कथा : रूख

~केशवराज ज्ञवाली~

डंग्रंग ढल्यो एउटा रूख। जराहरू पनि उखेलिए। हागाहरू भाँचिए। रूख ढल्नु कुनै नौलो कुरा होइन। यसै पनि बूढो भइसकेकै हो। ढल्नु जीवनको अन्तिम सत्य। आज उसको पालो आएको रैछ। रूख ढलेको खबरले यो सहरलाई कहिल्यै छुँदैन।

सहर र रूखको सम्बन्धमा एउटा चिसोपन छ। एउटा विरोध छ। मानौं सहर समृद्ध हुन, रूखको आहुति आवश्यक छ। रूख एउटा घर पनि हो। त्यही घरमा बसेका अन्तिम जोडी चराहरू भुर्र उडे। ती अन्तिम जोडी चराहरूको क्रन्दनपछि केही हातहरू, केही काँधहरू र केही खुट्टाहरू भेला भए। बासहरू आए। कपडा आयो। रूखलाई कपडाले छोपियो र बाँधियो टनटनी। केही मालाहरू, अलिकति अबिरसँगै सुरु भयो अन्तिम यात्रा। पहिलेजस्तो भए रूख, रूखकै काधमा सवार हुँदो हो। एउटा चारपांग्रेमा चढेर सवारी चल्यो, आर्यघाटतिर।

सहर व्यस्त छ। शासकहरूको सवारी। जागिरेहरूको १०-५। स्कुल, कलेज जानेहरू। धेरै बेर कुरिरहेकी प्रेमिकालाई भेट्न बेतोडले बाइक कुदाइरहेको युवक। पत्रिका बेच्नेहरू। फलफूल बेच्नेहरू। अस्पताल जान हतारिएका बिरामीहरू। सबैको व्यवस्थापन गर्नु छ, सहरलाई। यस्तोमा सजिलै र ससम्मान आर्यघाट पुग्न खोज्नु कति महँगो चाहना। धन्य ईश्वर, मर्नेको शरीरसँगै मन पनि मर्छ र तँ कोही मृत्युपरान्त आन्दोलन गर्न आएका छैनन्।

पशुपति आर्यघाट। केही त अनौठो भइरहेछ अचेल। आर्यघाटमा हुने मृत्यु चेतलाई पनि केहीले छोपेको छ। केही मिनेटको मौन र आत्म चिन्तनभन्दा पहिले सेल्फीको आवश्यकता अनुभव हुन्छ। कुनै एप छ, जसले अनुहारहरू चम्काउँछन्। क्यामेराले अनुहारको पहिचान गर्छ र नबनेको मुस्कान पनि बनाइदिन्छ। टलक्क टल्केका मलामीहरूले अपलोड गरेका फोटाहरूमा प्रतिक्रियाको वर्षा हुन्छ। छोराछोरीलाई कसैले ट्याग गरिदिए होला। फोनमा नोटिफिकेसनको लर्को छ।

एउटा युवक, सरिक छ यो अन्तिम यात्रामा। उसलाई पनि यता आउन मन भएर त कहाँ आएको हो र तर बाबुको प्रतिनिधि बन्न स्वीकार गर्‍यो र आयो। त्यहाँ आउनेहरूलाई चिन्दैन। व्यग्रतापूर्वक कुरिरहेछ कति बेला सकिएला यो काम र निस्कन पाउला यहाँबाट। हेर्न थाल्छ यताउति।

उसको अलि पर बायाँपट्टि भीड छ। फूलैफूलले छोपिएको छ लास। मान्छेहरू लामबद्ध छन्। हातमा फूलका गुच्छा, माला र अबिर छन्। पालैपालो लाससम्म पुग्छन्, झुकेर नमस्कार गरिरहेछन्। पुस्तिकामा, नाम दर्ज गराउनेको पनि लाइन छ। मानौं कसैले हिसाब राखिरहेको छ, को को आयो। युवकले देख्छ त्यो भीडमा धेरैका आँखामा कालो चस्मा छ। चेहरा पनि आधा छोपेको छ। मान्छेहरू देखाउन चाहँदैनन् मनको भाव। सायद असली भावसँग समस्या छ। लाग्छ, नाटक नै एउटा उपाय हो। जसलाई साँच्चिकै दु :ख लागेको छ। तिनलाई होस् कहाँ छ, चस्माको।

