~राज अनुराग~
दाङ्ग जिल्लाको घोराहीमा रहँदा धेरै रमाईला र अविश्मरणीय क्षणहरु बिदाउँदै समय बित्दै थियो । मेरो कार्यालयको काम दैनिक कम्प्युटर अगाडी बसेर काम गर्नुपर्ने त्यही भएर होला आँखामा केहि समस्या देखियो । त्यस समयमा दाङ्गमा खासै स्तरीय आँखा अस्पताल थिएन । तापनि राप्ति अञ्चल आँखा अस्पतालको रुपमा स्थापना भएको अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने साथीहरुको सल्लाह बमोजिम आँखा जाँच गराउन तुल्सिपुर स्थित राप्ति आँखा अस्पताल जाने निर्णय गरें ।
घोराहीबाट तुल्सिपुरसम्म पुगे पछि तल्सिपुरबाट करिव पाँच कि.मि. टाढा रक्षाचौर भन्ने स्थानमा रहेछ अस्पताल, काठले बनेको भवन त्यति ठूलो नभए पनि सेवा सुविधाको हिसावले राम्रो नै रहेछ ।आँखा चेक गराउने टिकट लिएर म लाइनमा बसे त्यसै क्रममा एक जना नर्स (सेतो एप्रोन लगाएकी महिला) ले नाम बोलाउदै थिइन तर मेरो नाम आउने बेला नभएकोले मैले खासै ध्यान दिएको थिइन । एक्कासी मेरो नाम उच्चारण भए पछि झसङ्ग हुँदै उठे र आवाज तर्फ केन्द्रित भए । उनले मेरो टिकटमा केहि लेख्दै थिइन् म नजिकै पुगे,
बस्नुस्, अगाडिको कुर्सी देखाउदै भनिन्
मैले धन्यवाद भन्दै कुर्सीमा बसेँ ।
मेरो उमेर लगायत आवश्यक विवरण लिएर मेरो ब्लड प्रेसर लिन थाले पछि मैले उनको अनुहार तर्फ हेर्ने अवसर पाँए । मेरो हेराइ सँगै उनले पनि मेरो अनुहारमा हेरिन् दुवैको आँखा जुध्यो उनले केहि लजाएको जस्तो गरी सर कहाँबाट आउनु भयो भनेर सोधिन्, मैले घोराही भन्ने जवाफ दिएँ ।
उनको सुन्दरतामा म एकोहोरिए जस्तो भएको रहेछु । एउटी सुन्दर युवतीको कोमल हातको स्पर्शको………….. ब्लड प्रसर नाप्दा उनको हातले भएको स्पर्शको तरङ्ग मेरो शरिर भरी फैलियो र उनको अनुहारको सुन्दरताले म पहिलो पटक प्रभावित भएको अनुभव गरे ।उनले म अलिक टाढाबाट आएको सम्झेर होला आफैले महत्व दिएर सहयोग गरिन् । मलाई पनि लागेको थियो उनैले सबै उपचार गर्दिए हुन्थ्यो । उनको सामान्य चेकअप पछि रिपोर्ट सहित डाक्टरकोमा पठाइन् र नजिकै बसेर हेर्दै थिईन् । सबै चेकअप सकियो समस्या खासै ठूलो रहेनछ औषधी लगाउने सल्लाह भयो । औषधी वितरण कक्ष पनि नजिकै रहेछ उनैले देखाइन् गएर औषधी लिए ।तर मलाई जिवनमा पहिलो पटक कसैसँग नजिक हुन मन लागेको महसुस भएको थियो, त्यहि कुनै बहनाले बसिरहन मन लागेको थियो तर पनि बाध्यता आफ्नो अफिस अर्कै ठाउँमा भएकोले ………………… महसुस गर्दै एक पटक धन्यवाद त भन्नु नै पर्यो भनेर नजिक गएँ । धन्यवाद सिस्टर, उनले पनि इटस् ओके भनिन् फेरी समस्या पर्यो भने आउनुहोला । मैले पनि ओके भने र म राज भने उनले हाँस्दै मैले थाहा पाएँ भनिन् म अच्चम्मित भएँ उनले मेरो नाम कसरी याद गरेकी रहिछन्, उनैले पेस्कृप्सनबाट भने पछि म झसङ्ग भएँ ।
‘एनी वे’ म प्रतिक्षा भन्दै हात मिलाइन् मैले भने वाई …।
