कथा : अनौठो भेट

~राकेश कार्की~

पहाड छिचोलेर क्रीक (खोल्से नदी) बगिरहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ थियो। त्यो खोल्से नदीलाई लस्ट हिल क्रीक भन्दथे। त्यो पहाडलाई चाहीँ लस्ट हिल माउन्टेन भन्दथे। त्यो पहाडको नाम किन लस्टहिल भयो होला। पहाड पनि कसरी हरायो होला भनेर कर्णलाई अचम्म लाग्दथ्यो। त्यसबेला पहाडमात्र हरायो कि यहाँ भएका मानिस, जनावर, चराचुरूङ्गी र जलचर सबै हरायो होला भन्ने कल्पना आउथ्यो उसलाई। जे होस पहाड बिशाल र अनौठो थियो। बिकाशको युगमा चाहीँ ठाउँ ठाउँमा घर र बस्तीहरू, स्कूलकलेज, सडक, बिजुली र एउटा शहरलाई आवश्यक पर्ने सबै उपभोगयुक्त चिजबिजले र साधनहरुले सजिसजाउ भइसकेको थियो लस्ट हिल माउन्टेन।

कर्णलाई बिदेश जान त मन थिएन आफ्नो स्वर्गभन्दा पनि प्यारो देश छोडेर। तर उसको साथी घनश्यामले “लु भाग्य जाँचौँ” भनि जिस्किएर संगसंगै भरेको डिभि लटरीले कर्णलाई जाउँ कि नजाउँ गर्दागर्दै त्यही लस्ट हिल माउन्टेन भन्ने शहरमा पुर्यायो। हुन त त्यो पहाड गाउँजस्तो, जनघन्त्व पनि कम भएको, चहलपहल पनि कम भएको, सानो सानो झुरूप्प झुरुप्प घरहरुको समुह अलि टाढा टाढा नै थियो। तर पनि आधुनिक युगको सबै सरसुबिधा उपलब्ध भएकोले लस्ट हिल माउन्टेन शहरमा नै गनिन्थ्यो।

त्यहाँ कर्णले एउटा स्कूलमा हिसाबको शिक्षकको जागिर पायो। नौलो ठाउँ नौलो परिवेश र संस्कारमा घुलमिल गर्न शुरू शुरुमा गार्हो भएपनि ऊ बिस्तारै घुलमिल हुँदै जानथाल्यो।

लस्टहिल क्रीकको दायाँ र बायाँ हिँडडुल गर्ने, जगिङ गर्ने र साइकिलिङ गर्नेलाई बिचमा सुन्तले रङ्गको स्ट्राइपले मार्किङ लगाएर आउने र जाने छ फुटे पिचबाटो छुट्याइएको थियो। कर्ण पनि कहिले बिहान कहिले बेलुकीतिर यसो त्यो बाटोमा टहलिन जान्थ्यो। टहलिदा टहलिदै उसको सोचमा आउथ्यो कि उसको जस्तै भाषा बोल्ने मानिस भेटिए देखि कति मज्जाले मन फुकाएर गफ लाउनहुन्थ्यो। अरूको भाषा बोल्नु पर्दा त मन खोलेर बोल्ननै कति शब्दहरु र नमिलेको उच्चारणले अबरोध पुर्याउने।

एकदिन कर्ण अलि बिहानै झिसमिसैमा जगिङ गर्न भनेर लस्टहिल क्रीकतिर लाग्यो। बिस्तारै बिस्तारै पहाडलाई नै हुस्सुले ढाकिरहेको थियो। पर परको बस्तु देखिदैन थियो। अलि बिहानै भएर होला सुनसान थियो। कोही मान्छे पनि हिँडेको या कुदेको देखिदैन थियो। यत्तिकैमा दुई माइल जति टाढा बिस्तारै कुदेपछि परबाट एउटा मानिसको छायाँजस्तो बिस्तारै कुद्दै आएको देखियो। नजिक आइपुगेर पास हुँदा चाहिँ त्यो मानिसले यसो हात उठायो। कर्णले पनि प्रतिउत्तरमा हात उठायो। यहाँ जो कोही पनि क्रीकको बाटोमा जगिङ गर्दा वा हिँडदा हात उठाउने चलन नै जस्तो थियो। अरूबेला त त्यो मानिस देखिदैन थियो। तर जब कर्ण बिहानै घाम झुल्कुनु भन्दा अघि जगिङ गर्न निस्कन्थ्यो त्यो मानिस देखिन थाल्यो। पहिले पहिले त हात मात्र उठाउथ्यो। बिस्तारै मुस्काएर अभिवादन गर्न थाल्यो। धेरै पटक पछि ‘हाई’ भन्न थाल्यो। यो सबै यस ठाउँको नियति जस्तै नै हो। अरूबेला पनि हिँडदा कुद्दा कोही मुस्काएर कोही ‘हेलो’ ‘हाई’ भनेर अभिवादन गर्दथे।