त्यो भीडमा कसैले भन्छ, ‘चिता तयार भयो’।

अब मान्छेहरू लासलाई नंग्याउन लाग्छन्। यो विधि हो गर्नैपर्छ।। युवक हेरिरहन सक्दैन त्यतापट्टि। के हेर्नु छ र ? जसरी सबै बालकहरू जन्मिन्छन् नांगै, यो अन्तिम यात्रामा पनि सबै तिनै बालकजस्ता छन्।

युवक आँखा बाग्मतीपारि पुग्छ। पारि एउटा जोगी बसिरहेको छ। सुल्फालाई नजिकैको ढुंगामा ठोकिरहेको छ। सायद नयाँ सर्कोको तयारी हुँदैछ। खोजी मुक्तिकै हो त ? जीवनको परम् सत्यको बोध भएर हो वा यसै भागेर संघर्षबाट। जीवनको क्षणभंगुरताको बखान जति गरे पनि, आखिर सारा दार्शनिक सत्य कैद छ शारीरिक आवश्यकतामा। निधारमा खरानी घसेकाहरू, कमण्डलु अगाडि राखेर लोभपूर्ण नजरले हेरिरहन्छन् बटुवाहरूलाई। दिन्छ कि कसैले केही ? डर पनि छ कुनै बाँदरको मनमा लाग्ला उसले लुकाएको छ केही र झ्याम्म झम्टिनेछ कुनै बेला उसको सम्पूर्ण निधिमा।

एक हुल बादरहरू हिँडिरहेछन् चुपचाप। पेट भरिएर होला, खोस्नुमा कुनै तत्परता छैन। सायद अपरिग्रहको अर्थ मान्छेबाहेकका चराचरलाई मात्रै थाहा छ। युवकलाई एक क्षणका निम्ति अनौठो अनुभूत भयो बाँदरहरूको शान्ति।

उसले आफैसँग सोध्यो ‘बाँदरहरू त लड्नुपर्ने, झगडा गर्नुपर्ने एकापसमा होइन ? ’

उत्तिखेरै उत्तर पनि दियो, ‘हुनसक्छ दैनिक हुने मृत्यु दर्शनले वैराग्य उत्पन्न गरेको छ उनीहरूमा।’

मान्छेजस्तै बोल्न जान्ने भए कुनै बाँदरले भन्दो हो, ‘आखिर जीवन के नै रहेछ र ? कैयौं लासहरू, हातका औंलाभरि पनि गन्न नपुग्ने सुखानुभूति लिएर आइपुग्छन् यहाँ। सुख र शान्तिको स्रोत आफूभित्र भेटिएन भने जीवनभरिको दौडमा पनि रिक्तताबाहेक केही भेटिने छैन।’

युवकलाई हाँस्न मन लाग्यो आफ्नै सोच देखेर। बाँदर पनि कहिले बोल्ला त यसरी ?

कदाचित् बोलिहाल्यो भने, मान्छेले उसका कुरा सुन्ने होइन उसलाई भगवान् बनाउने छन् तुरुन्तै। मानौं, एउटा अर्को भगवान्को खाँचो छ सभ्यतालाई। तर उसलाई थाहा छ, त्यसरी एक्लै हाँस्नु हुँदैन। शमसानमा त झन् हुँदैन। बहुलट्ठी भनिने खतरा छ। तर उसको मनमा ती बाँदरहरूले एकखालको हास्यरस उत्पन्न गरिरहे। युवकले कल्पना गर्‍यो बाँदरहरूले प्रवचन दिइरहेको, भाषण गरिरहेको। उसलाई लग्यो— अब पनि बादरहरूलाई हेरिरह्यो भने नहाँसी बस्न सक्ने छैन। युवकले यसै टाउको झट्कार्‍यो र मुक्ति दियो, आफूलाई पागलपनजस्तो सोचबाट। अब ऊ हेर्न थाल्यो अझै पर।