यो सञ्चारको विकास र सामाजिक सञ्जालको शुरुवातको क्रम र गति पनि अलिक छिटो भईदिएको भए प्रतिक्षासँगको मेरी सम्बन्धको गति पनि त्यहि रफ्तारमा अगाडि बढ्दै जाने थियो होला । किनभने आज सामाजिक सञ्चालको क्रियाकलापले नै मानिसका सम्बन्ध जोड्ने र तोड्ने घटना दिन प्रतिदिन घटिरहेको पाइन्छ ।
करिव साँझ परिसकेको थियो घोराही पुग्दा, तर मेरो मनले तुल्सीपुर मै बास खोज्दै थियो । मनको प्रतिबिम्बमा प्रतिक्षा कै झझल्को आउन थाल्यो । कलेज जिवनमा धेरै केटी साथीहरुसँग हिमखिम हुन्थ्यो तर त्यस्तो तवरले प्रभावित भएको थिइन । केटीहरुले मेरो बारेमा प्रशंसा गरेर प्रभावित बनाउन पनि खोज्थे मलाई तर म खासै वास्ता गर्दिनथे । तर मेरो लागि प्रतिक्षा जिवनको अर्कै प्रभाव र सुन्दरता लिएर मेरो मनमा खास कुराको आभास दिलाउन मेरो समिपमा आएको मलाई महसुस हुन थाल्यो । हुन त प्रत्येक प्राणीको स्वभाव नै विपरित लिङ्गी प्रतिको हुने आकर्षण हो तापनि त्यस्ता अवसर अनेक थिए । जिवनसाथी रोज्न पनि मैले घरपरिवारलाई जिम्मा दिएको वा मागी विवाह स्विकार्ने निर्णयमा थिएँ तर मेरो मनले नयाँ घटना भोग्दै थियो । सम्झिन्छु जिवनमा यस्ता मोडहरु आउँछन् केहि त्यस पछि खुसी देखा पर्छन् त कहि दुःख र पिँडा मात्र देखिन्छ । यदि जिवनको साथमा दुःख नहुँदो हो त खुसीको महत्व हुदैनथ्यो होला । त्यस्तै मोडहरुमा कतै दुःखमा पनि जिवनलाई सम्हाल्दै काँडामा पनि टेकेर हिड्न सक्नु पर्दोरहेछ त्यो मैले आफ्नै जिवनमा भोगेको थिएँ ।बाहिरबाट हेर्दा कसैले नदेख्ने र देखाउन पनि नसक्ने पिंडालाइ दवाएर ओठले मुस्कान प्रदर्शन गर्नु जिवनमा कति पिंडादायक हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ ।
मेरो संघर्षमय जिवनको यहि कथामा मेरो मनले कतैबाट कसलाई सँगै हिड्न आव्हान गर्ने जमर्को गर्दै थियो । कार्यालयको व्यस्थता साथै आँखाको समस्याले बिश्राम गर्नुपर्ने बाध्यताले फुर्सदको समय धेरै कम थियो त्यतैले पनि प्रतिक्षालाई सम्झिनको लागि मलाई समय थिएन तापनि मेरो मानसपटलमा उनको स्वरुप झल्किरहन्थ्यो । एक हप्ता वित्यो मेरो आँखामा केहि सुधार आयो तापनि एक पटक चेक गराउन जाने निर्णय गरे । मेरो मुख्य उद्धेश्य अर्कै थियो तर पनि आँखा चेकअप वहाना भयो ।
अस्पत्तालमा पुग्नासाथ मेरो आँखाले प्रतिक्षालाई नै खोज्दै थियो । उनि कतै थिईनन् ।मैले नाम दर्ता गरे त्यहाँ अर्कै सिस्टर थिईन् मलाई नरमाइलो महसुस भयो । सोध्न मन थियो प्रतिक्षाजी खोइ भनेर तर सोध्न आँट आएन । डाक्टरको चेकअप सकियो औषधी थप गर्ने सुधार हुदैछ रे । मलाई आँखा भन्दा पनि अर्कै कुरामा ध्यान थियो । बाहिर आएपछि जसरी नि सिस्टरसँग सोध्छु भन्ने सोचेको थिए । बिरामीको क्यू सकिएछ म चेकअपमा अन्तिम परेछु उनि कतै हिँडिसकिछिन् ।पुनः निराश हुँदै अब के गर्ने ? मन दोधारमा भयो । केहि समय प्रतिक्षालयमा बसेर सोच्न थाले । जाउँ त जिवनको निरास क्षणलाई कसरी सम्हालेर हिंडु नजाउँ त के बहानाले बसुँ । आखिरमा जति कुरे पनि उनि आउने कुनै टुङ्गो थिएन । करिव ३ बजेको समय थियो मलाई फर्किन ढिलो हुन्थ्यो त्यसैले फर्किने निर्णय गरेर हस्पिटलबाट हिँडे ।
