कथा : पखिलासित त्यो एक दिन

~मिङ लिवाङ~Ming Liwang

अक्टुबर महीनाको अन्ततिरको एउटा रमाइलो साँझ………ब्रह्यपुत्रको बगरमा स्थित ओपन एयर रेस्टुराँ अल्फ्रेस्कोको एउटा टेबुलमा मन्द मन्द वायुको मजा लिंदै ब्रह्यपुत्रको पारि क्षितिजमा डुब्दै गरेको घाम हेरिरहेको छु। गत दुई महीनादेखि प्रायः आफ्नो प्रत्येक एकान्त साँझ मैले यही रेस्टुराँमा बिताएको छु। आज गुवाहाटीको मौसम मनमोहक बनेको छ…….त्यसै पनि जाड़ो यामको यो आरम्भ हो अनि आज मध्यान्हपछि परेको हलुको छिटाछिटीले वातावरणलाई केही शीतलता प्रदान गरेको छ त्यसमाथि झन् बेलुकीपखको अलिअलि केश उड़ाउने चिसो बतासले यसलाई अझ रूमानी बनाइदिएको छ। खुला आकाशमुनि बसेर बियरको चुस्किसित सिगरेटको धुवाँ बुङ्ग उड़ाउँदै यो मौसमको मजा लिनु छुट्टै आनन्द छ…….अझ यो मादक पलमा मलाई साथ दिनु माया पनि मसित भएकी भए……। ब्रह्यपुत्रको पानी सुकेर आधीभन्दा पनि कम भएको छ……..तर विशालकाय ब्रह्यपुत्रले आफ्नो विकरालता र महत्त भने गुमाएको छैन। दुईतीनवटा ससाना डुङ्गा अन्गिन्ती यात्रु बोकेर गुवाहाटीको यो पाखाबाट उता उत्तर पाखा पुग्नु हतारिंदै दगुरिरहेका छन्…….मन्द गतिमा बगिरहेको ब्रह्यपुत्रको पानीमाथि। गुवाहाटी जस्तो व्यस्त शहरबाट दिनभरिको लखतरान हुने काम सकेर रात पर्नअघि केही बेरमा आफ्नो घरको शान्त वातावरणमा आफन्तहरूमाझ पुग्दा ती डुङ्गाका यात्रीहरूमा कति खुसी सञ्चार हुन्छ होला……..कल्पना मात्रले पनि मनलाई आनन्दविभोर बनाउँछ।

‘‘ एक्सक्यूज मी ! कुड आई प्लीज शेयर द टेबल विथ यू ,-‘‘ एउटा मधुर आग्रहले मेरो सोंचाइमा बाधा पुर्‍यायो। अवाजको दिशातिर मैले आफ्नो मुण्टो फर्काएँ – एउटी सुन्दर आकर्षक युवती थिई…..यसरी अप्रत्याशित एउटी युवतीलाई आफ्नोअघि देखेर म अकमक्क परें…….मेरो वाक्कै फुटेन……अवचेतन स्थितिमा मैले उसलाई टाउकोदेखि खुट्टासम्म नियालेर हेरें – पच्चीस-तीस वर्षीया सामान्य जीउडालकी आकर्षक युवती…….आकासी नीलो सलवार कमीज लगाएकी। पहिरनसित म्याच गर्ने निधारमा नीलो टिको, हातमा नीलो ब्याग , कानमा नीलो कानफूली , नारीमा नीलो बाइँ, खुट्टामा नीलो जुत्ता…..रङ् नमिलेको केही थियो भने उसको गोरो मुहारमा सानो खैरो चस्मा……बस।

‘‘ मलाई आशा छ तपाईंसित म यहाँ बस्दा तपाईंलाई कुनै आपत्ति हुने छैन ,‘‘ – मलाई मूक देखेर मेरो स्वीकृति नपर्खी ऊ मेरो सामुन्ने कुर्सीमा थचक्क बसी।

एउटी आकर्षक युवती एक्कासि आफ्नो सामुन्ने आउँदा म जुन अर्धचेतन अवस्थामा पुगेको थिएँ त्यो अवस्थाबाट झट्ट निस्किनु सकिनँ…….म त्यसरी नै ट्वाल्ल परिरहें।

‘‘ एउटी युवती यसरी तपाईंसामु आएर बस्दा तपाईंलाई सायद अचम्म लागिरहेको होला ,‘‘- अङ्ग्रेजीमै भनी उसले। उसको यो वाक्यले म झसङ्ग भएँ……..कसैले चिमोटेर निंद्राबाट ब्युँझाएजस्तै……..म खिसिक्क हाँसें। तन्द्रा टुट्नेबित्तिक्कै एउटी अञ्जान युवती आएर यसरी आफूसित बसेको वास्तविकताले मेरो मनमा एउटा अज्ञात भय जन्मायो……कुनै अनिष्ट हुने त्रासले मन कता-कता काम्यो। कि त यो युवती…….होइन , होइन…..यति शील र शिष्ट युवती त्यस्तो खाले हुन सक्दैन…..छिः ! मेरो विचार कति तुच्छ। जेसुकै होस् , यति शिष्ट लवजमा आग्रह गर्दा मैले उसलाई नाइनास्ती गर्ने अशिष्टता गर्न सकिनँ……फेरि भएन यस्तो उन्मादित वातावरणमा एउटी सुन्दर युवतीको सान्निध्य नगुमाउने पौरूषेय लोभ पनि थियो मेरो मनमा।