पर सानो मन्दिरको छेउमा एउटा जोडी छ। व्यस्त छन् आफैंमा। वाह, शमसानमा ‘डेटिङ’ युवक सोच्छ ‘भेरी इन्ट्रेस्टिङ’। अहिले र यति नै बेलाको महत्र्व यही जोडीले बुझेछ क्यारे। जीवनलाई ‘क्लिसे’हरूमा मात्रै भोग्ने हो भने कतै रेस्टुराँमा जंगलमा वा पार्कमा भेट्दा हुन् उनीहरू। शमसानमा डेट गर्न त आँट चाहिन्छ।

‘मैले पनि ल्याउनेछु मेरी प्रेमिकालाई कुनै दिन। देखाउनेछु शमसान र भन्नेछु प्यारी जीवनको सत्य यत्ति हो।’ युवकले फेरि टाउको हल्लायो र सोच्यो, ‘खै फुर्सद कहाँ। अब भयो यो काम सकाएर निस्किहाल्नु छ यहाँबाट।’

ठीक त्यही समयमा रूखलाई छोपिएका कपडा पनि निकाल्दै जान्छ कसैले। अब चढाउने बेला भयो रूखलाई चितामाथि। चार बलिया हातहरू उठे। अरू के के प्रक्रियाहरू पूरा गरेपछि कसैले भन्यो, अब दागबत्ती देऊ। कल्याङमल्याङ भयो। कोही तत्पर भएन त्यो काममा। कोही छैनन् यसका ? को हो यो ? युवकको मनमा पनि प्रश्न उठ्यो।

नजिकै बसेको अधबैंसेलाई सोध्यो, ‘तपार्इं चिन्नुहुन्छ मृतकलाई ? म त यसै आएको, बाले पठाएर।’

अधबैंसेले उसको कानैनेर आएर भन्यो ‘म चिन्छु। एकदम नजिकबाट होइन। मलाई यो रूखको कथाचाहिँ थाहा छ। सुन्ने ? ’

‘अरू बेला भए त किन सुन्दो हुँ ? अहिले केही काम छैन अनि नसुनेर के गर्नु ? ’ यस्तो सोच्यो मात्र तर भनेन। यस्तोभन्दा असभ्य देखिने खतरा हुन्छ। समस्या असभ्य हुनुमा होइन, देखिनुमा छ। युवक विस्तारै अधबैंसेतिर झुक्यो र भन्यो ‘भन्नुस् न।’

‘खासमा यो एउटा जंगलको कथा हो तर सम्पूर्ण जंगलको कथा भन्न र सुन्न त बुद्ध बराबरको धैर्य चाहिएला। यो एउटा प्रतिनिधि रूखको कथा।’ त्यो अधबैंसेले खल्तीबाट फोन निकाल्यो। फोनमा एकछिन घोप्टिएपछि युवकतर्फ हेर्दै भन्यो, ‘ल हेर यो फोटो।’

सबै पातहरू झरेको एउटा रूख छ। पृष्ठभूमिमा नीलो आकाश। फाट्टफुट्ट बादलहरू छन्। रूख ध्यानमग्न बुद्धजस्तो अटल र अविचल लाग्छ। अब चिन्यो युवकले— रूखको तस्बिर सामाजिक सञ्जालका भित्तामा वा पुरानो पत्रिकाको बालबालिका पृष्ठमा कहिलेकाहीँ देखिन्छ। त्यस्ता तस्बिरको शीर्षक हुन्छ, यो रूखका हाँगाबिँगाहरूमा कतिवटा आकृति छन् पत्ता लगाऊ। रूख आकाशको क्यानभासमा हावाका चित्रहरू कोरिरहेको छ। चित्रहरूको अनुमान यस्ता हुन सक्छन्  :

घोडा, गाई, घर, चरा, एकातिरबाट हेर्दा वृद्ध र अर्कोतिरबाट हेर्दा वृद्धा, पर-पर हेरिरहेको स्वप्नील युवा आदि आदि।

आफ्नो फोन फेरि खल्तीमा हालेपछि अधबैंसेले भन्यो, ‘अब चिन्यौ ? ’

