लघुकथाः चाेइटिएकाे कप

~क्यामुना प्रधान~

चिया पिउने कप धेरै पुरानो भएपछि एक दिन बजारबाट नयाँ कप किनेर ल्याएँ । हेर्नेबित्तिकै नयाँ डिजाइनको त्यो कप मलाई मन पर्यो । चिया पिउँदा पनि अरू बेलाभन्दा छुट्टै अनुभूति भइरहेथ्यो । कपको आकर्षणले चिया मात्र होइन पानी पनि त्यसैमा पिउन थालेँ । पुरानो कपले त नयाँ कप आएकै दिन बिदा लिइहाल्यो ।

आद्दतले मजबुर, घरमा मैले प्रयोग गर्ने हरेक कुरा मेरो आफ्नै छ । थाल, गिलास, चम्ची, कप, लुगा धुने बाल्टीधरि मेरो आफ्नै छ । साबुन, तुथपेस्ट, नुहाउने झुस, तौलिया आदि यदि कसैले भुलले चलायो र मलाई थाहा भयो भने त्यो चिज म मरिगए चलाउँदिनँ तर अर्को प्रयोग गर्छु । लागेको बानी कसैगरी नहट्ने रहेछ तर नआत्तिनुहोस्, तपाईंको घर आउँदा म मेरो आद्दत घरमै छोडेर आउँछु । यति समझ त मेरोमा पक्कै छ कि घरबाहिर यो कुरा सम्भव हुँदैन भन्ने ।

अँ त, राती पानी पिएर राखेको कप, बिहान पानी पिउनु पर्यो भनी उठाएको त अहो … मुख लगाउने ठाउँमै कप चोइटिएछ । घरमा कोहराम मच्चियो । भर्खरै किनेको, रहर पनि राम्रो मेटिन नपाई मेरो अति प्रिय कप चोइटिँदा मेर मुटु नै चोइटिए जस्तो भयो । कसले यो जघन्य काण्ड गर्यो भनी गहिरो खोजतलास भयो, तर मुटुमा हात राखेर कसैले सत्य बोल्न सकेन । घरमा काम सघाउन बसेकी केटी, चोरको खुट्टा काट्भन्दा तानेको जस्तो दिनभरि ढुस्स परेर कामै नगरी बसिरही । मलाई पक्का थाहा छ त्यो त्यसैको काम हो । काम गर्ने ढङ्ग एउटै छैन, जे चिज छ, त्यो प्वाट्टै । अघि अघि पनि काम बिगारेपछि उसको व्यहोरा यस्तै हो । अब त्यसले भूल स्वीकार गर्ने कुरै आएन । नदेखेको चोर बाबू समान सोचेर चुप लागेँ ।

बरु कप प्वाट्टै फुटेको भए एउटा अर्थै हुन्थ्यो, तर कप राम्रै छ । खालि चोइटिएको छ पिउने ठाँवैमा । पहिलो नजरमै आँखा चोइटिइएको भागमा पुग्छ । आफूलाई मन परेको कुरा कञ्चन भएको मन पर्छ तर मेरो प्रिय कपमा दाग लाग्यो, कलङ्क लाग्यो । फ्याँकी हालौँ भने कप राम्रै छ । हातमा लिएर कपलाई धेरैबेर मुसारिरहेँ । भर्खर किनेको फेरि रहर पनि नपुगेको कप न फ्याक्न सक्थेँ न कसैलाई दिन नै सक्थेँ । फेरि चर्किएको, फुटेको, चोइटिएको भाँडामा नखानु भन्ने किम्बदन्ती सुनेकै भए पनि रहरै नमेटी कपलाई तिलाञ्जली दिने पक्षमा म थिइनँ ।

जेसुकै होस्, कप प्रयोग गर्ने नै मैले निश्चय गरेँ, तर जतिखेर पनि आँखा चोइटिएको भागमा पर्थ्यो मुटुमा केले चस्स घोँचे जस्तो हुन्थ्यो ।

भोलिपल्ट हामी बसेको इलाकामा एउटा घटना घट्यो । सात तले एउटा बिल्डिङ धस्किएर जाँदा त्यहाँ धेरै ज्यान मालको नोक्सान भयो । सम्पति त खैर, फेरि कमाउन सकिन्छ तर आफ्ना हितैषीहरू गुमाउनु पर्दाको बेदना सायदै शब्दमा बयान गर्न सकिएला । डोजर आयो, दबिएका सामानहरू बाहिर निकालियो । तर ती सामानहरू कुनै प्रयोग गर्न लायकका थिएनन् । सुटकेश, टेलिभिजन, दराज, सोफा, पलङ्ग, भाँडाकुँडा इत्यादि कुनै पनि प्रयोग गरिने अवस्थाको थिएन ।

मलाई रातभरि निद्रा लागेन, मन एकतमासको भइरह्यो। मेरो एउटा कप चोइटिँदा म कति मर्माहत बनेँ भने त्यहाँ त कसैको जीवन फुटेको थियो, जिउने आधार टुटेको थियो । छि: सानो कुरामा हामी कति स्वकेन्द्रित हुन्छौँ । आफ्नै वरिपरि घटिरहेका घटनाहरूले धेरैचोटि हामीलाई घोँच्दैन केवल घटना मात्र सम्झेर हामी भुली पठाउछौँ । हामीसँग भएका कपहरू चोइटिँदै जान्छ, फुट्दै जान्छ । फेरि अर्को किन्दै जानुपर्छ तर अरुको दु:खमा सहभागी बन्ने हामीभित्रको मानवतारूपी कप कहिले नचर्कियोस् कहिले नचोइटियोस् ।

– सिक्किम

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.