~उषा शेरचन~
मेरो अप्रेसन सफल भयो ।
मैले नयाँ जीवन पाए । बाबा भने पुनः बैदेसिक रोजगारीमा फर्किनु भयो । तर आमा र म त छाया सरी सधैँ सँगै भयौँ । उहाँको खुसीको सिमा थिएन मैले पाएको नयाँ जीवनमा । म त उहाँ भन्दा कति हो कति बढी खुसी । सिमाहीन खुसी । त्यसै बीच मैले अल्मलिएको पढाइ सम्हाले, दिलोज्यान दिई पढेँ । अन्तमा नतिजा अब्बल आयो ! घरमा खुसीको फरक रौनकता फैलिन थाल्यो । हिजोबाट त हाम्रो खुसी डबलिएको छ । कडा प्रतिस्पर्दाका बीच कम्पनीले मलाई नै छनोट गरी म्यानेजेरियल जिम्मेवारी थमाइदिएको छ । अकल्पनीय जस्तै लाग्छ, आजको मेरो उपलब्धि । तय गर्नु पर्ने यात्रा लामो छ अझै तर यतिखेर अनायासै उघ्रिदै छन् स्मृतिका ती पानाहरु ।
चार बर्ष पुगेपछि मलाई केटाले खेल्ने खेलौनाले भन्दा आमाको फरियाले आकर्षित गर्थ्यो ! मेरो छुट्टीको दिन आमा बाहिर जानू मेरालागि स्वर्ग पाउनुझैँ हुन्थ्यो र आमाले जे जे लगाउनु हुन्थ्यो ती सबथोक लगाएर आनन्दित हुन्थेँ म । र, घण्टौँ बितेको पत्तै हुन्नथ्यो ! आमा बाहिरबाट आउनु भएपछि “ हरे ! ल हेर यो केटोको ताल ? बाहिर साथीहरूसँग खेल्न जाला भनेको त मेरो सामानहरू लगाउदै पो बस्या रहेछ ! कस्तो केटीजस्तो भन्या ? केटा भएर पनि ! साथीहरू बाहिर डण्डी बियो खेलिरहेका छन् । तँ चाहिँ यहाँ मेरो ड्रेसिङ टेबुलका सामानहरू लथालिङ्ग पारेर, मेरो कपडा लाएर बसिरहने हो र बाबू ?
म चुपचाप सुन्थेँ आमाको फतफत् ! बाहिर साथीहरूसँग खेल्नुमाभन्दा यसरी घण्टौँ आमाको सामानसँग खेल्नमा आनन्द आउने कुरा किन बुझ्नुहुन्न आमाले भन्ने लाग्थ्यो ! स्कुलमा पनि मलाई केटा साथीहरू भन्दा केटी साथीहरू बढी मनपर्थे ! मेरो हाउभाउमा पनि केटीको पारा बढि आउने भएकाले जिस्क्याउने गर्थे ! तर किन म यस्तो भन्ने बारे अनभिज्ञ थिएँ !
उमेरसँगसँगै अन्योल पनि बढ्दै गइरहेको थियोे तर भन्ने कसलाई ? सोध्ने कसलाई ? मलाई अन्य केटी साथीहरूले जे जे खेल्छन्, जे जे गर्छन् सबै सबै गर्न मन लाग्थ्यो । आफूले आफैंलाई प्रश्न गर्थें, किन अन्य केटाहरू भन्दा भिन्न छु म ?
तर उत्तर भने कतै पाउन्न थेँ ! सबैले कस्तो केटीजस्तो बानी केटा भएर पनि भन्थेँ । स्कुलमा केटा साथीहरूले पनि उपेक्षा गर्थे । केटी साथीहरूले पनि मलाई आफ्नो साथी बनाउन चाहन्न थेँ ! यसरी दुबैतिरबाट चेपुवामा पर्दै र आफ्नो मनसँग आफैंले सोध्दै, उत्तर नपाउँदै उमेरका सिढीहरु उक्लिरहेको थिएँ !
