~मोहनराज शर्मा~
यो कथा मिश्रीलाल र चिनीमायाको हो ।
त्यस बखत मिश्रीलाल झ्यालमा बसेर टाढाटाढासम्म पसारिएको बेवारिसे चौरमा आँखा दौडाउँदै थियो । चौरभरि निर्धक्क उम्रेका दूबाका टुप्पाटुप्पाले शीतका सग्लासग्ला थोपा उचालेका थिए । बिहानीको कलिलो घाममा पनि टलक्कै टल्केका तिनै थोपाभित्र ऊ आफूलाई घरी लुकाउने र घरी खोज्ने खेल खेल्दै थियो ।
प्रकृतिमा यसरी रतिएको देखे पनि मिश्रीलाल प्रकृतिप्रेमी वर्गमा पर्ने प्राणी होइन । प्रकृतिको पुजारी भएर होइन, आफ्नै मनको मरुभित्र चर्कदो असीम तीर्खा मेटाउन ऊ दूबो र शीतको मरीचिकामा अल्झेको थियो ।
कसैले टेबलमा चियाको गिलास बेसरी बजारेपछि उसले झ्यालबाहिर छरिएको आफूलाई कोठाभित्र समेटेर छेउतिर नजर घुमायो । निधारमा सत्र गाँठा बोकेर टेबलनजिकै उभिएकी उसकी स्वास्नी चिनीमायाले चियाको आफ्नो गिलास पनि त्यहीँ थचारी र टेढाटेढा आँखा पारेर लोग्नेलाई पुलुक्क हेरी । दुवैका आँखा चार भए । आँखा चार हुनु के थियो, चारवटै आँखाबाट गुनासाका बेगिला फोहराहरू फुटेर छताछुल्ल बग्न थाले ।
पहिला मिश्रीलालले नै आँखालाई चारबाट दुई तुल्यायो र टेबलबाट चियाको आफ्नो गिलास टिप्यो । त्यसपछि चिनीमायाले पनि बढी फट्टिई दुख्न थालेका आफ्ना आँखा चिम्म पार्दै काखीमुनि च्यापेको अखबार झिकेर टेबलमाथि पछारी । मिश्रीलालले तुरुन्तै त्यो अखबार आफूतिर तान्यो ।
चिनीमाया गोरी र चिट्ट परेकी आकर्षक महिला थी, तर उसले मुखभरि बाक्लै अतृप्ति पोतरेर आफ्नो हिस्सी बिगारेकी थी । बिहानको चिल्ने चिसाबाट जोगाउन उसले आफ्ना सुगठित र चिल्ला अप्रत्यक्ष ऊनको रातो दोसल्लामा गुटमुटाएकी थी । उसले घड्याङ र घुडुङ गर्दै काठको एउटा कुर्सी वर तानी र त्यसैमा थ्याच्च बसेर सुरुपसुरुप चिया खान थाली ।
“न्यानो मात्र खोजेर हिँड्ने ढाडी बिरालो, तँलाई, चिया खाने सोमत कहिल्यै आएन, छि !”
मिश्रीलालले भित्रैसम्म घोच्ने व्यङ्ग्यवाण चलाएर चिनीमायालाई घाइते तुल्यायो । “छाडा कुकुर्नीका पछि लागेर हिँड्ने तिमीचाहिँ कुन गतिला छौँ र !” चिनीमाया पनि घाइते बघिनीझैँ बुरुक्कै उफ्री ।
मुरमुरिएर मिश्रीलालले चियाको गिलास भुइँमा फाल्यो । ठस्स र फस्स गर्दै उसले आफ्ना अगाडि अखबार फिँजायो र पढ्ने सुरसार कस्न चस्मा लगायो । प्रतिक्रियामा चिनीमायाले ओठ लेर्प्याई र सुरुपसुरुपको झन् चर्को चियाराग घन्काई ।
मिश्रीलालले आफूलाई अखबारको चौघेराभित्र पूरै थुनिसकेको थियो । उसका आँखाहरू अखबारको तल्लो आधा पानामा छापिएका राता र सेता दुई ठूलाठूला गुलाफमध्ये सेतो गुलाफमा अल्झेका थिए । सेतो गुलाफतर्फ औंल्याउँदै उसले चिनीमायातिर मुन्टो बटार्यो र आँखा तर्दै भन्यो,
“मेरी छोरी यस्तै सेतो र गोरो वर्णकी हुन्छे, बुझिस् !” चिनीमाया झम्टँदै अखबारका छेउमा आई र रातो गुलाफतिर औँल्याएर बेसरी पड्किई,
“छोरी होइन छोरो, त्यो पनि रातो र पिरो ! यहाँ हेर, यी यो रातो गुलाफजस्तै रातो, बुझ्यौ !”
रिसको आवेगमा मिश्रीलाल स्वास्नीलाई पर धकेल्न तम्सियो, तर त्यसै बेला अखबारका दुवै गुलाफभित्र अनौठो सलबल हुन लागेको देखेर उ स्तब्ध भयो । चिनीमायाले पनि दुवै गुलाफलाई बिचित्रसँग सलबलाएको देखी । ऊ तीनछक्क परेर त्यहीँ उभिरही ।
हेर्दाहेदै एकातिर रातो गुलाफको सलबल रातो भुमरी भएर अनि अर्कातिर सेतो गुलाफको सलबल सेतो भुमरी भएर फनफनी घुम्दै माथिमाथि उठ्न थाले । एकछिन बेसरी घुमेपछि भुमरीहरू टक्कै अडिए र तिनका ठाउँमा नाङ्गाभुतुङ्गा दुईवटा शिशुहरू उभिएका देखिए । अखबारको रातो गुलाफ छापिएको ठाउँमा रातो शिशु उभिएर भयानक अट्टहास गर्दै थियो भने सेतो गुलाफ छापिएको ठाउँमा सेतो शिशु उभिएर उत्तिकै भयानक अट्टाहास गर्दै थियो । घरको छानो नै उचाल्ने गरी अट्टहास गर्दै गरेका ती दुई शिशुमध्ये रातोचाहिँ केटो थियो र सेतोचाहिँ केटी थी । केटाका हातमा तीखो तरबार झलमलाउँदै थियो, तर केटीका दुवै हात एकदमै रित्ता थिए ।
“छोरा, त्यो केटी राच्छेसनी हो, त्यसलाई तेरो तरबारले काटेर दुई टुक्रा पार् !”
