कथा : वेश्यासँगको रोमान्स

~यकिना अगाध~

हाफ छुट्टि भएकाले विद्यार्थीहरु गईसकेका थिए । आज महिनाको पहिलो हप्ता, त्यसमाथि शुक्रबार थियो । शिक्षकहरु प्रिन्सिपलको कक्षाकोठामा लाईन लागेर आ–आफ्नो तलब थापिरहेका थिए । प्रिन्सिपलले सबैको हरहिसाब गरेर पालैपालो तलब बुझायो र अन्तमा भन्यो, ‘सरहरु सबैलाई मेरोतर्फबाट गुडफ्राईडे….।’

‘प्रिन्सिपलज्यूलाई पनि हाम्रो तर्फबाट स्वागतम्… ।’ सबैले एकै स्वरमा भन्यो ।

शिक्षकहरुको ओंठमा हाँसो थियो र आँखामा रनौक, किनकि आज तलब थापेको दिन थियो । सदा स्कूल छुट्टि भएपछि आ–आफ्नो मेसोमा घर फर्कने शिक्षकहरु चिया खानको लागि आज एउटै दोकानको कुर्सिहरु ढाकेर बसे । चिया पाक्दै थियो । उनीहरुको गफको मेसो चल्दै थियो ।

‘गुडफ्राईडे मनाउने होइन त कृपया… ।’ नाक लामो लामो एक हृष्टपुस्ट शिक्षकले प्रस्ताव राख्यो ।

‘खै साथीहरुको मनसाय के छ कुन्नि…?’ अर्को अधबैंसे शिक्षकले सिधै सहमति जनाउन सकेन ।

‘हो त नि कति गोरु जस्तो जोतिनु । हाम्रो पनि त मन आकंक्षा छ नि त हो ।’ हेर्दा डल्ले डल्ले अलि थेप्चो नाकवाला शिक्षक बोल्यो, ‘बिना मनोरन्जन यो जुनी बित्ने भो गाँठे ।’ उसको समर्थनमा होमा हो मिलाउँदै सबै गलल हाँसे ।

उनीहरु चिया खाएर बिर्तामोडको ‘रमाइलो होटल’ मा जान तयार भए । हिंड्ने बेलामा एक अधबैंसे उमेर काटिसकेका, टाउकोभरि प्रस्ट तिलचामल कपाल भएका, चिम्सा आँखा मझ्यौला कद भएका सर अलमलियो । उ सधैं यसरी नै अलमलिन्थ्यो र साथीहरुसँग छुटेर गुडफ्राईडे नमनाईकन नै घर जाने गर्दथ्यो ।

‘हे बुढो मान्छे पनि…।’ अघि सुरुमा प्रस्ताब राख्ने नाक लामोलामो एक हृष्टपुस्ट शिक्षक बोल्यो, ’हामी शिक्षकहरुको चाहि निजि जीवन हुन्नन् र ? भट्टि सट्टि पस्दा समाजले के भन्लान, आफैले पढाएका विद्यार्थीले भेटे के सोच्लान भनेर चिन्ता लिएर, यो एकफेरे जीन्दगीलाई बिना रमाईलो निरस तरीकाले बिताएर के नै फाईदा पुक्छ र ?’ उनीहरु उभिई उभिइ गफिन थाल्यो ।

‘हो भन्या, यो समाज पनि कस्तो ?’ अर्को डल्लेडल्ले अलि थेप्चो नाकवाला शिक्षकले सही थप्यो, ‘ब्यापारी, राजनीतिज्ञ, कर्मचारी, कुल्ली, किसान…. सबैका सबै खुल्लाम खुल्ला भट्टिमा गएर दिनदिनै रमाईलो गर्न पाईने रे । हामीले चाहि नपाईने ? कस्तो बन्धन हेर्नुस् त ! कहिले काही शुक्रबार यसो मुड चलेर नजिकका भट्टिहरुमा पस्यो भने दोकानदारले समेत भनि हाल्छ, ‘अरे ! सर पनि आज त… ।’ समाजले किन लगाम लगाउनँछन् हँ हामीलाई बिनासित्ती ?’ त्यो अधबैंसे नाघेको सरलाई उसको कुरा मनासिब नै हो जस्तो लागि रहेको थियो ।

