसेकम उसले बाह्रचोटि पढिसकेकी होली, अहिले फेरि पढ्न लागेकी छ । यो चिठी उसको पतिको हो ।
तिमीलाई चिठी नलेखेको हप्ता दिन भयो । तर यसबीच तिम्रो कुनै चिठी आएन । तिमीलाई खुशी लाग्ने कुरा छ- डाक्टरले मलाई अस्पतालबाट छुट्टी लिने अनुमति दिएको छ । उसको भनाइ छ कि अब म ठीक भएँ । म आफ्नो घर फर्किन सक्छु । हुन पनि कमला मलाई घेरै नै ठीक भैसकेको छ । पहिलेजस्तो कपाल दुख्ने, रिङ्गटा लाग्ने, मूर्छा परूँलाजस्तो हुने इत्यादि कुनै पनि लक्षण अब देखा पर्दैन । मन पनि आनन्द भइरहन्छ । हात, खुट्टा, पाखुरा सब फुर्तिलोसँग चल्छन् । बिहान, बिहान चउरमा घुम्छु । हरियो चउरमा घुम्दा यस्तो लाग्छ मानो, मैले पुनर्जन्म पाएको छु । हुन पनि कमला म घरबाट यता आउँदा कस्तो थिएँ तिमीलाई थाह्रै होला । के मलाई सबैले मर्छ नै भन्ठानेका थिएनन् ? तर कमला, अहिले त्यस्तो होइन । अब मलाई लाग्छ, म हतपती मर्दिनँ । मैले भनेँ नि, हरियो चउरमा घुम्दा यस्तो लाग्छ मानो मैले पुनर्जन्म पाएको छु । धेरै के भनुँ, तिमीले पछि थाहा पाउली । शायद अब दुई तीनदिन भित्रमै म त्यहाँ आइपुग्छु ।
तिम्रो………!
कमलाको हातबाट चिठी फ्यात्त भुइँमा खस्छ । चिठी टिपेर फेरि ऊ पढ्न थाल्छे । पढ्दा पढ्दै उसको टाउको रिङ्गाउँछ । चिठीको कुनै पनि हरफ ऊ देख्तिन । मानो त्यो उसको लागि एउटा नलेखिएको कागत मात्र हो । वास्तवमा भन्ने हो भने उसको पतिले लेखेका कुराहरूमा उसको विश्वास कत्ति पनि अड्दैन । खास गरी ऊ यो कुराको कल्पना पनि गर्न सक्तिन कि उसको पति ठीक हुन सक्छ । त्यसो त उसले कतिपटक मनमनै अनुमानद्वारा पतिको निरोगी चेहरा हेर्ने कोसिस गरी । तर उसको आँखाले यस्तो देखेन ।
तकियामुनिबाट कमला अर्को एक चिठी झिक्छे जसलाई ऊ एकदमसित छातीमा जोर्छे, थिच्छे, र त्यसपछि च्वाप्प एक म्वाइँ खाएर पढ्न थाल्छे । यो दोस्रो चिठी उसको पतिको होइन । यो उसको गुप्त प्रियतमको चिठी हो जोसँग उसको यता महीना दिनभित्रैमा परिचय, मिलन र गाँठो बसिसकेको हुन्छ । कमला यस चिठीको जवाफ तुरुन्तै लेख्न चाहन्छे । तर कलम चल्दैन । पन्छाउँछे । फेरि बडो आश्चर्य लाग्दो ढङ्गले पतिको चिठी लिन्छे, छातीमा जोर्छे, थिच्छे र उसै गरी म्वाइँ खान्छे । कमला पतिलाई चिठी लेख्न थाल्छे । लेख्ने कोसिस गर्छे। ऊ चिठीमा यो लेख्न चाहन्छे कि उसलाई ज्यादै खुशी लागेको छ……. ऊ सकेसम्म चाँडो उनको अनुहार हेर्न चाहन्छे…… ।
झ्यालबाट हावाको एक झोँक्का आउँछ । चिसो वर्षा ओसार्ने हावाको झोक्का । रूखका हाँगाबिँगाहरू खलबलिन्छन् र रातको सुनसान अस्तव्यस्त भएर हावामा गुप्त आवाजहरूको सृष्टि हुन थाल्छ ।
कमला झस्किन्छे । यसकारणले कि उसले जुन कुरो पतिलाई लेखेँ भनिठानेकी थिई, त्यो त उसले लेखेकी रहिनछ । उसको लोग्नेलाई चिठी लेख्ने कागत त अझै सफा छ, बिल्कुलै सफा । एउटा अक्षरसम्म पनि उसले कोरेकी छैन । उसले जुन लेखेँ भनिठानेकी थिई, त्यो लेख्ने कल्पना मात्र गरेकी रहिछ । उसको कल्पनाको यस धारिलो झुटले उसको मुटु पक्डन्छ, अँठ्याउँछ । उसलाई यो साबित गर्न खोज्छ कि ऊ झुटो कुरा लेख्ने विचार गरिरहेकी छ । ऊ यस्तो लेख्न सक्तिन- कुनै हालतमा पनि लेख्न सक्तिन, किनभने उसलाई अझै पनि यकीन छैन- उसको पति ठीक हुन सक्छ । पतिले लेखेका कुराहरू जो उसको अनुमानमा सर्वथा मिथ्यातुल्य छन्, त्यसमा ऊ आफ्नो अन्तरात्माको विश्वास गाड्न सक्तिन । तर यो पनि ऊभित्रेदेखि स्वीकार गर्न सक्तिन कि उसको पति उसलाई झुटो कुरा लेख्न सक्छ ।