‘किन नचिन्नु ? केटाकेटीदेखि जवान हुँदासम्मका सम्झनाहरू छन् मेरा यो रूखसँग। छाकैपिच्छे यसका फलहरू खाएको छु। उसैका हाँगाबिँगाको भरमा ठडिएको छ हाम्रो घर।’ अबचाहिँ युवक साँच्चै दु :खी भयो।

‘खासमा ऊ एउटा चित्रकार हो, आकाश उसको क्यानभास। ऊ जीवनभर कोरिरह्यो हावाको आकार।’ बोल्ने पालो अधबैंसेको थियो।

‘हावाको पनि आकार हुन्छ ? ’

‘हुन्छ नि। हेर्नेको दृष्टिमा भर पर्छ हावाको आकार। ठीक त्यसैगरी जसरी खाली क्यानभासमा पनि चित्र हुन्छ। अभ्यस्त चित्रकारले रङहरूको स्ट्रोक गर्छ। हरेक स्ट्रोकमा कोरिँदै जान्छन् आकृतिका सीमारेखाहरू। अनि उघ्रिन्छ सुन्दर चित्र। चित्र त सादा क्यानभासाम पनि थियो। त्यो मानसचित्रमा आँखा पर्‍यो कुनै कलाकारको। ब्यूँझियो शून्यबाट।’ यति भनेर अधबैंसेले गला साफ गर्‍यो र फेरि भन्यो, ‘ठीक त्यसैगरी जसरी रूखले कोरिरहेछ चित्र हावामा।’

‘तर रूख किन कोरिरहन्छ यी हावाका चित्रहरू ? बाध्यता हो कि ? रूखको आफ्नै इच्छा हो ? ’ प्रश्नहरूको ज्वार उठ्यो युवकबाट।

‘यो कथा रूखको त हो नै तर अलिकति यी आकृतिको पनि हो। कथा यस्तो छ।’

एकादेशमा एउटा चरा थियो। चरा नं. १, अदम्य उत्साहले भरिपूर्ण। सबल पखेटाहरू आकाशको गहिराइ नाप्न उद्यत। हावामा कावा खाँदै जंगलको एक छेउबाट अर्को छेउसम्म पुग्थ्यो। उसलाई खोज्नु थियो जीवनको अर्थ र उद्देश्य। सम्भावना र चुनौतीका ससानै पनि छिर्का देखिने हरेक ठाउँमा पखेटा फड्फडाउँदै चरा पुग्थ्यो। एउटा साँझमा, कुनै नदी किनारमा वा रूखको हाँगामा भेट्यो। ऊजस्तै साथी चरा, चरा नम्बर २।

चरा नं. १ बिस्तारै चरा नं. २ तर्फ गयो। आफ्नो ठुँडले आफ्नै पखेटा कन्याउँदै भन्यो ‘हेलो’।

चरा नं. २ ले पुलुक्क हेर्‍यो। त्यो हेराइमा एउटा आह्वान थियो र स्वीकार पनि। दिनभरिको परि श्रमपछि, एउटा स्वप्नील सन्ध्याको आशा थियो।

सबै प्रेमका भावहरू समेटेर चरा नं. २ ले बिस्तारै भन्यो, ‘हेलो’।

उनीहरूले त्यो साँझ आआफ्ना ‘चिरबिर’ गाइरहे। नजिकैको खोलाले जीवनको संगीत सुनायो। हावाले नचाइरह्यो सारा संसार। त्यो लामो रात क्षणभरमै बित्यो।

एउटा दन्त्यकथामा मात्रै घटित हुने तिलस्मी घटनाजस्तोे। हिजो रातभरि जहाँ ती दुई चराहरूको चिरबिर थियो, त्यही एउटा सानो बीउ टुसाउँदै गरेको देखियो।

भोलिपल्ट ती चराहरू बसेको ठाउँमा एउटा सानो बिरुवा उम्रियो र हेर्दाहेर्दै अजंगको रूख बन्यो।