एकदिन साह्रै नै जाडो थियो त्यसैले कर्ण जगिङ नगरेर खाली हिँडने मात्र सुर कसेर सखारै लस्टहिल क्रीकतिर लाग्यो। जाडो छेल्नलाई गम्म लुगा लगाएर नेपाली ढाका टोपी पनि टाउकोमा ढल्काएको थियो। यत्तिकैमा निकै पर पुगेपछि सधैँ भेटिने त्यही मानिस फेरी भेटियो।

“ओहो! तपाईँ नेपाली हो? मलाई पहिले देखि नै त्यस्तै लागेको थियो। मेरो नाम जोन हो।“ भन्दै एकदम हँसिलो अनुहार लगाएर त्यो मानिस नजिकै हात मिलाउन आयो। नेपाली ढाका टोपी लगाएको देखेर होला उसले नेपाली भन्ने थाहा पाईहाल्यो।

एक्कासी अग्लो गोरो मान्छेले फरर नेपाली बोलेको देखेर कर्ण शुरुमा त तिनचित खायो। यस्तो नेपाली नै नभेटिने लस्टहिल माउन्टेन जस्तो ठाउँमा आफ्नो नेपाली भाषा बोल्ने मान्छे भेटिदा त उसलाई “ढुङ्गा खोज्दा देउता भेटियो” भने झैँ औधि नै खुसी लाग्यो। हर्षित हुँदै कर्णले उसंग हात मिलाउदै भन्यो, “मेरो नाम कर्ण हो। तपाईँसंग भेट हुँदा मलाई त यस्तो अचम्म लागेर बिश्वास नै भइरहेको छैन कि कसरी अमेरिकन भएर पनि नेपाली यति प्रष्ट बोल्नुभएको। कहाँ सिक्नु भो।“

“अचम्म मान्नुपर्ने केही कुरा पनि छैन। म नेपालमा हिमाल पर्वतारोही थिएँ। भनुँन त्यहाँको हिमाल र हिउँ, हिमाल वरिपरिको ठाउँहरु र त्यहाँका बासिन्दाहरुसंग त मेरो असाध्यै नजिकको सम्बन्ध छ। कुनैबेला मेरो त नेपाल पानी पँधेरो जस्तै भएको थियो।“

लस्टहिल जस्तो ठाउँमा पनि आफ्नै भाषा बोल्ने मान्छे भेटदा कर्ण साह्रै नै दङ्ग पर्यो। दुबैको सोख र इन्टरेष्ट पनि मिल्दोजुल्दो नै रहेछ। दुबैले भुटेको मकै र गुन्द्रुक साँधेको त मुखैमा झुण्डिएको कुरा पनि पहिलो भेटमै गर्न भ्याए। कतिदिन देखि न्यास्रिएर होमसिक भएको कर्णको मन हलुङ्गो हुन थालेको थियो।

त्यसपछि उनीहरुको भेटघाट बाक्लिन थाल्यो। दुबैको चाख टेनिस खेल्ने पनि भएकोले कहिले काहीँ टेनिस पनि खेल्न थाले। तर जे जति पनि क्रियाकलाप हुन्थ्यो त्यो सबै घाम उदाउनु भन्दा अघि नै हुने गर्दथ्यो। कर्णले अरुबेला अरू प्रोगाम राख्न खोज्दा जोन भन्ने गर्दथ्यो, “मेरो मीत्र कर्ण, कृपया माइन्ड नगर्नुहोला, म साह्रै व्यस्त भएकोले अरुबेला मलाई फुर्सद नै हुदैन।“ जे होस जोन कर्णको एउटा असल मित्र बनेको थियो।

कर्ण नेपाल जान लागेको थियो। उसले सम्झ्यो दुई बर्ष पो बितिसके छ। बुवाआमा, हजुरबुवाहजुरमुवा, गाउँघर र साथीसंगी भएको ठाउँ जान पाउँदा कसलाई पो हर्ष नलाग्ला। उसले जोनलाई पनि नेपाल जाने कुरा सुनायो। जोन पनि अति नै प्रसन्न भयो।

