खण्ड-काव्य : लक्ष्यवेध

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

पात्रहरु :
ऋतक्रथु
महर्षि भारद्वाज
परमेश्वर (परमात्मा)
सूत्रधार
कवि

सन्दर्भ :
महर्षि भारद्वाजका शिष्य राजकुमार ऋतक्रथु आफ्नो अध्ययन समाप्तिपश्चात् गुरुकुलबाट बिदा हुने बेलामा आफ्ना गुरुका चरणमा दण्डवत् गर्दाको क्षणबाट उठान गरी उनी ‘राजर्षि ऋतक्रथु’ भई ‘लक्ष्यबेध’ प्राप्तिसम्म ।

लक्ष्यवेध
पूर्वभाग

१.
“वत्स !
उठ, अब उठ,
चरीहरुसमेत उठिसकेका छन्,
मेरो पाउमा परेर
समय नबिताऊ तिमी,
उठ,
प्रसन्न छु म,
लक्ष्यबेध प्राप्त गर ।”

२.
“लक्ष्यबेध ?!
छु म कहिल्यै लक्ष्यच्यूत र ?
लाग्दैन कहिल्यै लक्ष्यच्यूत भएझैँ,
तब यसको अर्थ के ?
छैन म च्यूत भने,
औचित्य आशिर्वादको के ?
महर्षिको वरदान — खै हो यो के ?
यसको उपादेयता के हँ ?”

३.
“के हुन् मेरा लक्ष्यहरु ?
के हुन् मेरा आकांक्षाहरु ?
आकांक्षा लक्ष्य–सापेक्ष वा
लक्ष्य आकांक्षा–सापेक्ष ?
मैले फाल्नु पर्ने काँडा
अल्झेको त छैन कतै ?
प्रत्युपकार कसैलाई गर्नु पर्नेमा
कृतघ्नता देखिएको त छैन कतै ?
वर–पिपलको छहारीमा
बस्ने/बसेको आत्मरतिमा
सिमलमुन्तिर त छैनँ म ?
(मन सिमलको भुवाझैँ उड्यो भने नि !)
र कुवाको खोजीमा
मरुस्थलतिर शनैः शनैः
लागिरहेको त छैनँ म ?”

४.
“समयका पाइलाहरु
के सक्दो हूँ रोक्न ?
अनि, यसलाई खिचेर बन्द गरिदिन
ठूलो फलामे पिँजडामा
वा चाँदीको महलमा थुन्न
सुनको सिक्रीले जकड्याएर,
अल्मल्याउन/खल्बल्याउन म सक्दिनँ
बैशाखदेखि बैशाख र
वसन्तदेखि वसन्तका क्रमहरु
(पुनरावृत् बैशाख÷वसन्त उही हो र ?)
र शैशवदेखि वृद्धतातिर घिसार्ने
ती क्षणहरु रोकिएलान्
मैले चाहँदैमा ?
(किन हुँदैन —
रातपछि बिहान ?)”

५.
“हिमाम्मे भएका छन् —
ती काला केशहरु,
कुनै पर्दा छैन ढाक्ने —
झोल्लिएका गालाहरु,
सक्दैन उकास्न कसैले —
धसिएका नयनहरु,
तन्किँदैनन् अब —
गुजुमुज्ज रेखाहरु,
कसैले तताउन पनि सक्दैन —
मेरो धमनीमा आएको चिस्यानलाई
र म मुक्त हुन पनि सक्दिनँ —
आफैलाई विषाक्त पार्ने
जीवकोषका ती जीवकेन्द्रहरुबाट ।”

६.
“वासन्ती वहारहरुले पनि,
दुःखका कहरहरुले पनि,
विचलित पार्न सक्दैनन् मलाई

म उच्छृङ्खलित हुन्नँ
म विचलित हुन्नँ
म स्खलित पनि हुन्नँ,
अनि सहरको यो भिडमा
म हराउन चाहन्नँ ।”

७.
“मलाई स्वतन्त्रता देऊ
ए मान्छेहरु !
एक्लै भड्किरहन देऊ
जङ्गल–जङ्गलमा,
स्वयम् सड्किरहन देऊ
दिवा स्वप्नमा,
चाहे सगरमाथातिर अक्कासिऊँ म
या समुद्रको पिँधमा धसिऊँ म,
अट्टालिकामा चैन थुनेर रम्न चाहन्नँ म,
जङ्गलतिर माटो चुम्न देऊ मलाई
ए मान्छेहरु !
स्वतन्त्रता देऊ मलाई ।”

