~इन्द्रकुमार श्रेष्ठ “सरित”~
हुन त यो सडकलाई मैले एकोहोरो हेरिरहनुको कुनै अर्थ छैन, तैपनि मलाई यो हिस्सी नपरेको अँध्यारमुखे सडकलाई किन-किन, त्यसै-त्यसै एकोहोरो हेरिरहन मन लाग्छ । तर बिहानै सैनिकहरूको एक हलले जब यसको एकाग्रतालाई भङ्ग गरिदिन्छ, मलाई धारेहात लगाएर तिनीहरूलाई सराप्दै गाली गर्न मन लाग्छ – “काम नपाएका तीनतिघ्रे मोराहरू ! तीनतिघ्रा हल्लायो-दौडियो-दौडियो ।”
आज पनि त तिनीहरू सधैँझैँ मेरै आँखाअगाडि हल्लिँदै-दौडिँदै गए । छि: यी लोग्नेमान्छे भनाउँदाहरू किन अलिकति पनि हिस्सी नपरेका होलान् ! मलाई त लोग्नेमान्छे भन्नेबित्तिकै घुणा लागेर आउँछ । यसो सम्झिँदा पनि शरीरभरि जुका हिँडेको जुगुप्साबोध गराउने अनुभूति मनभरि सलबलाउँछ । मलाई त्यसै-त्यसै वाकवाकी गर्न मन लाग्छ । के भरोसा यी लोग्नेमान्छेहरूको, मौका पाउनेबित्तिकै गाँज्न आउँछन् । यी लोग्नेमान्छेहरूका लागि त जीवन भन्नु नै केवल यौनतिर्खाको तृप्ति मात्रै न हो । एउटा अँध्यारो छिँडी वा सुनसान गल्ली मात्र भइदिए पनि काँचो मासुको चोक्टा चपाउन यिनीहरूलाई कलिकति पनि त लाज र धक लाग्दैन ।
“यो बुहारी पनि काँ मोरी काँ । एक कप चिया बनाइदेऊ भनेको, सुनेकै हैन । लोग्नेलाई खेलाउन पाई भने यसलाई अर्थोक केही चाहिँदै चाहिन्न ।”
यो घरमा म फर्केको पनि तीन वर्ष भइसकेछ । गतिशील समयको गतिलाई महसुस गर्नै पनि कहाँ सकिँदोरहेछ र ? अझ भनौँ अतीतलाई फर्केर हेर्न फूर्सदै कहाँ हुँदोरहेछ र ! के छ र, कमाएकी छु, खाएकी छु । अझ बढी खुवाएकी छु। आफ्नो श्रम र सीपमा बाँच्न सक्ने मलाई कसको र केको डर ? न त मलाई कसैको सहारा चाहिएको छ; न त भरोसा नै । त्यसैले त त्यो पिलन्धरे पुष्पराजलाई छाडेर यहाँ आएँ। किन म त्यसको चाकरी गरेर बस्थेँ ? एरात्तै, के स्वास्नी हुनु भनेको लोग्नेको परिवारको नै दासी हुनु हो र? लोग्नेले पो कुटे पनि न्यानो ओछ्यानमा त पक्कै पनि चाट्छ भन्ने आशामा उसको हैकम सहेर बस्छे खालीले । तर प्रत्येक आउडेपाउडेको हैकम सहेर को बस्छ अहिलेको समयमा ! के स्वास्नी हुने स्वास्नीमान्छेको मन हुन्न ? स्वाभिमान हुन्न ! इच्छा-आकाङ्क्षा हुन्न ? के ऊ अरूको खटन मानिदिने ‘रोबोट’ मात्रै हो त ? अथवा लोग्ने तातिएको बेलामा उसको भाँडो सेलाउने माध्यम मात्र हुनु नै ‘ऊ’ हुनुको सारतत्व हो त ?
“एक कप चिया दिन पनि यत्रो बेर हुन्छ !”
