~पोषण पाण्डे~
टुकुचामा साउनको भेल आइरहेछ । भेलमा मैलो फोहोर छाल बटारिँदै आउँछ । तिनमा ससाना बोट र असङ्ख्य पातपतिजङ्रहरु बग्दै आइरहेछन् ।
आकाशमा बादल ओहोरदोहोर गरी नै रहेछ । पानी कहिले जोरसँग दर्किन्छ, कहिले सिमसिम र कहिलेचाहिँ त टप्प नै बन्द हुन्छ ।
शान्ता, सुकुचा र हाकुचा पानीमा नर्कटको काँटी थापेर टुक्रुक्क किनारमा बसिरहेछन् माछा मार्न ।
तीनै जना ठिटाहरु चिन्तनशील मुद्रामा छन् – कुनै तप-सिद्ध गरिरहेका बाल-ऋषिहरु जस्ता…. । तर छिनछिनमा माछा पर्यो कि भनेर काँटी उठाउँछन् र परेको जति एउटै घैँटामा राख्दै जान्छन् । उनीहरुको बिच यो सर्त रहन्छ कि पछि जाने बेलामा जति माछाहरु हुन्छन्, ती सब दामासाही गरेर लिने । तथापि सबैको मनमा मैले पारुँ भन्ने अभिप्राय लुकेको देखिन्छ । सायद तीनै जनालाई आफ्नो सर्तमाथि अन्ततः विश्वास छैन ।
अतः तीनै जनाको आँखा टुकुचाको बग्दो भेलमा एक टकसित टेकिरहेछ । पानीमा हेर्दाहेर्दै हाकुचालाई एउटा ठूलो माछा बग्दै आएझैँ लाग्छ, र झ्वाट्ट काँटीउ उचाल्छ । हो न हो सुकुचालाई पनि यस्तो भान पर्छ कि उसको पानीभित्र डुबाइराखेको काँटीमा ठूलो नै माछा अड्किरहेछ र ऊ जोरले नर्कटमाथि उचाल्छ । फलस्वरुप दुबैका काँटी पछाडिको बाँसमा लागेर अड्किन्छन् ।
शान्ताको त काँटी मात्र हैन स्वयं ऊ नै डुबिरहेछ पानीमा । सायद बग्दो भेलमा ऊ आफैँ नै हुत्तिरहेछ ।
हाकुचा आफ्नो काँटीमा ताजा कीरा हाल्छ ।
पानी फेरि सिमसिम पर्न थाल्छ । बाँसका पातहरु पुनः चरमर चरमर आवाज गर्दै चल्न थाल्छन् । टुकुचाको खोलामाथि बादल घनारुपले एकत्रित भइरहेछ । भेलमा किसिम किसिमका साँप्लेदार पानीका लहरहरु तथा किसिम किसिमका टुक्राटुक्रीहरु बग्दै आइरहेछन् ।
शान्ता, जसले अहिलेसम्म यौटा पनि माछा मार्न सकेको थिएन, हठात् मनमनै प्रशन्न हुन्छ । उसलाई आफ्नो काँटीमा पक्कै पनि माछा परेजस्तो लाग्छ, र अरु दुई जना साथीले झ्वाट्ट तानेझैँ नगरी ऊ बिस्तारै नर्कट उठाउँछ तर ……
यो के ……… ऊ के देख्छ आफ्नो काँटीमा…. औँलाहरु … ससाना औँलाहरु … कुनै बालकका औँलाहरुजस्ता …..
शान्ताको मुटु स्वाट्ट छातीबाट खसेजस्तो हुन्छ । उसका नाक, कान, आँखा, मुख, तमाम इन्द्रियहरु एकछिन टक्क अड्छन् । खास उसको आँखा जुन एक मुर्दाको आँखातुल्य ट्वाल्ल पर्छ, नर्कटको काँटीतिर हेरिरहेछ, जसमा ससाना औँलाहरु झुण्डिरहेछन् – एक दुई तीन चार …. पाँच ….
हावाको कुनै तीखो धारले रुखका पातहरु चिरेसरह शान्ताको मुखबाट एक्कासी चीत्कार निस्कन्छ आ… मा….
र, यसपछि उसको हातको नर्कट खस्छ जसलाई पानीको भेलले हल्लाएर हुत्याएर लैजान्छ । हाकुचा र सुकुचा “के भो, के भो” भन्दै शान्तालाई सोध्छन् ।
नर्कट खै …. ? सुकुचाले आश्चर्य मानी सोध्छ ।
“पानीमा खस्यो … बगाएर लग्यो … ” मानो आफ्नो अपराध स्वीकार गरेझैँ शान्ता मसिनो स्वरमा भन्छ ।
उसको सास तीव्र गतिले चल्छ जसबाट उसको छाती तलमाथि गरिरहेछ । उसको अनुहार भयले नीलो कालो देखिन्छ ।
“औँलाहरु … मेरो नर्कटको काँटीमा औँलाहरु आएर तर्लङ्ग झुण्डिए … ससाना औँलाहरु …. ”
“धत् उल्लु कहीँको । ….. नचाहिँदो कुरो गर्छ …. ”
हो साँच्ची हो …. सत्ते औँलाहरु नै हुन् …..
