छन्द कविता : मन मनुजको लोभनगरी

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~

छन्द : शिखरिणी

मरेका देख्दैछन् प्रतिदिन कयौँ जीव जगमा
हरेका छन् आफै मनुज अरुको प्राण भवमा ।
अझै सोच्दैनन् खै म पनि यसरी मर्दछु भनी
यहाँभन्दा धेरै छ अझ कुन आश्चर्य-धरणी ।।१।।

कहाँ सोच्ला भोगी गरुडमुखभित्रै छ र पनि
म मर्दैछु आफू अब त नमरोस् मूषक भनी ।
सिकारीका सामू हरिण जसरी खोज्दछ तृण
गरौँला भोग् भन्दै मनुज पनि खोज्दै छ नि ऋण ।।२।।

अगाडि नै देख्छन् कति नृपति भस्मै पनि भए ।
म नै हूँ भन्नेले कति धन र सम्पत् सँग लगे ।
सबै देख्दादेख्दै पनि फगत लोभीमन गरी
थुपार्नैमा लाग्ने मन मनुजको ‘लोभनगरी’ ।।३।।

सधैँ बढ्दै जान्छन् जति विषय जो भोग्छ नरले
कहाँ निभ्ला आगो अझ बरु बढेकै छ घृतले ।
त्यसैले बिस्तारै विषयविषभोगी कम बनौँ
गरेँ मैले के के परमपदका निम्ति विचरौँ ।।४।।

गरौँ आफ्नै चिन्तन् किन र कसरी आगम भयो ।
कहाँ होला यात्रा कति छ अब खर्चै कति भयो ?
मनुष्यै बन्दा झन् अलिकति विचार् मोक्ष नगरे
भयो जीवन व्यर्थै स्मरण हरिको कत्ति नभए ।।५।।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.