कविता : जे गरे नि हुन्छ यहाँ

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~

जे भए नि होस् भित्र खोल राम्रो भए हुन्छ यहाँ
यस्तै छ संसारको हाल मित्र समूह हाम्रो भए हुन्छ यहाँ ।

योग्यताको कदर हुन्न चाप्लुसी गर्न सके हुन्छ यहाँ
झुठो कुरा बदर हुन्न साँचो रुन्छ यहाँ ।

समुद्रमा आगो लाग्यो भने साँचो हुन्छ यहाँ
हत्या हिँसा आतङ्क त कहिले खाँचो हुन्छ यहाँ ।

अपराधी हाँसिरहन्छ सिधा साधा रुन्छ यहाँ
मान्छे ठग्न नजाने त लाजै मर्नु हुन्छ यहाँ ।

साँचो व्यवहर गर्ने भए नआए नि हुन्छ यहाँ
राम्रो काम गर्छु भन्ने धुरु-धुरु रुन्छ यहाँ

वास्तविक कुरा गर्ने आफै पङ्गु हुन्छ यहाँ
सत्यवादी युधिष्ठिरको कुरा कस्ले सुन्छ यहाँ ।

सही निसाफ हुँदै हुन्न जे गरे नि हुन्छ यहाँ
शक्ति भए जो सुकैले जे गरे नि हुन्छ यहाँ
गर्न सके जो सुकैले जे गरे नि हुन्छ यहाँ ।

– 3rd September 2011

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.