‘‘ …….यदि तपाईंले त्यस्तै सोच्नुहुन्छ भने यो तपाईंको गल्ती होइन……असलमा हाम्रो समाज नै यस्तै छ……एउटी नारी अलिक फरासिली र मिलनसार भयो कि तपाईं लोग्नेमान्छेहरू त्यस्तै सोच्नुहुन्छ…….फरासिलो हुनु के लोग्नेमान्छेको मात्र पेवा हो ?‘‘- उसको तर्क सुनेर मलाई मनमनै लज्जाबोध भयो अनि मेरो मनोभाव चाल पाई कि ठानेर कुरीकुरी लाग्यो। चिन्तन मनन नगरी सोझै निष्कर्ष निकालेकोमा मलाई विस्मात् पनि लाग्यो र आफुलाई सामान्य बनाउने प्रयास गर्दै मैले भनें -‘‘नट् एट् अल ! बी कम्फर्टेबल !……इन्डिड् आई एम हेप्पी टू ह्याव योर कम्पनी !‘‘

‘‘ हुन त म अरू खाली टेबलमा पनि बस्न सक्थें तर तपाईंलाई एक्लै देखें अनि म पनि एक्लै थिएँ……मलाई लाग्यो दुईजना मिलेर साँझ बिताए आनन्द मिल्छ………आई एम सरी इफ् आई डिस्टर्ब्ड योर ट्रान्क्युलिटी।‘‘

‘‘ प्लीज तपाईं अप्ठ्यारो नमान्नुहोस्…….अँ ! तपाईं के लिनुहुन्छ ?…..बियर लिनुहुन्छ ? ‘‘- मैले औपचारिकतावस सोधें।

‘‘ बियर ! ….अहँ लिन्न…..म एउटा कोल्डड्रिङ्क मात्र लिन्छु….बस। ‘‘

बेयरालाई बोलाएर मैले एउटा कोल्डड्रिङ्क दिनु अह्राएँ अनि गोजीबाट सिगरेट निकालेर सल्काएँ , उसको अनुहारमा परिलक्षित लाचारीपन र व्याकुलता मेरो आँखाबाट लुक्न सकेन।

‘‘ तपाई आर्मीमा हुनुहुन्छ ?‘‘- कुराको सिलसिलालाई उसैले अघि बड़ाई।

‘‘ किन ? ……म सिपाही जस्तै देखिन्छु ?‘‘- उल्टै प्रश्न गरें मैले।

‘‘ तपाईंको हेयरकट, फिजिक्स…….ड्रेसअप……आर्मी जस्तै छ नि……।‘‘

‘‘ तिमी ढुक्क बस म सिपाही होइन……..,‘‘ – हाँस्दै भनें मैले। वास्तवमा पहिलो भेटमै एउटी अञ्जान युवतीलाई आफ्नो परिचय व्यक्त गर्ने पक्षमा थिइन म – कि त उसको रहस्यमय आगमनझैं म आफ्नो परिचय पनि रहस्यपूर्ण राख्न चाहन्थें सायद – त्यसैले मैले आफ्नो बारेमा अरू केही भनिनँ।

‘‘ एनी वे…म पखिला……पखिला बरूवा ..,‘‘- भन्दै उसले आफ्नो दाहिने हात मतिर तेर्साई।

‘‘ पखिला…ब्युटिफूल नेम ,‘‘- मैले हात मिलाउँदै आफ्नो नाउँ र घर बताएँ अनि गुवाहाटी प्रवासको कारण बताएँ।

‘‘ तपाईंलाई पखिलाको अर्थ थाहा छ ?‘‘

उसैले सोधी अनि फेरि मेरो जवाफको प्रतीक्षा नगरी हात नचाउँदै उसैले हतारिंदै भनी –

‘‘ अहमीयामा पखिलाको अर्थ हो पुतली…….म सानोमा पुतली जस्तै उड़िहिँड़थें अरे……र बाबाले मेरो नाम पखिला राखिदिएको अरे ! ‘‘ सायद हामीमाझ आत्मीयता र सान्निध्य रहेको तथ्य प्रदर्शन गर्न चाहन्थी ऊ अथवा साँच्चै उसलाई आफ्नो नाउँ र त्यसको अर्थमाथि गर्व थियो……मलाई आफ्नो नाउँको अर्थ बताउने इच्छा जागेनँ।

बेयराले कोल्डड्रिङ्कको बोतल र एउटा खाली गिलास लिएर टेबुलमा राखिदियो। बेयराको पछि पछि रेस्टुराँको म्यानेजर पनि आयो र आग्रह गर्‍यो -‘‘ प्लीज सर तपाईंहरू छिट्छिटो खाएर यहाँबाट गइहाल्नुहोस्……आज कुन्नि किन पूलिसले एकदमै बेसी खानतलासी गर्दै छ…..तपाईंहरूको बारेमा पनि दुइतीनपल्ट सोधिसक्यो…..मैले रेगुलर आउने मिलिटेरी अफिसर भनिदिएँ…..आज कुन्नि के खोजेको हो ……..!‘‘

