कविता : ए, कोही त अघि बढ !

~कृष्ण बाउसे~

फोहोर लेदोले भरिएको खानेपानीको ट्याङ्की
खाल्डाखुल्डीले हिड्नै नहुने भएको अलकत्रे बाटो
बालुवाचोरहरूको प्रतापले लच्किसकेको
खोलाको पक्की पुल

शहरभरि थापिएका घर नाउँका धरापहरू !
उद्घाटन, सम्मेलन र प्रशिक्षणको नाममा
भइरहेका खुल्ला वा गुप्त धन्दाहरू
गन्तव्यमै अलमलिएका पीडक बन्दहरू
र तिनलाई गति दिन भइरहेको जनधनको व्यापक क्षति
अनि यी सबै आयातित बेथितिको बुइ चढेर
स्वागतद्वारबाट छिर्दै
उसैको साथमा रहेको पकेटमार्ने व्यवसायिक कैचीले
राता रिबिनहरू काट्दै फुर्तीसाथ
सभाध्यक्षको आसनमा बस्न पुगेको
सेरोफेरोकै चर्चित भ्रष्टमूर्ति !

यो सबै हेर्नु परेकाले टुलुटुलु
आँखा लजाएका लजायै छन् ।
यस्तो वर्णन सुन्नु परेकोले शिर झुकाएर
कान लजाएका लजायै छन् ।
र यस्तो परिवेशको दुर्गन्ध सुङ्नु परेकोले विवश भएर
स्वासप्रस्वाससमेत यान्त्रिकतामै हराएका हरायै छन् ।
यसरी सारा परिवेश नै
मुख देखाउनै नसक्ने गरी लज्जित छ ।
तर,
किञ्चित् लजाएका छैनन्
आत्मरतिका टुकुचाहरू ।
तर
किञ्चित् लजाएका छैनन्
सत्तोसरापका खहरेहरू ।
तर
किञ्चित् लजाएका छैनन्
सेरोफेरोको फोहर समेटेर
भलाद्मी भैटोपलेका विषाक्त पोखरीहरू ।

यसरी आज
यहाँ \ यस धर्तीबाट
झन् झन् टाढा भागिरहेछन्
जनजनका मनमनमा हुनुपर्ने
शान्तिका ढुकढुकीहरू ।

यसरी आज
यहाँ\ यस धर्तीमा
झन् झन् मुर्झाइरहेछन्
जनजनका मनमनमा हुनुपर्ने
आत्मसम्मानका हुटहुटीहरू ।

ए , कोही त अघि बढ !
समयसँगै आफ्ना पाइलाहरूलाई चलाउन !!
ए , कोही त अघि बढ !
यो मुर्दाहरूको देश होइन भनेर
माटोको लाज बचाउन !!

-कृष्ण बाउसे
-सुनसरी, हालः काठमाडौँ

(स्रोत : संसार न्युज डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.