उभिएर गफको धुनमा अर्को ख्याउटे अनुहार परेको सरले जोक सुनाउन थाल्यो, ‘एक जना ब्यापारीको फुर्तिलो र चन्चले गधा थियो रे । त्यो गधा सधैं खुशी खुशी काम गथ्र्यो रे । खै के भयो, विस्तारै बेखुशी देखियो रे । आज हेर्यो उस्तै, भोली हेर्यो उस्तै, अहँ मुन्टोसम्म हल्लाउँदैन । ब्यापारीलाई आफ्नो चन्चले गधाको यो चाला देखेर दिक्क लागेछ । उसले अनेक उपाय गर्यो, अहँ गधाले मुन्टो हल्लाउँदै हल्लाउँदैन । एकदिन ब्यापारीले एउटा जुक्ति निकाले छ र पत्रपत्रिकाहरुमा विज्ञापन गरेछन्, ‘जसले मेरो गधाको मुन्टो हल्लाउन सक्छ, त्यसलाई गधा सितैमा र एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।’

मान्छेहरुको भिड लाग्यो । कसैले गधाको जीउ चिमोट्यो, कसैले कान निमोठ्यो, काउकुती लगायो, कानमा बाजागाजा सुनायो, करायो, चिच्यायो, अनेक मिठा मिठा खाने कुराले लोभ्यायो, अहँ त्यो गधाले मुन्टो हल्लाउँदै हल्लाएन छ । अररो परेर बसेको छ, छ । त्यही बेला एकजना मान्छे त्यही बाटो भएर आएछ । उसले पनि यो प्रतियोगिताको कुरा थाहा पायो र गधाको कानमा गएर बिस्तारै फुसफुसायो । जब त्यो ब्यक्तिले गधाको कानमा फुसफुसायो त्यसपछि गधा बुरुक बुरुक उफ्रेर मुन्टो हल्लाएको हल्लाएकै गर्न थाल्यो । त्यो मान्छेले ‘चुप लाग, चुप लाग भन्छ’ अहँ गधा केही गरी चुप लाग्दैन । मुन्टो हल्लाको छ हल्लाको छ । एक्कासी यस्तो चमत्कार भयो कि यो रहस्य थाहा पाउन सबै उत्सुक भए । त्यो मान्छेले ब्यापारीबाट त पुरस्कार जित्यो नै, अरुहरुलाई पनि यो गुह्य रहस्य बताए बापत थप पुरस्कार पाउने भए ।

त्यो मान्छे मुसुक्क हाँसे छन् र रहस्य खोलेछन्, ‘मैले यो गधालाई केही पनि भनेको होईन । मैले उसलाई यति मात्र भने कि म एउटा शिक्षक हँु । पढाउने पेशा गर्छु । के तँ पनि पढाउने जागिरमा जान्छस् त ? भनेर मात्र सोधेको थिएँ, उ त अहँ कि अहँ भनेर उफ्रेर पो मुन्टो हल्लाउन थाल्योे… ।’

उनले यो जोक मात्र के सिध्याएको थियो, नाक लामोलामो एक हृष्टपुस्ट शिक्षक प्वाक्का बोलिहाल्यो, ‘हैट ! गधाले पनि खान नमान्ने जागिर खाएपछि यस्सो कहिले काही त … हैन त साथी ?’

उनको कुरा सुनेर सबैले होमा हो मिलायो । हाँसोको फोहोरासँगै हल्लाखल्ला मच्चाएर बस चढे । बिर्तामोडतिर अघि बढ्दै गरेको हुलमा अघि अनकनाइरहेको सर पनि थाहै नपाई मिसियो । बिर्तामोडको ‘रमाइलो होटल’ पुगेर सबैजना भित्र छिर्यो । सधैजसो आई रहने गइ रहने आफ्नो ग्राहक देखेर होटल संचालिकका साहुनी मुसुक्क मुस्किईन् । अभिबादन गरिन् । त्यहीबेला हुलमा नयाँ अनुहार देखेर सोध्न पनि भ्याइहालिन्, ‘उहाँलाई त चिन्न सकिँन नि ?’

‘हाम्रै साथी हो । एउटै अफिसमा काम गर्छौं ।’ एउटाले भन्यो । यति भनेपछि साहुनीले कुनै शंकालु प्रश्न गरिनन् । तिनले आफ्नो ग्राहकलाई सिधै होटलको माथिल्लो तलामा पुर्याईन् र सोफामा बसाएर पंखा खोलेर सोधिन्– ‘सरहरु के लिनुहुन्छ ? टुबोर्ग बियर त होलान् नि सधैंझैं ?’