गलत पहिचानले पनि मान्छेलाई कहिलेकाहीँ फायदै पुर्‍याउँदोरहेछ , आज थाहा पाएँ। पहिचानमा भूलभ्रान्तिले गर्दा नै होला पखिलासित भेट भयो अनि उसको र मेरो यो संदेहास्पद मिलनमा अहिले फेरि यही भ्रम नै सुरक्षाकवच बन्दैछ….तर मलाई ढुक्क हुनु छैन किनभने असमको वर्तमान स्थितिबाट म अनभिज्ञ छुइनँ…..बाहिरबाट शान्त देखिएता पनि भित्र उथुलपुथुल छ – ठिक्क ब्रह्यपुत्रझैं । म्यानेजरको चेतावनीले गम्भीर बनाएको वातावरणलाई हलुको बनाउनु मैले पखिलालाई जिस्काएँ -‘‘ कतै पूलिसले तिमीलाई खोज्नु त आएको होइन ?‘‘

मेरो कुरा सुनेर ऊ अनकनिई…..कोल्डड्रिङ्क खानु बिर्सेर ट्वाल्ल परेर मलाई हेरी।

उसको अनकनाइले मेरो ठट्टा सही प्रमाण गरिरहेता पनि अनुचित समयमा कुरा निकालेको मलाई तत्काल भान भयो र एउटा राम्रो माहौल बर्बाद गर्ने आफ्नो यो प्रयासको निम्ति मलाई आफैमाथि जङ्ग् चल्यो……स्थितिलाई फेरि सामान्य बनाउनु मैले सोधें -‘‘ तिम्रो घर चाहिँ कता पर्छ ?‘‘

ऊ केही बोलिन , कोल्डड्रिङ्क सुरूप्प तानी।

मैले फेरि सोधें।

‘‘ जोरहाट थाहा छ ? …….जोरहाटबाट भित्र पसे निमातीघाट पुगिन्छ……त्यही घाटको नजीक कमलापुर भन्ने गाउँ छ……त्यही मेरो गाउँ हो ।‘‘

‘‘ तिमी काम चाहिँ के गर्छौ ?‘‘

‘‘ काम…..?‘‘- निकै बेर अड़किएपछि उसले थपी -‘‘ एउटा…… एन….. एनजीओमा काम गर्छु…..पूऽऽरै आसाम डुल्नुपर्छ…..।‘‘

‘‘ के काम गर्छौ भन्न चाहन्नौ भने नभन करकाप छैन ,‘‘ – उसको मुखको अभिव्यक्ति र आँखाको भावमा मेल थिएन, कतै केही अस्पष्टताको चिन्ह थियो। यसरी एउटी युवती एकजना अञ्जान पुरूषसित यति चाँड़ै झ्यामिएको कारणले मेरो मनमा उर्लिरहेको शंकाको भेललाई उसको यो अनकनाइले अझ बल दिंदै थियो तर घरीघरी शंकालु प्रश्न गरेर उसको अप्ठ्यारोपनलाई म अझ बढ़ाउन चाहदिनँ…….हुनसक्छ ऊ कसैबाट लुक्दै भाग्दै मेरो शरणमा आएकी हो अथवा ऊ त्यही खाले हो….उसको बडी ल््याङ्गुएजले ऊ त्यही खाले युवती हो जस्तीे पटक्कै देखिदैनथिई त्यसै पनि मलाई शरीरको त्यो खेलप्रति त्यति रूचि छैन तर म पनि त हाड़ र छालाले बनिएको मान्छे हुँ आफ्नो संयमलाई कहिलेलेसम्म नियन्त्रण गर्नसक्छु र….त्यसैले ऊ त्यही खाले युवती हो भन्ने अलिकता पनि सुइँको पाए म उसलाई तुरन्तै पन्साइदिने हकमा छु। उसको अनुहारको फुस्रोपन र बोलीको आतुरताले मेरो पहिलो शंकालाई पुष्टि गरिरहेको थियो र यसले मनलाई रोमांचित मात्र तुल्याइरहेको थिएन तर अज्ञात खतरा पनि संकेत गर्दै थियो….कहिलेकाहीँ जिन्दगीमा खतरा उठाउँदा पनि बेग्लै आनन्द पाइंदोरहेछ त्यो मलाई त्यसै क्षण आभास भयो।

‘‘ तिमी नयाँ रहेछौ !…असमको कुन कुन ठाउँ हेरिसक्यौ ?‘‘- सोधी उसले।

‘‘ आसाम ? आसामको कुरा छोड़ गुवाहाटी त पुरा हेरिसकेको छुइनँ….गुवाहाटीमा केही हेरें भने त्यो हो कामाख्या…बस।‘‘

‘‘ तिमी उमानन्द पनि गएको छैनौ ? ….बालाजी पनि गएको छैनौ ? कलाखेत्र…. चिड़ियाघर….बशिष्ठ…गीता मन्दिर…श्याम मन्दिर कतै गएको छैनौ ?‘‘

ऊ फेरि पहिलेझैं चहकिन थाली……..मलाई आनन्द लाग्यो।

‘‘ तिमी गुवाहाटी बसेको कति भयो ?‘‘- चहकिंदै सोधी उसले।

‘‘ झण्डै दुइ महीना भयो…..म जुन कामको निम्ति आसाम आएको थिएँ त्यो काम सिद्धियो….अलिकता फाइनल टच् मात्र बाँकी छ……दुईतीन दिनमा त्यो पनि सिद्धिन्छ त्यसपछि म घर फर्किन्छु । ‘‘

‘‘ लौ त्यसो त भयो अब…..तिमीले दुईतीन दिनमा हेर्‍यौ गुवाहाटी !‘‘

म केही बोलिनँ उतिर पुलुक्क हेरें मात्र।

‘‘ यसो गरौं…..अब यहाँबाट हामी निस्कौं……आज म तिमीलाई गुवाहाटीको यो पाखा कछारीसम्म देखाउँछु…। ‘‘

