कविता : प्रश्न

~दोभान राई~

प्रविधिको झ्यालबाट
म हेर्दछु,
आफ्नो भविष्यलाई, आकाशलाई, गन्तव्यलाई
अनि देख्दछु
आफ्नो अतितलाई, धर्तिलाई अनि परिवेशलाई ।

एक्काइसौ शताब्दि
कतै म आफै हो कि भन्दै,
प्रविधिको उन्मादमा
म उड्दछु चंगाझै।
तर, यथार्थको कच्चा धागो चुडिएर,
फ्यात्त भुइमा खस्दछु, केहि छिनमै,
र देख्दछु उन्नाइसौ शताब्दिको
बिजुलि पनि नपाएर
टुकिको धुस्ले, मरञ्च्यासे प्रकाशमा
धमिलो अक्षर छाम्दै गरेको मेरो गाँउको त्यो बालकलाई।

म देख्द्छु,
अन्तरिक्षमा हनिमून मनाउन जाने पर्यटकसँग
नूनको ढाकर बोकेर उकालि ओरालि गर्दै
सारा जोवन रित्याउने ढाक्रे दाइलाई।

एस एम एसमा उत्तालिने ठिटाठिटिकोबिच
छोराको जीवनको अनि मृत्युको खबर नपाएकि
अधकल्चो आमालाई।

म देख्दछु
उमेरभरि वैशसँग खेल्न नपुगेर
प्रविधिसंग कृत्रीम जोवन किन्ने त्यहाका
वृद्धवृद्धाका छेउमा
वर्षैपिच्छे ब्याएर
वैशमै चाउरिएकि यी भाउजुलाई।

म देख्दछु सबैमा,
आफैलाइ,
र भेट्दछु आफ्नै प्रतिबिम्बलाई।

म देख्दछु,
सपना भन्दा पनि ठुलो विपना,
अनि कल्पनाभन्दा पनि भव्य त्यस यथार्थमा
आफुलाइ गाभ्ने मेरा रहरहरु,
अनि सपना देख्ने सपना पनि नभएका
र कल्पना गर्ने औकात पनि नरहेका
यहाका कटु वाध्यताहरु ।

अनि यी दृश्यहरुमाझ उभिन्छन् प्रश्नहरु
चुहिएको आफ्नो त्यो सानो छाप्रो छोडि
उसको यस आलिशान गोठमा के गर्दैछु म?
उक्लिदै गएको आकाश र भासिदै गएको
जमिनबिच आखिर कहा छु म?

-April 6, 2006

(स्रोत : एवेरस्ट अन्सेन्सर्ड डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.