~पोषण पाण्डे~
मुकुन्द भित्तामा थरीथरीका चित्रहरू कोरिरहेछ — कुनै घोडाको, कुनै साँढेको, कुनै कुकुरको —
जस्तो कुनै युवक युवतीप्रति आकृष्ट हुन्छ, त्यस्तै मुकुन्दलाई पनि भित्ताप्रति आशक्ति छ । भित्ता मानो उसको प्रेयसी हो । भित्तामा चित्र कोर्नाले उसलाई आन्तरिक तृप्ति मिल्छ। उसमा पनि निर्वाण, निरावरणमा जनावरहरूका चित्र कोर्न मुकुन्द रुचाउँछ ।
मुकुन्दलाई यौटा अङार र यौटा सानो भित्ता भए पुग्छ।
ऊ अहिले यौटा साँढेको चित्र कोरिरहेको छ। यौटा सानो अङारको भरमा उसले साँढेको सीङदेखि खुरसम्मका अंग-प्रत्यंगहरू चित्रमा ढालिसकेको छ । ऊ यौटा उन्मत्त साँढेलाई आफ्नो भित्ताको चित्रमा प्रतिबिम्बित गर्न चाहन्छ । अतः साँढेको उत्तेजक अंगलाई ऊ अङारले घनीभूत गरिरहेछ…….
“कस्तो जानवर रहेछ यो त…ल हेर…भखेरै रंग रोगन लगाएको भित्तामा सारा फोतरिदियो….फोहरी कहींको…घरको कुनै भित्ता सुकिलो देख्नु हुँदैन…उसमा पनि कुनै गतिलो कुरो लेख्या भए त लौ भन्न हुन्थ्यो, खालि जानवरै जानवरको केरमेर……..उ जन्ममा जानवर पो थियो कि यो…. र यसपछि चट्याङ् खसे जस्तो उसको गालामा आमाको हातको चड्कन बज्रिन्छ । मुकुन्दले आँखाअगाडि बत्तीको झिल्का देख्छ ।
मुकुन्दको आमा उसको हात समातेर भन्छिन्–
अब गर्छस् कि……. कि गर्दैनस्……ल भन्…..भन्ने भए भनिहारल नत्र अर्को चड्कन दिन्छु……..”
मुकुन्द ‘हुन्छ’ पनि भन्दैन, हुन्न पनि भन्दैन । उ भित्तामा टाँस्सिन्छ, भित्तामा लुक्छ र अन्तमा भित्ता नै भइदिन्छ ।
चित्रकार बेखामान दलिन पोत्दैछ…….. मुकुन्दकी आमा निर्देशन दिदै जान्छिन्–“ह्याँ अलि भएन……हो ह्याँनिर……रंग पुगेन जस्तो छ नि !”
बेखामान पानीमा रंगको पाउडर हालेर घोल्न थाल्छ……..।
“त….भन्लाउ यल्ले यस्तो दुःख दिन्छ…..तर दुःख मात्रै दिएत के हुन्थ्यो र, सहिन्थ्यो नै….. कहिलेकाहीँ त लाजै मर्नु पारिदिन्छ र पो के के हो, के के कोर्या पनि, एक थरी हो र…..”
कुरोको सिलसिला बुझ्न नसकी बेखामान मुकुन्दकी आमाको मुखतिर फर्कि ट्वाल्ल हेर्छ । मुकुन्दकी आमा भित्तातिर फर्केर भन्छिन्…..
“राम्नो मुख लेख्नु…..राम्रो आँखा लेख्नु….यौटा हुन्छ नि…..”
बेखामान फेरि वाल्ल पर्छ ।
“किन तिमीले बुझेनौ भन्या ।”
बेखामान फेरि उसै गरी वाल्ल पर्छ ।
“तिमी पनि……..
“हि हि हि हि….. बेखामान हाँस्छ ।
मुकुन्दकी आमालाई यस्तो लाग्छ- शायद बेखामानले उनले भन्न खोजेको कुरो अब बुझेको छ । त्यसैले उनी कुरोको सिलसिला अगाडि बढाउँदै भन्छिन् ।
“अब हेरन…..त्यस्तो पनि हो….तल भर्याङबाट कति मानिस आउँछन् जान्छन्, अनि भित्तैमा यत्रो बडेमानको घोडा लेखेको रे उल्ले…… मुकुन्दकी आमा सिरिङ्ग हुन्छिन् । बोल्दा बोल्दै उनी चूप लाग्छिन् र किंचित् लाज र शरमले उनको मुखभरि ठीक त्यस्तै रंग पोतिन्छ जस्तो कि बेखामान कोठाका भित्ताहरूमा पोतिरहेछ । यस्तो भ्रम पर्न सक्छ-शायद बेखामान बाल्टीनको रंगले होइन, मुकुन्दकी आमाको मुखमा पोतिएको रंगले कोठाका भित्ताहरू पोत्दैछ ।
बाहिर दिन ढल्किन्छ र साँझ सुस्तरी फैलिन्छ । नजीकैको कारखानाबाट आइरहने दिनभरिको आवाज अब बन्द भैसकेको छ। वातावरण र हावामा एक प्रकारको हलुकोपन आइरहेको छ। मन हलुको, ढुंगा पनि हलुको जस्तो हरेक चीज हलुको हलुको जस्तो प्रतीत भइरहेछ ।
बेखामानको जाने वेला त भैसकेको छ, तर मुकुन्दकी आमाको आज यो कोठाको काम पूरा सकेर मात्रै जाने आग्रहलाई स्वीकार गरेर उ छिटो छिटो भित्तामा छ्याप छ्याप रंग पोत्दै गइरहेछ । उसमा अहिले स्फूर्ति छ । दिनभरि काम गरेको थकाइलाई उ बिर्सिरहेछ ।
शायद अरू थोक जस्तै ऊ पनि आफ्नो ज्यूमा हलुकोपन महसूस गरिरहेछ । र त्यसैले त उसको हात यौटा मेशिन जस्तो चलिरहेछ । उसको अनुहारमा शायद मनमा पनि साबिकबमोजिम घर पुग्ने चिन्ताले सताएको छ जस्तो देखिदैन । साबिक टाइम-साँझमा ५ बजे घर पुग्दा उसकी स्वास्निले उसको अगाडि राखिदिने सानो कचौराभरिको रक्सी र लसुन-भटमास साँधेको रिकापीलाई पनि उसले संझेको छैन । भोकभन्दा पनि अहिले उसलाई भित्तामा रंग पोत्ने क्रिया बढी आनन्ददायक लागिरहेछ…….।
छिटाहरू वरिपरि छरिन्छन् । बेखामानको ज्यूभर, मुखभर रंगका गोल गोल छिटाहरू अंकित हुँदै जान्छन् । एक पटक बाल्टीनमा कुचो चोप्ता कुचोमा रंग अनुपातभन्दा बढी भरिएर आएकोले बेखामान कुचो छ्याप्प छर्किन्छ । फलतः यसका छिटाहरू मुकुन्दकी आमाको मुखभरि टाँस्सिन्छन्…….“के गर्या बेखमान….” मुख पुछ्दै मुकुन्दकी आमा भन्छिन् ।
“ल…..हजुर ह्याँ होइबक्सिन्न भनिठान्या मैले……….” बेखामान हाँस्छ हि… हि… हि….”
बाँकटे धर्के कमीज र सूरुवाल लगाएको बेखामान भित्ताको अर्को भागमा रंग पोत्न थाल्छ । उसको मोटो नाक रंगको छिटाले भिज्दा विचित्र देखिएको छ। उसको पाखुराको कडा मासु जुन थर्किदा यस्तो प्रतीत हुन्छ कि उसभित्र बल खचाखच भरिएकोछ ।
“अँ त, त्यसपछि तिमीलाई भन्नै बिर्सेछु…..अब तिमी नै भन… त्यस्तो पनि कोही लेख्छ’”-एक्कासि फेरि कुरोको सिलसिला जारी गर्दे मुकुन्दकी आमा भन्छिन्-“घोडाको मुखचाहीं मूसाको जत्रो अनि……अनि के भन्छन्….त्यो चाहीं ‘हो……”
मुकुन्दकी आमाको मूखभरि कसैले टालो कोचिदिए जस्तो छ। उनको मनबाट कसेले बोलेको ‘हा…. शब्द यति व्यापक र कठोर अनुभव हुन्छ कि उनलाई आफू यौटा अत्यन्त साँग्रो अँध्यारो खोरभित्र बन्दिनी भएकी भान पर्छ। उनले खुस्काउन खोजेको कुरो सर्वथा निषेधात्मक छ । तर मुकून्दकी आमा त्यही निषेधसँग जुद्धै छिन्। उन्मादले उनको मन बौह्लाउँछ । मुखभित्र कोचिएको टालो च्यातचुत पार्न थाल्छिन् ! यौटा अजीबको लुछाचुँडी चल्छ। उनको ज्यू फुल्छ। नसाहरू भड्किन थाल्छन्…..
“त बुझेनौ भन्या तिमीले” मुकुन्दकी आमाले समातिराखेको घोडा निषेध चुँडालेर फस्किन्छ…“हा…त्तीको जत्रो…” र त्यो घोडा बेखामानको हाँसोमा आएर-हिनहिनाउँछ-हि हि हि हि……..
मुकुन्द दगुदैँ चोटामा पुग्छ र यौटा ठूलो अङार लिएर हत्तपत्त तल वर्ली भित्तामा बेखामानको टाउके चित्र बनाउन थाल्छ । उसले मानिसको चित्र बनाएको यो पहिलोपल्ट हो । सबभन्दा पहिले उ बेखामानको नाक को, त्यसपछि आँखा, कान र अनि आएर ओठ चिर्छ । मुकुन्द एक छिन चूप लाग्छ। उ एक छिन घोरिन्छ र तत्काल बेखामानको ओठलाई चित्रमा टेढो पारिदिन्छ । फलतः बेखामान चित्रमा आफ्नै नाक चुस्न थाल्छ । मुकुन्द हठात् मुस्कुराउँछ । बेखामानको मुख टाउको यौटा अजीब आकृतिमा देखा पर्छ-गर्भको बच्चा जस्तो……मानिसको पहिलो आकृति !
बालक मुकुन्द त्यस टाउके चित्रमाथि बेखामान’ भनेर ठूल्ठूला अक्षरमा लेख्छ र अनि खित्का छोडी छोडी हाँस्न थाल्छ बेखामान…..बेखामान !