बिल तिरेर म फूटपाथमा ओलेँ……फूटपाथमा थापेको सानो पसलमा पखिलाले तामुलपान किनी र चपाउन थाली। मैले एउटा सिगरेट सल्काएर तानें। उसको हाउभाउ देखेर ऊ तत्काल त्यो ठाउँ छोड़ेर अन्तै जान आतुरिरहेको भान भयो मलाई।

ऊ पान चपाउँदै अनि म सिगरेट तान्दै कछारीतिर हिँड़्न थाल्यौं। सड़कमा साँझपखको व्यस्तता छ…..पञ्जाबारी, वशिष्ठ, नारङ्गी, सातगाउँ, आदाबारी, खानापाड़ा, जालुकबारी जाने सिटीबसहरू एकपछि अर्को हतारिंदै दगुरिरहेका छन्…..बसका खलासीको चिच्याइले कोलाहललाई अझ बड़ाइरहेको छ।

‘‘ तिमीलाई गुवाहाटी कस्तो लाग्यो ?‘‘ – पखिलाले सोधी।

‘‘ गुवाहाटी त राम्रो लाग्यो तर…तामुल खाएर जहाँ पायो त्यहाँ प्याच्च थुक्ने तिमीहरूको बानी चाहिँ मलाई पटक्कै मन परेनँ ।‘‘- मैले भनें।

‘‘ तामुलपान नखाए त हामी अहमीया नै हुँदैनौ…..यो त हाम्रो संस्कारमै छ…… पाहुनालाई सत्कार गर्दा पनि हामी तामुलपान नै दिन्छौं……..अँ ! ….तिमीहरू चाहिँ पान खाएर थुक्दैनौ ? ‘‘- ऊ हाँसी।

म निरुत्तर भएँ।

‘‘ तिमीले चाहिँ कति सिगरेट खाएको ? ‘‘ – उसले नाक खुम्चाई।

‘‘ तिमीलाई सिगरेट मन पर्दैन ?‘‘

‘‘ सिगरेटको धुवाँसित पनि मलाई त रिस उठ्छ । ‘‘

‘‘ तिमीले यति विघ्न तामुल खाएको मलाई पनि रिस उठ्छ। ‘‘

ऊ फेरि मुसुक्क हाँसी।

ब्रह्यपुत्रको फोहोर बगर देखाउँदै उसले भनी -‘‘ यो पाखा अब ब्यूटिफाई हुँदैछ……शहरभित्रको जम्मै बगरमा गार्डेन र रेस्टुराँ बनाउने सरकारको योजना छ…….अहिले सुक्खा मौसम हो नत्र ब्रह्यपुत्र अलि बढ़ेको बेला यहाँ क्रुज अनि फ्लोटिङ्ग रेस्टुराँ चल्छ…… ,‘‘ – ऊ बोल्दै थिई अनि उसले बताएको दिशातिर म हेर्दै थिएँ – ‘‘ यो हुक्लेश्वर मन्दिर हो……..यहाँबाट अलिक पर डिसीको निवास छ……त्यसपछि कछारी अनि कछारीको अलिक पर हाई कोर्ट छ…..त्यसपछि गुवाहाटी प्लानेटेरियम..।‘‘

‘‘ तिमीले त मलाई सम्पूर्ण गुवाहाटी शहर आज नै देखाइ सक्नेरहेछौ……तिमीलाई थाहा छ यसबेला मलाई के कुराको थकथक भइरहेकोछ ? ‘‘

ऊ केही बोलिन , मलाई पुलुक्क हेरी मात्र।

‘‘ झण्डै मेरो दुई महीनाको गुवाहाटी बसाइमा तिमी साह्रै ढिलो भेटियौ………हिज अस्ति नै भेटिनुपर्ने नि तिमी ! ‘‘

ऊ हाँसी मात्र……केही पलको मौनतापछि – ‘‘ जसलाई जहिले अनि जहाँ भेटिने भाग्यमा लेखिएको हुन्छ त्यहीं भेटिन्छ….अघि पनि भेटिन्न, पछि पनि भेटिन्न…… ,‘‘ – थपी उसले।

‘‘ तिमी त दार्शनिक जस्तै पो कुरा गर्छ्याै….!‘‘

‘‘ अब तिमीलाई हुक्लेश्वर मन्दिर र कछारी मात्र देखाउँदा मलाई दार्शनिक भन्न थाल्यौ डल्लै गुवाहाटी शहर देखाएँ भने त तिमीले मलाई के के पो भन्नेरहेछौ,‘‘ – ऊ इतरिई ।