लक्ष्यबेध
मध्यभाग

सन्दर्भ :
निष्कण्टक राज्यश्री भोगको अधिक् कालावधिपश्चात् बुढ्यौली र क्रमशः वैराग्यबोध एवं त्यो स्वत्व भार महसुस भएपछि निवृत्ति औ वानप्रस्थाश्रमको इच्छा । मध्यभाग उनको राज्य–गृह–त्यागपश्चात् उनी गुरु महर्षि भारद्वाजसमीप पुनः जानेक्रममा उठान ।

८.
“नाङ्गा मेरा पयरहरुमा
यस्तो अजेय शक्ति छ —
दुख्दैन – काँडामा टेके पनि,
काट्दैन – धारिला तरबार माथिका हिँडाइले पनि,
किन मेरो पाउ मात्रै,
म स्वयम् पनि अजेय बनिसकेको छु ।”

९.
“अब
त्यो दिन फर्केला ?
म यहाँका चपल मृगशावकहरुसँग
निर्बन्ध, स्वतन्त्र
डाँडाकाँडा र पखेरातिर दौडन्थेँ,
काँठकाँठमा पुग्थेँ
र डाँफे, मुनाल मात्र हैन,
कोइली र काग, सुगा र हंसहरुसित
अन्तरिक्षमा अक्कासिँदै गर्थेँ
‘कुखुरी काँ’ले उठाइएर
गाईहरुका÷बछडाहरुका बाँ बाँमा
नदीसँगै सुसाउँथेँ, घोडासँगै हिनहिनाउँथेँ,
बाघ/सिंहका गर्जनमा
सङ्गीतको मृदुताले
क¥याङकुरुङका जोडीहरुको उद्भट्याइँमा
म मख्ख पर्थेँ,
फूल र काँडा — सम,
वृक्षप्रदत्त शीतलता र गृष्मी तप्तता — सम

पानीमा पौडने माछा र विषधर डसाहा सर्पहरु — सम,
सबैमा अनन्य मैत्री थियो
त्यो दिन
अब फर्केला ?”

१०.
“आचमनियम्, पुनराचमनियम् …
पिण्डस्थाने पिण्डम् …
आज फेरि म यहीँ फर्केको छु —
आरोह–अवरोह भोगेर,
नदी–बगाइमा ढुङ्गा–ढुङ्गामा ठक्करिएर,
उकाली चढेर / ओराली झरेर,
आफ्नो अहंअघि अरुको अहं दग्ध पारेर÷
आफ्नो अहंमा स्वयम् पिल्सिएर
फर्केको छु यहीँ,
यहीँ लुट्पुटिन आइपुगेको छु
(यही हो बैशाखदेखि बैशाखको पुनरावृत्ति ?),
झझल्को छ ती दिनहरुको अझै
ममता छ ती चुहिएका समयहरुप्रति
तर खै,
खै हँ त्यो क्षण ?
रौनक ?
अनुत्साहित छु आज,
मृगशावक दौडेकै छन् /
माछाहरु पौडेकै छन्

म — निर्विकार, निरुद्देश्य

भावहरु — निराकार ।”

११.
“सगर निराश छ
नदी श्रान्त छ
प्रकृति क्लान्त छ
फूल म्लान छ

उडिरहेछन् धूलाका कणहरु,
तापमान बढिरहेछ
पत्थर टुक्रन्छ मात्रै
रुखका टुप्पामा / लताका झुप्पामा —
उदासी फलिरहेछ
(एक्लाइको पीडा !)

बस्तीतिर
तारणहारको पर्खाइमा विशृङ्खलित
अराजकता बाँच्दैछन् मान्छेहरु,
पहाड गल्दैछ
सृष्टि ढल्दैछ ।”

१२.
“फेरि तिम्रो आँगनमा छु
दैलो ढक्ढक्याउँदै छु
पूर्णता/अपूर्णता लक्ष्यबेधको —
अन्जान छु,
लक्ष्यच्यूत भएको छैन
(लोकमा यसै भनिन्छ अरे)
पुनः साष्टाङ्ग दण्डवत् !
म लक्ष्यबेध चाहन्छु,
बुझेर/नबुझेर
पर्खाइमै एउटा प्रीत साँचेको छु मैले ।”

१३.
“वत्स !
उठ, अब उठ,
जञ्जालबाट निस्केरै मात्र
‘लक्ष्यबेध’ हुँदैन/भा‘छैन,
जाऊ
‘लक्ष्यबेध’ प्राप्त गर ।”

१४.
“गुरु !
छौ निष्णात् पूणरुपेण
ज्ञानको कण–कणमा,
आज पनि तिमी मलाई
आशिर्वाद दिँदैछौ लक्ष्यबेधको,
हिजोझैँ
आज पनि म
प्रणाम गर्दैछु बिदाइको
लिएर उही शब्द–वरदान,
खै मेरो रथ कहाँ छ ?
मेरौ वैभव कहाँ छ ?
यहीँ, परिमार्जित÷परिष्कृत स्वरुपमा,
बिदाइ — बिदाइ हो
यात्रा — यात्रा हो
तर खै बाटो ?
बाटो खै ?”

