~रवि प्राञ्जल~
बित्यो आधी जीवन, रहर नै रहरमा
चलेको छ आँधी, यो मनको शहरमा ।
यता यो नजरमा छ कुवा जमेको
सुकेछ कि पानी, उता त्यो नहरमा ।
बुझिंदैन मान्छे, अनुहार पढेर
छ तड्पिरहेको, पीडाको जहरमा ।
यो रात ढलेर के-के हुन्छ भोलि
देखिएन सङ्केत, यो कालो पहरमा ।
विदेशिन लागे परिवार घरका
परदेशी आई बसेको छ घरमा ।
नमीठो छ शब्द, नमीठो छ पङ्क्ति
गजल बाँधिएन अझै यो लहरमा ।
(स्रोत : बगर साहित्यिक पत्रिका उत्कृष्ट रचनाहरू २०५०)