‘‘ के के पो भन्नेरहेछु भनिहाल न , ‘‘ – मैले जिस्काएँ।

‘‘ होस् अब……यता हेर…..यो कछारी हो….. ,‘‘ – कछारी देखाउँदै उसले मलाई कछारीको पछिल्लो भागमा पुर्‍याई – ‘‘ यहाँबाट हेर…..ऊ…..त्यो पऽऽऽऽर ब्रह्यपुत्रको माझमा देखिएको उमानन्द मन्दिर हो……हिजआज पानी सुकेर परसम्म बालुवाको थुप्रो देखिंदै छ….. बर्खामा नदी उर्लिंदा पानी कछारीको यहाँसम्म आइपुग्छ…….भनिन्छ अहिले ब्रह्यपुत्रको प्रवाह जहाँ छ पहिले त्योभन्दा पनि पऽऽर उमानन्दको पारिपट्टि थियो अरे……त्यसबेला उमानन्दसम्म हिँड़ेर नै जानसकिन्थ्यो अरे…..तर पछि ब्रह्यपुत्रको प्रवाहले बगर काटिंदै नदी विस्तार भएर यहाँसम्म आइपुगेको अरे……पानी बढ़दा उमानन्द , उवर्शी, पानीकल र कर्मनसा टापु मात्र देखिन्छ…… यति विघ्न पानी सुकेको 1940 सालपछि यो पहिलोपल्ट हो भनिन्छ ,‘‘- उसले सम्पूर्ण वृतान्त मलाई एकै सासमा सुनाई।

‘‘ हामी ब्रह्यपुत्रलाई अहमीयामा लुइत पनि भन्छौं……भुपेन हाजरिकाको गीतहरूमा तिमीले लुइत भनेको सुनेकोछौ….कि गीत भनेपछि चिल्लै ?‘‘

‘‘ गाएर सुनाइदिऊँ ?‘‘

‘‘ होस् अहिले मान्छेहरू बाटोमै नाच्लान् नि !‘‘

बिस्तार रातको कालो जालोमा शहर बाँधिंदै जाँदै थियो…..झल्याक झुलुक बत्ती बल्न थाल्यो। केही पलअघिसम्म मेरो निम्ति अस्तित्वमै नरहेकी एउटी युवती यसरी यस घड़ी कुनै पनि कारणले गर्दा होस् यति आत्मीयतापूर्वक वर्षौं चिनाजानझैं हेलमेल भएर मसित निर्धक्क कुराकानी गरिरहेको सत्यले मलाई जीवनको अनौठोपनप्रति अचम्म लागेर आयो। यति सुन्दर जीवन……यसलाई मास्नु किन हामी एकार्काको पछाड़ि कुदिरहेका छौं !

‘‘ लौ त आजलाई यति नै……आज रात पनि पर्‍यो…….भोलि मलाई यही कछारीमा तीन बजे भेट्नु म तिमीलाई कलाखेत्र , वशिष्ठ र भ्याइयो भने बालाजी लगेर जान्छु……ओके गुडनाइट…….।‘‘

हामीमाझ अरू केही कुराकानी भएन…….ऊ कहाँ बस्छे मैले सोध्न सकिनँ…..म कहाँ बस्छु सायद उसले सोध्न जरूरी ठानिन। सिटीबसमा चड़ेर ऊ गएपछि निकै बेरसम्म म त्यहीं जड़ भई उभिरहें।

***

कछारीबाट सिटीबसमा चानमारी, गणेशगुड़ी, छः माईल हुँदै कलाक्षेत्र पुग्दा अपरान्हको झण्डै चार बज्न लागेको थियो। पखिला हिजझैं आज पनि म्याच मिल्ने रङ्को पहिरनमा छे…….सुनौलो साड़ी…. सुनौलो कानफुली….नारीमा सुनौलो चुरा….अनि सुनौलो ब्याग र जुत्ता….रङ्ग म्याच नगर्ने आज पनि केही छ भने त्यो हो गोरो मुहारमा सानो खैरो चस्मा।

‘‘ तिमी त हिज निलै थियौ अनि आज पुरै सुनौलो…. ,‘‘ – मैले जिस्काएँ।

‘‘ मलाई यस्तै रङ्ग म्याच गरेर लगाउने बानी छ ,‘‘- ऊ मुसुक्क हाँसी।

‘‘ यो हंकरदेव कलाखेत्र हो…….!‘‘

‘‘ हंकरदेव कलाखेत्र ? यो त शंकरदेव कलाक्षेत्र पो त ! ‘‘ मैले बीचैमा कुरा काटें।

‘‘ अब तिमीहरू यसलाई शंकरदेव कलाक्षेत्र भन्छौ होला हामी अहमीया त यसलाई हंकरदेव कलाखेत्र नै भन्छौं…..बुझ्यौ ?‘‘

‘‘ खै तिमीहरू ‘स‘-लाई ‘ह‘ अनि ‘च‘-लाई ‘स‘ भन्छौ….मलाई त बुझ्नै अप्ठयारो !‘‘

‘‘ आ-आफ्नो भाषाको आ-आफ्नै विशिष्टता र तरिका हुन्छ, अब अहमीया भाषाको तरिका यस्तै छ भने म के गरूँ।‘‘

‘‘ अँ ! तिमीहरू जिब्रो मड़काई मड़काई कुरा गरेको चाहिँ मलाई खुब राम्रो लाग्छ…मलाई पनि त्यसरी नै कुरा गर्नु मन लाग्छ तर……यति छिटो कसरी सिक्ने !‘‘