‘हो हो’ सबैले एकै स्वरमा भन्यो ।

‘उहाँ सरलाई पनि त्यही चल्छ ?’ साहुनीले नयाँ ग्राहकलाई बिशेष ध्यान दिए जस्तो गरिन् ।

‘हुन्छ । साथीहरु जे लिनुहुन्छ ।’ उनले सुस्तरी बोल्यो । साहुनी अर्डर लिएर तल झरिन् ।

खाने, पिउनेको अर्डर लिएर आउँदा त्यहाँ चार जना केटीहरु पनि हुरुरु पसिन् ।

‘ओ मेरो राजा…’

‘ओ मेरो बुढो…’

‘ओ मेरो सोल्टी…’

मान्छेविच्छे साईनो, मान्छे पिच्छे सम्बोधन गर्दै केटीहरु कोही कसको काखमा, कोही कसको छेऊमा बस्न थालिन् । नयाँ सर भने अकमकियो । उनलाई कसैले न सम्बोधन गर्यो, न कसैले चिमोट निमोठ नै गर्यो । उनले यहाँ के भईरहेको छ भन्ने कुराको भेउ पाउन सकेनन् ।

‘उहाँ चाहि नयाँ पाहुना….।’ साथी अकमकिएको देखेर ती तरुनीहरुलाई चिनाउदै डल्ले डल्ले सरले भन्यो ।

‘अहो सोल्ठा…।’ त्यो सरले त्यति भन्ने बित्तिकै उनलाई पनि साइनोले भेटिहाल्यो र एउटी भखरै बाईस तेईस टेक्दै गरेकोझैं देखिने केटी काखमा आएर थ्याच्च बसिन् ।

तिनले छोटो मेडि लगाएकी थिईन् । मास्तिर टाइट टिसर्ट । यसरी बस्दा मेडि मास्तिर सोहोरिएर नाङ्गै जस्तो देखिईन् । नयाँ शिक्षकको लागि जीवनको पहिलो अनुभव थियो, उनलाई साहै्र अप्ठ्यारो लाग्यो । आफ्नो काखमा मस्तकी तरुनी मदहोस् भएर पसारिंदा उनको गाला रातोपिरो भयो । जेठको गर्मीले यसै हप्पिएको जीउ डर पनि थपिन पुग्दा पसिना पसिना भयो ।

‘ए सर पनि….।’ उनमा केही लाज, केही डर देखेर एक जना साथीले भन्यो ।

’बिचरा सर…।’ उनको भयमिस्रित अनुहार देखेर ती मदहोसी तरुनीले उल्टै ओंठ समाएर चुप्प म्वाइ खाइदिईन् ।

जेठ त्यो पनि दिनको मध्य समय । पानी नपरेको पनि धैरै दिन भइसकेको थियो । गर्मीले उधुम मच्चाइरहेको थियो । कोठाको माहौल चिसो होईन तातिदो थियो । तातो माहौलमा चिसो बियर खोलिन थाल्यो । उनीहरु चार जना आएकोमा अब संख्या थपिएर आठ भईसकेको थियो ।

‘पाँच बोतल चिसो बियर… सेकुवा तीन प्लेट… दुई प्लेट सलाद…।’ यसरी अर्डरमाथि अर्डर थपिदैं गयो । ग्राहक र सेवाग्राही दुबै मातिए ।

‘एकचोटीको जीन्दगी हो रमाईलो गर्नुपर्छ सर…।’ नाक लामोलामो एक हृष्टपुस्ट शिक्षक मातेर लरबरिएको स्वरमा बोल्यो ।

‘कति दिन घरवालीसँग दिग्दारको जीन्दगी बिताउनु ।’ अर्को ख्याउटे अनुहार भएको शिक्षकले सही थाप्दै भन्यो, ‘यस्तो सुन्दरीहरुसँगको समागमको आनन्दनै अर्को हुन्छ ।’

‘हाम्रो सरको के विचार छ कुन्नी ?’ डल्लेडल्ले शिक्षकले सोध्यो, ‘मौकामा चौका हान्नुपर्छ है । भोलीको दिन कसले के देखेको छ र ! मरेको भोलीपल्ट दुईदिन भईहाल्छ ।’