किशोर अवस्थामा पुगेपछि असाध्य मिल्ने केटा र केटीहरूका हेराइमा अचानक फरक आएको देख्दा अचम्मित हुन्थेँ म । केटी साथीहरू प्रति केटा साथीहरूको अनि केटाप्रति केटीहरूको रङ्गढङ्गमा भारि परिवर्तन देखिन्थ्यो ! सधैंसँगसँगै हिँड्ने केटा साथीहरूले केटी साथीहरूलाई जिस्क्याउने अनि केटीहरू लजाउने क्रम सुरु भयो । कोही कोहीले चिठ्ठी पनि साटासाट गर्थे । यस्तो देख्दा आफूलाई भने त्यस्तो अनुभूति नभएको किन होला, भन्ने लाग्थ्यो ! यस्तैमा एकदिन एकजना केटाले मेरो छेउ आई जिस्क्यायो । त्यस बखत मेरो ज्यानभरि करेन्ट दौडेको जस्तो भयो । साथै मेरो मुटु कलेजो मुखमा आएझैँ अत्तालिए । मुटुको धड्कन यस्तरी बढ्यो कि उसले पनि सुन्यो होला सायद !
किन जिस्क्याएको भनी झर्के । तर खासमा त्यो जिस्क्याई अत्यन्तै प्रिय लागिरहेको थियो मेरो मनलाई ! त्यसपछि बिस्तारै बुझ्दै गए आफ्नो बारे । म त केटाको शरीर बोकेकी केटी रहेछु ! मेरो शरिरिक बनौट र मेरो अन्तर मन बेग्लाबेग्लै हिसाबले बनेका रहेछन् भन्ने कुरा प्रष्ट हुदै गयो । तर बिस्तारै म घोर मानसिक अवसादमा पर्न थालेँ । मनले एउटा खोज्छ, परिवार र समाजले बेग्लै ! न कसैसँग बताउन सक्ने न त आफ्नै क्षमताले समाधान गर्नसक्ने म ! आत्महत्यासम्मको सोच बनाए । तर हरेक पटक आमाको माया तगारो बन्थ्यो । मलाई बिना शर्त यति धेरै माया गर्ने मेरी आमैले मेरो आत्महत्याको पीडा कसरी सहलिन् ? अनि फेरि रोकिन्थेँ म !
सोच्दा सोच्दा पागलपनको हदैसम्म पुगेझैँ हुन्थ्यो । तर समाधानको बाटो कतै देख्दिनँ थेँ । त्यसले गर्दा झन् झन पीडाको गहिरो खाडलमा पुगेको अनुभूति हुन्थ्यो ! पढाइमा असर नपर्ने त सवालै भएन ! साथीभाइ कसैसँग बोल्न, साथै पारिवार बीच बस्न र हाँस्न बिर्सदै जान थालेको थिएँ । आमा निकै चिन्तित हुनुहुन्थ्यो मेरो व्यवहारमा आएको परिवर्तन देखेर ! बुवा भने वैदेशिक रोजगारीको कारण हामीभन्दा धेरै टाढा हुनुहुन्थ्यो । उहाँको माया पैसामा अनुदित भएर आउने गथ्र्याे जसको कारण हाम्रो घरदेखि, पढाइ खर्च र अन्य आवश्यकताहरु सबै सहजै पुरा भइरहेको थियो !
दसैँमा बाबा छुट्टीमा घर आउने खबरले मेरो मनमा एक आसा पलाएझैँ भयो ! म आफुभित्रको मानसिक द्वन्द्वबाट छुटकारा चाहन्थे त्यसैले बुवाआमासँग सेयर गर्ने अठोट गरेको थिए । त्यसकै लागि अधिर भएर बुवा आउने दिन गन्न थालेँ ! समय न हो आखिर आयो । बुवा घरमा आउनुहुदा आमा मात्रै नभएर घरै रमाएको अनुभूत भयो ! तर म भने आफ्नै पीडाको अथाह सागरमा डुविरहेको थिए । पढाइ पनि बिगारेको कारणले जतिसुकै नाटक गर्दा पनि अनुहारमा खुसी ल्याउन सकिरहेको थिइन !
