~विमला तुम्खेवा~
मायाले मेरो आँखामा नियाल्दै भन्यो-
गहिरो पीडा छ तिमीसँग सबै सपना भत्किएको
समुद्र
हिमाल
र महादेशहरु नाघ्दै
आइपुगेको एक्लो मान्छे तिमी
कुनै देशको एक्लो राजा जस्तै
फेरि भन्यो-
तिमी छौ र यो मरुभूमिमा पानीको दह छ
तिमी छौ र संगीत छ
तिमी छौ र मेरो आँखामा सपना छ
औंलाहरु सुम्सुम्याउँदै भन्यो फेरि-
एक्लो तारा हेर त मुस्कुराइरहेको…
मैले सोधेँ
के हामी रातो गुलाफको पत्रमा शीत झैं सुहाउन सक्छौं !
जवाफमा
तिम्रो आँखामा मेरो जस्तो सपना थिएन
एक्लो राजा जस्तो
उदास जीवन जस्तो
सैनिकको कब्जामा परेको निहत्था मान्छे जस्तो
मैले हेरिरहेँ
सबै सपना भत्किएको तिम्रो आँखा
कति हुरी सहेर
कति दुःख काटेर
उभिएकी छु तिम्रो सामु रातो गुलाफ लिएर
म भन्छु, तिमीसँग पनि मेरो जस्तै सपना होस् ।
(स्रोत : संस्मरण एउटा बूढो रुखको’ संग्रहबाट सभार)