चराहरूले थाहा पाए रूख बन्नु भनेको छहारी बन्नु रै’छ।

रूख बन्नु भनेको ‘तिमी जतिसुकै पर जाऊ फर्केर आउँदा म छु है भन्नु रै’छ।’

ठूलो वर्षात् भयो, रूख उभिइरह्यो जहाँको तहीँ ओत दिइरह्यो।

जब एउटा हाँगाको अन्तरमा गुँडले बास बस्यो। त्यो दिन पहिलो पल्ट रूख सर्जक बन्यो, हो त्यही बेला आकाशको क्यानभासमा घरको चित्र देखियो।

ठूलो असिनाले चुट्यो रूखलाई तर उसले हाँगाबिँगाको अन्तरमा आफ्ना बचेराहरूको सानो गुँड जोगाइरह्यो। आफ्ना जराहरू परपरसम्म फैलायो। ठूला चट्टानहरू फोर्‍यो। फुल्यो, फल्यो सबै बचेराहरूको खुसी। एक दिन बचेराहरू गुँडबाट निस्के, भुर्र उडे। अलिपर पुगेँ, फर्केर आए।

रूखले ताली बजायो, ‘मेरो नानी अब तिमी उड्न सक्ने भयौ ? ’

अब दिनदिनै त्यो नयाँ चरा आफ्नो उडानको परीक्षण गरिरहन्थ्यो।

एक दिन चराले रूखको काँधमै बसेर भन्यो, ‘मैले हाम्रो वरिपरिको सारा जंगल चहारेँ। एउटा कुनादेखि अर्को कुनासम्म पुगेँ। मेरा बलिया पखेटालाई यो जंगलको परिधि सानो भयो। अब म जान्छु।’

हो त्यही दिन पहिलो पटक रूखले एउटा चित्र बनायो। सुन्दर चित्र, आकाशको क्यानभासमा। त्यो चित्र चराहरूको थियो।

‘कहाँ जान्छौ ? ’ रूखले सोध्यो

‘त्यो खोलापारि जान्छु। त्यो तालपारि जान्छु। मलाई जान्नु छ यो संसारको विस्तार, मेरा पखेटाहरूको सीमा।’

‘जानैपर्छ र ? के तिमीलाई यही जंगलमा छैनन् प्रशस्त सम्भावना र चुनौती’ नजिकै बगिरहेको खोलाजस्तै सुसायो रूख।

‘म त चरा। मेरो पखेटाले आकाशको सीमा खोज्नु छ। यतै बसे भने मेरो संसार साँघुरो हुन्छ’, चराले आफ्नो कुरा राख्यो।

आधा रूखले आफैंसँग भन्यो, ‘नगए पनि हुने ? ’

फेरि अर्को आधाले भन्यो, ‘होइन, वेगलाई रोक्नु हुन्न। पर जानु भएको बलियो हुनु पनि हो। पर जानु भनेको आफ्ना सीमाहरूको परिधि बढाउनु पनि हो।’

तर रूखले कहिल्यै भनेन कि कुनै समय ऊ पनि एउटा चरा थियो।

रूखले चरातिर हेर्दै भन्यो, ‘एकछिन पर्ख।’

आफ्ना हाँगाहरू हल्लायो। फलफूलहरू जम्मा गर्‍यो।

चराको हातमा हालिदिँदै भन्यो, ‘लौ लेऊ, बाटो खर्च। मैले दिनसक्ने त दिइसकेँ। अब यो अन्तिम कोसेली तिमीलाई।’

चराले त्यो मायाको पोको बोक्यो र उड्यो— भुर्रर्र।

रूखले आफ्नो सबैभन्दा अग्लो हाँगामा चढेर टुलुटुलु हेरिरह्यो, परदेश हिँडेको चरालाई।

नीलो आकाशमा त्यो चराको आकार घट्दै घट्दै गयो। सुदूरपश्चिममा अग्ला पहाडहरू नाघ्नै लाग्दा, त्यो चरा एउटा बिन्दुमा परिणत भयो र हरायो।

रूखले आँखा मिच्यो। मुटु मिच्यो र मनमनै दोहोर्‍यायो, ‘अब बाँच्नु छ। यो सुनसानमा।’