बाबाले पढाइ देखि सबैकुरा सोध्नु भयो । म एक्लो सन्तान भएकाले उहाँको अपेक्षा अग्लै रहनु स्वभाविक पनि भयो ! जवाफ केही नसुझेको कारण म चुपचाप निहुरेर बसेँ मात्रै । आमा न हो मेरो ढाकछोप गर्दै उहाँले आधा साचो आधा झुठो जवाफ दिएर मेरो समय सहज पारिदिनु भो ।
“किन छोरा ? त्यस्तो केही छ भने खुलस्त भन । तिमी त हाम्रो एक्लो सन्तान । तिम्रै सुन्दर भविष्यकै खातिर तिमीहरूलाई छाडेर बिदेशीएको हुँ । तिमीहरूलाई कुनै पनि कुरामा कमी नहोस् भन्नाको खातिर दिनरात पसिना बगाइरहेको छु । आमाले वा कसैले तिम्रो चित्त दुखायो कि ? कुनै कुलतमा फँसेका छौँ कि ? गलत सँगतमा परेका छौ कि बाबू । नढाँटेर खुलस्त भन । हामीले के मद्दत गर्नु पर्छ सबै गर्ने नै छौँ ।“
बुवाले मायाले यसो भन्नु भएपछि बल्ल ममा सहास पलायो केही बोल्ने ।
“हजुर बुवा ! यो मेरो रोजाइ पनि होइन ? मैले आफू यस्तो हुँ भनेर चाहेको पनि होइन ? न त हजुरहरूले नै चाहनु भएको हो ! सायद हाम्रो नियतिले यही चाहेको हुनुपर्छ !“ कुरा अलि घुमाउरो पाराले गरेँ !
मेरै पढाइको कारणले गाउँबाट शहरमा लिएर आउनु भएको थियो । डेराको जिन्दगी गार्हो होला भनेर घर समेत किनिदिनु भएको थियो । हाम्रा आइआफन्तहरू भने सबै गाउँमै ! बाबा धेरैपछि छुट्टीमा घर आउनु भएको भएर उहाँलाई मनपर्ने खानेकुरा पकाउँदै हुनुहुन्थ्यो आमा । म र बाबा चाहिँ भान्छामैँ रहेको डाइनिङ टेवलमा बसेर संवाद गरिरहेका थियौं । त्यसैले तरकारी चलाउँदै आमाले भन्नुभयो, “ जे कुरा हो खुलस्त भन न बाबालाई । किन बुझ्नै नसक्ने गरि घुमाउरो तालले भन्छस् र बाबू ?“
“त्यही त हजुरहरूले मलाई बाबु सोच्नुहुन्छ । तर म बाबुको शरीर भएकी नानी हुँ । यही कुरा हजुरहरुलाई भन्न खोजेको निकै भयो । “
छोरीको क्रियाकलाप मनपराउने मेरो बानीसँग परिचित मेरी आमाभने त्यति चुप बस्नु भो । सम्भवत बाबाको आश्चार्यको पारो निकै उक्लेको हुनु पर्छ । उहाँ अलिक ठूलो स्वरमा बोल्नु भोः
“के अनौठो कुरा गरेको छोरा यो ?“
“हजुर बुवा म स्वयंले पनि अनौठो मानेको छु भने हजुरले मान्नु के आश्चर्यको कुरा भो र । सृष्टिको यो फरक सिर्जनाको महसुससँगै म आफैसँगको मानसिक युद्धमा छु । समाजले केटाका लागि निर्धारण गरेको कुनै पनि कुरामा चासो लाग्दैन मलाई । राम्रो लाग्दैन मलाई । र, आकृष्ट पनि हुन्न ! त्यसको ठिक विपरीत केटीका लागि निर्धारण गरेका हेरक कुरा, हरेक बस्तु सबै अत्यन्तै मनपर्छ मलाई ! त्यही मानसिक द्वन्द्वका कारण पढाइमा ध्यान पटक्कै जान्न आजकल ! कति पटक आत्महत्याको प्रयत्न पनि गरेँ । तर म मरे मेरी आमा पनि जिउँदै मर्ने छिन् । बाबाले मप्रति बगाउनु भएको पसिना पनि यत्तिकै खेर जानेछ भनेर पटकपटक रोकिएँ । अब हजुरहरूले नै भन्नुहोस् म के गरौं?
