कविता : परिवर्तनको लालीमा

~कृष्ण बाउसे~

मैले एउटा सपना देखे
डाँडाका चुली – चुलीमा
गीत गाउँदैगरेको देखें।
एउटा हातमा उषाको लाली बोकेर
अर्को हातमा पुर्नेको जून च्यापेकी
भर्खरै फक्रेको फूलजस्तै देखिने
एउटी नव -युवतीलाई देखें।

मैले एउटा रचना देखें।

बिरानो ठाउमा उत्साहका साथ
साहसको रातो दोसल्ला ओढेर आउने बेहुलीजस्तै
कतैबाट कोही आउँदैगरेको देखें
उज्यालोले धुरीबाट चिहाउदैगरेको देखें ।

मैले एउटा सिर्जना देखें।

झुप्रा-झाप्रीले आपसमा माया लाउँदैगरेको देखें
मनले मनमा ठाउँपाउदै गरेको देखें।
ए समानताको सन्देश बाँड्दै आएको हावा !
तिमी आउन थालेदेखि
मैले मेरो गाउँको मुहारमा
परिवर्तनको सुन्दर लालीमा छाउँदैगरेको देखेँ ।

( २०३५, धरान / धरणी, २०४०)
पहिलो संस्करणमा “दृष्टि ” शीर्षकमा प्रकाशित

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.