यी भाइ, बुहारी र भदाहाहरूको चर्तिकला हेर्दा यिनीहरूलाई त एक पैसा पनि दिन मन लाग्दैन मलाई । तर आमाको मुख हेरेर चित्त बुझाउनुपरेको छ । आमा नभएकी भएत म यिनीहरूलाई फर्केर पनि हेर्ने थिइनँ ।
म कौसीमा घाम ताप्न आयो कि यो नयाँ पठ्ठोले जतिखेर पनि मलाई क्वारक्वारती हेरिरहेको हुन्छ । मलाई थाहा छ, रूप-सौन्दर्यको दृष्टिले म राम्री छु जागीरमा अधिकृत छु र मेरो हँसाइमा कसैलाई पनि लोभ्याउने प्रचुर सामर्थ्य छ । तर त्यो जाबो स्नातकको बिद्यार्थी काँठे, पाखे ठिटोले मलाई हेर्ने आँट गर्ने हो त ? अचार हाल्दाहाल्दै यसो तल हेर्छु, त्यही पाखे ठिटो नुहाइरहेको देख्दा मेरो कन्सिरी तातेर आउँछ । के थाहा यी पाखरेहरूलाई बाथरुम चराको नाम हो कि खानेकुराको । जहिले पनि शरीर माडीमाडी बाहिरै नुहाइरहेको हुन्छ, पाखे । के त्यसको जस्तो चौडा छाती, बटारिएका पाखुरा, कसिएका तिघ्रा र उचालिएका कछ्लाड हामीले देख्दै नदेखेको हो र ! त्यतातिर हेर्न पनि मलाई मन पर्दैन। म छिटो-छिटो अचार हाल्न थाल्छु, तर त्यो पाखे ठिटोको बेपत्ताको हाँसोले बाध्य भएर म त्यतातिर दृष्टि पुर्याउँछु । ऊ ओँठमाथिको कैलो मसिनो जुँगा चलाउँदै यतैतिर हेरेर मुस्कुराइरहेको हुन्छ । मेरो तनमनमा क्रोधाग्नि सल्किन थाल्छ, लौ, पुष्पराजको शरीर त्यसको जस्तो कसिएको थिएन रे, कहिल्यै उसको कछाडले पहलमानको अखाडामा उत्रिने उत्सुकता देखाएन रे ! तर त्यसो भन्दैमा कसैलाई पहलमानको अखाडामा उतार्ने क्षमता नै छैन त यो सुन्दर मुहारको ? चुनौती छ लौ त्यो पाखे ठिटोलाई, उमेरले पैँतीस नाघे पनि रूपले गर्द मलाई कसैले पच्चीसभन्दा बढीको भने ।
“यो घरमा बस्ने मन छ भने बाधरुममा नुहाउने गर” भन्दा पनि त्यसले मानेकै हैन। मैले त भनेकी नै हो त्यसलाई कोठाबाट निकालिदिउँ भनेर । तर आमाले ‘ठिटो सोझो छ’ भनेर उसकै पक्ष लिएको दिनदेखि त झन् मलाई त्यसको मुखसम्म पनि हेर्न मन लाग्दैन । के थाहा त्यो पाखरेलाई जीवनको परिभाषा । के तरुणीको अगाडि ङिच्च गर्दैमा त्यसको अभिलाषा पूरा हुन्छ भन्ने ठानेको छ त्यसले ? आत्मप्रबञ्चनाको पिञ्जरामा स्वयम् नै धुनिन चाहने चरालाई कसले बन्धनमुक्त गरिदिन्छ र ! हरे ! पाखे बबुरो, मेरो बारेमा कुनै सुखद भ्रम नपाल्, आत्मश्लाघामा माचतिएर व्यर्थै नहिँड् । प्रत्याभूति दिन्छु म, मेरो जीवनमा मबाहेक अरू कसैको हस्तक्षेप हुन सक्दैन । न त तिम्रो, नत ती एक हूल तीनतिघरे सैनिकहरूको । किनकि बाँच्नको लागि मेरा आफ्नै किसिमका मूल्य, मान्यता र सीमारेखाहरू छन् । ती ‘क्राइटेरिया’ मा तिमीजस्तो पाखे र ती हिस्सी नपरेका भुसतिघ्रेहरू ‘फिट’ हुँदैनौ ।