“कर्ण, मैले नाम्चेबजारको डाँडोमा एउटा पर्वतारोहण तालिम केन्द्र खोल्न त्यस केन्द्रको एउटा बोर्ड बनाएको थिएँ। तालिमबाट प्राप्त आम्दानीले तालिमकेन्द्र संचालन एवं सगरमाथा क्षेत्र सरसफाइ गरी सर्वोच्च शिखर र त्यस वरिपरिको वातावरण सफा र स्वास्थ्यकर राख्ने लक्ष राखिएको थियो। बोर्डको अध्यक्षलाई म एउटा पत्र पठाउँछु। लगिदिनुस है?”

“ए हो र। अवश्य, म लगिदिहाल्छु नि। कति खुसीको कुरो। यही निहुँमा म त्यो तालिम केन्द्र पनि देख्न पाउँछु।“

“तालिम केन्द्र त बनाउने कुरो भएको थियो। तर मलाई थाहा छैन के भयो भनेर।“

“म पत्र पुर्याएर खबर लिएर आइहाल्छु नि।“ कर्णले उत्साहित हुँदै भन्यो।

सिङ्गापुर एयरलाइन्सबाट उडदै गरेको कर्णले ल्यान्डिङ गर्नु अगाडि हिमशृङ्खलाको लस्कर प्लेनको झ्यालबाट निहाल्यो। बिश्वको सर्वोच्च शिखर सगरमाथालाई पहिल्याउन उसलाई धेरै समय लागेन। मनमनै भन्यो,”मलाई त्यहिँ पुगेर जोनको त्यो पत्र पुर्याउनु छ।“

काठमाण्डौँमा रमाउदा रमाउदै कर्ण एकदिन नाम्चेबजार पुग्यो। सबभन्दा जवान, सबभन्दा सुन्दर र बिश्वकै अग्लो सगरमाथाको काखमा अवस्थित त्यो बजार साँच्चै नै स्वर्गकै एक टुक्रा जस्तो लाग्दथ्यो।

खाममा लेखिएको ठेगाना सोध्दै खोज्दै तालिम केन्द्रको अध्यक्षको घरमा उ पुग्यो।
अध्यक्षको नाम सोनाम रहेछ। सोनाम असाध्य असल व्यक्ति रहेछन्। मधुरो स्वरले बोल्ने। समाजसेवाको कार्यमा त्यो पुरै क्षेत्रको भलाइमा दिनरात लगनसाथ खटिरहने। सोनामसंग भलाकुसारी गरेपछि कर्णलाई यो सबै थाहा भएर उ सोनामसंग अत्यन्तै प्रभावित भयो। तालिमकेन्द्रको निर्माण प्रकिया बढिरहेको पनि थाहाभयो। अध्यक्षज्यूको सक्रियतामा त्यस क्षेत्रको बिकाश निर्माणका धेरै कार्यहरु संपन्न भएकारहेछन्।

जोनको बारेमा बेलिबिस्तार लगाएर जोनले पठाएको पत्र सोनामको हातमा दियो। सोनामले एकदमै आश्चर्ययचकित भएर खाम हेर्नथाल्यो। खाम खाली थियो।
“खाममा त ठेगाना नै छैन त।“ खाम च्यातेर भित्र चिट्ठी हेर्यो। चिट्ठी पनि खाली थियो।

“हैन म भर्खर ठेगाना पढ्दै आएको थिएँ। कसरी एक्कासी खाली भयो त!” कर्ण पनि तिनछक्क पर्यो।

“त्यै त जोनको मृत्यु भएको त सात महिनै भइसक्यो। त्यस्तो असल र सबैको हित गर्ने जोनसंग मेरो त दाजुभाईको जस्तै नजिकको सम्बन्ध थियो।“ सोनामले आँखाभरि आँसु लिइ जोनलाई सम्झदै भन्दै गयो, “उसको चिट्ठी तपाईँले ल्याउनु भयो भन्दा त मलाई सपना हो कि बिपना जस्तो लागेको थियो।“ सोनामले दुबै हातले खस्नलागेको आँसु पुछ्यो।