‘‘ यहीं बस्नु अनि जिन्दगीभरि अहमीया सिकिरहनु नि !‘‘

‘‘ घरकी बूढ़ी र नानी चाहिँ नि……..?‘‘

ऊ मौन रही।

‘‘ हंकरदेव असमका एकजना धार्मिक गुरू हुन्…..उनलाई मान्ने आज असममा थुप्रै छन्…….यो कलाखेत्र असमको संस्कृति र इतिहासको संरक्षणको निम्ति निर्माण गरिएको हो…..मेनगेटपछि बनिएको यो अर्को गेट आहोम राजाको आमोदप्रमोद स्थल रङ्गघरको रेप्लिका हो, यसको ओरिजिनल रूइन्स हेर्नु हो भने हिवहागर जानुपर्छ…ऊ पर त्यो ठूलो बिल्डिङ संग्रहालय हो….त्यसको पारि भित्तामा साँझपख लाइट र साउण्ड शो हुन्छ जसमा असमको इतिहास वर्णन गरिन्छ…..आज हामी त्यो हेर्नु सक्दैनौं किनभने हामीलाई बालाजी मन्दिर पनि जानु छ।‘‘

‘‘ यहाँ आसामको बिहू नाच हुँदैन……कम्मर भाँची-भाँची नाचेको मलाई खुब राम्रो लाग्छ।‘‘

‘‘ असममा हामी वर्षमा तीनवटा बिहू मान्छौं – माघमा एउटा , कार्तिकमा अर्को र फेरि बैसाखमा। त्यसो त बिहू नाच सबै बिहूमा नाचिन्छ तर बिहू नाच हेर्नु हो भने बहाग बिहू अर्थात् बैसाख महीनाको बिहूमा हेर्नुपर्छ….बसन्त ऋतुसितै हर्ष्षोल्लासको चाड़ बहाग बिहू शुरू हुन्छ अनि त्यसबेला खुब नाचगान हुन्छ……त्यसबेला कलाखेत्रमा पनि बिशेष बिहू कार्यक्रम हुन्छ….तर बिहू नाचभन्दा राम्रो नाच हो हत्रीय नाच।‘‘

‘‘ हत्रीय नाच ?‘‘

‘‘ अँ हत्रीय नाच…..! मैले हिज भने नि मेरो गाउँ अनि निमातीघाट……त्यही निमातीघाटबाट पुगिन्छ संसारको सबैभन्दा ठूलो नदी-द्विप अर्थात् रिभर आइलेण्ड माजुलि…..हो यही द्विप हत्रिय नाचको मूल थलो हो।‘‘

‘‘ तिमीहरूको अरू के के नाच हुन्छ ?‘‘

‘‘ किन नाच्नु मन लाग्यो !‘‘ ठट्टा गरी उसले -‘‘ अब थुप्रै नाच हुन्छ नि….अझ एकदुईवटा नाच चाहिँ होइन नाचको मूर्ति हेर्नु हो भने कछारीछेउ नेहरू पार्क जानू।‘‘

‘‘ तिम्रो आसाम साँच्चै विचित्र छ……छुट्टै आकर्षक……तिमी जस्तै।‘‘

‘‘ विचित्र भन्दा याद आयो……असममा एउटा ठाउँ छ जतिङ्गा……जहाँ यसबेला एउटा अद्भुत प्राकृतिक घटना घट्छ…..जतिङ्गा भन्ने त्यो जङ्गलमा वर्षको यो बेला आगो बाल्यो भने चराहरू उड़्दै आएर त्यो आगोमा आफै हाम् फाल्छन् र मर्छन्……….यो चाहिँ फेरि अरू बेला हुँदैन नि…हो नि विचित्र ? ‘‘

कलाखेत्रमा एकक्षण बसेर हामीले आइसक्रिम खाँदै विचित्र असमको अझ थुप्रै कुरा गर्‍यौं अनि त्यसपछि बालाजीतिर लाग्यौं। व्यस्त गुवाहाटीको कोलाहलबाट टाढ़ा बेतकुचीमा स्थित सेतो संगमरमरले बनिएको बालाजी मन्दिर बत्ती जलेपछि मनमोहक बनेको छ…..मन र आँखालाई शान्ति प्रदान गर्ने। त्यो शान्त वातावरणमा केही क्षण बिताएपछि हामी जालुकबारी हुँदै फेरि कछारी पुग्यौं। कछारी पुग्दा झमक्क रात परिसकेको थियो।

कछारी पुगेर छुट्टिने बेलामा उसले मेरो दुवै हात च्याप्प पक्रेर भनी -‘‘ भोलि काम सकेर कतै ननिस्किनू….एकदमै ननिस्किनू……होटेलमै बसिरहनू…..पर्सि तीन बजे मलाई फेरि यहीं भेट्नू।‘‘

×

हिज बेलुकी व्यस्त बजारमा बम पड़किएको कारण आज बिहान होटेलबाट निस्किंदा होटेलको म्यानेजरले मलाई बजारमा बेसी नडुल्ने सल्लाह दियो। आफ्नो दुई महीनाको सबै काम सिध्याएर कार्यालयमा सबैसित विदावारी लिइवरी कछारी पुग्दा निर्धारित समयभन्दा म झण्डै एक-डेढ़ घण्टा अबेर भएको थिएँ……तर पखिला त्यहीँ थिई….मेरो प्रतीक्षामा।

मलाई देख्ने बित्तिक्कै ऊ मेरो छेउ आई……अबेरको निम्ति कुनै गुनासो गरिन तर सोधी -‘‘ तिमी ठीकै छौ ?‘‘

‘‘ म ठीकै छु………भोलि बिहान राजधानी एक्सप्रेसमा घर फर्किन्छु….आज मेरो सबै काम सकियो….त्यसैले यहाँ आइपुग्नु अलिक ढिलो भयो….फेरि भएन हिज बम विस्फोटमा निर्दोष मानिस मारिएको विरोधमा बजारमा प्रदर्शन गर्दै थियो र बाटो जाम थियो र यहाँ पुग्नु अझ ढिलो भयो…,‘‘- मैले सोझै भनें।