पूरा एक महिनाको बिदा लिएकोमा अब कार्यालय जानु पनि चार दिन मात्रै बाँकी छ । हरे, तिनै तीनतिघरेहरूको दौडाइ हेर्दाहेर्दै थाहै नपाई यत्तिका दिनहरू कसरी माछा
चिप्लिएझैँ चिप्लिएछन् ।
साँच्चै ! यी दिनहरूमा मैले कामै के गरेँ र ? भिडियोमा त्यही पचास-साठीवटा फिल्म हेरेँ होला, धेरै भए दश-बाह्रजोर नयाँ डिजाइनका कुर्ता-सुरुवाल सिलाएँ, आमाको लागि निकै बत्ती कातिदिएँ । अनि बाँकी रहेका दिनहरू यही थोत्रो दुईतले घर र यिनै सिङ्गाने र छुल्याहा भदाहाहरूको स्याहारसुसार गर्दैमा त बितेछन् । तैपनि यिनीहरू बढीभन्दा बढी मलाई धुत्न चाहन्छन्, लुट्न चाहन्छन् र जोकोही मलाई आफूतिर एकोहोर्याउन चाहन्छन् । तर यिनीहरूलाई के थाहा, यदि मैले आफै मुठ्ठी नखोल्ने हो भने यिनीहरूको
बराजुको पनि केही लाग्दैन भन्ने ।
“मैयाँ ! गणेशथान जाने होइन, हिँड ।” ती दौडिरहेका भुसतिघ्रेहरूबाट आँखा नहटाई नै म जवाफ दिन्छु –
“भो म जान्नँ । राकेशलाई लैजानू ।”
ढुङ्गाको देवता पूजा गर्ने परिपाटीमा मलाई पटक्कै विश्वासै छैन । किन पुज्नु त्यो कमी होला र ? तर आमासँग यस्तो कुरा गर्नु हुँदैन । किनकि बाबुको मृत्युपश्चात् उहाँ झनै धर्मभीरु हुनुभएको छु । आ ! आफूलाई ज्यूँदै मारेर मरेपछि बाँच्न पाइने फोस्रो धर्मलाई म त मेरो वरिपरि ढिम्किन पनि दिन्न । किनकि लोग्ने मरेपछि स्वास्नी एक्ली हन्छे भने उसले पनि नयाँ लोग्ने खोज्नुमा असम्भव तत्व नै के छ र? स्वास्नी मरेको भोलिपल्टै लोग्नेले चाहिँ अर्की स्वास्नी ल्याउन हुन्छ भने स्वास्नीले चाहिँ जीवनभरि मरेर जानेकै सम्झनालाई छातीमा च्याप्नुपर्छ भन्ने अनिवार्य छ र ? के बिधवा आइमाईको कुनै चाहना हुन्न ? उसका कुनै उमङ्ग हुन्न ? के लोग्ने मर्दैमा स्वास्नीको मन पनि लोग्ने सँगसँगै मर्छ र ?
“निनी ! आमाले भन्नुभएको, खाजा के बनाउने रे ?”
‘था’ छैन भन्दे ।
ऊ ठवाल्ल परेर मलाई नै हेरिरहेको हुन्छ ।
जाबो खाजाको लागि पनि यिनीहरूले मेरै मुख ताक्छन् । के कहिलेकाहीँ त आफ्नै नयाँ परिकार तैयार गरेर मलाई पनि आश्चर्यचकित पार्न यिनीहरूको त्यो धुँवा लागेको मुटुमा रहरै लाग्दैन होला त ?