१५.
“मैले एक्लै जीउनु पर्छ अब
मैले एक्लै हिँड्नु पर्छ अब
मैले एक्लै सिक्नु पर्छ अब
मैले एक्लै बुझ्नु पर्छ अब —
मसँग छैन त्यो याम
मसँग छैन त्यो आयाम
मसँग छैन त्यो सङ्ग्राम
मसँग छैन त्यो प्रणाम

म आफू, आफ्नोनिम्ति, आफै बाँच्नेछु ।”

१६.
“अहैतुक होइन यो यात्रा, किंतु
जति लक्ष्यबेध रटेपनि÷चाहेपनि÷खोजेपनि
आजसम्म न बुझेँ / न पाएँ / न भेटेँ,
परन्तु —
आजपर्यन्त म
‘लक्ष्यबेध’ रट्दैछु
‘लक्ष्यबेध’ चाहँदैछु
‘लक्ष्यबेध’ खोज्दैछु

यो यथार्थ —
‘लक्ष्य’ नै स्पष्ट नभएको यो बेला
त्यसलाई कसरी ‘बेध’ गर्ने ?”

लक्ष्यबेध
उत्तर भाग

(क)
सन्दर्भ :
पुनः लक्ष्यबेध पाउने वरदान पाएका राजर्षि ऋतक्रथु तपस्यारत ।

१७.
“कल्कलाउने पानीको मूलमा
विगतका भूलहरु पखाल्दै,
आगोको लप्काले
आफैलाई डढाउँदै,
सुसेलीका प्रतिध्वनिहरु गुम्फित पार्दै
स्वयम्मा, कठोर प्रतिरोध गर्दैछु
जाडो/गर्मी, हूरी/बतास सबैमा अविचलित
लू र हिमपात — फरक छैन,
अडिग छु —
सिद्ध पार्न उनको वाणी ।”

१८.
(सूत्रधार 🙂
उनको लक्ष्यबेधमा —
देहसुख बहिष्कृत छ,
तैमुरझैँ लुटको आँधी बनेर
क्षेयार्सलेझैँ एथेन्स डढाएर
हक्र्युलसलेझैँ आकाश उठाएर
हिटलरलेझैँ साठी लाख जनलाई खरानी पारेर

सिकन्दरझैँ दिशा–विदिशा जिताहा बनेर
लक्ष्यबेध हुँदैन,
न अर्जुनको गाण्डीव काम आउँछ
न त भीमको लौह गदा,
हिरोशिमा र नागासाकीमाझैँ अणु बमले दग्ध पार्ने शक्ति आर्जन गरे पनि
हुँदैन विजय,
रोमको डढाइसँग निर्लिप्त नीरो —
पाउँदैन लक्ष्यबेध,
कुइरोमा भट्केको कौवा
के गरोस् लक्ष्यबेध काशी धाउँदैमा
न त गुम्बा, मस्जिद, चर्च र मन्दिरबीचको विभेदक
भेटाओस् लक्ष्यबेध ।

१९.
घुमिरहेको माछो बेध गरेर
द्रौपदी–योग्य ठहरिएजस्तो होइन
न त यो सीताका लागि मापदण्ड ठहरिएको
शिवधनु तोडेजस्तो हो,
यो अर्कै हो
परम् हो
लक्ष्यबेध हो ।

२०.
भूगोलमा कैद हुँदैन
तर निर्बन्ध छटाउँदैन,
असन्तुलित धड्कँदैन
तर निर्जनतामा तड्पँदैन,
निरपेक्षताको खोलमा पलायनको खेल पनि त रचिँदैन,
यो विस्तृति हो विस्तृति ।
(सूत्रधार प्रस्थान)

२१.
“मैले —
देखेँ
चिर्ने
छोएँ ।”

२२.
“हैन,
पाए–पाएजस्तो मात्र रै‘छ
अझै म सफलताको चौघेराभित्र छैनँ
अझै म सन्तुष्टिको शिखरमा छैनँ —
व्यग्रता, अतृप्ति, तृष्णा
यो लक्ष्यबेधको अवस्था कहाँ हो र !”