मैले यति भनिसक्दा बुवाको अनुहारको रंग अर्कै भइसकेको जस्तो लाग्यो । म भने बाबाको थप्पड वा भरमार गाली बर्षिने डरले काँपिरहेकी थिएँ !
तर मेरो सोचको विपरीत शान्त भावमा बुवाले सोध्नु भो, “तिमीले के चाहन्छौं त ?“
चकित पर्ने पालो मेरो थियो । तर सबै कुरा गरी छाड्ने दृढताका साथ कुरो अघि राखे ।
“ म मेरो मुक्ति चाहन्छु बुवा ! मलाई यो पुरुष खोलबाट मुक्ति दिनुहोस् ! मेरो आत्मा जहाँ छ त्यही स्वरूपमा फर्किन चाहन्छु म बुवा ।“
बाबाको त्यस बखतको कोमल अंगालो म आज पनि सम्झिन्छु । मलाई अंगालोमा बेरेर भन्नु भोः “ तिमी हाम्रो सन्तान हौ । चाहे छोरा होस वा छोरी मलाई केही फरक पर्दैन ! आजसम्म तिमी हाम्रो छोरा थियौं अब उप्रान्त तिमी हाम्री छोरी हुनेछौ” ।
बाबाको अँगालोमा बेस्सरी रोएँ म ! “यस्तो जन्मनु मेरो छनोट थिएन” ।
मेरो आँसु पुछिद्दिै भन्नुभयो आमाले, “ एकदमै सही भन्यौं बाबु तिमीले । यो तिम्रो छनौट पक्कै थिएन, न त हाम्रो नै ! कसैले पनि आफू यसरी जन्मिन्छु, उसरी जन्मन्छु, वा कुनै पनि आमाबाबुले आफ्नो सन्तान यस्तो जन्माउँछु, उस्तो जन्माउछु, भनी जन्मिन र जन्माउन सक्ने कुरै होइन ! यदि त्यस्तो हुन्थ्यो भने कुनै पनि सन्तान शारीरिक मानसिक अपांगतासहितका जन्मने नै थिएनन् ! हरेक आमाबाबुले आफ्नो सन्तान संसार जित्नसक्ने जन्मियोस् ठान्छन् । तर हरेकले बेग्लाबेग्लै नियति र केमिस्ट्री लिएर जन्मेका हुन्छन् ! एक्काइसौं शताब्दीमा आएर मात्रै यो कुरा भएको पनि त होइन ! सदियौँ देखि भइ आएको कुरा हो यो ! जसरी लोग्नेमान्छे स्वास्नीमान्छे जन्मन्छन् त्यसरी नै जन्मने हुन् अन्य यौनिकता भएका पनि !
यसमा ग्लानी भाव लिनु पर्दैन ! अरू सरह नै हौ तिमी पनि ! तिमीहरू त झन् बुझ्ने भएदेखिको आफैँसँगको लडाई लड्नु, आफैलाई अनेक प्रश्न गर्नु, अन्यौलमा पर्नु, घर, परिवार र समाजको नजरबाट जोगिदै भाग्नु … पीडाको श्रृड.खला लामो छ तिमीहरुको । मनभरिको हीनभाव, सधैँको भीरबाटो र आफैभित्रको अँध्यारो गुफामा कैद… कस्तो मानसिक अवस्थामा छौ तिमी कमसेकम अनुमान गर्नसक्छु म ! साह्रै कठिन यात्रा तय गर्दै छौ तिमीले । मानसिक तनावको समय ।
रह्यो समाजको कुरा, समाज भन्नु हामी नै त हौ । हामी जस्तै मानिसहरुको समाज अभ्यस्त नभएर न हो यी सब कुरा बेस्सरी अनौठो लाग्ने ! जसरी लोग्नेमान्छेको अनुहारमा दाह्री जुँगा देखेर अचम्मै लाग्दैन उल्टै बरु झन् सुन्दर लाग्छ । स्वास्नीमान्छेको अनुहारमा होस् त, कस्तो भयानक र कुरुप लाग्छ । हो यहीँ हो अभ्यस्त हुनु र नहुनुमा फरक ! तिमी जस्तो यौनिकताप्रति समाज सहज नभएको त्यही कारण न हो बाबु । खासमा जीवन त जसरी र जुन रुपमा जन्मे पनि नाशवान छ ! एकदिन न एक दिन जस्तै मै हुँ भन्ने पनि मरेर जानै पर्छ ! भगवानले भलै सबैलाई समान भाग्य र नियति दिएको नहोस् तर मृत्यु भने सबैलाई समान रुपमा दिएको छ !