“लौ यो पैसा र चाउचाउ ल्याएर बनाउ । अलि मीठो बनाउनू नि ! तिमीहरूलाई त तर्लङ्ग झोल हाले भइहाल्छ ।”
मलाई थाहा छ, उसलाई मैले यसो भनेको मन पर्दैन । मन नपरोस्, को डराउँछ र त्यो छुसीसँग ! लोग्नेलाई कामधाममा पठाउनु छैन, जतिखेर पनि तिघ्रा बीचमा राख्यो – सुत्यो। हैन यी आइमाईहरूलाई लोग्नेमान्छेको एउटै रुखको वरिपरि पलाएको जङ्गलमा नलुकी खाएकै पच्दैन ! छिः त्योभन्दा परतिर मान्छेले बाँच्नुको कुनै अर्थ नै हुन्न त ? उद्देश्य हुन्न ! त्यो एउटा आइसक्रिम र दुईवटा अङ्गुरका दानाबाट के अमृतरस नै बर्सिन्छन् र ? खै, मलाई त पुष्पराजको पातलिएको अझ भनौं डढँलो लागेको जङ्गल देखेपछि त्यस्तो जङ्गलमा हराउने चाहनाको त के कुरा त्यस्तो जङ्गल सम्झिँदा पनि बितृष्णाबोध सिवाय केही हुँदै हुँदैन । तैपनि किन यो बुहारी भनाउँदी जत्तिखेर पनि भाइसँगै टाँसिइरहन खोज्छे ! किन त्यसपछिका क्षणहरूमा उ त्यसै-त्यसै मस्त भएर एक्लै-एक्लै गुनगुनाइरहेकी हुन्छे ? थुक्क ! यो भाइ भनाउँदो पनि लाछी नै रहेछ, चौबीसै घण्टा स्वास्नीको थाङ्नामा सुत्नुपर्ने जोइटिङ्ग्रे ।
एक त आज बिहानैदेखि मन:स्थिति ठीक नभइरहेको र भुसतिघ्रेहरूको व्यर्थैको तीनतिघ्रा हल्लाइ हेरेपछि त्यसै-त्यसै विष्फोट हुन मात्र बाँकी रहेको क्रोधागिनिमा नमीठो तरकारीले बलिरहेको आगोमा घ्यू थप्यो ।
“ए आमा ! यता हेर्नुस् तपाईंकी बुहारीको चाला । मलाई यस्तै जुठो गिलासमा पानी दिने हो त ? यो घरको कमाउने मान्छे म, अझै मलाई नै हेप्ने ! यस्तै हो भने कुकुरले गु छाडेजस्तो तिमीहरूलाई छाडेर हिँड्छु र था’पाउला तिमीहरूले !”
बुहारी रुन मात्र सकिरहेकी थिइन । मैले भात त्यसै छाडेर उठेपछि आमाले बुहारीको तीनपुस्तालाई गाली गर्न थाल्नुभयो । त्यत्तिकैमा भाइ आइपुगेकाले उसले पति आमाको अमृतबचन सुन्ने सुवर्ण अवसर पायो । पाए पनि मलाई के वास्ता, त्यस्तो जोइटिङ्ग्रेको ? कति भनिसकेकी छु उसलाई मेरो तलब खानमै ठिक्क छ, तिम्रो स्वास्नीको यो घर मर्मत गरौँ भनेर । तर मोराले सुने पो। हरे | यी भुसतिघ्ने, तीनतिघ्ने मोराहरूले पनि यही बाटोबाट नदौडी हुन्न ! मलाई त वाक्क लागिसक्यो यी धम्मरधुस मोराहरूले दौडेको हेदाहिर्दा । हुन त मेरो छुट्टी सकिन पनि त अब दुर्इ दिन मात्र बाँकी छ । यही दुर्इ दिनमा यी भदाह मोराहरूको लागि लुगा किन्न जानु छ । सुकाएको लुगा र स्कुसको अचार हाल्न पनि बाँकी छ । अनि आफ्नो कोठालार्इ पनि त अलि आधुनिक सामग्रीहरूले सजाउनु छ । दुई दिन बाँचुन्नेलै त हो मोजमस्ती गर्ने । के मर्दा यी भर्दा यौ भाइभदाहाहरूले मेरा सामानहरू मसँगै चिहानमा गाड्ने हुन् र ?