“अध्यक्षज्यू, मलाई बिश्वास गर्नुस। यो पत्रमा ठेगाना नभएको भए त म तपाईँ कहाँ आइनै पुग्ने थिइन। जोनसंग तपाईँको मीत्रताको बारेमा थाहा नै पाउने थिइन। जोन स्वंयम उसैले चिट्ठी मेरै हातमा दिएको थियो।“ कर्णले जोनसंग उसको भेटघाट भएको कुराहरु सोनामलाई सुनायो। दुबैजनाले यो के भइरहेछ भनेर अचम्म माने। धेरै बेरसम्म जोनको बारेमा कुरा गरिरहे।

सोनामले कर्णलाई अफिस कोठा लिएर गयो। त्यहाँ अहिले नै बोल्ला जस्तो जोनको ठूलो फोटोमा फूलको माला लगाइएको थियो। कर्ण सोनामसंगको यो संयोगको भेटपछि काठमाण्डौँ अलिदिन बसेर लस्टहिल मान्टेन फर्कियो।

कर्ण धेरै घोत्लियो। कोठामा पनि बेला बेलामा उसलाई लाग्थ्यो यदि जोन मरिसकेको भए कसरी जिउदो मानिस सरह कुदन सक्यो, टेनिस खेल्न सक्यो, अरू त अरू उसंग दोहोरो कुरा गर्नसक्यो। मनमनमा गुन्यो “मलाई उसैले त होनि चिट्ठी पुर्याउनु भनेको।“

अब भने कर्णलाई डर डर लाग्न थाल्यो। ऊ नेपाली फरर बोल्ने साथीको संग पाएर भर्खर भर्खर मेलोमेसो पाउन थालेको यो लस्टहिल माउन्टेनमा बिस्तारै बिस्तारै रमाउन थालेको थियो। तर बकैता आफ्नै आँखाले देखेको खामबाट ठेगाना हराउनु, अनि जिउँदो जाग्दो मानिसलाई मरिसक्यो भनेको थाहा पाउनु आदि घटनाहरू झल्झलति उसको आँखा र बिचारमा चल्न थाल्यो सिनेमाको रिल जस्तै। अझ दोहरि दोहरि।

“के म भूतसंग मीत्रता गाँसिरहेको थिएँ त!”
“धत् भूत भन्ने पनि हुन्छ र! वाहियात कुरो” भन्ने तर्कना गर्दागर्दै पनि कर्णलाई भूत हुँदोरहेछ भन्ने लाग्नथाल्यो।

उसलाई अब लस्टहिल क्रीकमा घाम उदाउनु भन्दा अगाडि जान डर लाग्नथाल्यो। कहीँ जोन भेट भयो भने उसलाई “तपाईँ मरिसक्नुभयो?” भनेर कसरी सोध्नु।

धेरै सोच्दा सोच्दा बिस्तारै उसलाई जोनसंग एकचोटि त भेट गरेर सत्यतथ्य थाहापाउन मनलाग्यो। अर्को मनले भन्थ्यो यसले कुरो थाहा पायो भनेर जोनको भूतले दु:ख पो दिने हो कि? तर कर्णले अठोट गर्यो चुरो कुरो त थाहा पाउनैपर्छ।

एकाबिहानै सूर्योदय अगाडि नै मनमा थुप्रै थुप्रै तरह तरहका कुरो खेलाउदै, घरि घरि अलि अलि डराउदै, घरि मनलाई सम्हाल्दै कर्ण लाग्यो लस्टहिल क्रीकतिर एक माइल, दुईमाइल गर्दै पाइला बिस्तारै अघि अघि सार्दै। दुई माइल के कटेको थियो जोन त उभिएर कुरेर बसिरहेको थियो। तर जोन, जोन जस्तै थियो। भूत जस्तो अलिकति पनि लाग्दैनथ्यो।

“कति दिनसम्म म कुरेर बसेँ। मलाई बिश्वास थियो तपाईँ नेपालको खबर लिएर आउनुहुन्छ भनेर। मेरो बारेमा मेरो प्यारो मीत्र सोनामले सबै कुरा भन्यो होला। तर तपाईँ अलिकति पनि नडराउनुस् मेरो पछि पछि आउनुस्“ जोनले भन्यो।

जोनको शक्तिले हो कि यो संसार चलाउने जन्म र मृत्युको रहस्यले हो कर्ण उसका केही खुसीका कुरा केही दु:खका कुरा, केही उसले पूरा गरेका संतुष्टिका कुरा केही उसका अधूरै अपूरै रहेका असंतुष्टीका कुरा सुन्दै एउटा ज्ञानी मानिस झैँ पछि पछि हिँडिरह्यो।