उनीहरु यसो भनिरहँदा ती मान्छे नयाँ रहेछ भनेर उनीसँग बसिराखेको तरुनीलाई बुझ्नको लागि केही गाह्रो परेन । उनले सजिलै बुझि हालिन् । आकर्षित गर्नको लागि झन् बढी मदहोसी बनेर अभिनय गर्न थालिन् । ‘लु आउनुस्, के हेरिराखेको ?’ त्यो सर अकमकिएको देखेर तिनी सबैतिर आँखा सन्काएर खितिति हासिन् र भनिन्, ‘लाटोले पो पापा देख्दा ट्वाल्ला परेर हेर्छ रे भनेको सुनेको थिएँ, तपाईं पनि हिही….हिही….।’

सबैजना आ–आफ्ना च्यापेर कोठा कोठामा पस्न थाले ।

‘आहा ! साँच्चै यस्ती सुन्दरीसँगको समागम कति रमाईलो हुँदा हुन् ।’ बियरको नसामा उनको पनि बैंश उम्लन थाल्यो । कहिले काही उनले पनि पश्चिमातिरको निलो फिल्म हेर्ने गर्दथ्यो । त्यहाँको रोमान्सशैलीको आज झझल्को आयो । सोच्यो, ‘पक्कै यिनीसँग आज यस्तै रोमान्स गर्न पाईने भयो ।’ उनले पनि साथीहरुलेझैं आफूसँगको तरुनी च्यापेर कोठा भित्र छिर्यो र चुकुल मार्यो ।

भित्र छिरेपछि ती तरुनीले मिडि फरक्क फर्काईन् र ओछ्यानमा उतानो परेर भनिन्, ‘लौ फटाफट आफ्नो काम गर्नुस् ।’ अघि बियर खाना बस्दा ती तरुनीको मादकतापूर्ण ब्यबहार देखेर आकर्षित भएर कति धेरै रमाईलोको परिकल्प गरेको उ अहिले भने हिस्सियो ।
‘सिधा सिधा, यस्तो नि रमाईलोको तरिका हुन सक्छ त ?’ उ अलमलियो र अनुहार असिनपसिन पार्दै भन्यो ।
‘फटाफट…. हो फटाफट ।’ अघिको मदहोस तुल्याउने मुस्कान लुकाएर अलि कडा स्वरमा बोलिन् । ती शिक्षकको अघिको परिकल्पनामा गुलिएको मन अमिलिएर आयो । शिक्षक बोल्न खोज्दै थियो, ‘अनि… अनि… त ?’ तिनले वेवास्तपूर्वक झर्किदै बोलिन्, ‘मन भए फटाफट गर्नु । नभएर निस्केर जानु ।’ तपाईबाट एक्कासी तँमा झारिन् सम्बोधन, ‘खुशी, रमाईलो र आनन्द खोज्न त आफ्नो स्वास्नीसँग जा न, के को रन्डी खोज्न आउछस् त…।’
उनलाई यो अन्तिम वाक्यको चट्याङले दिमाग नै छ्यालब्याल पार्यो । दिमागमा कम्प मात्र छुटेन, पूरै जीउ पसिनाले निथ्रुकै नुहाउन पुग्यो । ऊ गरुडको अगाडि परेको सर्पझैं बनेर त्यो केटीको अगाडि लत्रियो ।
आँखाको वरिपरि श्रीमतिको अनुहार नाच्न आईपुग्यो । आज तलब आउने दिन । श्रीमति उनैको बाटो कुरि राखेकी छे । यो तलब हातमा राखि दिंदा तिनी यति खुशी हुन्छिन् कि त्यो खुशीको वर्णन नै गर्न सकिन्न ।
‘मेरो पन्ध्रसय ।’ शिक्षकले सोध्यो । ‘त्यो त फच्चे भयो ।’ केटीले भनिन् ।

‘थुक्क !’ साथीको लहै लहैमा लागेर आएकोमा आफूले आफैलाई थुक्यो । घृणा व्यक्त गर्यो । ‘धन्यवाद !’ आँखा खोलिदिएकोमा त्यो केटीलाई दशअम्ला जोडेर आभार व्यक्त गर्यो र पैसा गएकोमा कुनै पछुतो दर्शाएन । कोठाबाट निस्केर साथीहरुलाई जान्छु पनि नभनी हतार हतार घरतिर दौडियो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.