मानिसको जुन इच्छा र चाहना मन देखि नै निस्वार्थ भावले गरेको हुन्छ त्यो अवश्य पुरा हुन्छ भने झै म गेट बाहिर मात्र पुगेको थिएँ कतैबाट नमस्ते भनेको आवाज सुने आवाज परिचित थियो । अगाडि हेरे प्रतिक्षा हात जोडेर उभिएकी थिइन् । मेरो अनुहारको रुपरङ्गले तत्कालै काँचुली फेर्यो ए ! प्रतिक्षाजी अनि नमस्ते अलिक सुहाएन भन्दै हात अगाडि बढाएँ ।उनले हात दिइन हातको मोलायम स्पर्शले प्रेमभाव महसुस गरी मनलाइ शितलता प्रदान गर्दै सोधेँ किन भर्खर प्रतिक्षाजी ? आज मेरो डिउटी चार बजेबाट हो भन्दै क्यान्टिन देखाउँदै एकछिन बसौ भनिन् मेरो मनले जे चाहेको त्यहि भयो । हाम्रो सम्बन्ध नर्स र बिरामीको भन्दा केहि फरक रुपमा फेलिदै थियो । खाजाको खासै व्यबस्था रहेनछ टेबुलमा कोल्ड ड्रिङ्गस आइपुग्यो । मलाई गर्मी समयको शितलता त्यो कोल्ड ड्रिङ्गसले भन्दा प्रतिक्षासँगको सामिप्यताले बढी दिएको थियो । म सोच्दै थिए टेलिफोन नं. माग्छु पत्राचारको ठेगाना माग्छु भनेर । उनको घर तुल्सिपुर नै रहेछ बि.एस.सी. नर्सिङ्गको तयारी गर्दै रहिछन् त्यो कुरा सामान्य कुराकानीबाट थाहा पाएँ । तर अझ पनि मैले फोन नं. माग्ने आँट गर्न सकिन पर्शनल फोन हुदैन, त्यो पनि घरमा नहुन सक्छ । यदि किन भनेर प्रश्न गरिन् भने के जवाफ दिने आदि तर्कले म पछाडि हटेँ अन्तिममा वाई भनेर म बाटो लागे ।
अफिसमा साथीहरुले मेरो माया बारेमा थाहा पाएका थिएनन् तर मेरो व्यवहारमा आएको परिवर्तनले एक दिन सँगै काम गर्ने विनयले सोध्नु भयो तपाईलाइ के भयो ? आजकल खाली एक्लै केहि सोचेर बसे जस्तो देखिनुहुन्छ केहि समस्या परेको भए हामीलाई भन्नुहोस् है । मैले केहि छैन भने हुन पनि म फुर्सद भयो कि प्रतिक्षा कै सम्झनामा हुन्थे उनैलाई सम्झेर बस्दा म ध्यानमा बसेको जस्तो देखिन्थे होला त्यसैले सोध्नु स्वभाविक थियो ।
मेरो आँखाको समस्या हट्दै गयो । मनमा सोच्थे फेरी आँखाको समस्या लिएर जान पाए नि हुन्थ्यो । मानिसको मन पनि कस्तो स्वार्थी कुनै समयमा त बिरामी भईरहन पाए हुन्थ्यो भन्ने चाहना हुने कुनै बेला चाहि छिटो आराम होस् भन्ने भगवानसँग प्रार्थना गर्ने । यस्तै फरक चाहनाले गर्दा त मानिस स्वार्थी भएको होला भनेर सोच्थे ।
समय बत्दै गयो करिव १ महिना बितेछ । त्यबेलासम्म मैले प्रतिक्षालाई सम्झन बाहेक केहि गर्न सकिन अफिसको व्यस्थता भेट्न जानको लागि सिर्जना गर्न नसकेको बहाना मेरो वाधक थियो । एक महिनाको अवधिमा कति परिवर्तनहरु आए, दिन रात कति फेरिए बार गते हुँदै महिना फेरियो तर मेरो कल्पना र सपना फेरिएन प्रतिक्षा नै भइरहिन् । जसरी भएपनि एक पटक भेट्न जाने र सम्पर्क नं. र ठेगाना लिएर आउने निधो गरे मेरो फेरी बहाना भयो आँखाको फलोअप चेकअप गर्ने ।