धेरै पर पुगे पछि जोन टक्क अडियो र एक्कासी कर्ण भएतिर फर्कियो। उसको मुहार अत्यन्तै मलिन थियो। त्यहीपनि काँपेको स्वरमा अनुहारमा धेरै नै आसा झल्काउदै भन्नथाल्यो, “फोहर र दूषित वातवरणले ग्लोबल वार्मिङ नबडोस भनेर नै सगरमाथा वरिपरिको क्षेत्र स्वच्छ र सफा राख्ने हाम्रो योजनामा थियो। हिमाल र हिउँ, हिमालबाट बग्ने नदिनाल र झरना, सास फेर्ने हावा र हिमाल वरिपरिको संपूर्ण क्षेत्र संशुद्ध र संरक्षण गर्न लागिपरेको मेरो मीत्र सोनामसंग भेट गर्ने मेरो इच्छा पूरा हुन पाएको थिएन। मेरो इच्छा मुताबिक तपाईँले भेट गरेर आउनु भयो। तपाईँ प्रति म धेरै कृतज्ञ छु।“

एकछिन फेरि भावबिभोर भएर मौन भयो। अनि भन्यो, “मेरो बाँकी इच्छा अब पूर्ण भयो। म अब सन्तुष्ट छु।“ अनि रून्चे मुख लगाएर आँखाभरी आँसु लिइ “उ त्यहाँ हेर्नुस त” भनेर एउटा ठूलो मूर्दाघर देखायो। त्यसको वरिपरि ठूलो फैलिएको हरियो चउरमा फूलैफूलले सजाएको थुप्रै चिहानहरू थियो।

“मेरो प्यारो मीत्र कर्ण, अब तपाईँसंग म सदाको लागि बिदा माग्दछु र जान्छु। दु:ख नमान्नु होला। तपाईँसंगको मेरो भेट अब यत्ति हो।” भन्दै ऊ उ बिछोडको पीँडा प्रष्ट अनुहारमा दर्शाउदै, अन्तिम पटक दुबै हात हल्लाएर ‘बाई’ ‘बाई’ गर्दै चिहान तिर फर्कियो। कर्णले पनि किंकर्तव्यविमूढ भएर रसाएका आँखा पुछदै ‘बाई’ ‘बाई’ गरिरह्यो। जोनको संपूर्ण शरीर तातेर रनक्क रातो भयो। अनि सीसा पग्ले झैँ लल्याक लुलुक पग्लदै पग्लदै क्षण भरमै धुँवाको मुस्लो भयो। त्यो धुँवा पातलिदै पातलिदै उडदै उडदै गएर हरियो चउरको चिहानमा बिलायो।
“जोन तपाईँ नजानुस्, पर्खनुस्” भनि कर्ण जोडले करायो। तर जोन त्यहाँ थिएन। सन्नाटा छाएको थियो।

कर्णले बिश्वास नगरेर पनि बिश्वास गर्यो। उसलाई यो साथीसंगको बिछोड मनमा साह्रै नराम्रो लाग्नेगरी खटकियो। उ लुरूलुरू डेरातिर फर्केर लस्टहिल क्रीकमा हिँडिरह्यो। उसलाई नरमाइलो लागिरह्यो। उसको सोचाइमा जोनसंग नेपालीमा खुसी हुँदै मन फुकाएर कुरा गरेको, टेनिस खेलेको आदि इत्यादि क्षणहरु एकपछि अर्को गर्दै आइरह्यो। अब उसंग फररर नेपाली बोल्ने कोही हुदैन यो लस्टहिल माउन्टेनमा। नेपालको बारेमा धित मारेर बात मार्ने कोही हुदैन यो लस्टहिल माउन्टेनमा।

जुन घटना घट्यो त्यो घटिसक्यो। अब फेरि त्यो फर्किदैन। त्यतिकै पूर्वतिर हेर्यो। घाम उदाइसकेको थियो। जे होस कर्णलाई जोनसंगको भेट एउटा सधैँ याद आइरहने अविस्मरणीय अनौठो भेट भयो।

(यस कथाका पात्र, नाम, स्थान, समय र घटना सबै काल्पनिक हुन।)
(डिसेम्बर १८, २०२१
हाल: लस् एन्जेलस)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.