ऊ मौन रही।

‘‘ यसरी निर्दोष मानिस मारेर के पाइन्छ हगि ? ……यसरी निर्दोष मान्छे मार्नेहरूको मुटु छैन कि क्या हो ?‘‘

केही क्षण मौन रहेपछि ऊ बोली -‘‘ युद्धमा यस्तै हुन्छ….निर्दोष मानिसहरू मर्छन्….केही पाउनुको निम्ति केही गुमाउनु पनि पर्छ।‘‘

‘‘ यो कस्तो युद्ध हो….अनि कसको विरोधमा युद्ध हो….के पाउनुको निम्ति निर्दोष मानिस मार्नु ?‘‘

ऊ फेरि मौन रही।

‘‘ पखिला, मलाई तिम्रो विचार सुनेर अचम्म लाग्यो। भलै हाम्रो चिनापर्ची दुई दिनको मात्र हो…तिम्रो व्यवहारले मलाई लागेको थियो तिमी करूण हृदयकी हौ तर तिम्रो यत्रो कठोर मुटु !‘‘

‘‘ मान्छे जस्तो देखिन्छ त्यस्तो हुँदैन….जस्तो हुन्छ त्यस्तो देखिन्न !‘‘

‘‘ तिम्रो ठुलोठुलो कुरो म बुझ्दिनँ…….बस मेरो विचारमा त संसारमा बैरभाव र घृणा होइन चारैतिर शान्ति र माया हुनुपर्छ, बुझ्यौ ?‘‘

‘‘ प्लीज हामी यो विषयमा अरू कुरा नगरौं ,‘‘ – अलिक चिन्तित अवाजमा भनी र अलि अडकिंदै उसले अझ थपी -‘‘ भोलि फर्किने अरे ! ठीकै छ….आज रात पनि पÚयो…..अब कतै घुम्न पनि भ्याइदैन……आज कतै नजाऔं….भोलि तिमीलाई सी-अफ् गर्नु म बिहानै स्टेशन आउँछु………..आज हामी छुट्टौं ल !‘‘

ऊ अरू केही बोलिन…….म पनि अझ केही बोल्ने आँट गर्न सकिनँ……..बोल्ने मौका आउँदा किन होला मन सुन्न हुन्छ…..यो मन पनि अनौठै छ। एकक्षण त्यहीं उभिरहेपछि मलाई मौन देखेर ऊ लुरूलुरू आफ्नो बाटो लागी। आफुलाई सामान्य बनाउन केही बेरसम्म म पनि त्यहीं उभिरहें।

***

बिहान छः बजे म रेलवे स्टेशन पुग्दा ऊ अघि नै स्टेशन आइसकेकी थिई। मलाई देख्ने बित्तिक्कै ऊ मुसुक्क हाँसी। उसले हातमा पक्रिएको पोलिथिनबाट एउटा पोको दिंदै भनी -‘‘ तिम्रो ब्राण्डको सिगरेट……बाटोमा खानू।‘‘

‘‘ ओह माई गड् ! ‘‘ – मैले सिगरेटको पोको नपक्री भने -‘‘ तिमीलाई भन्नु बिर्सेछु…..अस्ति तिमीलाई भेटेको दिनदेखि मैले सिगरेट खानु छाड़िदिएँ।‘‘ अनि गोजीमा हात हालेर एउटा पोको निकालेर उसलाई दिंदैं भनें -‘‘ लौ तामुलपान…तिम्रो लागि….अतिथि सत्कार!‘‘

ऊ मुसुक्क हाँसी अनि आफ्ना दुवै हात कम्मरको दुवैपट्टि राख्दै अलिक बनावटी अवाजमा भनी -‘‘ अनि तिमीलाई थाहा छैन….मैले अस्ति तिमीलाई भेटे दिनदेखि तामुलपान खानु छाड़िदिएँ..!‘‘

‘‘ त्यसो भए तिमी अहमीया भनिन्नौ नि..! ‘‘ – मैले जिस्काएँ।

‘‘ नभने नभनोस् ….,‘‘ – उसले हातको मुद्रा बनाउँदै यस्तो अभिनयमा भनी कि हामी दुवै खित्का छाड़ेर हाँस्यौं। हामी हाँसेको देखेर हाम्रा वरिपरिका यात्रीहरूले अचम्म मान्दै हामीलाई हेरे….हामीले त्यसको वास्तै गरेनौं….कहिलेकाहीँ आफ्ना वरिपरिको संसार बिर्सेर आफै भएर बाँच्दा कति मज्जा आउँछ।

कम्पार्टमेन्टमा आफ्नो सामान राखिवरी बाहिर उसको छेउ आउँदा मुण्टो निहुराएर उसले भनी – ‘‘ तिमीलाई थाहा छ…… हाम्रो पहिलो भेट एउटा संजोग थियो मात्र एउटा संजोग……त्यो भेटमा मैले तिमीलाई प्रयोग गरेकी थिएँ……यूज गरेकी थिएँ…आफ्नो सुरक्षाको निम्ति तिमीलाई ढाल बनाएकी थिएँ……एउटी युवतीको निम्ति आफूलाई बचाउनु एक्लो मान्छेभन्दा अरू राम्रो माध्यम हुनैसक्दैन र त्यसदिन त्यस्तै भएको थियो तर त्यसपछि…….त्यसपछि अर्को दिन तिमीसित हिँड़ने पखिला थिई….पखिला कुनै आडम्बर र मुखौटो बिना आफ्नो असली अनुहारमा…….त्यो अर्को दिन तिमीलाई भेट्नु जाउँ कि नजाउँ म दोधारमा थिएँ…तर पहिलो दिन तिमीले मलाई जानी-जानी दिएको सुरक्षा अनि त्यो दिन तिमीसित हिँड़दा मैले स्वयंलाई महसुस गरेको अनुभूतिले गर्दा म आफैलाई रोक्न सकिनँ….दोस्रो दिन म नआउनु पनि सक्थें तर म आएँ अनि त्यो दिन म ’म’ भएर बाँचे….एकैदिन भए पनि मलाई ’म’ भएर बाँच्नु दिएको निम्ति तिमीलाई धन्यवाद छ।‘‘

‘‘ जीवन नै एउटा संजोग हो पखिला……जीवनको यात्रामा संजोगमै हामी थुप्रै मानिस भेट्छौं…धेरैलाई हामी बिर्सिन्छौं तर थोरैले मात्र हाम्रो मन र दिमागमा प्रभाव पार्छ अनि जीवनभरि उनीहरूलाई बिर्सनसक्दैनौ….ती थोरैमध्ये मेरो निम्ति तिमी पनि एक हौ……..धन्यवाद त तिमीलाई छ तिमीले मलाई गुवाहाटी घुमायौ, देखायौ म एक्लो थिएँ तिमीले अप्ठ्यारो नमानी मेरो साथ दियौ, विरानो ठाउँमा तिमी साथी बन्यौ तिमीलाई धन्यवाद छ।‘‘

रेलले सिटी बजायो।

उसले मायालु नजरले मलाई हेरी………..मैले बिस्तार उसलाई आफ्नो अङ्गालोमा बाँधें अनि भीड़को परवाह नगरी उसको निधारमा म्वाइँ खाएँ।

आफ्नो हातको पोलिथिन मलाई दिंदै अवरूद्ध अवाजमा ‘‘ यो तिम्रो निम्ति….मेरो तर्फबाट…सानो यादगार…तिमी जाड़ो ठाउँको मान्छे जाड़ोमा काम लाग्ने चीज छ….तिमीलाई मन पर्छ कि पर्दैन !‘‘- भनी।‘

रेलले अन्तिम सिटी फुक्यो।

उसको दुवै हात च्याप्प पक्रेर मैले भनें -‘‘ पखिला…तिमी के गर्छौ मलाई थाहा छैन म सोद्धिन पनि….तिम्रो काम राम्रो हो वा होइन म त्यो पनि जान्दिनँ, जान्न चाहदिनँ पनि….तिम्रो विचार र सिद्धान्त उचित हो वा अनुचित म तर्क पनि गर्दिनँ….तिम्रो युद्ध सही हो वा गलत म केही भन्दिनँ….तर जाँदा जाँदै यति भन्न चाहन्छु कि म अर्कोपल्ट आसाम आउँदा पखिला यसरी लाचार भएर भाग्दै कुनै अन्जान पुरूषको शरणमा गएकी हेर्न नपरोस्, कुँजिएकी,बाँधिएकी त्रसित पखिला भेट्न नपरोस् – आसामको शान्तिमय वातावरणमा आसामको कुनाकाप्चा , वनजङ्गलमा खुला आकासमुनि एउटै रङ्गमा होइन तर इन्द्रेणी जस्तै थरी-थरीको रङ्गमा पखिला हाँस्दै, गाउँदै, नाच्दै, इतरिंदै उड़िरहेकी हेर्नपाउने मेरो चाहना छ……..बिहू र हत्रीय नाचमा कम्मर भँचाउँदै उन्मुक्त पखिला हेर्नपाउने मेरो इच्छा छ……पखिलाको हातमा बारूदको गन्ध होइन तर आसामको आउँदो पिँढ़ीको भविष्यको योजना र कमान हेर्नपाउने मेरो धोको छ…..मलाई विश्वास छ मेरी पखिलाले मेरो यो चाहना पुरा गरिदिनेछे।‘‘

रेलले बिस्तार स्टेशन छोड़नथाल्यो……म रेलमा चड़ें…..शनैःशनैः रेलले गति पक्र्यो अनि हात हल्लाउँदै गरेकी पखिला आँखाबाट ओझेल भएपछि म गएर आफ्नो सीटमा बसें।

पखिलाले दिएको पोलिथिनबाट पोको निकालें अनि खोलें…..एउटा ज्याकेट रहेछ….पहेंलो ज्याकेट….पहेंलो….मित्रताको चिन्ह…पहेंलो….वसन्तको उल्लासको प्रतीक…… पहेंलो…..एकाग्रता र भक्तिको निशान। ज्याकेट लगाउनपर्ने मौसम नभए पनि मैले ज्याकेट खोलें अनि लगाएँ। ज्याकेटले मेरो शरीर स्पर्श गर्दा मलाई पखिलाको स्पर्श आभास भयो र उन्मादमा निकै बेरसम्म मैले आँखा चिम्म गरेर त्यो स्पर्शलाई महसुस गरिरहें।

मेरो बौलाहापन देखेर मेरा सहयात्रीहरू मुसुमुसु हाँसेको चाहिँ मैले देख्न पाइनँ।

कालेबुङ, भारत

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.