घोराहीबाट गाडीमा हिडे मलाई त्यो दिन तुल्सीपुरसम्मको यात्रा धेरै लामो भएको महशुस भयो । किन ? त्यस्तो भइरहेछ थाहा छैन सायद उनलाई भेट्ने तिव्र चाहना लामो करिव १ महिनाको अवधि पछि फेरी पुरा हुँदै थियो । मैले उनिसँगका कति कल्पनाहरु सजाएको थिए ति तत्काल पुरा नभए पनि सम्बन्ध झाँगिदै गयो भने अवश्य पुरा हुन्छ भनेर मेरो मनले सोचेको थियो ।त्यतिमात्र होइन मेरो मनले त उनलाई जिवनसाथी स्वीकार्ने जमर्को गर्दै थियँ । मेरो मनलाई हतार नगर घरमा पनि सहमति गराउनु छ भन्दै थममपाउँथे । मैले स्वीकारेको केटी घरमा नस्वीकार्ने त कुरै थिएन तापनि केहि कुराहरु चाहि ख्याल गर्नुपर्ने हुन्थ्यो । मलाई उनको थर पनि थाहा थिएन कसरी हो यो मनमा बिराजमान हुन आएकी थिईन् । जस्तोसुकै परिस्थिती आए पनि आज टुङ्गो लगाउने साथै अन्तिममा “आई लभ यु” भन्दिन्छु भनेर सोचेको थिए । तुल्सीपुर पुगे अव अस्पताल तर्फको बाटो लाग्नु थियो । नजिकैबाट बगेको खोलाको सुसेलीलाई पछ्याउँदै म अस्पत्तालसम्म पुगें ।
अस्पताल पुगेर यताउता हेरे त्याहाँको दृश्य उहि अन्य मानिसहरु उनै हामीसँगै बसेर कोल्ड ड्रिङ्गस खाएको बेञ्च र टेबुल उस्तै ।मौसम परिवर्तनको कारणले होला आँखा सम्बन्धी भाईरल फैलिएको थियो त्यसैले होला बिरामीको चाप अलिक बढेको थियो । मेरो नजर अन्तै डुल्दै थियो । बिरामीको चाप भएको बेला उनको फुर्सद हुदैन होला कसरी समय मिलाउने, फेरी सोच्छु उनलाई देख्न मात्र पाए भने जति समय पनि कुर्ने प्रेरणा हुनेथियो । कि आज पनि उनको डिउटी परेको छैन ? डिउटी नभए पनि कति बजेको डिउटी छ त्यतिबेलासम्म पर्खिन्छु भन्दै अनेक तर्कना गर्दै पालो पर्खिएर बसेको थिए । त्यो भन्दा अरु विकल्प पनि थिएन बिरामीको भिडलाई उछिनेर डाक्टरको कोठामा च्याउन पनि मलाई सिभिलाईजेसनले दिदैनथ्यो । व्यग्रताको प्रतिक्षा पछि दर्तामा पुगें त्यहां आज पनि अर्कै सिस्टर मेरो मनलाई सम्हाल्न गाह्रो भयो भित्र पो कतै छिन कि भनेर यताउता हेर्छु त्यो वार्डमा मात्र २ जना सिस्टर र १ जना डाक्टर हुन्थयो त्यहाँ मेरी प्रतिक्षा कतै थिइनन् । मेरा लागि डाक्टरको परीक्षणले खासै महत्व पाएन किनकी मेरो आँखामा खासै समस्या थिएन समस्या थियो त मनमा मात्र ।
बाहिर आए पछि यताउता आँखा डुलाए प्रतिक्षा कै खोजीमा खोई कता गइन मनले अनुमान गर्नै सकेको थिएन । अघिल्लो पटक आउँदा भेट भए जस्तै भेट हुन्छ की भन्ने मनमा आशा छदै थियो । त्यहि क्षण दोहर्याउने क्रममा प्रतिक्षालयको फलैचालाई साथी मान्दै प्रतिक्षाको प्रतिक्षामा केहि समय बिताउने निधो गरे । बिश्रामको लागि बसेको तर म भित्र छट्पटाहट थियो, मन चञ्चल भएको थियो, शरिर थाकेको थियो मानौ म कुनै लामो उकालीको यात्रा पछिको बिश्राममा परे झै । घडीमा समयको रफ्तार निरन्तर थियो । म त्यहि बसेर निरन्तर सम्हालिन असमर्थ थिए । चार बज्न लाग्यो अब उनी आउने कुनै संकेत थिएन चार बजे पछि डिउटी सम्हाल्न अर्कै सिस्टरको आगमन भए जस्तो लाग्यो किनभने नयाँ सिस्टर आएर यतायता गर्दै थिईन् । त्यहि नयाँ अनुहारलाई प्रतिक्षाको बारेमा सोध्छु भन्ने निर्णय गरे ।
नजिकै गएँ एस्क्युज मि,
एयस, भन्नुस्,
प्रतिक्षाजी……… म त्यसै अक्मकाए,
ए ! प्रतिक्षाजीलाई सोध्नु भएको ? तपाई उहाँको को हो ?
