~कृष्ण बाउसे~
-१-
हदै नाघ्यौ , अब मित्रताको वाटिका कसरी सजाउनु
अँगालो हालेर घाँटी निचोर्नेसँग कसरी मीत लगाउनु
तर्दातर्दैको तुइन काटेर मान्छे कालीमा बगाइदियौ नि पापी !
तिमी बौलाएकै हौ , तर अब कसरी मनलाई बुझाउनु !
(एक निहत्था नेपाली युवा तुइनबाट महाकाली नदि तरिरहेको बेला भारतीय पक्षले तुइन काटिदिएको पृष्ठभुमिमा लेखिएको मुक्तक।)
-२-
उसले आफ्नो दम्भलाई कुनैदिन अवश्य त्याग्नेछ
र मित्रतालाई आफ्नो मन्दिरमा सजाएर राख्नेछ
मित्रताको उपहास गर्नेलाई औँलो देखाएरै भन्दैछु-
यस अपराधीलाई कुनैदिन अवश्य ग्लानी लाग्नेछ।
-३-
नत्र उसलाई मुखै देखाउन नहुनेगरी बात लाग्नेछ
उसैको सुरक्षामा खटेको गोर्खालीको श्राप लाग्नेछ
मात्र हामीले उस्को चेतना खुल्नेगरी शंखघोष गर्नुपर्यो
हाम्रो मिचेको भूमि उसैले फिर्ता गर्ने प्रस्ताव राख्नेछ ।
( कालापानी , लिपुलेक र लिम्पियाधुरासम्मैको कुटी याङ्दी पूर्वको सम्पूर्ण भूमि नेपालकै हो भनेर भारतीय गजेट, तत्कालीन ब्रिटिश-इन्डिया सरकारको पत्र , पुराना नक्सा, नेपालले भूमिकर उठाएको निस्सा, जनगणना गराएको प्रणाम र स्थानीयको भनाइले प्रमाणित गर्ने भएपनि भारत सरकारले सो भूमिलाई अतिक्रमण गरेको पृष्ठभुमिमा रचित मुक्तकहरू । )
-कृष्ण बाउसे
-सुनसरी, हालः काठमाडौँ