त्यो रात रूखले खोलासँग सापटी माग्यो र बगाइरह्यो नुनिलो पानी।

भोलिपल्ट बिहानै घामको प्रथम किरण आएर धपक्क बस्यो रूखको हाँगामा।

सूर्यले देख्यो रूखका हाँगाहरूमा एउटा चित्र कोरिएको। त्यो छवि तिनै उडिजाने बचेराको थियो।

त्यो वर्ष ठूलो आँधी आयो। रूखको एउटा ठूलो हाँगा भाँचियो। कसैलाई केही भनेन। सह्यो चुपचाप। अर्को वर्ष रूखको एउटा जरा सुक्यो।

रूखले आकाशको कानमा सुस्तरी भन्यो, ‘तिमीले फिर्ता बोलाइदेऊ न मेरो चरालाई। ऊबिना म कसरी मरूँ ? ’

आकाशले सेता बादलहरूलाई खटायो खबर पुर्‍याउन। फर्किंदा ती सेता बादलहरू काला देखिए। गर्जिंदै आएर चट्याङ बनेर बर्सिए त्यो बूढो रूखमाथि। उनीहरूले ल्याएको खबर यस्तो थियो।

‘रूख जबसम्म तिम्रो छायाँमा थिए। चरा थिए। म त सधैँ हाँगामा बसे। तिमी फैलियौ भित्रभित्र। तिम्रा जरा फैलिए ढुंगा फोर्दै। सबै अवरोध पन्छाउँदै त्यहाँ त्यहाँ पुगे, जहाँ जहाँ जीवनको रस थियो। मैले तिनै रसबाट बनेका फल खाएँ।‘ जुन दिन म हिँडे त्यहाँबाट, आकाशमा उड्दाउड्दै पछाडि फर्केर हेरेँ। तिमीलाई देखिनँ, अगाडि अनन्त आकाश थियो। अब त्यही खुला आकाशमुनि बास खोज्नु थियो। गाँस खोज्नु थियो। परिवर्तनको उत्तेजनामा उड्दा त केही थाहा भएन। तर त्यो पहिलो साँझ जब चिरपरिचित गुड छुट्यो। न्यानोपन छुट्यो। अनि पो थाहा भयो, के छुटेछ। बिरानो जंगलमा गाँस खोज्दाखोज्दै दिन बिते, महिना बिते र वर्ष बिते। तिमीलाई लाग्दो हो, चराहरूले बिर्से। तिमीले पनि भोगेकै सत्य हो। एउटा न्यानो बास भेटेको दिन म पनि तिमीजस्तै रूख बनेँ। आज म पनि कोरिरहन्छु चित्रहरू हावामा। मेरा चित्रमा आउँछौ तिमी, त्यो खोला, त्यो जंगल। यति बेला म पनि कोरल्दै छु, ससाना बचेराहरू। कसरी बिर्सर्नु मैले तिमीलाई ? अहिले त झन् तिमी नै भएर बाँचिरहेको छु। तिमीलाई पनि त थाहा छ। चराहरू उड्छन्, रूख उड्दैनन्।’

खबर सुनेर रूख खंग्रंग भयो। उसका पात झरे। हाँगाहरू ओइलाए। त्यति बेला हावामा अर्को चित्र कोरियो— उदासीको। वर्षौंको उदासीपछि रूख डंग्रंग ढल्यो। ढल्दा पनि उसको सुकेका हाँगाले तिनै बचेराको चित्र लेख्दै थिए। आर्यघाटमा जाँदा मलामीहरूको भीडमा आफ्नै बचेराहरू थिएनन्।

यति भनेर त्यो अधबैंसे चुप लग्यो। युवकको कानमा फेरि पनि त्यही वाक्य ठोकियो, ‘दागबत्ती त दिनै पर्‍यो ? कोही छ ? ’ युवक उठ्यो आफ्नो ठाउँबाट र भन्यो, ‘म दिन्छु।’

उसले जब आगो झोस्नै आँटेको थियो चितामा, परपर आकाशमा एक हुल चराहरू उड्दै ऊतर्फ आइरहेका थिए।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.