मलाई उत्तर दिन अप्ठयारो भयो के भन्ने तै पनि गलत अर्थ नलाग्ने साइनो छनौट गरे त्यसपछि साथी भने ।
ए उहाँलाई भेट्न आउनु भएको ? झन धर्मसंकट प्रश्न माथि प्रश्न, होईन चेकअपको लागि आएको उहाँसग भेट गर्न मन थियो भेट भएन त्यहि भएर ।
ए ! उहाँ त अहिले हुनुहुन्न १५ दिन भयो यहाँबाट छाड्नु भएको म उहाँको ठाउँमा ज्वाइन भएको हो । उहाँ बि.एस.सी. नर्सिङ्गको लागि कोहलपुर मेडिकल कलेजमा नाम निस्किएर जानु भयो उतै बस्नुहुन्छ । म छाँगाबाट खसेजस्तै भएँ । सायद मेरो मुटुको तरङ्गले जमिनमा छुने भए महाभुकम्प जान्थ्यो होला । यो नियती पनि कस्तो भेट गरायो, सामिप्यता बढायो, छुटाउने बेलामा केहि संकेत नै नदेखाइ छुटाउँछ । उनको लागि भविष्यसँग जोडिएको करियरको सम्भावना खुलेको थियो मेरो भने जिवनको अर्थ नै अन्त्य भएको आभाष भयो । सपना सजाय, रहर जगाएँ तर त्यसको अनुभव त्यसै हरायो । के गर्ने सायद मेरो अनुहारको रुपरङ्गले पनि त्यसलाई प्रतिविम्वित गर्दै थियो होला । मैले धन्यवाद, सिस्टर भनेर फर्किए ।
म घोराही फर्किए बाटोमा हिड्दा मेरा पाईलाले जमिनमा टेकेको जस्तो भएन देखेका दृश्यहरु केहि ख्याल नभई हिड्दै थिए । सोचे जिवनको रङ्ग भनेकै बिछोड पनि त हो नि सँधै मिलन मात्र हुने भए त्यसको महत्व नै घट्थ्यो होला । मिलनमा उत्सव मनाउने चलन पनि त हट्थ्यो होला । मैले प्रतिक्षासँग भेट गर्ने कुनै माध्यम थिएन । घर देखेको थिएन घर खोज्दै जाने नाता सम्बन्ध पनि बनेको थिएन । मेडिकल कलेज गएर सोधौ भने अस्पतालमा जाँदा बिरामीको बहानामा जान्थे त्यहाँ के भनेर जाने फेरी उनले स्वीकारर्लिन भन्नेमा पनि शंका थियो । यस्तै कुरा सोच्दै म घोराही पुगे ।
समयले मानिसलाई सिकाउँदै जान्छ । मान्छले कि पढेर जान्दछ कि परेर भन्ने उखान नै छ । त्यहि भएर परिस्थितीले पनि त्यसलाई स्वीकार्दो रहेछ । अफिसमा मेरो सरुवाको पत्र आएछ । सरुवा काठमाडौ भएको रहेछ । दाङ्गको बसाइ अझै लामो भएको भए मेरो समय बित्न कठिन हुन सक्थ्यो । त्यहाँ भेटिएको प्रतिक्षा मेरो जिवनमा झझल्कोको रुपमा रहने आभाष गरे । त्यहाँ रहँदाका अनेकौ अनुभवलाई संगालेर फेरी काठमाडौमा अर्कै अफिस सम्हाल्नु थियो । त्यस्तै जिवनका अनेक रङ्गहरु समेटेर आरोह अवरोहलाई छिचोल्दै अर्कै प्रतिक्षाको आगमनलाई स्वीकार्न प्रतिक्षा गर्दै जानु थियो । म त्यतै अगाडि बढे ////
राजकुमार बास्तोला “राज अनुराग”
इनरुवा न पा ५ सुनसरी
हालः काठमाडौ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )