~चेतनारायण लामिछाने ‘जिज्ञासु’~
छन्द : शार्दूलविक्रीडित
हेर्ने सुन्दर नेत्र औ बिच दिए राखेर यो नासिका
सुन्ने कान दिए र दाँत मुख औ जिब्रो दिए भाषिका ।
हिँड्ने पाउ दिए र टेक्न धरती पाएर हिँड्दै छ जो
“छैनन् ईश्वर” भन्छ त्यो यदि भने आश्चर्य पो के रह्यो ।।१।।
सेवा गर्न र काम गर्न जसले हातै दिए यी दुई
खाँँदैछन् उनकै प्रसाद दिनहुँ के लाउँछन् खै फुई ।
बोल्ने वाक्य सिकाई बोल्न जसले लायो ल बोल्नू भनी
“छैनन् ईश्वर” भन्छ त्यो यदि भने आश्चर्य के हो तनि ।।२।।
गर्भैभित्र पसेर देह कसले रच्दै छ यो सुन्दर
ठोक्दोहो कसले तहाँ बसिकनै काँटी किला हम्मर ।
जोगाए कृमिविष्टबाट कसले त्यो गर्भका पाशमा
“छैनन् ईश्वर” भन्छ त्यो यदि भने आश्चर्य अर्को कहाँ ।।३।।
सानामा कसले त मातृस्तनमा राखी खुवायो दुध
बढ्दैछौ कुन अन्न खाई अहिले साँचो कुरा यो बुझ ।
पाई केवल एक बीज पृथिवी दिन्छिन् हजारौँ गुना
“छैनन् ईश्वर” भन्छ त्यो यदि भने आश्चर्य अर्को कुन ।।४।।
आमा बा अनि भन्दथ्यौ त ससुरा सासू भनी दिन्दिन
भन्छौ लास भनेर खै किन तिमी लागेन माया किन ?
झोस्दैछौ भन आज बह्नि मुखमा त्यै देह यो हैन र ।
“छैनन् ईश्वर” भन्दछौ यदि भने आश्चर्य अर्को छ र ? ।।५।।
चल्दैनन् जडवस्तु चेतनविना लौ हेर संसारमा
आफै नै यदि बन्दथे घट भने हुन्थे कुमाले कहाँ ।
त्यस्तै यो छ–वि–चित्र सुन्दर जगत् हो ईश्वरैको कृति
छन् शास्त्रै अनुमान मान जसका पूर्वीय यो सँस्कृति ।।६।।
२०७६।१२।२६ गते
(स्रोत : रचनाकारको ब्लगबाट सभार)