हाकुचा भन्छ – “माछा देख्यो होला ।”
“त्यै तः माछालाई औँला भनिठानेर झ्स्क्यो”- सुकुचाले सही थाप्छ ।
“होइन, साँच्ची होइन … औँलै हो भन्या … किन नपत्याएको तिमीहरुले”- शान्ता विश्वासको साथ भन्छ ।
“काँबाट आउँछ यो पानीको भेलमा औँलाहरु …. ?”
“त्यो त कुन्नि …. ”, शान्त अन्यमनस्कमा पर्छ ।
“फेरि काँ”- बाट आउँछन् औँलाहरु मात्रै, हात खुट्टा छोडेर”
“त्यो त कुन्नि …”- शान्ता फेरि अन्यमनस्कमा पर्छ ।
भोकले चूर भएका हाकुचा र सुकुचा आ-आफ्ना नर्कटहरु थन्क्याउँछन् र एउटा टालोमाथि घैँटो घोप्ट्याउँछन् । बुरुरुरु… माछाहरु खस्छन् । तिनमा कुनै साना, कुनै ठूला, तर कुनै पनि माछा एक साधारण औँलाभन्दा ठूला छैनन् ।
पानी-घरबाट छुटेका ती माछाहरुमा कोही कोही अझैँ पनि चलमलाइरहेछन्, छटपटाइरहेछन् । सुकुचा धमाधम त्यस्ता माछाहरुलाई घाँटीमा बूढीऔँलाले थिच्तै मारिरहेछ ।
र, अन्तमा माछाहरुको तीन भाग लगाइन्छ । दामासाहीले हरेकलाई द-दसवटा पर्छ ।
“ल ल… फेरि यसलाई पनि औँलाहरु भनिठान्लास् नि …”- सुकुचा शान्ताको भाग अगाडि सार्दै भन्छ ।
शान्ताको मनलाई कसैले खोतल्छ, र ऊ खोक्रिँदै जान्छ । ऊ त्यहाँ एकछिन पनि बस्न सक्दैन । आफ्नो भागको माछा त्यहीँ जस्ताको तस्तै छोडी दगुर्दै घर पुग्छ ।
आमा …. आमा….. औँलाहरु …. बैनीका जत्रा औँलाहरु – रहस्यपूणर् ढङ्गले आमालाई घचघच्याउँदै शान्ता भन्छ ।
“के बैनीका औँलाहरु जत्रा …. के भन्छ यो … ?”
“हाकुचा र सुकुचासँग माछा मार्न गएको थिएँ, मेरो काँटीमा औँलाहरु आएर झुण्डिए ….”- बैनीका औँलाहरु किचीमिची समातेर शान्ता फेरि भन्छ – “हेर्नुस्, यी यस्तै …. ।”
डरछेरुवा मोरो … अनि के गरिस् त … फल्दिस् …. ?
“के कुरा गर्नुभा आमा, औँला पनि कसरी ल्याओस् त … मर्यावर्या मान्छेको औँला पनि … ।”
“त तँ बज्ज्वाइ दाइको सही थाप्छेस् …. भरे के खालिस् नि …. ह्वाँ आफूलाई तिहुन के पकाउनु भैरा छ …. ।”
शान्ता ट्वाल्ल आमाको मुखमा हेर्छ । आमाचाहिँ भन्दै जान्छे – “मोरो यौटा कुरोमा पनि काम लाग्दैन …. दिनभरि भौँर्तायो, अनि खानेबेलामा लुसुक्क घरभित्र छिर्यो … यत्रो खा अब … ”
शान्ताले आमाको अभिप्राय पटक्कै बुझेन, बुझ्नै सकेन । के उसकी आमाले भरेको तिहुनलाई उसको काँटीमा झुण्डिएका औँलाहरु ल्याउनु भनेको हो … ?
नर्कटको काँटीमा झुण्डिएका औँलाहरु पुनः उसको आँखाअगाडि आउँछन् । तर छुट्टाछुट्टै, बेग्लाबेग्लै …. ।
शान्तालाई वाक्क आउँछ । एकैछिन पछि ह्वालह्वालती बान्ता गर्छ । उसका औँलाहरु बटारिन्छन्, तन्किन्छन् र भुइँमा फ्यात्त खस्छन् ।
(कथासङ्ग्रह “मानस”बाट)