अचेल उच्च प्रबिधिको जमाना छ आफ्नै संतान जन्माउँछु भने पनि सरोगेट मदरहरू जति पनि तयार हुन्छन् कोख भाडामा दिन ! यदि त्यो पनि नचाहे मातृत्वका छहारीबाट बञ्चित संसारमा कतिपय बालबालिकाहरू छन् जसलाई संरक्षण दिएर उनीहरूको अँध्यारो जीवनलाई उज्यालो पार्न सकिन्छ ! वंशको पनि के कुरा ? कतिलाई थाहा हुनसक्ला ? आफ्नो हजुरबुवाको बुवा अनि हजुरबुबाकोभन्दा माथिको हजुरबुबाको नाउँ ! अनि आफ्नो हजुरबुबाभन्दा माथिका हजुरबुबाका नाम समेत थाहा नहुनेले कसरी वंश धान्न सक्छ ?
मान्छे बाँच्ने भनेकै स्वयं मात्रै हो ! यदि त्यस्तो हुन्नथ्यो भने सन्तान गुमाएका आमाबाबु कोही पनि रहन्नथ्यो यो संसारमा ? अनि आफूलाई अत्यन्तै प्रेम गर्ने लोग्ने वा स्वास्नी मरेमा लोग्ने वा स्वास्नी कोही पनि बाँच्दैन थे होलान् एकजना मरेर गएपछि आदि आदि !
आमाबाबुले समाजले तोकेको भन्दा फरक व्यवहार देखाउने नानीहरु भए भनेर लज्जाबोध गर्न कुनै आवश्यकता छैन । व्यक्ति स्वयंले पनि हीनताबोध गर्न, समाजका बेग्लै मान्छे पर्यौँ हामी भनेर सोच्न, ग्लानी महसुस गर्न कुनै आवश्यकता छैन ! तिमी जस्तो छौ त्यही रुपलाई सहर्ष स्विकार्नु नै सबैभन्दा उत्तम कुरा हो बाबू !
खुल्न चाहनेहरू सामाजिक र पारिवारिक डरले आफ्नो आत्मालाई मारेर नखुलेर नबसुन् ! यदि व्यक्ति स्वयंले खुल्न चाहन्नन् भने त्यो उनकै मर्जीको कुरा हो । व्यक्तिगत स्वतन्त्रताको कुरा हो भन्ने लाग्छ मलाई ! यो धरती यो आकाश सबैका लागि हो कुनै एक बर्ग वा जाति वा लिङ्गका लागि मात्रै पक्कै होइन बाबू” ।
आमाले यति भनी सक्नु हुदा बाबा र म दुबै अचम्मित भयौँ ! हाम्रो अनुहार पढेपछि आमा कसरी चुप बस्न सक्नु र ।
“मलाई तिम्रो प्रत्येक क्रियाकलापले आश्चर्यमा पार्ने गर्थ्यो । जन्मेको त तिमी छोरा नै हौं । तर अन्य छिमेकीहरूका छोराहरूभन्दा बेग्लै तिम्रो क्रियाकलापले निकै चिन्तित हुन्थेँ म र म स्वयं पनि भ्रमित हुन्थे । तिम्रो बाबालाई पनि मैले यो कुरा भन्न सकिन । हाम्रो सुखको खातिर परदेश जानू भएको बुवालाई थप पीडा दिन चाहन्न थेँ । त्यसैले मैले किन मेरो छोरा अरूभन्दा बेग्लै, भन्ने लागेर बिज्ञसँग बुझ्न गएकी थिएँ । डाक्टरले यस्ता कुराहरु भन्नुभयो कि म त छाँगोबाट खसेजस्तै भएँ । हामीले उनलाई सपोर्ट गरिनौ र उसको अस्तित्वलाई स्विकारेनौ भने त पढाइ मात्रै बिगार्ने होइन कि कुलतमा फँस्नेदेखि आत्महत्या समेत गर्न पछि नपर्ने कुरा सुनाए । त्यसै बेला नै मैले आफैसँग प्रण गरेकी थिए तिम्रो साथ दिने र, सही समय आएपछि तिम्रो बाबालाई पनि भन्ने मेरो योजना थियो । त्यही बमोजिम तिम्रो बाबा र मेरो कुरा हिजै भइसकेको थियो । आज हामीले बोल्नै नपरी तिमीले मन खोल्यौ बाबू ! खासमा हामी यही चाहन्थ्यौँ । तिमी डर र धकबिच आफैभित्र खुम्चिएर बस्ने होइन बरु आफ्नो कुरा खुलस्त गर्न सक्ने ढृढताका साथ अब अघि बढ्नु पर्छ । तिमीलाई थाहा छ हाम्रो योजना ?