कुनै पुरानो कपडाको पर्दा ध्यार्र च्यातिएझैँ उसको मनभित्रभित्रै फाट्न शुरू गर्छ र सामुन्नेका दुई चिठीहरूमा झल्याकझुलुक प्रतिरूपहरू देखिन थाल्छन् । यी प्रतिरूपहरू क्रमशः चम्किँदै जान्छन् । यहाँसम्म कि ती बिलकुल चम्किला आँखाजस्ता देखिन्छन् । अब दुई चिठी दुई आँखाको रूपमा चल्न थाल्छन् ।
कमला दायाँ आँखा बन्द गरेर बायाँ आँखाले हेर्न चाहन्न । न बायाँ बन्द गरेर दायाँ आँखाले मात्रै ऊ हेन सक्छे । उसलाई दुवै आँखा चाहिन्छ। दुवै आँखाबाट उ सृष्टिको रमझम हेर्न चाहन्छे । रुख-पात, खोला-नाला, आकाश धर्ती, जून-घाम जम्मै चिज दुवै आँखाले हेर्न चाहन्छे । उसलाई यौटा आँखा बन्द गरेर अथवा फोडेर हेर्न अत्यन्त नरमाइलो लाग्छ, असह्य हुन्छ ।
कमला पतिको चिठीमा टल्केको आँखा देख्छे र त्यस आँखाबाट एक किसिमको लयालुपना निस्कन थाल्छ । रङ्गीन चमकदार । विविध रङ्गहरूको चमकदार लयालुपना । त्यो आँखा यौटा सानो ज्वालामुखीको रूपमा फुट्न थाल्छ । आँखाबाट र्याल्ल चुहिरहेको लयालुपना । कमलाको मनमा घिनलाग्दो अनुभूति पाक्न थाल्छ। ऊ, सामुन्ने पतिको चिठीलाई फुटेर पग्लिरहेको यौटा आँखाको रूपमा देख्छे । कमलाको घाँटी कोक्याउँछ । उसलाई बान्ता आउला आउला जस्तो हुन्छ ।
तर चिठीको आँखा पग्ली नै रहेछ । विविध रङ्गहरूको लयालुपना पनि उस्तै गरी निस्किरहेछ। ती रङ्गहरूमा अब कालोपनको मात्रा ज्यादा आइरहेछ। शायद आँखाको नानी पग्लिरहेछ । कमलालाई यस्तो लाग्छ, मानो यी सब क्रियाहरू यौटा गुंमजभित्र भइरहेछन् जसमा कतै झ्याल छैन, ढोका छैन । कतै हावा हुरीको प्रवेश हुने प्वालसम्म पनि छैन । यौटा निश्चित तापक्रम छ, जस्तो कि यौटा मुटुमा हुन्छ ।
चिठीको आँखा अहिले कुनै यौटा गुंमजजस्तै छ । जसको घेरैभित्रसम्म कमला पुगिसकेकी छ । आँखाको चमकदार लयालुपना क्रमशः स्थिर हुँदैछ र त्यो आँखामा अहिले आएर केवल सफेदीपन बढ्न थालिरहेछ । हुँदा हुँदा त्यस आँखाको सफेदीपन यसरी बढ्दै जान्छ कि त्यो यौटा सेतो हिउँको टुक्राजस्तो देखिन्छ । चिसो हिउँको एक टुक्रा- जस्तो कि यौटा मृत मानिसको आँखा हुन्छ ।
सहसा कमलाको मुखबाट यौटा तीखो आवाज निस्कन्छ । लाटोकोसेरोको आवाज जस्तो…… चर्केको…… फाटेको ….. चिर्र……। अथवा, हिँड्दा हिँड्दै कुनै लाशलाई छुन पुग्दा मानिसको मनमा जुन किसिमको प्रतिक्रिया आउँछ ठीक त्यस्तै कमलाको आवाजमा थर्किन्छ। त्यसपछि चिठीको त्यस मृत्युवत् आँखामा कमलाको सहानुभूति घिस्रिन्छ। कुनै घाइते मानिसले अन्तिमबार सीमानाको रेखा छुन पुगेसरी घिस्रिन्छ, घिस्रिँदै जान्छ ।
कमलाको मुटुका द्वारहरू खुल्दै जान्छन् र रगत निर्बाध रूपले शरीरभित्र जताततै फैलिन्छ ।
अब त्यो चिठीको मृत्युवत् आँखा र उसको आँखामा केही फरक छैन । दुवै परस्पर ट्वाल्ल एकले अर्कोलाई हेरिरहेझैँ प्रतीत हुन्छन् । दुवैको हेराइमा कुनै अर्थ छैन । कुनै स्वाद छैन । यदि भए, स्फटिकको झोलमा जे स्वाद हुन्छ, त्यही होला ।
कमलालाई अब मृत्युवत् आँखासँग कुनै डर पनि छैन । मानो अब ऊ कुनै लाशलाई मजाले छुन सक्छे, समात्न सक्छे । यतिमात्र होइन, त्यससँग अब ऊ लुट्पुटिन पनि सक्छे ।