~नेकी धनेन्द्र~
कलिला हातहरुले
घाँस दाउरा काट्दै
गोबर सोर्दै
कुटो कोदाली चलाउँदै,
कुना कन्दरा
भीरपाखा चहार्दै
गाई भैंसीको
आहार खोजेर
भारिको भारी ल्याउछन्
मुटु कलेजो हल्लिने
डोरेठोहरुमा
तिनै थकित मुनाहरु
बिहान बेलुका आधा पेट
खाएर जिन्दगी धकेली रहेछन्
र,
रोटि भोटिको लागि
पठाउछन् बाआमा
दाइभाउजूलाई
लाहुर गर्न !!
कतिलाई निल्यो
लोया भीरले,
बैँस नदेखरै दुलही भएका
नानीहरु
बैंस नदेखेरै विधुवा
पनि भए
जिन्दगी कति सकसले
बितेरहेछ उनिहरुको !!
बिर्षे कामी,
उसैले बनायो मूर्ती
उसैले बनायो मन्दिर
अहिले उसैले पाउँदैन
पुजाआजा गर्न !!
सरुवा रोग आयो
हैजा बनेर फैलियो
धामी झाक्री
गर्दा गर्दै
धेरैले मृत्युवरण गरे
गाउँ नै शोकमा डुब्यो !!
ए ! एक्काइसौं
शताब्दीका मान्छेहरु हो,
आदिम समाजको
एउटा नमुना हेर्न आउ !
एता बिकट गाउँमा
तिम्रो नयाँ प्रविधिले
जाँदुको कम्प्युटरले
देख्छ कि देख्दैन
एताको दुर्दशा !!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)