भाइ छुसीलाई धारा बनाउने मान्छे बोलाएर ले भनेको अझैसम्म फर्केकै होइन । नफर्किए मलाई पनि केको खाँचो ! त्यसकै छौँडाहरू भोकभोकै मर्छन् । म त यही अचार हाल्छु आजको दिन यसरी नै घाम ताप्दै बिताउँछु । हरे ! म यो कौसीमा घाम ताप्न आयो कि यो पाखे मोरालाई पनि नुहाइहाल्नुपर्छ ! के नुहाउनुबाहेक त्यसको अर्को कामै छैन ! के त्यसलाई आफ्नो फैलिएको छातीमाथि त्यति बिध्न अभिमान छ ! के हामीले त्यस्तो अजङ्गको तेस्रो तिघ्रा नै नदेखेको हो र ! पुष्पराजको राजकुमारजस्तो सुकुमार भाइको अघि त यो मन लोभिएन भने त्यो पाखेको फाटेको कछाडको के मूल्य ! के मूल्य उसको गन्हाउने शरीरको ! हेर, लाज पचेको पाखे, अझै मलाई नै हेर्दै मुस्कुराउने आँट कसरी गर्न सकेको त्यसले ! नुहाई त सकोस्, आफै गएर त्यसको कोठाबाट सामान प्याँकिदिएर कोठा खाली गराउन नसके त मेरो नाम पनि प्रियङ्का नै होइन ।
लौ के विधि मात्या’होला यो पाखे, अझ कछाड पनि खोलेर कट्टु मात्रै लगाएर पो नुहाउन थालेछ । हैन ब्यारे, शरीर त यसको पनि नराम्रो होइन, पुष्पराजको भाइको भन्दा मात्रै होइन, यही सडकैसडक भएर दैडिने एक हुल भुसतिघ्रेहरूको भन्दा पनि राम्रो हो। अझ यसका तिघ्राहरू के विधि कसिएका । लौन मलाई के भएको ? हैन त्यसलाई के भएको ! लाजै नमानी, धकै नमानी त्यसले मलाई छोयो । मेरा ओँठहरू त्यसको औंलाले सुमसुम्यायो । मेरो गालामा उसका ताता ओँठहरूले स्पर्श गर्दै उसको तात्तातो मादक श्वासले मलाई लठ्याउन थाल्यो । लौन म छट्पटिन थालेँ । हरे! म किन भित्रभित्रै पगिलन थालेँ !
“फु …… पू… !”
मेरो राजकुमार ! आउ ढिलो नगर, मलाई उचालेर मस्तीको गगनमा उडाऊ ..: उडाऊ … उडाऊ … उडाऊ । मभित्र तिम्रा सम्पूर्ण अमृतमय रस खन्याऊ । आउ मेरो राजकुमार ! आऊ… आऊ … आऊ … ।
“फूपू … !!!”
“हुँ …???” म झर्किन्छु, खङ्ग्रिन्छु, आत्तिन्छु, स्वप्नलोकबाट एकैचोटि यथार्थलोकमा पछारिन्छु र “फुपू”, “फुपू” नाम जप्ने भदाहाको पोक्चेगाला पड्किउञ्जेल चड्कन बजारिदिन्छु । ऊ कोलाहल मच्चाउँदै यहाँबाट रूँदै भाग्छ।
“विनासित्तै भदाहालाई किन पिट्या होला नि ?”
आमालाई पनि यही ठाउँमा देखेपछि मेरो क्रोध झनै झ्याङ्गिन्छ ।
“नकराउनुस्, तपाईंलाई के था’ अरूको पीरमर्का ? खालि चकटी पाद्दै ढुङ्गाको मूर्ति पुजेर अर्काको व्यथा बुझ्न सकिन्छ? बुझ्नुभो, आज त यो पाखेलाई डेराबाट म छाड्दै छाड्दिनँ । के त्यो पाखेले मलाई यस्तीउस्ती ठानेको ?”
म हुरिएर भर्याङतिर लाग्छु । क्रोध र उत्तेजनाको आवेशमा म आफैँले लगाएको म्याक्सीमा अल्झिन पुगेछु र भर्याङ ओर्लिने होइन म त भर्याङबाट एकैचोटि खुर्मुरि पुगेछु ।
(स्रोत : साहित्यपोस्ट डट कम)