२३.
(सूत्रधार 🙂
अब उनका वाणीहरुमा
असत्यको पर्दा छैन
अहंको आडम्बर छैन —
शुभकामनाको कञ्चनजङ्घा
शुभाशिषको प्रशान्त

सार्थकताको उत्थान छ ।

२४.
“दुरुह र दुःसह रहेछ यो मार्ग
असाध्य रहेछ
देह — दुर्बल
शक्ति — छिन्नभिन्न
प्राण — क्षीण,
भारद्वाज ! मेरा गुरु !!
के मैले लक्ष्य बेध गरूँला ।”

२५.
“वत्स !
उठ, अब उठ,
आशिर्वाद साथ छ मेरो
तिमीले हरेक सर्तमा जित्नै पर्छ
बरु त्याग जीवन, सिद्ध्याऊ यो देह
स्वआहुति गर
अनसन गर्नै परे पनि नतर्स
अँ हँ, च्यूत हुनुहुन्न
बरु मर, तर नडर
स्वयम्लाई बीजसरि छर
सुन तिमी
उठ !!
लक्ष्यबेध प्राप्त गर ।”

२६.
“भत्किन सक्दैनन सङ्कल्पका डीलहरु
शान्त हुँदैनन् अशान्तिका छालहरु
मैले उठ्नै पर्छ
स्पन्दनलाई मातृलाई समाहित गराएर
गरा–गरामा तरङ्गित
लक्ष्यबेध फूलाउनै/फलाउनै पर्छ ।”

२७.
“सुनायौ श्रुतिका वचनहरु
‘प्रणवो धनुः शरो ह्यात्मा ब्रह्मतल्लक्ष्यमुच्यते’
दियौ आदेश मलाई
‘तज्जपस्तदर्थभावनम्’ —
म प्रणवको निदिध्यासनमा
समाहित हुनेछु,
स्वीकृति देऊ मलाई
म कलिमा पनि अक्षुण्ण राख्न सकूँला
वानप्रस्थाश्रमको गौरवलाई
काल र समय भन्दा अघि फर्केर
रहन पनि सकूँला —
सम्बल छ तिम्रो आशिर्वाद/ तिम्रो वरदवाणी ।”

उत्तरभाग

(ज्ञ)
सन्दर्भ :
कठोर तपले बिस्तारै सफलतातर्फ उन्मूख हो कि जस्तो लागे पनि अभीष्ट–सिद्धि नभइसकेकोले केही निराशाजस्तो, तर त्यसप्रतिको अत्याग्रह र प्राप्तिको हठ कायमै रहेको र पुनरावलोकन आरम्भ गरिएको अवस्थामा ‘ज्ञ’ अर्थात् ज्ञान भागको उठान ।

२८.
“अवश्य कहीँ त्रुटि भएकै छ
कहीँ न कहीँ भ्वाङ परेकै छ÷ प्रमाद भएकै छ
नत्र किन सुनिएन पुकार ?
किन यो बहिरोपन ?
किन ?”

२९.
“आखिर मादल बज्नै पर्छ
बाँसूरीको धून सुनिनै पर्छ
त्यतिले मात्र पुग्दैन,
कुनै दिन
पञ्चैबाजा गुञ्जिनै पर्छ ।”

३०.
“वत्स,
वरम् ब्रुहि,
माग वरदान ऋतक्रथु !”

३१.
“केही चाहन्नँ म
मिलोस् इन्द्रगद्दी नै पनि,
वैकुण्ठ पनि चाहिन्न मलाई
प्रभु !
गोलोक/साकेत पनि माग्दिनँ म,
ईश्वर !
लक्ष्यबेध मात्र म चाहन्छु ।”

३२.
“जित — विषयलाई,
जित — भेदलाई,
अकार उकार मकारको
संयुक्त भावमा डुबुल्की मार नाद र बिन्दुसहितको,
बुझ एकीय स्वरुप हरिहरब्रह्माको,
ॐ बुझ,
आत्मा–परमात्माको ऐक्य साक्षात्कार गर,
त्यही हो लक्ष्यबेध ।”

३३.
(सूत्रधार 🙂
अब
उसको निम्ति हुनेछैन
उज्यालो/अँध्यारो,
उसको निम्ति हुनेछैन
स्नान–सन्ध्याको समय,
उसको निम्ति हुने छैन
आरोह/अवरोह,
कालातीत भएको छ ऊ
ज्योतिपुञ्ज भएको छ ऊ
दिव्य नादमा समाहित
अनन्त भएको छ ऊ —
लक्ष्य बेध गरेर ।

(समाप्त)

(वि.सं. २०६५ मा प्रकाशित पुस्तक “आठ खण्डकाव्यहरु आयोदधौम्यका” मा संग्रहित)
पहिलोपटक लेखिएको मिति : २०४८ पुस १८ गते बिहीबार ।
पुनर्लेखन : २०५३।४।१३ आइतबार ।
प्रकाशित मिति : वि.सं. २०६५ (सन् २००८) ।

— निर्मलमणि अधिकारी आयोदधौम्य, पीएच.डी.
कीर्तिपुरस्थित डेरा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in खण्ड-काव्य and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.