म चकित हुन्छु आमाले गर्नु भएको यस्तो अप्रत्यासित कुराले ।
म नादानीसाथ टाउको हल्लाउछु, “छैन ।”
“यसपटकको दसैं हामी थाइल्याण्डमा मनाउने छाँै जहाँ तिम्रो अप्रेसन पनि हुने छ । तिमी आफ्नो बाहिरी शरीरको कैदबाट मुक्त भएर, शरीर र मनसँग एकाकार हुनेछौ” ।
“बाबु कस्तो लाग्यो हाम्रो प्लान ?”
खुसीले सिमा नाघेको त्यस बखत मेरो बाक्य नै फुटेन ।
आँखा भरिएका थिए । तर हलुडि.गिएको मन भने अघि नै बेगिसकेको थियो स्वतन्त्रताको उडानमा ।
ओहो ! मेरो बाबाआमा … उहाँहरु साक्षात् भगवानकै अवतार भन्ने लाग्यो । त्यसै दिन प्रण गरेः अब मैले आफ्नो पढाइ पूरा गरेर आमाबाबुलाई समाजमा शिर उठाएर हिँड्ने बनाउने छु !
हामी सबै उड्यौँ थाइल्यान्ड ।
मेरो अप्रेसन पूर्णरूपमा सफल भएको घोषणा भयो । तर म भने कुनै पनि प्रतिक्रिया बिना अत्यन्तै शान्त देखेपछि डाक्टर र नर्सहरू चकित हुँदै सोध्नुभयोः
“ किन तपाईंलाई खुसी लागेन ? अरू त खुसीले उफ्रिने, रुने र चिच्याउने समेत गर्थे ! तपाई भने सबैका बिपरित किन यति शान्त ?“
ती प्रश्नहरु स्वभाविक थिए । लाग्यो जीवनको अत्यन्त महत्वपुर्ण समयको मेरो मनस्थिती प्रष्ट पार्न जरुरी छ ।
“ बल्ल मेरो आत्मा र शरीर एक भएको छ ! मेरो शरीर मेरोलागि जेल भएको थियो । आज बल्ल मैले मेरो शरीरको जेलबाट मुक्ति पाएँ । म सदा यही चाहन्थे । हुनुपर्ने नै यही थियो र आज त्यही भएको छ । आत्मा र शरीर विपरीत हुनुको पीडाबाट मलाई सदाका लागि मुक्ति मिलेको छ । मेरो मनमस्तिष्कमा चलिरहने युद्धबाट मुक्ति पाएको हुनाले म साँच्चिकै खुसी छ ु! तर पहिलेको त्यो उथलपुथल अब रोकिएको छ डाक्टर । त्यसैले मलाई गहिरो शान्ति मिलेको छ । मलाई बुझिदिने मेरो बाबाआमा र मलाई मेरै आत्मासँग मेरो शरीर मिलाइ दिनुहुने तपाईहरू सबैलाई जति आभार व्यक्त गरे पनि कम नै हुनेछ ।“
(र, यसरी आजको मेरो पद र प्रतिष्ठा धेरैको लागि प्रेरणदायी भएको छ । जीवनको सार्थकता सायद यही हो ।)