केटालाई जोस्याउँदै चिनीमाया असाधारण बल निकालेर चिच्च्याई ।
तत्काल मिश्रीलाल पनि उत्तिकै जोस निकालेर करायो, “छोरी, छिटो गर् ! झट्टै त्यस राच्छेसका हातबाट तरबार खोसिहाल् र त्यसैका छातीमा रोपिदे !”
आँखा झिमिक्क गर्दैमा केटीले तरबार खोसी र पूरै बल झिकेर त्यसका मुटुमा र्वाम्म घोपिदी । केटो रगतका धारा बगाउँदै त्यहीँ ढल्यो । केटीले उसका मुटुमा घोपिएको तरबार निर्दयतापूर्वक तानेर झिकी । केटाको मुटुबाट बगेको रगत थुप्रिएर त्यहाँ विशाल कुण्ड बन्यो र त्यो केटो त्यसैमा डुबेर विलीन भयो । केटीचाहिँ रगतमा मुछिएको तरबार उचालेर कुण्डका वरिपरि नाच्न थाली ।
“तेरीमा राच्छेसनी, म तँलाई पनि घाँटी निमोठीनिमोठी मार्छु !”
असीम उत्तेजनामा दाँत किटिट्ट पार्दै चिनीमाया चिच्च्याई र लगत्तै उसले दुवै दरा हात केटीका घाँटीमा पुर्याई ।
मिश्रीलालले हत्तपत्त अखबारको पाना पल्टायो । पल्टिएको पानाले केटो डुबेको रगतकृण्ड र तरबार उचालेर नाँच्दै गरेकी केटीलाई छोपिदिएकाले त्यस रक्तरञ्जित परिवेशमा नै हठात् पटाक्षेप भइदियो । त्यस परिवर्तनबाट पूरै असहज बनेकी चिनीमाया आफ्ना कपाल लुछ्न र घ्वाँघ्वाँ रुन लागी ।
उसको वास्ता नगरी मिश्रीलाल अखबारको भर्खर पल्टाएको पानाका हरफहरू चहार्न थाल्यो । उसले धेरै हरफहरू चहार्न सकेन, किनभने तलबाट चिसो उम्रेर अखबारको त्यो पाना लफक्कै भिज्यो र एक-दुई गर्दै रगतका अनगिन्ती आला थोपाहरू पनि तलबाट भुक्लुक्कभुक्लुक्क माथि निक्लिए । एकछिनमै केटाका रगतको उही कुण्ड अखबारको त्यस पानाभरि सररर फिँजियो र राताराता अजङका छाल उराल्न थाल्यो । कुण्डभित्र उर्लेको त्यस भयङ्कर छालमा उही सेती र गोरी केटी डुब्दै र उत्रिँदै गरेकी देखिई । ऊ तरबार भएको हात माथि उचालेर कराउँदै थी,
“म डुबेँ ! गुहार, मलाई बचाऊ ! गुहार … !”
“खित्खित्, खित्खित् खित् …!” कुण्डभित्र केटीको दुर्गति देखेर चिनीमायाले तीखो हाँसो उब्जाई ।
“चूप लाग् !” उसले स्वास्नीलाई हप्कायो र रगतकुण्डमा डुब्दै गरेकी केटीलाई झिकेर आफ्नो काखमा राख्यो । उसले काखमा राखेपछि त्यो केटी घरी निश्छल शिशु र घरी उन्मत्त युवती देखिन थाली । ऊ शिशु देखिँदा मिश्रीलालका आँखामा वात्सल्य छचल्किन्थ्यो भने युवती देखिँदा वासना । ऊ युवती देखिएकै बेला चिनीमायाले ओढिराखेको रातो दोसल्ला फुकालेर फ्वात्त फाली र केटीलाई घमलङ्ग छोपिदिई ।
दोसल्लाभित्र छोपिएकी केटीको उग्र हलचल मिश्रीलालले आफ्ना काखमा अनुभव गर्यो । हलचल झन्झन् उग्र हुँदै गई एक्कासी थामिएपछि उसले दोसल्ला पन्छाएर हेर्यो, त्यहाँ त्यो सेती र गोरी केटी थिइन । उसका सट्टा त्यहाँ त एउटा दूबो मात्र थियो, जसका टुप्पामा टलपल गर्दो शीतको थोपो अड्केको थियो । उसले आफ्ना काखबाट त्यो दूबो टिप्यो र मुसुमुसु हाँस्दै स्वास्नीका काखमा फालिदियो ।
काखमा दूबो पर्नासाथ चिनीमाया बेसरी चिच्च्याई, “आगो ! पोल्यो, मलाई पोल्यो !”
मीश्रीलाल र चिनिमायाको कथा यत्ति हो, सकियो ।
(स्रोत : लक्ष्मणप्रसाद गौतमद्वारा सम्पादित “नेपाली यौन कथा भाग २” बाट सभार)