~नेकी धनेन्द्र~
चट्टानहरु फोरेर
उदाउँदैन घाम
बन्जड धरती च्यातेर
आउदैनन जुनतारा
पसिना नबगाएरै
कुनै संघर्ष नगरेरै
किन चिल्ला चुपुल्ला
सुकिला मुकिला
देखिन्छन तिनका मुहार
यता,
रिठाका रुखमुनी
एकहल गोरुको
पछाडि उभिएर
भोकले बौरिएको
पेटमा धरो कसेर
पसिनाले भिजेको
मरंच्यासे जीउमा
धाप मार्दै
यतिबेला सोचिरहेछु
परिश्रमको फल
मिठो हुन्छ भन्दै
पाखुरा बजारेर
आफ्नै पौरखले
सिंचिएका यी गाला
किन दाम्रा परे होलान ?
(स्रोत : रचनाकारको ब्लगबाट सभार)